फोटो नेपालको अगस्ट संस्करण सुरु
काठमाडौंः फोटो नेपाल प्रदर्शनीको अगस्ट संस्करण बिहीबारबाट सुरु भएको छ । सामाजिक अभियन्ता एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर प्रदर्शनी उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि पुनले सुन्दर देशलाई सुन्दरसँग देखाउन तस्बिरहरू सहयोगी हुने बताए । फोटो पत्रकार क्लब नेपालको सहकार्यमा नेपाल पर्यटन बोर्डले आयोजना गर्दै आएको प्रदर्शनीमा यसपटक ‘मनसुन'सँग सम्बन्धित फोटोहरू छन् ।
वरिष्ठ फोटोग्राफर एवं कार्टुनिस्ट राजेश केसीले यसखाले प्रदर्शनीले देश चिनाउन मद्दत गर्ने बताए । बोर्ड प्रमुख दीपकराज जोशीले एक सुन्दर तस्बिरले हजार शब्द बोल्ने हुँदा फोटोमार्फत प्रवद्र्धनलाई बोर्डले विशेष महत्त्व दिने बताए ।
फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले बोर्डको सत्प्रयासमा फोटोग्राफर र फोटोपत्रकारले साथ दिने र सहयात्रा जारी रहने बताए ।
उद्घाटन कार्यक्रममा सक्षम ब्यान्डले नेपाली सांगीतिक प्रस्तुति गरेको थियो ।