एटीएम ह्याकर पक्राउ
काठमाडौंः नेपालमा बसेर विभिन्न एटीएम ह्याक गर्दै पैसा निकाल्दै आएका रोमानियाका नागरिक अबलियन प्रेडालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रेडालाई पक्राउ गरेको हो । उनले हिमालयन बैंकको एटीएमबाट पैसा निकालेका थिए । दुई महिनादेखि नेपाल बस्दै आएका प्रेडाले पटकपटक हिमालय बैंकको एटीएमबाट पैसा निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नेपालमा भएका यसअघिका अन्तर्राष्ट्रिय एटीएम ह्याकरहरूले विभिन्न मुलुकका व्यक्तिको एटीएमको सम्पूर्ण जानकारी लिएर आफैं आएकोमा उनले हाल दोस्रो पक्षबाट एटीएमको जानकारी लिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले प्रेडाबाट एक सय ४० वटा एटीएम कार्ड बरामद गरेको छ । बरामद गरेको एटीएम बेलायत, फ्रान्स, जर्मनी, पेरू, रसिया, इटाली साउथ कोरिया, कोस्टारिका, जापान, इन्डोनेसियालगायत मुलुकका छन् ।
प्रेडाले अन्य मुलुकको गिरोहको सहयोगमा एटीएमबाट पैसा निकाल्दै आएका थिए । ब्युरोका एसपी हृदय थापाका अनुसार विदेशमा रहेका गिरोहले उतैको एटीमएमा वेबक्याम्प क्यामेरा राखेर एटीएमको पिन कोड र एटीएमभित्रै अर्को डिभाइस राखेर एटीएमबारे जानकारी लिन रे त्यो जानकारी प्रेडालाई दिएपछि उनले खाली एटीएममा सबै जानकारी हालेर पैसा निकाल्दै आएका थिए ।
प्रेडा थाइल्यान्ड, पपुवान्युगिनी, इन्डोनेसिया, कम्पोडिया, बोलिभियामा समेत गएको उनको राहदानीबाट खुलेको छ । उनी दुईपटक नेपाल आएको प्रहरीले जनाएको छ । उनले फ्रान्स र बेलायतका नागरिकको खातामा रहेको पैसा निकाल्दै आएका थिए । एसपी थापाका अनुसार प्रेडाले एटीएमबाट निकालेको रकममध्ये आफू ३० प्रतिशत र बाँकी ७० प्रतिशत विदेशमै रहेका गिरोहलाई पठाउँदै आएको बयान प्रहरीलाई दिएका छन् ।
प्रहरीले प्रेडाबाट दुई लाख ६० हजार रुपैयाँ बरामद गरेको छ । ब्युरोलाई हिमालयनले जानकारी दिएपछि अनुसन्धान गरेको थियो । यसका लागि ब्युरोले हिमालयन बैंकको राजधानीका अधिकांश सीसीटीभी फुटेजको अभिलेख हेरेको थियो ।