एक इन्जिनियरको बयान

एक इन्जिनियरको बयान

एक प्राविधिकको संस्मरणमा टाँसिने दृश्यहरू कस्ता होलान् ? त्यसबाट के के शिक्षा पाइएलान् ? फगत प्रविधिगत ज्ञानको मात्र आशा गर्ने हो भने इन्जिनियर भुवन चन्द ठकुरीको पुस्तक 'अतीतको पोको'ले गलत साबित गरिदिनेछ। उदाहरणका लागि पुस्तकको एक प्रसंगबाट सुरु गरौं।

२०३८ साल पुसमा राजा वीरेन्द्र सुदूरपश्चिम भ्रमणका लागि दिपायल शिविरमा बसेका थिए। नुहाउने इलेक्ट्रिक गिजरमा करेन्ट सर्ट भएको रहेछ, बिहान नुहाउने बेलामात्र राजाले थाहा पाए। यसको जानकारी मैले थाहा पाएको थिएँ-विद्युत् गृहमै सर्ट भएको आधारमा।

यसरी बिजुली सर्ट भएको गिजरलाई करेन्ट लाग्नबाट जोगाउन निकै प्रयास गरेँ। त्यही दिन बेलुकीसम्म त्यो गिजर बनाइसक्नुपर्ने थियो। नत्र भोलिपल्ट बिहानै राजा वीरेन्द्रले नुहाए करेन्ट लाग्ने स्थिति थियो। तर, राजाको सुरक्षार्थ खटिएको सेनाले बाथरुमभित्र छिर्न दिएन।

'कदाचित् आज ननुहाए पनि सरकारले भोलि बिहान त अवश्यै नुहाउनुहोला, अनि महाअनिष्ट भइहाल्यो भने मलाई कसैले केही भन्ने ठाउँ नहोस्', कर्नेललाई मैले भनेँ, 'मैले आफ्नो कुरा भनेकै हुँ। भोलिसम्ममा कुनै दुर्घटना भयो भने मलाई भनेको थिइनस् नभन्नू। मैले आफ्नो कर्तव्य पूरा गरेँ। त्यसै पनि दरबारभित्रको बिजुलीको काम हामीले हेर्ने गरेका छैनौं। नमस्कार।'

यति भनेपछि मात्र त्यो कर्नेलले बाथरुमसम्म लैजाने बन्दोबस्ती मिलायो। भित्र गिजर कराएको थियो। गिजरको बाहिरी सतहमै विद्युतीकृत भइसकेको थियो। मैले त्यो छुटाइदिएँ। यसरी एउटा सम्भावित महाअनिष्टबाट जोगियो।

राजाको त्यो क्याम्प डेढ महिनासम्म बसेको थियो। त्यस अवधिमा त्यहाँ जडित डिजल जेनेरेटेर अटुट चलेका थिए। तिनको मर्मतसम्भार राम्रो गरी त्यहाँ विद्युत् प्रवाहा अटुट राखेकाले मात्र होइन, राष्ट्रकै सर्वोच्च व्यक्तिको सुरक्षाप्रति अग्रसरता देखाएर सम्भावित ठूलो दुर्घटना रोकेकाले पनि मैले सवारी सकिएपछि घोषणा गरिने विभूषण तक्मा पाउनेहरूमा आफ्नो नाउँको पनि आशा लिनु स्वाभाविक थियो।

 

तक्मा पाउनेहरूको नामावली प्रसारित हुँदा मैले सुरुदेखि अन्त्यसम्म कान थापेर सुनेँ। मेरो नाउँको भुसम्म पनि सुनिएन। गिजर फुटेको वा विद्युत् लिक भएको कुरा र मेरो प्रयासलाई पूर्ण अन्धकारमा राखी राजालाई पनि पटक्कै थाहा नदिइएको रहेछ भन्ने लाग्यो।'

कथाजस्तो लाग्ने यस्तै प्रसंगहरू समेटिएको ठकुरीको आत्मसंस्मरण तत्कालीन शासनव्यवस्था बुझ्न चाहने सचेत पाठकका लागि उपयोगी पुस्तक बन्न सक्नेछ। निकै सरल र सरस भाषामा ठकुरीले आफूले देखेभोगेको समयलाई संस्मरणमा उतारेका छन् राजनीतिका अन्तरकुन्तरमा लुकाइएका यी ससाना घटनाहरूले गर्दा पनि यो पुस्तक सचेत पाठकको ध्यानाकर्षण गर्न सफल छ।

विद्युत् प्राधिकरणमा ३३ वर्ष सेवा गरेर निवृत्त भएका ठकुरी नेपाली साहित्यमा पनि उत्तिकै परिचित छन्। इन्जिनियर, त्यसमा पनि मेकानिकलजस्तो अत्यन्त प्राविधिक विषयका विशेषज्ञ चन्दको लेखाइ शैली, शब्द विन्यास, व्याख्या हेर्दा नेपालका नाम चलेका साहित्यकारको भन्दा कम छैन।

संस्मरणको क्रममा प्रत्येक परिच्छेदको आखिरीमा आएर एउटा कुनै न कुनै पाठ वा शिक्षा पाठकले पाएकै हुन्छ। त्यो पनि बडो हास्यरसमा। पढ्दै गर्दा पाठक एक्लै हाँसिरहेको हुन्छ। शब्द विन्यासमा उनको यो खुबीले पाठकलाई पढिनसकुन्जेल छोड्नै मन लाग्दैन। पाठकलाई किताब पढेर कुनै सैद्धान्तिक ज्ञान लिइरहेको नभई मनोरञ्जन गरिरहेको अनुभूति हुन्छ।

पञ्चायतकालमा त्यसै पनि कर्मचारीतन्त्र त्रसित थियो। दरबारले कतिखेर जागिर खाइदिने हो टुंगो नै थिएन। अञ्चलाधीशलाई कर्मचारीहरूले कसरी रिझाएर, स्वाभिमानै गिराएर भए पनि अडिनुपर्थ्यो भन्ने झलक यो पुस्तकमा पाइन्छ। त्यसमाथि विद्युत्जस्तो जटिल विषयसँग सम्बन्धित पाटाहरूलाई सफलतापूर्वक लेख्न सक्नु लेखकको विशेष क्षमता हो।

प्राधिकरणको महाप्रबन्धक पदबाट निवृत्त भएपछि उनले आफ्नो जागिरे जीवनको पहिलो संस्मरणात्मक कृति लेखेका थिए, 'इन्जिनियरको क्लिनिक'। यो पुस्तकमा २०२७ बाट जागिरे जीवन सुरु भएदेखि २०३८ सालसम्मका घटनाक्रम समेटिएका छन्। 'इन्जिनियरको क्लिनिक' पनि उत्तिकै चर्चित रह्यो।

सहिद दशरथ चन्दको जीवनीमा आधारित उपन्यास 'आहुति' लेखेर लेखन विधामा चर्चा कमाएका चन्दले २०३८ देखिका अन्य घटनाक्रमलाई बडो साहित्यिक तर सरल पाराले लेखिएको 'अतीतको पोको' ले विद्युत् क्षेत्रको तत्कालीन परिवेशमात्र होइन, लेखकको निजी घटनामार्फत समाजको वास्तविकता उजागर गरेको छ।

जागिर खाएपछि सेवानिवृत्त हुनु सामान्य कुरा हो। तर जागिरे जीवनका अवधिमा भोगेका घटनाले लेखकलाई मात्र नभई समाजको चरित्रसमेत चित्रण गर्न 'अतीतको पोको' सफल भएको छ। लेखकले आफ्नो कालखण्डका घटनाक्रमलाई साबिती बयान दिएका छन् पुस्तकमार्फत।

लेखकले २०३८ सालयताका घटनाक्रमलाई लिपिबद्ध गरेका छन्। प्राधिकरणको महाप्रबन्धकजस्तो गरिमामय पदमा बसेर गरिएका निर्णय, कामकारबाहीबारे अर्को पुस्तकमा समावेश गरेर उनले पाठकलाई गुन लगाउँछन् भन्ने अपेक्षा पनि उत्तिकै छ। किनभने प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन आफैमा चुनौतीपूर्ण कार्य हो।

यस्तो प्राविधिक विषयलाई पनि उनी सरल भाषामा सबैले बुझ्ने गरी मात्र होइन, त्यसबाट केही न केही सन्देश प्रवाह गर्ने गरी लेख्न सक्छन्, यो नै उनको खुबी हो। विद्युत्गृहको उद्घाटनका बेला होस् वा कुनै बन्द भएको विद्युत्गृह पुनः सञ्चालनका क्रममा होस्, उनले लेखेका यी विषयवस्तु खुल्दुलीपूर्ण र प्राविधिक चुनौतीले भरिएको भान हुन्छ।

प्राधिकरणमा आबद्ध साहित्यकारहरूको संस्था विद्युत्कर्मी साहित्यक समाजले प्रकाशन गरेको 'अतीतको पोको' दुई सय १२ पृष्ठको छ र यसको मूल्य दुई सय ५० रुपैयाँ राखिएको छ।

किताब : अतीतको पोको (संस्मरण)
लेखक : भुवन चन्द ठकुरी
प्रकाशक : विद्युत्कर्मी साहित्यिक समाज, काठमाडौं
पृष्ठ : २११
मूल्य : २५०/-


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.