भेटिए हराएका बेड नम्बरहरू

ललितपुर (अन्नपूर्ण): विप्लव ढकालद्वारा लिखित 'बेड नम्बर मेटिएका बेडहरू'लाई नाट्यकर्मी कृष्ण शाह यात्रीले रंगमञ्चमा उतारेका छन्।
नाटकमा मुलुकको पछिल्लो अवस्थालाई देशबहादुर परियार नामक पात्रमार्फत बिम्बात्मक रूपमा चित्रण गरिएको छ।
किनारामा परेका र सीमांकृत पात्रहरूलाई समेत नाटकमा समेटिएको छ। सूत्रधारले अस्पतालको बेडमा भर्ना भएका देशबहादुर परियारलाई पहिचान मेटिएका विभिन्न बेडका पात्रसँग परिचय गराउन थालेपछि नाटक सुरु हुन्छ।
एलए थिएटर क्लबको प्रस्तुति यस नाटकमा समाजमा देखिएका अनेक विसंगतिलाई दर्शाइएको छ।
भूमिगत पार्टीबाट निष्काशित कमरेड, कर्णालीको किनारै किनार खसी बेच्न झरिरहेको मान्छे, सुदूरकिनाराको कवि, आमा हराएको बालक, ओखतीको बिलले थिचिएको मान्छे अनेक पात्रहरू प्रस्तुतिका क्रममा देखिन्छन्।
उनीहरूको किनाराको स्वर र दुर्नियतिलाई कवि विप्लवले काव्यिक भावमा दर्शाएका छन्। जसलाई निर्देशक यात्रीले मञ्चीय रङ दिएका छन्।
हात्तीवनस्थित लिटिल एन्जल्सको नाट्य प्रेक्षालयमा मञ्चित 'बेड नम्बर मेटिएका बेडहरू'मा सदीक्षा गिरी, कीर्ति राजभण्डारी, रूपेश नेपाल, उज्ज्वल थापा, श्रेहा अग्रवाल, मुस्कान उप्रेती, आशीष कार्की र आख्यान चापागाईंले अभिनय गरेका छन्।
निर्देशक यात्रीले २०६१ सालयता एक दर्जनभन्दा बढी प्रतिनिधि नेपाली कविता रंगमञ्चमा मञ्चन गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !
