भक्तपुर तलेजु सेतो घोडाविहीन
भक्तपुरः भक्तपुर दरबार क्षेत्रस्थित तलेजु भवानी नौ महिनादेखि आफ्नो बाहन सेतो घोडाविहीन भएको छ । दसैंको टीकाका दिन तलेजुको भवानीको पायो (खड्ग) जात्रा गर्न नभइनहुने सेतो घोडा अहिलेसम्म व्यवस्था हुनसकेको छैन ।
भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले गुठी संस्थान भक्तपुर र केन्द्रमा सेतो घोडा व्यवस्था गर्न पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नभएको जानकारी दिए ।
तलेजु भवानी धेरै समयसम्म बाहनविहीन हुँदा देशमा अनिष्ट हुनसक्ने भएकाले छिटोभन्दा छिटो सेतो घोडाको व्यवस्था गर्न उनले माग गरे । ‘तलेजु भवानी धेरै समयसम्म बाहनविहीन हुँदा देशमा अनिष्ट हुने जनविश्वास छ', मूल नाइके जोशीले भने, ‘यस्तो गम्भीर एवं संवेदनशील अवस्थामा तलेजु भवानीको बाहनको छिटो व्यवस्था हुनुपर्छ ।'
तलेजुको बाहन सेतो घोडाको व्यवस्था गुठी संस्थानले गर्दै आएको छ । गत वर्षको दसैंमा पायो जात्राका क्रममा घाइते भएको सेतो घोडा गएको कात्तिक ७ मा मरेको थियो ।
‘त्यसलगत्तै नयाँ सेतो घोडाको व्यवस्था गर्न गुठी संस्थान भक्तपुरमा लिखित निवेदन दिएका थियौं', मूल नाइके जोशीले भने, ‘तर नौ महिना बितिसक्यो, नयाँ घोडा व्यवस्था हुनसकेको छैन ।'
यता गुठी संस्थान केन्द्रीय कार्यालयका सहप्रशासक हेम सुवेदीले सेतो घोडाका लागि भूमिसुधार मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा पत्राचार भइरहेको जानकारी दिए ।
‘हामीकहाँ ढिला गरी जानकारी आयो । त्यसले गर्दा पनि व्यवस्थापनमा ढिलाइ भयो', सहप्रशासक सुवेदीले भने, ‘तैपनि प्रक्रिया अघि बढाइएको छ । दसैंअघिसम्म जसरी भए पनि व्यवस्था भइसक्छ ।'
यसअघि भक्तपुर तलेजुलाई आवश्यक पर्ने सेतो घोडा गुठी संस्थानको आग्रहमा भूमिसुधार मन्त्रालयले रक्षा मन्त्रालयमार्फत नेपानी सेनाबाट प्राप्त गरेको थियो । गत वर्ष मरेको घोडा पनि नेपाली सेनाले उपलब्ध गराएको गुठी संस्थान भक्तपुरले जनाएको छ ।
तलेजुका मूल नाइके जोशीका अनुसार तलेजुको बाहनका रूपमा राखिने सेतो घोडा कुमार हुनुपर्छ । त्यस्तै कसैले चढिसकेको घोडा तलेजुको बाहनका रूपमा प्रयोग हुँदैन ।
‘भालेपोथी जुन भए पनि हुन्छ तर कसैले चढेको सेतो घोडा तलेजुको बाहनका रूपमा प्रयोग हुँदैन', उनले भने ।घोडाको राम्रो हेरचाह गर्ने सइस (सुसारे) नभएकाले भक्तपुर तलेजुमा रहेको अघिल्लो सेतो घोडा मरेको तलेजुका पुजारी बताउँछन् ।
मल्ल कालमा राजदरबारबाटै उक्त सेतो घोडाको हेरचाह गरिन्थ्यो । घोडा अति संवेदनशील तथा चाँडै रोगले समाउने जनावर भएकाले घोडाको स्वास्थ्यसम्बन्धी दर्जनभन्दा बढी पुस्तक मल्ल दरबारमा भेटिएको संस्कृतिविद् ओमप्रसाद धौभडेल बताउँछन् ।
उनका अनुसार अश्व चिकित्सा भनेर लेखिएका दर्जनौं पुस्तक हाल राष्ट्रिय अभिलेखालयमा सुरक्षित छन् ।घोडालाई नियमित दौडाइरहनुपर्छ । त्यस्तै उसको आहार पनि सन्तुलित हुनुपर्छ । तर भक्तपुर तलेजुमा रहेको सेतो घोडाको राम्रो स्याहार गर्ने कुनै व्यक्ति छैन ।
तलेजुभित्र घोडालाई दौडिन पर्याप्त ठाउँसमेत छैन । घोडा बस्ने तबेलासमेत व्यवस्थित छैन । ‘तबेला वैज्ञानिक र व्यवस्थित नभएकाले नयाँ तबेला बनाइदिन पुराततत्व विभागमा निवेदन दिएका छौं', उनले भने ।