एक दाँत रोगीको अनुभव

एक दाँत रोगीको अनुभव

म दाँतको डाक्टर होइन, दाँतको रोगी हुँ । भर्खरको बच्चा हुँदा मेरा दाँत राम्रा थिए रे । पछिका दाँत बांगाटिंगा निस्केछन् । २०२६ सालतिर म ११ वर्षको हुँदा लाजिम्पाटस्थित सहिद शुक्र विद्यालयमा पढ्थेँ, बिहान कक्षाअघि र बेलुकी कक्षापछि गुच्चा र भकुन्डो खेल्थँे । भकुन्डोचाहिँ अहिलेको क्रिकेट बलजत्रो । एक बिहान गोलकिपर बनेँ । बल त रोकेँ तर स्ट्राइकरको बुट सीधै मुखमा । एकछिन बेहोसै भएँ । माथिल्लो बीचको एउटा दाँत भाँचिएछ । उपचारतिर लागिएन । भाँचिएको दाँत लिएरै जिइरहेँ ।

पछि गएर तीनचार महिनामा एकपटक दाँत दुख्न थाल्यो । चार÷पाँच दिनको दुखाइपछि गिजाको माथिल्लो भागमा पिप जम्थ्यो र पीप निस्केपछि आपै निको हुन्थ्यो । यही क्रम चलिरह्यो । त्यसबेला दाँत दुख्दा धेरैले घरेलु उपचार गर्थें, दन्तचिकित्सक (डेन्टिस्ट) कहाँ जाँदैनथे । काठमाडौँको बांगेमुढाको कुनामा रहेको ‘वास्याद्योः' मा फलामको किला ठोकेर पूजा गर्थे । ‘वा' भनेको दाँत, ‘स्या' दुख्ने र ‘द्योः' देउता ।

त्यहाँ किला ठोक्दा दाँत दुखेको निको हुने जनविश्वास थियो । अहिले पनि पैसाको ढ्याकसहित किला ठोकिराखेको देख्न सकिन्छ, सायद किला ठोक्न जानेहरू धेरै कम भए होलान् । मैले किला ठोक्न गइन र डेन्टिस्टकहाँ पनि गइन । त्यतिखेर डेन्टिस्टकहाँ सम्भ्रान्त र जानेबुझेका मात्र जान्थे । म गलत हुन सक्छु । त्यसबेला डेन्टिस्ट पनि अहिलेजस्तो जहाँकहीँ कहाँ हुन्थे र ! मैले देखेअनुसार काठमाडौँको नःघलमा नक्कली गिजासहित दाँत प्रदर्शन गरिराखेका केही दाँत बनाउने पसल थिए ।

त्यसबेला मानिसहरू अँगारको धुलो, तमाखुको अँगार (नेपाल भाषामा बजाँखोः) ले माझ्थे । मैले पनि अँगारले माझेको छु । अहिले टुथपेस्टमा अँगार (चारकोल) मिसाउन थालेका छन् । यसको अर्थ अँगारको उपयोगिता धेरै पहिले थाहा रहेछ । त्यतिबेला दाँत दुख्दा नुन र तेल मिसाएर दाँत माझ्थे, मैले पनि माझेको छु । दुखेको दाँतमा ल्वाङको तेल हाल्थे । अहिले नुन, ल्वाङ आदि भएका मञ्जनको विज्ञापन हुने गर्छ । निमको डाँठले दतिवन गर्थे । निमको अनगिन्ती उपयोगिता सिद्ध भइसकेको छ ।

मेरा मित्र अमेरिकी वैज्ञानिक आयन डेस्जार्डिनले लमजुङमा बस्दा देखेकी रहिछन् त्यहाँका मानिस दाँत दुख्दा, घाँटी दुख्दा र ज्वरो आउँदासमेत ‘ढोबिनी' नामको एउटा बिरुवाको जराको बोक्रा वा फल चपाउने गर्थे । आयनले उक्त बिरुवामा रहेको रासायनिक तत्त्व अमेरिका लगेर परीक्षण गरिन् । साँच्चिकै त्यस बिरुवामा गिँजा रोगाउने ब्याक्टेरिया (पोरफाइरोमोनास गिन्गिभालिस्) विरुद्ध प्रभावकारी ६ किसिमका ‘ट्राइटरपेन्वाइड ग्लाइकोसाइड्स' तत्त्व भेट्टाए । उक्त नतिजा ‘जर्नल अफ् नेचरल प्रडक्टस्' वर्ष ६२ (सन् १९९९) मा प्रकाशित छ ।

धेरै वर्षपछि दाँत दुख्नेहरूलाई लाल दन्तमञ्जन राम्रो हुन्छ भन्ने सुनेँ र प्रयोग गर्न थालेँ । सुरुमा वैद्यनाथको र पछि डाबरको । त्यसको लत् नै प¥यो । त्यसले दाँत नमाझेसम्म सन्तुष्टि नै नहुने । त्यसमा सुर्ती भएकाले हल्का नशा पनि लाग्थ्यो । कामविशेषले विदेश जाँदा र अध्ययनार्थ डेनमार्क बस्दा पनि लाल दन्तमञ्जन नै लगिन्थ्यो । यद्यपि बीचबीचमा दुख्नेचाहिँ छुटेको थिएन । एक दिन मेरा गुरु डा. सुरेशबिहारी माथुरले दिनमा कतिपटक दाँत माझ्छौ भनिसोधे । जवाफ दिएँ- एकपटक, बिहान मुख धुँदा । उनले भने, होइन-दुईपटक माझ्नुपर्छ, बिहान र बेलुकी, त्यो पनि खाना खाएपछि, बिहान मुख धुँदा आवश्यक छैन । त्यो दिनदेखि दिनको दुईपटक दाँत माझ्न थालेँ । धेरै राहत मिलेको महसुस भयो । उनैले डेन्टिस्टकहाँ गएर दाँत सफा गर्न पनि सल्लाह दिए ।

डेनमार्कमै रहँदा नेपालीलाई अभिभावक भै माया गर्ने एकजना घनिष्ट मित्र बनेकी थिइन्, बिर्गिट निल्सन । संयोगले उनी डेन्टिस्ट नै थिइन् र उनको आफ्नै क्लिनिक थियो । दाँत सफा गर्न उनीसँग सल्लाह गरेँ । उनैले सफा गर्ने भइन्, निःशुल्क । दाँत सफा गर्नेलाई ‘स्केलिङ' भन्दो रहेछ । ३५ वर्षको हुँदा पहिलोपटक सफा गर्न बसेको । त्यसबेला तिनीसँग स्वचालित (अटोमेटिक) क्लिनर थिएन, सुइरो नै प्रयोग गर्थिन् । सुइरोले कोट्याउँदा र घोच्दा दुख्थ्यो नै । नसहेर सुखै थिएन । सफा गरेपछि मुखै हल्का लाग्यो । पैंतीसौँ वर्षदेखि जम्मा भएको दन्तलेउ÷पत्थर एकैपटक सफा हुन सकेन । अर्को हप्ता आउनू भनिन् । त्यसै गरेँ । कसैबाट सुनेको थिएँ, दाँत धेरै सफा गराउनु हुन्न । दाँतको जरा कमजोर हुन्छ । त्यस्तो होइन रहेछ ।

अध्ययनकै सिलसिलामा डेनमार्कबाट एक हप्ताको लागि नर्वे गइयो । होटेल कोठामा मेरो मिल्ने साथी जिम्बाब्वेका केम्स मगुनी र म पर्‍यौँ । उनलाई मैले धेरै समयदेखि प्रयोग गर्दै आएको दाँत माझ्ने ब्रसको टिकाउ देखाएँ... । उनले तुरुन्तै प्रतिक्रिया जनाए, ‘नो नो... आर यु क्रेजी (होइन होइन, तिमी बहुलाएका छौ) । यस्तो पुरानो ब्रस प्रयोग गर्नु हुन्न । त्यसबेला थाहा पाएँ, ब्रस तीन÷चार महिनामा फेर्नुपर्ने रहेछ । पुरानो ब्रसले दाँत राम्रो सफा हुँदैन र गिजालाई पनि असर गर्छ । एक दिन बिर्गिटलाई कति मिनेट ब्रस गर्ने भनेर सोधेँ ? जवाफ थियो, ब्रस गर्ने तरिकामा भरपर्छ । सही तरिकाले ब्रस गर्ने हो भने दुई मिनेटले पुग्छ । ब्रस गर्दा दायाँबायाँ दल्नुभन्दा तलमाथि, भित्रबाहिर र कुनाकाप्चासम्म पुग्ने गरी गर्नुपर्छ ।

सन् १९९४ मा फिल्ड अनुसन्धानको लागि नेपाल फर्केँ । एक दिन दाँत साह्रै दुख्यो । डेन्टिस्टकहाँ जाने निधो गरेँ, नेपालमा पहिलोपटक । पुल्चोकमा चैत्यसँगैको गल्लीमा एउटा डेन्टल क्लिनिक देखेँ, त्यहीँ गएँ । महिला डेन्टिस्ट थिइन् । दाँत झिक्नै (एक्स्ट्र्याक्ट) पर्छ भनिन् । म केही दिनमा डेनमार्क फर्कनुपर्ने भएकाले सोधेँ- अहिलेलाई नझिक्दा हुन्न र ! जवाफ थियो, किन नहुनु, यतिका वर्ष त भइरहेको छ । दुखाइ कम गर्ने औषधि र एन्टिबायोटिक दिइन् ।

म दाँतको उपचार वा सफा गर्न जाँदा कहिल्यै कतिपटक, कसरी, र कहिले दाँत माझ्छौ भनेर सोधेको थाहा छैन । ब्रस र ब्रसको किसिम/अवस्थाबारे सोधेको थाहा छैन । यतिमात्र सोधेर नजान्नेलाई सही उपाय बताइदिने हो भने धेरैलाई राहत मिल्छ ।

डेनमार्क फर्कें, अध्ययनको अन्तिम चरण थियो । एक दिन दाँत ज्यादै दुख्यो । डानिडा फेलोसिप सेन्टर (डीएफसी) लाई थाहा दिएँ । (डीएफसीले छात्रवृत्तिमा गएकाहरूको रेखदेख र प्रशासनिक मामिलामा सहयोग गथ्र्यो ।) नजिकैको डेन्टिस्टकहाँ समय लिएर पठाए । भाँचिएको दाँत खोक्रो भइसकेको थियो, त्यसैको असर सँगैको दातमा पनि परिसकेको थियो । डेन्टिस्टले अगाडिका दुइटा दाँत झिक्ने र पे्रmमसहित नक्कली दाँत राख्ने सुझाव दिए । त्यसको मूल्य पर्ने भो ६ हजार डेनिस क्रोनर अर्थात् त्यसबेलाको दरमा ६० हजार रुपैयाँ । त्यसमध्ये पाँच हजार क्रोनर डीएफसीले र एक हजार मैले बेहोर्नुपर्ने भो । सोहीबमोजिम नक्कली दाँत राखियो । मैले सोधेँ, कति टिक्छ ? तिम्रो जिन्दगीभर । यो आजभन्दा २० वर्षअघिको कुरा हो । नक्कली दाँतसँग विस्तारै अभ्यस्त भइयो । दिनभरि लगाउने, दाँत माझ्दा र सुत्ने बेलामा फुकालेर पानीमा डुबाएर राख्ने । (अहिले त घरमा बस्दा जहिले पनि फुकालेकै हुन्छु । अढाई वर्षकी नातिनीले बाको दाँत खोइ भनेर जिस्क्याउँछिन् ।)

दाँत दुख्ने धेरै कम भयो । पहिला दुई/तीन महिनामा दुख्ने, त्यसपछि ६÷८ महिनाको फरकमा दुख्न थाल्यो । त्यसबेला नेपाल फर्किसकेको थिएँ । नेपालमा पनि सुविधायुक्त डेन्टल क्लिनिकहरू प्रशस्त भइसकेका थिए । महाराजगन्जस्थित कान्तिपुर डेन्टल क्लिनिकमा गएँ । परीक्षणको सुरुमै प्रमुख डाक्टरले मेरो नक्कली दाँतको सट्टा त्योभन्दा राम्रो देखिने र सुविधायुक्त दाँत राख्न सुझाव दिए । त्यतिबेला ७५ हजार रुपैयाँ जति लाग्ने बताए । मेरो चाहना थिएन । महिला डेन्टिस्टले उपचार सुरु गरिन्, दाँत सफाबाट । गिजाबाट रगत आउनेलाई ‘जिंक सल्फेट' को झोल औषधिले मालिस गर्ने र गिजालाई माथिबाट तल निचोरेर सफा गर्ने । सहन सक्नेजति तातो नुनपानीले दिनमा तीन/चारपटक कुल्ला गर्ने । यी कुरा त्यहीँबाट सिकेँ ।

नुनपानीले दाँतलाई सेतो बनाउँछ भन्ने पनि थाहा पाएँ । लाल दन्तमञ्जन प्रयोग गर्ने गरेको पनि बताएँ । ठीक छ, अरू मञ्जन प्रयोग गर्दा पनि फरक पर्दैन भनिन् । किन हो कुन्नि त्यसपछि लाल दन्तमञ्जन चटक्कै छोडेँ र चलनचल्तीको मञ्जन प्रयोग गर्न थालेँ । यति हो कि सधैँ एकै ब्रान्डको होइन दुई÷तीन महिनामा मञ्जन फेर्छु । यो कुरा मैले मेरी श्रीमतीबाट सुनेको, तिनले पनि कुनै डेन्टिस्टबाटै सुनेकी । यसरी मञ्जन फेर्दा मुखभित्र हुने हानिकारक जीवाणुहरूले मञ्जनविरुद्ध प्रतिरोधात्मक शक्ति (रेसिस्टान्स) विकास गर्न पाउँदैनन् भन्ने मान्यता हो । यसरी धेरै वर्षदेखिको दाँत दुखाइबाट गएको १४÷१५ वर्षदेखि धेरै हदसम्म छुटकारा पाएँ । यदाकदा दुखाइ फर्कन्थ्यो र उपचारको लागि गइहाल्थेँ ।

मेरी छोरी क्षितिज पब्लिक डेन्टल कलेज नयाँबजारमा डेन्टिस्ट्री (बीबीएस) पढ्न भर्ना भइन् । विद्यार्थीका बाबुआमालाई उपचारमा ५० प्रतिशत छुट पाउने भएकाले म पनि ग्राहक बनेँ । दाँत दुख्दा र नियमित सफाइको लागि जान्थेँ । छोरीको पढाइ सकियो, सुविधा पनि सकियो । अहिले छोरीकै साथीहरूले खोलेको ‘स्वस्तिक डेन्टल हस्पिटल' मा जान्छु । दाँत भर्ने (फिलिङ) र सफाइ गर्ने गर्छु । एउटा दाँतको जरा उपचार (क्राउन रुट टे«टमेन्ट) भयो, त्यसलाई बचाउन स्टिलको खोल (क्राउन) पनि राखियो । महँगै पर्ने रहेछ । केही महिनाअघि क्राउन त गायब भएछ, चालै नपाई निलेछु क्यारे । फेरि नयाँ क्राउन राखियो, त्यो पनि तीन महिना नपुग्दै फुत्कियो । तर चाल पाएकोले हराएन । दाँत धेरै खिइसकेकाले राम्ररी नटाँसिएको रहेछ । फेरि कहिले फुत्किने हो थाहा छैन ।

आजभन्दा २० वर्षअघि डेनमार्कमा राखेको नक्कली दाँतलाई ‘कास्ट पार्टसियल डेन्चर' भन्दो रहेछ, जुन अहिले आउटडेटेड भइसकेको छ । अहिले पनि स्वस्तिकमा जाँदा पहिले कान्तिपुर डेन्टल क्लिनिकमा भैँ नयाँ प्रविधिअनुसारको दाँत राख्न सुझाव पाउँछु । मचाहिँ अहिलेकैमा सुविस्ता भएकोले टार्दै आएको छु । तर नक्कली दाँतको कारण अरू दाँतले गिजा छोड्दै ल्याएको रहेछ । त्यसैकारण हावाले मात्र पनि दाँत सिरिङ हुने समस्या आएको छ । अब त नयाँ विकल्प सोच्नैपर्ने जस्तो छ । यसको लागि दुई विकल्प सुझाएका छन् । दुवै स्थायी, अहिलेको झैँ झिकिरहनुनपर्ने । एउटालाई ‘फिक्स पार्सियल डेन्चर' भन्दो रहेछ र केही दिनभित्रै राख्न सकिने र अर्को ‘डेन्टल इन्प्लान्ट', जुन विभिन्न परीक्षणबाट उपयुक्त पाइएमा तीन÷चार महिना लगाएर राख्न सकिने ।

अहिले दाँतका केही भाग सिरिङ हुने भएकाले बीचबीचमा ‘सेन्सोडाइन पेस्ट' प्रयोग गर्छु । दाँत सड्न (दाँतमा कीरा लाग्यो भनेर बुझिने) बाट बच्न ‘क्याभिटी प्रोटेक्सन' गुण भएका मञ्जन पनि छन् । यी मञ्जन प्रयोग गर्दा ब्रसपछि पनि थप दुई÷तीन मिनेट मञ्जनको फिँजलाई मुखभित्रै कुलकुल गरेर राख्दा त्यसको प्रभावकारिता बढ्छ भनेर स्वस्तिकका डेन्टिस्टबाट सिकेको छु । डेन्टिस्टहरू सिन्का (टुथपिक) ले दाँत नकोट्याउनू भन्छन् । एक प्रकारको धागो पाइन्छ, त्यो प्रयोग गर्न सुझाउँछन्, जसले गिजालाई असर गर्दैन । भर्खरै पानीको फोहराले दाँतको कुनाकाप्चा सफा गर्ने उपकरण छोरीबाट उपहार पाएको छु । प्रयोगचाहिँ गरेको छैन ।

अन्त्यमा, डेन्टिस्टहरूसँगको मेरो एउटा अनुभव, यसलाई गुनासो भन्दा पनि हुन्छ । म दाँतको उपचार वा सफा गर्न जाँदा कहिल्यै कतिपटक, कसरी, र कहिले दाँत माझ्छौ भनेर सोधेको थाहा छैन । ब्रस र ब्रसको किसिम÷अवस्थाबारे सोधेको थाहा छैन । यतिमात्र सोधेर नजान्नेलाई सही उपाय बताइदिने हो भने धेरैलाई राहत मिल्छ । डेन्टिस्टले भन्नु र अरूले भन्नुमा धेरै फरक पर्छ । जे होस्, दाँतको समस्या आउनुमा नियमित दाँत ब्रस नगर्ने, गरे पनि सही तरिकाले नगर्ने, बेलाबेला दाँत सफा नगराउने, दाँत दुख्दा डेन्टिस्टकहाँ नजानेलगायत धेरै चिसो, धेरै तातो, गुलियो, पान, सुर्ती, सुपारी आदिको सेवन आदिलाई लिइन्छ ।

तिनका अलावा हामी खानासँग अन्जानमा ढुंगा चपाउँछौँ, मासु खाँदा हड्डी चपाउँछौँ। मलाई लाग्छ, यी कुराले पनि दाँतलाई असर पारिरहेको हुन्छ । जे होस्, प्रत्येक दिन बिहान र बेलुकी खाना खाइसकेपछि दाँत माझ्ने र अरू बेलाको खाजा नास्तापछि कुल्ला गर्ने । ब्रस प्रत्येक तीन÷चार महिनामा फेर्ने । मञ्जन पनि दुई÷तीन महिनामा पालो-पालो फेर्ने । दाँत दुख्न लागेजस्तो भएमा आपूmले सहन सक्ने तातो नुनपानी (एकचौथाई जति अट्ने ग्लासमा आधा चिया चम्चा नुन मिलाएर) ले दिनमा दुई÷तीन पटक कुल्ला गर्ने । दाँत दुखेमा वा दाँतको कुनै भाग कालो भएर गएको देखेमा (नदुखे पनि) डेन्टिस्टकहाँ जान अल्छी नगर्ने । कम्तीमा एक वर्षमा एकपटक दाँत सफा गर्ने । यिनै हुन्, म दाँतको रोगीको भोगाइमा आधारित सुझाव ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.