पहिरोले एक्लिए बालिका
खलंगा (प्युठान): केही दिनअघिदेखिको साउने झरी १० गतेको दिन निकै बाक्लिएको थियो । प्युठान फोप्ली गाविस ३ की छिमा पुनमगर आफ्नै घरमा सुतेकी थिइन् । उनका बुबा, आमा र दुई बहिनी घरमुनिको गोठमा सुतेका थिए । राति कतिबेला पहिरो आयो, उनले थाहा पाइनन् ।
गोठ पहिरोले लग्यो । गोठमा सुतेका उनका आफन्त सबै पुरिए । उनले केही थाहा पाइनन् । अर्को दिन गाउँमा हल्लाखल्ला भयो । सबै गाउँले रुनकराउन थाले । 'पहिरोले मान्छे लग्यो, मान्छे मरे' भन्ने धेरै बिलौना उनले सुनिरहेकी थिइन् । उनलाई एउटै चिन्ता थियो, आमा, बा र बहिनीहरू कहाँ गए होलान् ?
दुई दिनपछि प्रहरी र उनका छिमेकी गाउँलेले लहरै चारवटा लास उनको घरअघि सुताए । मुख हेरिन्, उनका बा थिए, दुई बहिनीहरू थिए । आमा भने थिइनन् । ती लास विभिन्न ठाउँमा भेटिएका थिए । त्यसपछि मात्रै उनलाई थाहा भयो, पहिरोले उनको गोठ र आमा, बा, बहिनीहरू सबै बगाएछ । आमा अहिलेसम्म बेपत्ता छिन् पहिरोमा पुरिएर । अरू आफन्तको लाससम्म देखिन् छिमाले, आमाको त लास पनि देख्न पाएकी छैनन् ।
'खै त्यो राति त मैले केही थाहा पाइनँ, के भयो के ? अर्को दिन गाउँका सबै मान्छे रुँदैकराउँदै थिए', १६ वर्षीया छिमा पुनले भनिन्, 'दुई दिनपछि बल्ल बा र बहिनीहरूको लास देखें । आमा भेटिनुभाछैन ।' उनको घर भने पहिरोले छोएन । तीन वर्ष मलेसियामा बसेर गत वर्षको पुसमा घर फर्किएका उनका बुबाले अब बन्न थालेको नयाँ घरमा सर्ने योजना बनाइरहेका थिए । यही दसैंमा उनीहरू नयाँ घरमा सर्दै थिए । तर सबै पहिरोले लग्यो । अब उनी मात्रै बचिन् ।
'अब फर्केर त्यो गाउँमा किन जाने हो र ? पढ्न मन छ, काँ बसेर पढ्ने ? घरमा कोही छैनन्, आफन्त पनि कोही छैनन्', प्युठान जिल्ला महिला तथा बालबालिका कार्यालयले सञ्चालन गरेको 'सेफ हाउस' मा शरण लिइरहेकी छिमाले भनिन्, 'यतै बसेर पढ्न पाए ठूलो मान्छे बन्ने थिएँ ।'
सेफ हाउसको जिम्मेवारी लिएको प्युठानको महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाले उनका लागि कक्षा आठको किताब किनिदिएको छ । उनी त्यहीं बसेर आफैं पढिरहेकी छन् । तर आफन्तको साथ गुमाएकी उनलाई कसले सहारा दिएर पढाउला ? उनी त्यसैको पर्खाइमा छिन् ।
उनीसँगै छिन् छिमेकी साथी १४ वर्षकी सेमी पुन । १० गतेको पहिरोले सेमीका पनि सबै आफन्त गुमे । घरमा सुतिरहेका आमा, बा, बज्यै, दिदीहरूलाई पहिरोले लग्यो, त्यही दिन दिउँसो गाउँलेहरूले खोजेर उनीहरूको लास झिकिदिए ।
गाउँलेहरूले नै अन्त्येष्टि गरिदिए । अहिलेसम्म सेमीका पनि कोही आफन्त सम्पर्कमा आएका छैनन् । कक्षा चारमा पढ्दै गरेकी उनी पनि जिल्ला सदरमुकामस्थित सेफ हाउसको शरणमा छिन् ।
'म गाउँकै साथीको घरमा सुत्न गाथें, राति गाउँमा हल्लाखल्ला भयो, हामी सबै बाहिर निस्कियौं', उनले भनिन्, 'जताकतै ठूलो पानी थियो, गाउँमा केही देखिएन ।' अर्को दिन साँझपख मात्रै उनले बाआमालाई देखिन् तर ती लास भइसकेका थिए ।
यी दुई बालिकालाई जिल्लास्थित महिला बालबालिका कार्यालयको पहलमा पहिरो गएको चार दिनपछि राहत लिएर गएको हेलिकोप्टरबाट सदरमुकाममा ल्याइएको थियो । बालबालिका कार्यालय प्रमुख शान्ति विकका अनुसार उनीहरूको पुनस्र्थापनाका लागि प्रयास भइरहेको छ । उनीहरूका नाममा बैंकमा खाता खोलेर सहयोग जुटाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले बताए ।
'दुईटै नानीहरूले पढ्छौं भनेका छन् । हामीले सेफहाउसमा धेरै समय पनि राख्न सक्ने स्थिति छैन । यहाँ राख्ने त्यही एकदुई महिना मात्रै हो', विकले भनिन्, 'हामी सहयोग जुटाउने प्रयास गरिरहेका छौं । ती नानीहरूका कोही पनि आफन्त सम्पर्कमा आएका छैनन् ।'
पहिरोमा सबै आफन्त गुमाएर एक्लिएका यी दुवै बालिकाले अब फेरि गाउँ फर्किने मन गरेका छैनन् । उनीहरू दुवैको इच्छा पढ्ने मात्रै हो । जिल्ला प्रशासन कार्यालयले घर भत्किएबापत १० हजार रुपैयाँ र सरकारी राहतबापत प्रतिमृतकको ४० हजारका दरले रकम उपलब्ध गराएको छ । तर उनीहरूकै नाममा खाता खोलेर मात्रै पैसा जम्मा गरिने प्रमुख जिल्ला अधिकारीले बताए ।
'हामी उनीहरूको पुनस्र्थापनाको प्रयास गरिरहेका छौं । सकभर परिवार र आफन्तको जिम्मा लगाए राम्रो हुन्थ्यो तर कोही आफन्त सम्पर्कमा आउनुभएको छैन', प्रमुख जिल्लाअधिकारी पन्तले भने, 'अहिले ती नानीहरूका नाममा बैंकमा खाता खोलेर सहयोग जुटाउने प्रयासमा छौं । पढ्ने मन रहेछ नानीहरूको ।' कोही दाता र आफन्त नभेटिए केन्द्रीय बालकल्याण समितिको पहलमा उनीहरूलाई कहीं न कहीं पुनस्र्थापना गरिने पन्तले बताए ।
फोप्ली गाविसमा मात्रै १० र ११ गते गएको पहिरोले २५ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । यो बाढीपहिरोले प्युठानमा अहिलेसम्म ४० जनाको मृत्यु भएको छ भने एकजना महिला बेपत्ता छिन् । ती महिला बालिका छिमाकी आमा हुन् ।