उखु किसानको अनुदान मन्त्रालय फिर्ता
परासीः उखु किसानले जिल्ला कृषि विकास कार्यालयको लापरबाहीका कारण अनुदानबापतको रकम पाउन नसकेको गुनासो गरेका छन् । समयमा वितरण नगरेका कारण केही किसानको रकम मन्त्रालयमा फिर्ता पठाइएको छ ।
केही किसानको रकम भने असार मसान्तमा भुक्तानी नगरे फ्रिज हुने भनी कार्यालयले कर्मचारीका नाममा पेस्की निकासा गरेको छ । तर, कर्मचारीले आफ्नै खल्तीमा राखेर अहिलेसम्म वितरण नगरेको किसानको आरोप छ ।
रकम पाएका किसानले पनि चिनी उद्योग र मन्त्रालयले पठाएको विवरणअनुसारको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले उखु उत्पादक कृषक समितिको मिलेमतोमा विवरण घटाएर भुक्तानी दिने गरेको आरोपसमेत लगाएका छन् ।
रकम नपाएको गुनासो गर्न गत आइतबार जिल्ला कृषि विकास कार्यालयमा पुगेका किसानले पेस्की रकम लिएर कर्मचारीले आफ्नो खल्तीमा राखेको भन्दै आक्रोश व्यक्त गरे । सरकारले उखु प्रवद्र्धनबापतको रकम उपलब्ध गराउन प्रतिक्विन्टल २५ रुपैयाँका दरले जिल्ला कृषि विकास कार्यालयमा पठाएको छ ।
कर्मचारीले पेस्की रकम निकालेर राखेको र भुक्तानी लिन जाँदा बैंकमा पठाइएको छ भन्दै पठाउने गरेका छन् । तर, बैंकले नआएको भन्दै फिर्ता पठाउने गरेको किसानको गुनासो छ । रकम लिन कृषि विकास कार्यालय पुगेका गुठीप्रसौनी-७ पिपरपातीका किसान कादिरअलि अन्सारीले चिनी उद्योग र मन्त्रालयको विवरणमा आफ्नो सात हजार नौ सय ४५ क्विन्टल ४२ केजी उखुको परिमाण उल्लेख भएको तर कृषि विकास कार्यालयले तीन हजार चार सय २७ क्विन्टलमात्र उल्लेख गरेको बताए । भुक्तानी लिन जाँदा अहिले जिल्लाको विवरणअनुसार लैजानुस् पछि मिलाउँला भन्दै कार्यालयले फर्काएको अन्सारीको भनाइ छ ।
रकम भुक्तानी लिन उखु उत्पादक कृषक समितिको सहयोग रसिदलाई कार्यालयले अनिवार्य गरेर समितिसँग मिलेमतो गरेको अन्सारीको आरोप छ । समितिले उखुको विवरण हेरेर सहयोगस्वरूप २५ देखि एक सयसम्म लिने गरेको छ ।
अर्का किसान युवराज मौर्यले आफ्नो चार हजार चार सय ४८ क्विन्टलमा दुई हजार तीन सय १० क्विन्टलको सूची टाँस गरेको बताए । त्यसरी कम विवरण निकालेर पठाएको रकम पनि लिन जिल्ला कृषि विकासले जनता बैंकमा पठाएको भन्ने सेमरीस्थित जनता बैंकमा जाँदा रकम आएको छैन भन्दै फिर्ता पठाउने मौर्यको गुनासो छ । सेमरीका किसान लालबहादुर यादवले मन्त्रालयले १० हजार क्विन्टलको विवरण पठाए पनि जिल्ला कृषि विकासले दुई हजार दुई सयको मात्र विवरण निकालेको बताए । उनले बाँकी रकमबारे सोधपुछ गर्दा पछि कुरा गर्ने भन्दै कर्मचारीले फिर्ता पठाइदिएको आरोप लगाए ।
असार मसान्तमा भुक्तानी नगरे रकम फिर्ता जाने भएकाले कर्मचारीको नाममा पेस्की दिएर राखिएको वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए । धैरे किसानको रकम भुक्तानी गर्न बाँकी रहेकाले केहीको विवरण नमिलेको हुन सक्ने गैरेको भनाइ छ । उनका अनुसार असारपछि कार्यालयको खातामा रकम राख्न नमिल्ने भएकाले किसानकै हितमा ६ जना कर्मचारीको नाममा पेस्की दिएर भुक्तानी गर्दै आएको हो । अहिलेसम्म ८० प्रतिशत किसानको रकम भुक्तानी भइसकेको गैरेले बताए ।
थोरै भएकालाई कार्यालयबाटै नगद र धेरै भएका किसानलाई बैंकमार्फत भुक्तानी दिएको कार्यालले जनाएको छ । गैरेले केही ठूला किसानको विवरण नमिलेकाले रकम फिर्ता गएको र पुनः निकासाका लागि मन्त्रालयमा अनुरोध गरिने बताए ।
किसानकै सहमतिमा रसिद काटेर समितिका लागि सहयोग लिइएको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए । ‘केही मिलका बिचौलिया (दलाल) ले जतिसुकैको रकम दिए पनि दिनुस् भन्दै जिल्ला कृषि विकास कार्यालयमा निवेदन दिएकोले त्यस्ता व्यक्तिले बदनाम गराउने प्रयास गरेका हुन्', अध्यक्ष यादवले भने ।
जिल्लाका लुम्बिनी, बागमती र इन्दिरा चिनी उद्योगमा १३ हजार सात सय ४३ किसानले उखु उपलब्ध गराएका छन् । कृषि मन्त्रालयले कुल २२ लाख ५० हजार क्विन्टलको पाँच करोड ६२ लाख ५० हजार रुपैयाँ अनुदान रकम कृषि विकास कार्यालयमा पठाएको छ ।