बैंकिङ पहुँच वृद्धि हाम्रो प्राथमिकता
कास्की फाइनान्स र कामना विकास बैंक मर्ज भएर यही असार ६ गतेदेखि एकीकृत कारोबार सुरु गरे। मर्जपछि कामना विकास बैंकको नाममा कारोबार अघि बढेको संस्थामा तोयराज अधिकारी प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन्। १७ वर्षअघि बैंकिङ करिअर सुरु गरी ११ वर्ष नेपालकै एउटा प्रतिष्ठित वाणिज्य बैंकमा समेत काम गरेको अनुभव भएका उनी यसअघि कास्की फाइनान्समा सीईओ थिए। संस्था मर्जको सन्दर्भ पारेर उनीसँग अन्नपूर्ण संवाददाता केशवशरण लामिछानेले गरेको कुराकानी:
मर्जपछि पुँजी संरचना कस्तो भयो?
कास्की फाइनान्स र कामना विकास बैंक मर्ज भएर कामना विकास बैंक बनेपछि चुक्तापुँजी ६६ करोड १६ लाख रुपैयाँ पुगेको छ। निक्षेप सात अर्ब रुपैयाँभन्दा बढी र कर्जा लगानी ६ अर्ब रुपैयाँभन्दा बढी भएको छ। हाम्रा ग्राहक करिब ७५ हजार छन्।
मर्जपछिको चुनौती कस्तो देख्नुभएको छ?
बैंकिङ व्यवसाय आफैंमा चुनौतीपूर्ण व्यवसाय हो। यसमा हामीले जनताको पैसालाई उचित परिचालन गरेर बैंकिङ कारोबार गर्नुपर्ने हुन्छ। मर्जअघि दुवै संस्थाले आआफ्नो व्यावसायिक रणनीतिअनुसार कारोबार गर्दै आइरहेकोमा मर्जपछि आउने चुनौतीलाई आत्मसात गर्दै दुवै समूहको भावनालाई समेटेर साझा रणनीति तय गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न पाउने एउटा अवसरको रूपमा लिएका छौं।
मर्जरपश्चात् हामी राष्ट्रियस्तरको विकास बैंकको रूपमा स्थापित भएका छौं। विशेष गरी बैंकहरूमा अन्तरनिहित सञ्चालन जोखिम, कर्जा जोखिमलगायत जोखिमलाई न्यूनीकरण गर्न राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई लागू गर्ने बासेल २ अन्तर्गत कायम गर्नुपर्ने पुँजी पर्याप्तता कायम गर्दै अगाडि बढ्नेछौं। हामीले मर्जरपछि आउने चुनौतीलाई पहिल्यैदेखि नै पहिचान गरी सोही अनुसारको उपाय खोजी गरिसकेका छौं।
अबको प्राथमिकता के हो?
दुई भिन्न संस्था मर्ज भई एक भएकाले दुवै संस्थाका सरोकारवालालाई अबका दिनमा बैंक कसरी अगाडि बढ्छ भनेर केही समय दुबिधा हुनु स्वाभाविक नै हो। हामी आउँदा दिनहरूमा कुनै किसिमको दुबिधा भए त्यसलाई चिर्दै अगाडि बढ्नेछौं।
हाम्रो बैंकको सबल पक्ष भनेको ग्राहकलाई प्रदान गर्ने गुणस्तरीय सेवा नै हो। बैंकले प्रदान गर्ने सेवाको गुणस्तर कायम गरी छिटोछरितो सेवा प्रदान गर्ने विषयलाई हामीले उच्च प्राथमिकतामा राखेका छौं। ग्राहकलाई प्रदान गर्ने सेवाको गुणस्तर वृद्धि गर्न सानातिना पक्षमा समेत ध्यान दिनुपर्छ भन्ने कुरालाई हामीले सधैं प्राथमिकतामा राख्दै आएका हौं। अब पनि त्यही नै हुन्छ।
बैंकको निर्णय प्रक्रियालाई चुस्त बनाई छिटो कार्यसम्पादन गर्ने कार्यशैली अपनाउँदै सेवालाई प्रभावकारी बनाइनेछ। अझै पनि करिब ६० प्रतिशत जनता बैंकिङ पहुँचबाट टाढा रहनुपरेको परिवेशमा बैंकिङ पहुँच बढाउन महत्वपूर्ण टेवा पुगोस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने कुरा हाम्रो प्राथमिकतामा छ।
कर्मचारीको कार्यसम्पादनको स्तर वृद्धि गर्नेतर्फ पनि हाम्रो ध्यान छ। बैंकिङ क्षेत्रको आजको प्रतिस्पर्धामा विशेष गरी सहरी क्षेत्रमा बैंकमा नयाँ ग्राहक भित्र्याउनु त्यति सजिलो छैन। भइरहेका ग्राहकलाई सन्तुष्ट बनाउँदै उनीहरूलाई बैंकमा टिकाइराख्ने तथा नयाँ ग्राहकको खोजी गर्ने हाम्रो व्यावसायिक रणनीति छ।
शाखा सञ्जाल र विस्तार योजना के छ ?
बैंकको शाखा विस्तारले प्रत्यक्ष अप्रत्यक्ष रूपमा बैंकको कारोबार बढाउन मद्दत पुर्याइरहेको हुन्छ। आजसम्म पनि करिब ६० प्रतिशत नेपाली बैंकिङ पहुँचभन्दा बाहिर छन्। नेपालमा अहिले पनि वित्तीय साक्षरता कमजोर अवस्थामा छ।
धेरैभन्दा धेरै नेपालीलाई बैंकमा खाता खोल्न, बैंकबाटै कर्जा लिन तथा सम्पत्ति तथा व्यवसायको बिमा गराउन प्रोत्साहन गर्ने लगायत विषय समेटेर सरकारले वित्तीय साक्षरता नीति ल्याउन लागेको छ। यसरी बैंकको कारोबारको साथसाथै बैंकिङ पहुँच बढोस् भनेर हामीले अरू बैंक नपुगेका कतिपय स्थानमा शाखा सञ्जाल विस्तार गरेका छौं।
लमजुङको दुईपिप्ले, तनहुँको ढोरफिर्दी, नवलपरासीको प्रगतिनगर आदि ठाउँमा अरू बैंक तथा वित्तीय संस्थाको उपस्थिति छैन। त्यहाँका मानिसलाई बचत गर्ने बानीको विकास गराउने र बैंकबाट कर्जा लिई उद्यम गर्न पनि प्रोत्साहन गर्ने काममा हामीले प्रत्यक्ष रूपमा योगदान पुर्याइरहेका छौं।
धादिङमा भएको हाम्रो शाखाले अहिले भूकम्प पीडितलाई सरकारले दिने राहत वितरण गरिरहेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सम्झौतापछि त्यो सम्भव भएको छ। व्यावसायिक फाइदाभन्दा पनि सेवाको दृष्टिले हामीले राहत खाता खोलेर सरकारले वितरण गर्ने पैसा जनतामा पुर्याइरहेका छौं।
मर्जरमा कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण हुन्छ भन्छन्, कसरी मिलाउनुभयो?
साबिकका दुवै संस्थामा कार्यरत कर्मचारीलाई योग्यता तथा क्षमताअनुसार नयाँ विकास बैंकको उपयुक्त पदमा पदस्थापन गरिएको छ। कर्मचारीको पदमिलान गर्दा घटुवा गरिएको छैन भने कुनै पनि कर्मचारीलाई अवकाश दिइएको छैन।
आजसम्म पनि करिब ६० प्रतिशत नेपाली बैंकिङ पहुँचभन्दा बाहिर छन्। बैंकको कारोबारका साथसाथै बैंकिङ पहुँच बढोस् भनेर हामीले अरू बैंक नपुगेका कतिपय स्थानमा शाखा सञ्जाल विस्तार गरेका छौं।
कर्मचारी व्यवस्थापनमा हामीले कुनै किसिमको कठिनाइ भोग्नुपरेन। मर्जरपश्चात् संस्था राष्ट्रियस्तरको विकास बैंक बन्ने र सोही अनुसार वित्तीय बजारमा थप प्रतिस्पर्धात्मक वातावरणमा काम गर्नुपर्ने चुनौतीलाई आत्मसात गरी उच्च मनोबलका साथ थप उत्साहित भएर कर्मचारीले आफ्नो कार्यसम्पादन गरिरहेको अवस्था छ।
राम्रो छवि बनाएका बैंक तथा वित्तीय संस्था मर्जपछि कमजोर देखिएका छन् नि ?
संस्था मर्ज हुनुअघि ती संस्था केकस्तो किसिमले सञ्चालन भइरहेका थिए भन्नेतर्फ ध्यान दिनुपर्छ। संस्थागत सुशासन कायम गरेर कारोबार गरिरहेका संस्था मर्जपछि पनि सफल भएकै देखिएका छन्। राम्रा संस्था मर्ज हुँदा मर्ज भएकै कारण कमजोर होलान् भन्नेचाहिँ होइन।
२०७४ असार मसान्तसम्म साढे दुई अर्ब पुँजी पुर्याउन योजना के छ ?
पुँजी बढाउने कुरामा हामी विभिन्न विकल्पमा छलफल अगाडि बढाइरहेका छौं। अहिलेको हाम्रो पुँजीअनुसारको अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज गरेर अगाडि बढ्ने योजना छ। बैंकको नाफाबाट बोनस सेयर वितरण गर्ने तथा हकप्रद सेयर निष्कासन गरेर राष्ट्र बैंकले तोकेको समयभित्रमा न्यूनतम चुक्ता पुँजी पुर्याउने योजना छ।
फाइनान्स र विकास बैंक मिलेर राष्ट्रियस्तरको विकास बैंक भयो, कामनाले वाणिज्य बैंकको सपना देखेको छ ?
अहिले नै हामीले वाणिज्य बैंक बन्ने सपना देखेका छैनौं। अहिले बैंकको चुक्ता पुँजी क्रमशः वृद्धि गर्दै राष्ट्रियस्तरको विकास बैंकको आवश्यक न्यूनतम चुक्ता पुँजी पुर्याउने योजनामा छौं। त्यसपछि अगाडि बढ्ने विषयमा अहिले केही सोच बनेको छैन।
मर्जपछिको पहिलो वर्षमा सेयरधनीले कस्तो प्रतिफल पाउलान् ?
मर्जरपश्चात् पनि हाम्रा २१ वटै शाखा कार्यालयबाट कर्जा प्रदान गरी कारोबार विस्तार गर्दै आइरहेका छौं। भूकम्प, नाकाबन्दी र तराई आन्दोलनजस्ता कारणले सिर्जना गरेको विषम परिस्थितिमा पनि ग्राहकले नियमित रूपमा कर्जाको किस्ता तथा ब्याज बुझाइरहेको अवस्था छ।
त्यसैले साबिकका दुवै संस्थाको गत चैत मसान्तसम्मको नाफाको अवस्था र यसै क्रममा उठ्ने ब्याजको अनुमान गर्दा सेयरधनीले आकर्षक प्रतिफल पाउने विश्वास दिलाउन सकिने अवस्था छ। यति नै प्रतिशत भनेर भन्नु उचित नहोला। तर ढुक्कले भन्न सकिन्छ, प्रतिफल आकर्षक हुन्छ। मर्जपछि व्यवसायको आकार पनि बढ्ने हुनाले प्रतिफल आकर्षक हुन्छ भन्ने आधार छ।
पहिलाका वाणिज्य बैंकको हाराहारीमा विकास बैंकले पुँजी पुर्याउँदा कारोबारको दायरा बढाउन कत्तिको कठिन छ ?
पुँजी वृद्धिसँगै हाम्रो ठूला परियोजनामा लगानी गर्ने क्षमतामा वृद्धि हुन जान्छ। पहिलाका वणिज्य बैंकको कारोबारसँग तुलना गर्नुभन्दा हामीले व्यावसायिक कृषि, पर्यटन, साना तथा मझौला उद्योग, होलसेल तथा खुद्रा व्यापारिक प्रष्तिठानलगायत क्षेत्रहरूमा कर्जा लगानी विस्तार गरी छोटो समयमा बैंकको कारोबार उल्लेख्य रूपमा वृद्धि गर्ने योजना छ।
नेपाली बैंकले ठूला परियोजनामा लगानी गर्न सकेनन् भनेरै राष्ट्र बैंकले पुँजी वृद्धिको नीति ल्याएको हो भन्दै आइरहेको छ।
विदेशी बैंकहरूलाई नगुहारीकन नेपालका बैंक आफैंले ठूला परियोजनामा लगानी गर्न सक्नुपर्छ भन्ने हो।
मर्जपछि पनि पोखरामा केन्द्रीय कार्यालय राख्दा व्यवसाय विस्तार सम्भव होला ?
प्रविधि विकासको यो चरम उत्कर्षको समयमा अनुगमन र नियन्त्रणको हिसाबले केन्द्रीय कार्यालय जुन स्थानमा भए पनि फरक पर्दैन जस्तो लाग्छ। राष्ट्रियस्तरको संस्था हुँदैमा काठमाडौंमै केन्द्रीय कार्यालय राख्नुपर्छ भन्ने जस्तो लाग्दैन।
राष्ट्र बैंक मौद्रिक नीति ल्याउने तयारीमा छ, तपाईंहरूका सुझाव के छन् ?
मौद्रिक नीति मूल्य वृद्धि नियन्त्रण गर्ने, बैंक तथा वित्तीय संस्थाहरूको कारोबारलाई व्यवस्थित गर्ने र सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धि हासिल गर्न सघाउने किसिमले आउनुपर्छ।
अहिले धेरै जनताको मुख्य चासो भनेको महँगी हो। त्यसलाई नियन्त्रण गर्न मूल्य वृद्धि हुनुको मुख्य कारण पत्ता लगाएर त्यसको समाधान गर्ने खालको मौद्रिक नीति आउनुपर्छ। न्यून आय भएका तथा मध्यमवर्गीय जनताको आम्दानी आयस्तर बढाउन सक्ने नीति ल्याउनुपर्छ।