नक्कली एटीएम बनाउँदै ठग्दै

नक्कली एटीएम बनाउँदै ठग्दै

पोखरा: बैंकिङ सफ्टवेयर ह्याक गरी अर्कैको खाताको पैसा चलाएको आरोपमा प्रहरीले कास्कीमा दुईजनालाई पक्राउ गरेको छ । लामो समयदेखि ठगी धन्दा गर्दै अएका दोलखाका लीलाबहादुर बाँणा र मोरङका कोषराज भट्टराईलाई केही दिनअघि पक्राउ गर्न प्रहरी सफल भएको हो ।

लेकसाइडको एउटा होटेलमा बसिरहेको अवस्थामा प्रहरीटोलीले भट्टराई र बाँणालाई पक्राउ गरेको थियो । पञ्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका असई युवराजजंग कार्की नेतृत्वमा स्थानीय प्रहरी कार्यालयबाट सम्मिलित टोलीले उनीहरूलाई पक्राउ गरेको हो । टोलीमा जिल्ला प्रहरी कार्यालयका सई मेघराज गुरुङ र वडा प्रहरी कार्यालय बैदामका सई कुलप्रसाद रोक्का सम्मिलित थिए ।

अर्कैको बैंक खाताको पैसा ट्रान्सफर गरी एटीएमबाट निकाल्दै खर्च गरेको आरोप उनीहरूमाथि छ । उनीहरूले पोखराको पर्यटकीय केन्द्र लेकसाइडका होटेल, रेस्टुरेन्ट र पसलहरूमा एटीएमबाटै पैसा भुक्तानी गर्दै आएका थिए । तर ती व्यवसायीलाई उनीहरूले अर्कैको खाताको पैसा चलाएको भने पत्तो थिएन ।

सम्बन्धित बैंकका ग्राहकले आफ्नो खाताको पैसा घटेको गुनासो गरेपछि बैंकले प्रहरीलाई गुहारेको थियो । सोही क्रममा खोजी गर्दा प्रहरीले ती दुई युवालाई समातेको हो । कास्की जिल्ला प्रहरीका प्रवक्ता डीएसपी गजुसिद्धि बज्राचार्यले अनुसन्धानकै क्रममा रहेको केस भएको हुँदा उनीहरूले ठगेका बैंकलगायतको विवरण अहिलेनै सार्वजनिक गर्न नमिल्ने बताए । ‘अनुसन्धान भइरहेको छ', उनले भने ।

ती युवाबाट प्रहरीले बैंक डाटाबेस ह्याक गर्ने मेसिन, केही एटीएम कार्ड र केही पैसा जफत गरेको छ । स्रोतका अनुसार सबैभन्दा पहिला उनीहरूले कुनै विवरण नभरिएका एटीएम कार्ड जम्मा गरेका थिए । ‘त्यसपछि बैंकमा कसकसको खाता छ भन्ने पत्ता लगाए', स्रोतले भन्यो, ‘बैंक सफ्टवेयर ह्याक गरी ती खातावालको विवरण आफूहरूले जम्मा गरेका एटीएममा भरे ।'

बैंक डाटाबेस ह्याक गरी उनीहरूले एटीएमहरूमार्फत ८÷९ महिनाको अवधिमा पाँच लाख रुपैयाँ ठग्न भ्याएका थिए । ‘पाँच लाख रुपैयाँ ठूलोसानो एमाउन्ट हुनुभन्दा पनि बैंक सफ्टवेयर ह्याक हुनु डरलाग्दो चोरी हो', एक प्रहरी अधिकारीले भने, ‘काठमाडौंतिर यस्तो अपराध भए पनि पोखरामा यसअघि यस्तो घटना भएको थिएन ।' बेलैमा यस्ता ठगलाई पक्रउ गर्न सक्नुलाई प्रहरीले उपलब्धि ठानेको छ ।

प्रहरीले अहिलेलाई पोखरामा उनीहरूले पाँच लाख रुपैयाँ ठगेको देखिए पनि देशका अरू ठाउँमा पनि ठगी गरेका संकेत मिलेको छ । त्यसैले नै प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरी अधिकारीहरू यस्तो ठगीमा यी दुई युवा मात्र नभई अरू थुप्रैको संलग्नता हुनसक्ने अनुमान गरिरहेका छन् ।

बैंकहरूले सुरक्षाकै लागि सफ्टवेयरमा ठूलो लगानी गरेका हुन्छन् । त्यस्तो सफ्टवेयरसमेत ह्याक गरी पैसा निकाल्ने अपराधलाई ठूलो रूपमा लिइएको ती प्रहरी अधिकारी बताउँछन् । कास्की प्रहरीले भट्टराई र बाँणाबाट थप ठगी भएको हुनसक्ने आधारमा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरूविरुद्ध बैंकिङ कसुर र ठगीमा मुद्दा लगाई कारबाही गर्ने योजना प्रहरीले बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.