पैसा कमाउन मलेसिया पुगेका युवा कफिनमा फर्किए
राजविराजः परिवारको खुशीका लागि धन कमाउने सपना लिएर मलेसिया पुगेका राजविराज ६ का २८ वर्षीय जितेन्द्र यादव मंगलबार कफिनमा फर्किएका छन् ।
समुद्र किनारमा काम गर्दागर्दै गत बुधबार दोस्रो तलामा झुण्डिएको पाइप खुस्किएर लडेका यादवको घटनास्थलमै मृत्यु भएको थियो । शव घरमा ल्याइएपछि परिवार शोकमा डुबेको छ ।
२४ वर्षीया श्रीमती शोभा बेहोस्छिन् । होस खुल्दा शोभा भन्दै थिइन्, ‘नजाऊ भनेको मानेनौ, आखिर एक्लै छाडेर गयौँ ।’ शोभाको पीडाले गाउँलाई नै रुवाएको छ । ‘अब कस्को सहारामा बाँच्ने, छोराहरु कसरी पढाउने’, शोभा रुदै भन्दै थिइन् ।
आमा रोएपछि नाबालक दुई छोरा समेत रोइरहे । कालले झुक्किएर आफ्नो साटो नातीलाई लगेको भन्दै बृद्ध हजुरआमा तारावती भावविह्वल छिन् । यी सबै दृश्यले उपस्थित सबैका आँखा रसाए ।
तीन वर्षपछि मलेसिया फर्केका जितेन्द्र एक वर्ष घरमै बसे । श्रीमतीले पनि दुखसुख गरेर घरमै बसाँै भनेकी थिइन् । तर राजनीतिक अस्थिरता, बेरोजगारीबाट दिक्क भएका उनी गत असोज १३ गते पुनः मलेसिया गए ।
उनले १८ वर्षीय भाइ सत्यनारायणलाई पनि साथै लिएर गए । घरपरिवारको अपेक्षा अगाडि उच्च शिक्षा हासिल गर्ने चाहनालाई विश्राम दिदै एसएलसी उत्तीर्ण गरेका सत्यनारायण पनि दाजुको पछि लागे । अभिभावकका रुपमा सँगै रहेका दाजुको ज्यान गएपछि विक्षिप्त बनेका सत्यनारायण दाजुको शव बोकेर घर फर्किएका छन् ।
बेल्ही चपेनाका परशुराम यादवमार्फत् काठमाडौँ गौशालाको लुना म्यानपावर सर्भिसबाट मलेसिया पुगेपछि जितेन्द्रले काम जोखिमपूर्ण रहेको जनाउँदै पटक–पटक घर फर्कन चाहेको बताएका थिए ।
आफ्न्तका अनुसार जितेन्द्रले भने अनुसारको काम पाएका थिएनन् । उनले जोखिमपूर्णका साथै कामको स्थान र स्वरुप परिवर्तन भइरहेकाले भदौमा घर फर्कने योजना सुनाएका थिए । जितेन्द्रको काका भुवन र माइलो काकाको छोरा दीपक मलेसियामै छन् ।
चर्को ब्याजमा ऋण काढेर मलेसिया गएका यादवका परिवारमा उनलाई गुमाउनुको पीडामाथि ऋण तिर्ने चिन्ता छ । बुवा दुबीलालले भने, ‘पहिल्यै ऋण थियो, विदेश जाँदा फेरी तीन लाख ऋण काढेका छौँ, ब्याज मात्रै ४० हजार भइसक्यो, अब कसरी तिर्नु ?’ नौ जनाको परिवारमा सम्पत्तिको नाममा १६ धुर जग्गामा बनाएको फुसको घर मात्र छ ।