विद्या भण्डारी राष्ट्रपति भएपनि मदनको घर उपेक्षित

विद्या भण्डारी राष्ट्रपति भएपनि मदनको घर उपेक्षित

सन्तोष पुर्कुटी
ताप्लेजुङः नेपाली कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता मदन भण्डारीका नाममा थुप्रै सङ्घसंस्था खुलेका छन्।  भण्डारीकै नाम जोडेर खोलिएका विभिन्न सङ्घसंस्थाले क्रियाशील रहँदै नाम र चर्चा पनि कमाएका छन् । नेता भण्डारीकै राजनीतिक सिद्धान्तलाई पछ्याएको पार्टी एमाले पटकपटक सरकारमा पुग्यो।

यति मात्रै हैन स्व. नेता भण्डारीकै धर्मपत्नी विद्यादेवी भण्डारी वर्तमान राष्ट्रपति हुन्। तर तिनै नेता भण्डारीको जन्मघर एवम् त्यही घरसँग नाता गाँसेकी विद्यादेवी भण्डारीको पुख्र्यौली घर ताप्लेजुङको ढुङ्गेसाँघुमा कम्तीमा पनि ओत लाग्ने छानोको अभावमा देखिएको छ ।

दुईतले खरले छाएको तर खर मक्किएर प्वालैप्वाल अनि भित्ता लिपिएको माटो उप्किएर भत्किन थालेको, हेर्दा थोत्रो देखिने घरमा कुनै बेला पार्टीको सभा, गोष्ठी हुँदा नेता कार्यकर्ताको खचाखच हुन्थ्यो। तर अहिले त्यही घरमा मान्छे बस्नु त के छानो ओढाई दिने कोही नहुँदा दिनानुदिन जीर्ण हुँदै ढल्ने अवस्थामा पुगेको छ।

अहिले घरका भित्ता उप्किएर गारो भत्कन थालेको छ भने छानो मक्किएर झर्ने अवस्थामा पुगेको छ ।

लिपपोतको अभावमा सो घरको भित्ता उप्किएर गारोसमेत भत्कन सुरु भएको छ भने छानो मक्किएर धुजाधुजा हुँदा बर्सातको समयमा पानी चुहिएर हिलाम्मे हुने गरेको छ।

सोही घरमा नै मदन भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो। विसं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशाला (जुन बर्खायाममा बन्द हुन्थ्यो) बाट नै औपचारिक शिक्षातर्फ भण्डारीले प्रवेश गर्नुभएको थियो।

जन्मिएको १५ वर्षसम्म गाउँमा नै भण्डारीको जीवन बितेको थियो भने त्यसपछि २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट सुनसरीको इटहरीमा बसाइँ सर्यो ।

भण्डारी परिवारको बसाइँसराइपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समयमा सम्पूर्ण जग्गामध्ये घरसहितको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानको नाममा रहेको एमाले ताप्लेजुङका नेता कार्यकर्ताले बताएका छन्।

सो क्षेत्रलाई नमुना क्षेत्रका रुपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी मदन भण्डारी स्मृति प्रतिष्ठानले घरजग्गा लिएको एमाले ताप्लेजुङका सन्तोष चाम्लिङ राईले बताए ।

अनेरास्ववियु ताप्लेजुङका अनुसार अहिलेसम्म आश्वासन बाहेक अरू केही काम हुन सकेको छैन। ‘न त मर्मत नै भयो न घरको अवस्थाका बारेमा कसैलाई चासो नै छ, अब कसले गर्ला यस घरको मर्मत र सम्भार ?' एमाले निकट सो विद्यार्थी सङ्गठनले सो ठाउँमा पुगेर यस्तै प्रश्न गर्दै चासो बढाएको छ ।

विभिन्न समयमा जननेता भण्डारीको पुख्र्यौली घर भनेर ठूलै चर्चा चल्ने गरे पनि मर्मतसम्भारका लागि कसैले वास्ता गरेका छैनन्।

बुधबार अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङ र सोही विद्यार्थी सङ्गठनकै पाथीभरा बहुमुखी क्याम्पस एकाई कमिटीको संयुक्त टोली घरमा पुगेर सरसफाइ गरेको छ।

चुहिँदै गरेको छानोमा त्रिपालसमेत ओढाउने काम भएको छ। ‘नेता भण्डारीको घरलाई महत्वका साथ हेरिने गरिए पनि कसैले मर्मत सम्भारमा ध्यान नदिएपछि हामी पुगेर सरसफाइ गर्नुका साथै त्रिपाल ओढाउने सम्मको काम गर्यौँ, ‘सङ्गठनका जिल्ला उपसचिव राजु नेपालीले भने।

नेता भण्डारीको जन्मस्थल र घरलाई आन्तरिक वा बाह्य पर्यटकका लागि समेत घुम्न योग्य ठाउँको रुपमा प्रवद्र्धन गरिनुपर्ने स्थानीयवासीको भनाइ छ।रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.