मर्ज भए बैंक अफ काठमान्डु र लुम्बिनी
काठमाडौं: बैंक अफ काठमान्डु लिमिटेड र लुम्बिनी बैंक लिमिटेड आपसमा गाभिएर बैंक अफ काठमान्डु लुम्बिनी लिमिटेडको नामबाट बिहीबारदेखि एकीकृत कारोबार सुरु भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक अफ काठमान्डु लुम्बिनीको नयाँ कर्पोरेट लोगो अनावरण गरेका छन् । राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ सम्ममा न्यूनतम पुँजी आठ अर्ब पुर्याउनुपर्ने निर्देशनअनुसार यो मर्जर भएको बैंकले जनाएको छ ।
मर्जरपश्चात् बैंक अफ काठमान्डु लुम्बिनीको चुक्ता पुँजी चार अर्ब ५७ करोड ६८ लाख ९१ हजार पुगेको छ । गाभ्ने बैंक बैंक अफ काठमान्डु र गाभिने बैंक लुम्बिनी बैंकको सेयर सट्टा अनुपात एक बराबर ०.८३ कायम गरिएबाट एकीकृत संस्थामा ३९ करोड ५५ लाख ३४ हजार ६ सय ८० को पुँजीगत जगेडा कोषसमेत कायम हुन गएको बैंकले जनाएको छ ।
बैंक अफ काठमान्डु लुम्बिनी लिमिटेडको नयाँ सञ्चालक समितिमा बैंक अफ काठमान्डुका तर्फबाट सत्यनारायण मानन्धर (संस्थापक समूह), सन्तवर सिंह थापा (संस्थापक समूह), गोविन्दप्रसाद शर्मा र चोपनारायण श्रेष्ठ (सर्वसाधारण समूह) रहेका छन् । लुम्बिनी बैंकका तर्फबाट केदारनाथ गौतम र सुवर्णलाल श्रेष्ठ (संस्थापक समूह) तथा मदनलाल जोशी (सर्वसाधारण समूह) र दिव्यनिधि बिष्ट (व्यावसायिक सञ्चालक) सञ्चालक बनेका छन् ।
बैंकको सञ्चालक समितिको अध्यक्षमा सत्यनारायण मानन्धर निर्वाचित भएको बैंकले जनाएको छ । रजिस्टर्ड तथा मुख्य कार्यालय कमलपोखरी काठमाडौं रहने यो बैंकले यो सँगै ७४ शाखा, ६३ एटीएम, सात काउन्टर र ३३ स्थानबाट शाखारहित बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।