पाँच हजार लिएर १२ वर्षकी छोरीको बिहे !

पाँच हजार लिएर १२ वर्षकी छोरीको बिहे !

इटहरी: रामनगर भुटाहा गाविस ५ का खलखल मरिकले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नाबालिका छोरीको विवाह गरिदिएका छन् । सुनसरीका दक्षिणी क्षेत्रमा रहेका अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण आफू नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताए ।

उनले छोरी प्रमिलाको विवाह गर्दा सप्तरी घर भएका ज्वाइँ प्रभु मरिकले पाँच हजार दिन राजी भएपछि छोरीको विवाह गरिदिएको सुनाए । १२ वर्षमा विवाह गरेकी खलखल मरिककी छोरी प्रमिला हाल १७ वर्ष पुगेकी छन् ।

१२ वर्षमा बालविवाहको सिकार बनेकी प्रमिला दुई सन्तानकी आमा भइसकेकी छन् । उमेर नपुगी गर्भ बसेपछि प्रमिलाको पहिलो सन्तानको निधन भयो । उनले वर्ष दिनपछि अर्को सन्तान छोरा जन्माएकी थिइन् । पहिलो सन्तान खेर गएको एक वर्ष नपुग्दै जन्मिएको प्रमिलाको दोस्रो सन्तानको पनि स्वास्थ्य अवस्था राम्रो छैन ।

छोरो जन्माएपछि उनको घरपरिवारमा खुसीयाली छाए पनि प्रमिलाको जीवन भने कहाली लाग्दो छ । १६ वर्षको कलिलो उमेरमा दुई पटक गर्भवती बनेपछि आफू शारीरिक रूपमा कमजोर बनेको प्रमिलाले बताइन् ।

सुनसरी मध्यहर्साही गाविसकी १७ वर्षकी पिन्की मरिक पनि यतिबेला दुई सन्तानकी आमा बनकी छन् । १३ वर्षकै उमेरमा विवाह गरेकी पिन्कीको जेठो छोरो चार वर्षको र कान्छो सन्तानका रूपमा जन्मिएकी छोरी दुई वर्षकी भइन् । आफूले सानै छु भनेर विवाह गर्न नमान्दासमेत जबरजस्ती विवाह गरिदिएका कारण काम गरेर खान शारीरिक रूपमा कमजोर भएको उनको गुनासो छ ।

त्यस्तै सुनसरी घुस्की गाविसकी १७ वर्षीया फूलदेवी मरिकको १४ वर्षको उमेरमै रामनगर भुटाहाका रमेश मरिकसँग विवाह भयो । उनी १५ वर्षमा गर्भवती भएर एउटी छोरीकी आमा बनेकी छन् । १५ वर्षमै गर्भवती हुन बाध्य भएपछि उनले पनि शारीरिक रूपमा कमजोर बनेको दुखेसो पोखिन् ।

कम्मर दुख्ने र पाठेघर दुख्ने व्यथाले च्यापिरहेको उनको गुनासो छ । बालविवाह गर्नु सामाजिक अपराध भए पनि गाउँघरमा छोरी अर्कैसँग भाग्छे भनेर आमाबुबाले सामाजिक प्रतिष्ठाको विषय बनाएर उमेरनै नपुगी विवाह गरिदिने गरेको फूलदेवीको भनाइ छ । बालविवाह गरेकै कारण रानगर भुटाहाको मरिक टोलमा ४५ वर्ष कटेका महिलानै भेटिँदैनन् ।

बालविवाहका कारण छिट्टै गर्भवती हुने भएका कारण मरिक टोलका १७ जना महिलाको अल्पायुमा नै मृत्यु भएको स्थानीय चलितर मरिकले बताए । स्थानीय तारादेवी मरिकले छोरी मान्छेले आफूखुसी विवाह गर्दा आमा बाबुको गाउँभरि कुरा काट्ने त्रासका कारण अधिकांश अभिभावकले छोरीका उमेरनै नपुगी विवाह गर्ने प्रचलन रहेको बताइन् । उनले बालविवाह गर्दा केटा वा केटी पक्ष जो धनी छ त्यसैले पैसा दिने परम्परा रहेको पनि सुनाइन् ।

प्रमिला, पिन्की र फूलदेवी बालविवाह गर्नेमध्येका प्रतिनिधि पात्र मात्र हुन् । सुनसरीका दक्षिण क्षेत्रका रामनगर भुटाहा, घुस्की, हरिनगरा, देवानगन्ज, कप्तानगन्ज, साहेवगन्ज, राजगन्ज सिनुवारी, मध्यहर्साही, अमाहिबेला, नर्सिङ, भोक्राहा, हरिपुर, श्रीपुरलगायतका गाविसमा बालविवाह गर्ने क्रम अत्यधिक रहेको महिला तथा बालबालिका कार्यालय सुनसरीकी प्रमुख रश्मी श्रेष्ठले बताइन् ।

उनका अनुसार सीबीआर नामक गैरसरकारी संस्थाले गरेको सर्वेअनुसार सुनसरीको साविकको एकम्बा, पकली (हाल इटहरी उपमहानगरपालिका), मधेसा र चादवेलामा मात्र गएको तीन वर्षको अवधिमा दुई सयभन्दा बढी बालबालिकाको जबरजस्ती विवाह गरिएको श्रेष्ठले जानकारी दिइन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समितिका संरक्षक मोहनबहादुर चापागाईंले सुनसरीमा बालविवाहको अवस्थाका बारेमा आफूलाई जानकारी नभएको बताए । सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले गएको ५ महिनामा जबरजस्ती बालविवाह गर्ने पाँचजनालाई पक्राउ गरी कारबाही गरिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.