आफ्नै भवनबाट सिटी एक्सप्रेसको कारोबार

काठमाडौं: सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले सोमबारबाट कमलादीस्थित आफ्नो नवनिर्मित भवनबाट कारोबार सुरु गरेको छ। कम्पनीको दसौं वार्षिकोत्सव अवसरमा पारेर आफ्नै भवनबाट कारोबार सुरु गरेको हो।
नयाँ भवनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका छन्। १० वर्षदेखि विदेशमा रहेका नेपालीलाई रकम पठाउन सजिलो, सुरक्षित तथा छरितो सेवा प्रदान गर्दै आएको कम्पनीले आफ्नो सेवा अझ परिस्कृत हुने जनाएको छ।
उद्घाटन समारोहमा कम्पनीका प्रबन्धनिर्देशक चन्द्र टण्डनले सजिलो पहुँचका साथै सेवालाई झन् प्रभावशाली बनाई उत्कृष्ट सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताए।
राष्ट्र बैंकका गभर्नर नेपालले हाल नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका ज्यादै महत्वपूर्ण रहेको बताउँदै कानुनी तबरले रकम भित्याउन सिटी एक्सप्रेस जस्ता कम्पनीको महत्वपूर्ण हात रहेको बताए।
कम्पनीले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ। कम्पनीले नयाँ भवनमा रक्तदानको कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
