यात्रा प्रयोजन सामानमा अमेरिकाको भन्सार छुट
काठमाडौं (अन्नपूर्ण): अमेरिकास्थित व्यापार प्रतिनिधिको कार्यालयले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रमअन्तर्गत वार्षिक उत्पादन समीक्षा घोषणा गरेको छ।
यसअन्तर्गत नेपाललगायतका अल्पविकसित विकासोन्मुख मुलुकहरूका निम्ति लगेज, झोला, हातेझोला, वालेटलगायतका विमानस्थल प्रयोजनका सामग्रीमा भन्सार छुट सुविधा दिएको छ। यस्तो सुविधा असार १७ गतेदेखि लागू भएको छ।
भन्सार छुट सुविधाका लागि योग्य बनेका यस्ता सामान अमेरिकाले सन् २०१५ मा १० अर्ब डलर मूल्यको आयात गरेको जानकारी दिएको छ।
अमेरिकी बजारमा नेपाली सामान निर्यात बढाउन यो सुविधाले अवसर प्रदान गरेको अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले बताएकी छन्।
व्यापार ग्राह्यता कार्यक्रमले विश्वका थुप्रै विपन्न मुलुकहरूलाई व्यापारको प्रयोगबाट आफ्नो अर्थतन्त्रलाई वृद्धि गर्दै गरिबीबाट मुक्त हुने अवसर प्रदान गर्छन्। ४० वर्षको उक्त कार्यक्रम सबैभन्दा ठूलो र पुरानो अमेरिकी व्यापार ग्राह्यता कार्यक्रम हो।