'ऐना'का अँध्यारा अनुहार

'ऐना'का अँध्यारा अनुहार

यति बेला म सुदूर भूमिको यात्रामा छु। अझ भनांै, देशको कुनाकाप्चामा पिल्सिएका विदिर्ण अवस्था र अनुहार मेरा अघिल्तिर छरपस्ट छन्। भोकको कथा, शोकको कथा, वियोगको कथा, अपहेलना र उपेक्षा अनि भनौं मेरै समाज र लोकको कथा। ऐनामा हेरेझैं 'ऐना'का अक्षरमा ठिंग उभिएको देख्छु।

'...विवाह नहुँदै परासरबाट बच्चा जन्माएकी मत्स्यगन्धा सत्यवती बनेर शान्तनुकी रानी भइन्। अविवाहित अवस्थामै कर्णलाई जन्माएर खोलामा बगाइदिएकी कुन्तीले पाण्डुकी श्रीमतीका रूपमा रानीको दर्जा पाइन्। पाँचपाँच जनाकी पत्नी भएकी द्रोपदी युगौंयुगसम्म पनि सम्मानित छे। तर मरेका तिनैलाई आदर्श नारी मान्ने हाम्रो समाजले वर्तमानमा बाँचेका कैयौं नारीलाई जिउँदै मारिदिएको छ। ...'

'कुनै प्रेमीबाट धोका खाएका, कुनै पुरुष वासनाको सिकार भएका, कुनै बेचिएका र कुनै घरबाट निकालिएका यी नारीहरूको पीडा कहिल्यै बुझ्न सक्यौ ? त्यस्ता नारीहरूलाई जगाउने दम छ, तिम्रो कलममा ?

तिनीहरूलाई जिन्दगी दिने तिम्रो क्षमता छैन भने जिन्दगीबाट लखेट्ने अघिकार पनि छैन, बुझ्यौ...' आफैं प्रेमीको वासनाबाट सिकार भएर एउटा आदर्श पुरुष रिक्साचालकलाई श्रीमान् स्वीकारेकी प्रेमलताले ' श्रीमान् वीरबहादुर' कथामा म पात्रसँग गरेको यो संवाद नै कथाको मर्म बुझ्न काफी छ।

पृतिसत्तात्मक मुलुकमा अहिले पनि नारीप्रतिको व्यवहार र दृष्टिलाई उजागर गरिदिएको छ। राम्रो गर्न नसके नराम्रो पनि त नगरिदेऊ भन्ने प्रेमलताको आग्रहमा म पात्रले अन्तिममा कथाको बिट मारेका छन्, 'त्यस युवतीको बयानले मलाई त्यस दिनदेखि एक परिपक्व पुरुष बनाइदिएको छ। मैले एक निर्दोष युवतीको कोमल अवस्थालाई ठूलो शीर्षकको समाचार बनाउन छोडेको छु र एक नारी जीवनको उत्साहन्त घटनालाई सानो शीर्षकको कथा बनाएको छु।'

चैतको सुरुआतमा कथाकार रामलाल जोशी पाण्डुलिपि लिएर राजधानी छिरे। धनगढीदेखि १८ घन्टाको बसयात्रापछि उनको वि श्राम सम्भवत: मेरै बसेरामा भएको थियो। युग परिवर्तित छ। सञ्चार र साधनहरू सुलभ छन्। तर, सुदूरपश्चिमको माटोमा अझै धेरै विषय र विधाहरूको अभाव छ। प्रकाशनगृह टाढाको विषय हो, गतिलो छापाखाना नहुनुको पीडाले उनको त्यो यात्रा बाध्यकारी थियो।

 

बसिबियाँलोमा यिनै र यस्तै धेरै गुनासा होलान्। साँझपख कथाकार जोशीले हस्तलिखित पाण्डुलिपि झोलाको कुन्तरबाट निकाले। श्रीमान् वीरबहादुरमा प्रेम गरेर गर्भ बसेपछि बीचमै अलपत्र छोडिएकी प्रेमलताले आफूलाई अस्पताल पुर्‍याउने रिक्साचालकलाई नै श्रीमान् स्वीकारेको साहसिलो कथामात्रै होइन, उच्च घरानाकी छोरी भएर पनि आफूजस्तै अपमानमा परेकाको उत्साहन्त संसारको सुरुआत गर्ने कथा निकै गर्विलो छ।

यसले नेपाली समाजमा अझै पनि नारीको अवस्था बयान गर्छ। एउटा चिन्तनशील पत्रकारकै कलमलाई सन्तुलित बनाउनसक्ने दम उनका पात्रमा भेटिन्छ।फुर्सद निकालेर अबेर राति कथा पढ्ने र दिउँसो प्रकाशनगृहदेखि छापाखाना बुझ्ने यात्रामा कथाकार जोशीको संगतमै थिएँ। साँच्चै मोफसलमा बसेर लेख्नुको सकसभन्दा त्यसलाई पुस्तकाकार दिन पो जटिल रहेछ भन्ने अनुभूति त्यो यात्राले गराएको थियो। कथाकार जोशी एकपटक त कृति प्रकाशनलाई थाती राखेर फर्कने मुडमा समेत देखिए।

उनले रोग, भोक, असमानता, अपमान, बालवियोग र बालापनको धूमिल जिन्दगीलाई तरोताजमात्रै गरेका छैनन्, 'दियो जलिरहेछ' कथामा पछिल्लो राजनीतिक अवस्थाको दुरुस्त तस्बिर उतारेका छन्। थारू पहाडीको आन्दोलनलाई उनले समस्याका रूपमा मात्रै प्रस्तुत गरेका छैनन्, समाधानको दह्रो उपाय नै उल्लेख गरिदिएका छन्। कथा पढ्दै जाँदा गत भदौमा टीकापुरमा भएको घटना झलझली आँखा अघिल्तिर आएर उभिएझैं लाग्छ।

'...यता अखण्ड सुदूरपश्चिम जिन्दावाद, जिन्दावाद !


विखण्डनवादी मुर्दावाद मुर्दावाद, मुर्दावाद ! पश्चिम चौराहाबाट आएको जुलुसमा हजारौं मानिस गगनभेदी आवाजमा कुर्लिरहेका थिए। लडाइँको अन्तिम मोडमा उभिएका जस्ता देखिन्थे। अस्तित्व रक्षाका लागि उठेको आवाजमा दृढसंकल्प झल्किन्थ्यो।

उता,
थरुहट राज्य जिन्दावाद, जिन्दावाद !
पुनर्उत्थानवादी मुर्दावाद मुर्दावाद !

थरुहट राज्य घोषण गर्छौं, घोषणा गर्छौं ! पूर्व क्याम्पसरोडबाट आएको जुलुसमा रहेका हजारौं आक्रोशित र उत्तेजित थारूहरूका आवाजले आकाशलाई बुलन्द बनाएको थियो। ...'

मुलुकमा गणतन्त्र आएयता देशका विभिन्न क्षेत्रमा देखिएका दृश्य र विशेष गरी सुदूरपश्चिममा उठेको अखण्ड र थरुहटको मुद्दाको मर्म कथाले बोकेको छ। दुवै पक्ष मुठभेठमा पुग्छन्। ठूलो नरसंहारको भयावह अवस्था उत्पन्न हुन्छ।

प्रहरी, सुरक्षाकर्मीसमेत जुलुसमा पिल्सिएर त्यहाँबाट उम्कन्छन्। एकाएक जुलुसको बीचमा शिरमा फेटा बाँधेका एक हूल नारी पात्रको प्रवेशले जुलुस स्तब्ध बन्छ। शिथिल हुन्छ। ती नारीहरू पहाडीले विवाह गरेका थरुनी र थारूले विवाह गरेका पहाडिया महिला हुन्छन्।

जसले जसलाई मारे पनि आफ्नै दिदीबहिनी विधवा बनाउने खेल बन्द गर्न त्यो हूलले गरेको आग्रह एकाएक मान्य हुन्छ। कुनै प्रहरी चाहिँदैन, कुनै दल र राजनेता आवश्यक पर्दैन।कथाकारले कुशलतापूर्वक आञ्चलिकतामै शब्दको उचित प्रयोग गरेर मुलुककै लागि टाउको दुखाइ बनेको विषयलाई जनस्तरबाटै समाधानको उपाय पहिल्याएका छन्। यसले राष्ट्र र समाजप्रतिको कथाकारको संवेदनशीलतालाई प्रतिविम्बित गरेको छ।


भारत पसेको श्रीमान् नफिरेपछि, अन्न अभावमा ऊ भारत जान गौरीफन्टा पुलमा चारै सन्तान बटुलेर पुग्छे। भन्सार सुरक्षाकर्मीले ठाउँ र ठेगानाबिना भारत जान नदिएपछि कोइलीले चार सन्तानलाई काखी च्यापेर उर्लंदो मोहनामा हामफालेकी हुन्छे।

 

'एउटा भोकको अन्त्य' पढिरहँदा ढुंगाको मन हुनेमात्रै नरोइरहला। होइन भने जस्तोसुकै कठोर मन पनि पग्लिएर आँखाबाट पानीपानी हुन बाध्य पारिदिन्छ। एकपल्ट 'म' पात्र बाजुराको बाटुलेचौरमा पुग्दा ओठमा गुलाबी मुस्कान, आँखामा आकाशी सपना, मुहारमा चाँदनी चमक, गालामा स्याउरंगी सुन्दरता र छातीमा हिमाली सौन्दर्य भएकी कोइली रोकाया भेटिन्छ।

उसैकोमा बास बस्न जाँदा कोइलीकी आमाले भन्छिन्, 'उइ प्रभु, हामी दिदाइन प पाउनाकन कोदाको रोटो। पाउनाकन कोदाको रोटो को दिँदो हो हजुर।' आठ वर्षपछि म पात्र खाद्यान्न वितरण टोलीमा पत्रकारका रूपमा पुन: कोल्टी पुग्छन्।

अभाव, गरिबी र भोकले काकाकुल बनेको भीडमा म पात्रका आँखाले कोइलीको उस्तै रूप खोजिरहन्छ। एक दृश्यले उनको मन कुँडिन्छ। पापी समयले गुलाबका पत्ताहरूलाई एकएक गरी निखारेर केवल काँडैकाँडा मात्रै बाँकिरहेको दृश्यले उनका आँखा मलिन बन्छन्।

कोइली अब वसन्तकी होइन शिशिरकी कोइली भएकी थिई। उसका काखमा एउटा चिचिलो भोकले रुँदै थियो। सिँगान लतपतिएर गाला फुटेकी अबोध झुम्री बालिका बासी रोटीको सुकेको टुक्रो टोकिरहेकी हुन्छे।

...कोइलीलाई हेरिरहने र कुरा गरिरहने पहिलाजस्तो कुनै गोप्य आकर्षण हुँदैन यति बेला। दुई बोरा चामलसँग आफूले बनाएको सम्बन्ध साँटेर म पात्र मनभरि पीडा लिएर फर्कन्छ।

...एक दिन बिहानैदेखि पूरा धनगढी स्तब्ध छ। पत्रपत्रिका र एफएमहरूमा 'चार सन्तानसहित आत्महत्या', 'बाँच्नेहरूलाई उपहास', 'एउटा भोकको अन्त्य'लगायतका शीर्षकमा समाचार छापिन्छन्।

मोहना घाटमा राखिएको फूल अबिरले पुरिएको चार सन्तानसहितको लास कोइलीकै हुन्छ। भारत पसेको श्रीमान् वर्षौं नफिरेपछि, गाउँमा खाने अन्नको गेडोसम्म नपाएपछि ऊ भारत जान गौरीफन्टा पुलमा चारै सन्तान बटुलेर पुग्छे।

भन्सार सुरक्षाकर्मीले ठाउँ र ठेगानाबिना भारत जान नदिएपछि कोइलीले चार सन्तानलाई काखी च्यापेर उर्लंदो मोहनामा हामफालेकी हुन्छे।
अत्यन्तै मार्मिक पाराले प्रस्तुत गरिएको यो विदिर्ण कथाले पाठकको मुटु छियाछिया पार्छ।

'कालीको गीतम'मा कथाकारले सधैं गाउँकी गहनाजस्तै बनेकी काली बौजू (भाउजू)को उत्साहप्रद जीवनको दुखान्त अन्त्यलाई अटाएका छन्। रूखमा उक्लिएर बचाउ बचाउ भनिरहेका लालाबाला महाकालीले बस्तीसँगै निलिदिएपछि उनी बौलाही बनेको मुटु चुँडाल्ने कथा समेटिएको छ। जुन खोला किनारको जिन्दगीको डरलाग्दो सत्य हो।

'तस्बिर'मा श्रीमान् गुमेपछि तीन सन्तानसहित बाँच्न एउटी नारीलाई कति असहज छ भन्ने कथा बुनिएको छ। जहाँ बालबच्चाको जिन्दगी बनाउन आफ्नै अस्मिता बेच्ने कि जोगाउने भन्ने वर्तमान ब्वाँसो प्रवृत्तिको उजागर गरिएको छ।

'भर्जिन' कथामा मुडा बजारमा आफ्नै श्रीमतीका लागि ग्राहक खोज्ने श्रीमान् र आफ्नै छोरीको अस्मिताको मूल्य तोक्ने आमाको कथा मार्मिक ढंगले बुनिएको छ। 'पापीघाट'मा बाल्यस्मृतिलाई अनुपम ढंगले प्रस्तुत गरिएको छ।

'मध्याह्न' कथामा पाषाण सभ्यताको दुरुस्त तस्बिर उतारिएको छ जहाँ कुष्ठरोगी दाजुलाई घरपरिवार र समाजकै सहमतिमा ढोकोमा बोकेर अनकन्टार भीरमा लेखर छोडिदिन्छन्। यो कथामा कथाकारको आफ्नै पृष्ठभूमिसँग मेल खाने सत्य समेटिएको छ।

'खेल' मा वर्तमान समाजमा ह्रास हुँदै गएको नैतिकतालाई कौशलतापूर्वक पस्कन लेखक सफल छन्। 'साइबर सेक्स'ले वर्तमान युगमा सामाजिक सञ्जालको दुरुपयोगको कथा बोकेको छ।

'मुक्ति', 'यथार्थ भ्रम', 'रंगमञ्च', 'खुटियाको काख', 'समाप्ति'जस्ता कथाले यहाँको सामाजिक विकृति, गरिबी र अत्याचारको कथालाई ऐनमा हेरेझैं सबल उतारेको मान्नैपर्छ। यसो भनांै, संग्रहमा रहेका १९ वटै कथा फरक विषयमा बेजोड छन्।

यद्यपि ठेट स्थानीय भाषाले कथाकारको आञ्चलिकता प्रेमलाई जसरी दर्बिलो बनाएको छ, त्यसरी नै पूर्वी तराई र पहाडका पाठकप्रति कथाकारले अन्याय गरेका छन्। किनकि, स्थानीय भाषाको शब्दार्थको ध्यान उनले कतै दिएका छैनन्।

अपनत्वको नाममा उनले टिपिकल नेपालीभाषी पाठकप्रति अन्याय गरेका छन्। आञ्चलिकता र उच्छृंखल भाषाको उच्च प्रयोगले कथाकारलाई कहीँकहीँ कमजोर बनाएको छ।

ब्रदर बुक्स प्रकाशन प्रालिले प्रकाशन गरेको कथासंग्रह ऐना प्रकाशनको ९३ दिनमै कथासंग्रहको दोस्रो संस्करण प्रकाशन भइसकेको छ।

किताब : ऐना (कथासंग्रह)
लेखक : रामलाल जोशी
प्रकाशक : ब्रदर बुक्स प्रकाशन प्रालि
पृष्ठ : २५८+६
मूल्य : ३३३/-


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.