बजाजको भी १५ बजारमा
काठमाडौं: बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ बाइक भी१५ बजारमा ल्याएको छ। नयाँ रेन्जमा भित्याएको यो बाइक हाई टेक डीटीएस-आईको एक सय ५० सीसीमा उपलब्ध छ।
आकर्षक बनावटका साथ सहज यात्राका लागि निर्माण गरिएको यो बाइकमा सडकमा आइपर्ने चुनौती सामना गर्न चाहिने एक्स्ट्रा ग्रिपका लागि चौडा टायर, सिंगल र डबल सिटर बनाउन मिल्ने विशेषता छ। कम्पनीका अनुसार यो बाइक उत्कृष्ट ब्यालेन्स, पृथक् एवं शक्तिशाली धातुबाट निर्मित बलियो र आकर्षक डिजाइनमा रहेको छ।
टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र हाइड्रलिक रियर सस्पेन्सन प्रयोग गरिएको यो बाइकको अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक छ। बाइकमा १.७ लिटरको रिजर्भसहित १३ लिटरको ट्यांक रहेको कम्पनीले जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाका अनुसार यो बाइक नेपाली बाटो सुहाउँदो हुनुका साथै जस्तोसुकै चुनौतीको सामाना गर्न सफल हुनेछ। पर्ल ह्वाइट र इबोनी ब्ल्याक रङमा उपलव्ध बजाज भी १५ को बजार मूल्य दुई लाख चार हजार नौ सय रहेको कम्पनीले जनाएको छ।