स्रष्टा समाजमा दुई पुस्ता
काठमाडौंः साढे ६ दशक उमेर काटिसकेका कवि अतृप्त पाण्डेय र भर्खर दुई दशक उमेर काटेकी कवि अमृता स्मृति पुरानोबानेश्वरस्थित धुन कलाकेन्द्रमा विद्रोह र आशाका स्वरसहित देशभक्तिपूर्ण भावका कविता लिएर गुन्जिए । स्रष्टा समाज काठमाडौंले आयोजना गरेको सोह्रौं शृंखलामा अतृप्त र अमृताले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका प्रश्न उराल्दै नेताहरूको खस्कँदो वैचारिक धरातल र गतिविधिको विरोध गरे ।
सात दशकको यात्रा तय गर्दै गरेका कवि अतृप्त र युवाकवि अमृताले मुलुकको हितविपरीत शासकहरूले गरेका सन्धिसम्झौता होऊन् वा राणा शासनदेखि नबदलिएको सिंहदरबार र सञ्चालकहरूको मनोवृत्ति विरुद्ध एउटै धारणा व्यक्त गरे । दुई पुस्ताको एउटै बुझाइ वास्तविकता भएको धारणा वरिष्ठ प्रगतिवादी कवि पूर्ण विरामको थियो ।
कार्यक्रममा अतृप्तले राष्ट्रियताको भावना बोकेका नेपाल मेरो, म बाँचेर हाँसेको मेरो जीवन, छुचुन्द्राहरू, मुसाहरू मुर्दावादलगायत शीर्षकका कविता वाचन गरेका थिए । अमृताले शासकहरूप्रति आक्रोश उब्जाउने विषयवस्तु बोकेका नयाँ समय, नयाँ मञ्जरी, तिमीहरू बरन्डामा हुनेछौ, सपना, सन्देश घोक्नेहरू शीर्षकका कविता वाचन गरेकी थिइन् ।
आयोजक संस्थाका अध्यक्षसमेत रहेका कवि अतृप्तले नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा अमृताको कवितामाथि पक्षपात गरिएको आरोप लगाए । कार्यक्रमकी प्रमुख अतिथि प्राज्ञ उषा ठाकुरले आफूले अबदेखि निष्पक्ष निर्णय गर्न प्रतिष्ठानमा दबाब दिने उद्घोष गरिन् ।