राष्ट्रिय पोसाक छोड्दै र चपाउँदै ईश्वरको नाम !

राष्ट्रिय पोसाक  छोड्दै र चपाउँदै ईश्वरको नाम !

नेपाली कांग्रेससितको तीनबुँदे सहमतिपछि नै प्रायः निश्चितै थियो- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड, नेपालमा दोस्रोपटक प्रधानमन्त्री हुँदैछन् । भयो पनि त्यस्तै । नेपालको अस्थिर सरकारको प्रसंग त धेरैपटक उठिसकेको छ, त्यसको चर्चा गर्नुको कुनै अर्थ छैन । अब प्रचण्डको समय पनि नौ महिना मात्रै हो । त्यसपछि सत्ताको बल देउवाको गोडामा पुग्नेछ ।

नौ महिनामा के नै हुन्छ र ! अवसर त छ, तर चुनौती नौ महिनामा सकिने छैनन् । कमाउने, आफ्ना कार्यकर्तालाई देशको ढिकुटीबाट पैसा बाँड्ने, विभिन्न ठाउँमा ‘राम्रो होइन' आफ्ना मान्छे राख्ने । त्यही हो । नयाँ प्रधानमन्त्रीले बाँड्ने काम सुरु गरिसकेको, सुनिँदै छ । नेपालमा ‘आफ्नै हात, जगन्नाथ' भन्ने त उखानै छ । दुइटा ठूला नेताले नौ महिना तपाईं खानोस्, नौ महिनापछि म खान्छु प्रधानमन्त्री भन्दा हुने संसारमा कतै चलन छैन । हाम्रै संविधानमा पनि यो कुरा कतै उल्लेख छैन । कसरी भयो भनेर प्रश्न कसले उठाउने ?

पैसामा साटिसके हाम्रा नेताले हिन्दु धर्मलाई । बरु हाम्रो छिमेकी भारतचाहिँ हिन्दु राष्ट्र बन्ने चाहना प्रकट गर्दैछ र त्यहीअनुकुलको वातावरण सिर्जना गर्दैछ । हामी आफ्नै देशमा थोरै हिन्दु र धेरै क्रिश्चियन अथवा कुनै अर्कै धर्मको अनुशरण गर्नेतिर लागेका छौँ । हामी पैसाको लागि जे पनि गर्न सक्ने जातिमा गणना हुँदै छौँ ।

अचेल हामी आफ्नो धर्म बिर्सन थालेका छौँ । हामी क्रिसमसमा रमाउँछौँ । हामी दसैँजस्तो नेपालीको पर्वमा पनि विभाजित हुन पुगेका छौँ । कसैले मान्छन्, कसैले मान्दैनन् । हामी ‘भ्यालेन्टाइन डे' मा नाच्छौँ, गाउँछौँ । तीजको हाम्रा नाचगान अब टेलिभिजनका स्टुडियो र पर्दामा सीमित भएको छ । देउसी र भैलो पैसा उठाउनको लागि मात्र खेलिन्छ । पैसा दिनेकहाँ ठूलाठूला समूह बाजागाजा लिएर पुग्छन् । एउटा गरिब नेपालीको घर दसैँतिहारमा पनि अन्धकार र सुनसान नै हुन्छ ।

हामी परापूर्वकालदेखि विश्वकै एउटै हिन्दु राष्ट्र कहलिँदै आएका नेपालीले संविधानमै धर्म निरपेक्षता लेखिसक्यौँ । हिन्दु राष्ट्र हटाइसक्यौँ । पैसामा साटिसके हाम्रा नेताले हिन्दु धर्मलाई । बरु हाम्रो छिमेकी भारतचाहिँ हिन्दु राष्ट्र बन्ने चाहना प्रकट गर्दैछ र त्यहीअनुकुलको वातावरण सिर्जना गर्दैछ । हामी आफ्नै देशमा थोरै हिन्दु र धेरै क्रिश्चियन अथवा कुनै अर्कै धर्मको अनुशरण गर्नेतिर लागेका छौँ । हामी पैसाको लागि जे पनि गर्न सक्ने जातिमा गणना हुँदै छौँ । हामीलाई केवल पैसा चाहिन्छ ।

हामी आफ्नो संस्कृति, परम्पराबाट विमुख हुँदै छौँ । हामीलाई आफ्नोभन्दा अरूको संस्कृति मन पर्छ, हामी त्यसैमा रमाउँछौँ । हामी आफ्नो राष्ट्रिय पोसाक ‘दौरा-सुरुवाल' राजाले लाउने पोसाक भनेर आफू लगाउँदैनौँ । राजाले लगाए भन्दैमा राजाको पोसाक कसरी हुन्छ ? उनी त नैतिकवान् थिए-आफ्नो राष्ट्रिय पोसाक जहिले पनि लाउँथे । कति राम्रो सुहाउँथ्यो । विदेशतिर जाँदा एउटा बेग्लै ‘स्वरूप' देखिन्थ्यो । यसबाट व्यक्तित्व पनि बढ्थ्यो ।

सन् १९८५ मा राजा वीरेन्द्रसँग अस्टे«लिया भ्रमणमा जाँदा, क्यानेबरामा दस-पन्ध्रजना सबै दौरा-सुरुवालमा हिँडेको देखेर, चौरतिर खेलिरहेका केटाकेटी ‘लुक एट् दिज फनी गाइज' कहाँबाट यी अनौठा मानिस आए भन्दै हाम्रोछेउमा आएर कसैले कोट पल्टाएर हेर्ने, कसैले दौराको तुना तान्दिने कसैकसैले टोपी झिकेर उल्टाइपल्टाइ गर्थे । हामीले यो हाम्रो ‘राष्ट्रिय पोसाक' हो भन्दा ती केटाकेटी- हाम्रो पनि यस्तै सुन्दर पोसाक राष्ट्रिय पोसाक भइदिए कति राम्रो हुन्थ्यो भन्दै हिँडेथे ।

समारोहमा धेरै सहभागी भएर ‘ग्रुप फोटो' खिच्दा नेपालीलाई परैबाट चिनिने । एउटा नेपालको र नेपालीको गर्वको विषय थियो त्यो । हामीलाई टाइ र सुट लगाएर कार्यक्रमतिर जान पाए खुसी लाग्छ । देख्नुभएन अस्ति राष्ट्रपतिद्वारा शपथ ख्वाइएका कांग्रेसका विमलेन्द्र निधि सुट र टाइमा कति राम्रा देखिएका थिए । सायद उनको राष्ट्रिय पोसाक नै त्यही हो कि भन्ने लाग्थ्यो ।

अझ हाम्रा प्रधानमन्त्री त सामान्य पेन्ट, कमेज र कोटमा शपथ ग्रहण गर्न पुगेका थिए । टाउकोमा टोपीचाहिँ थियो । त्यो पनि नलगाएको भए के हुन्थ्यो र ? उनले पनि कहिल्यै दौरा-सुरुवाल लगाएनन्, तर दौरा-सुरुवाल लगाएर जानुपर्ने शपथ ग्रहण समारोहमा समेत लगाएनन् । प्रधानमन्त्री स्वयंले राष्ट्रिय पोसाकलाई त्यसरी हेलाँ गरेपछि निधिले त गर्ने नै भए । कहाँ त्यति मात्रै हो र ? प्रधानमन्त्रीले त संविधानमा लेखिएको शपथको भाषा नै पढेनन् । ‘ईश्वरलाई साक्षी राखेर' भन्ने शब्द नै चपाइदिए । के त शपथ ग्रहण अपूरो भएन ? के, त्यसो गर्न पाइन्छ ? शपथको भाषासितै शत्रुता थियो भने किन गएका त शपथ खान ? सीधै कार्यालय गए भइहाल्यो । नेपालमा कसले प्रश्न उठाउन सक्थे र ?

वामहरू आफ्नो संस्कृति र धर्मलाई मान्दैनौँ भन्छन् तर भित्रभित्रै प्रधानमन्त्रीनिवास प्रवेश गर्दा ढोकामा कालो बोको काटेर प्रवेश गर्छन् । धर्म, संस्कृति मान्दिनँ भन्छन्, तर भित्रभित्रै दसैँमा टीका लगाइदिन्छन् र आफू पनि लगाउँछन् । झन्डै सय केजीका मालाले घाँटी निहुराउँदै हिँड्छन् । यो आडम्बर अब त अति भएन र ? अब त फेरिनुपर्ने होइन र कामरेडहरू ? राष्ट्रिय पोसाक दौरा-सुरुवाल लगाउँदा, सानो त होइँदैन । आफ्नो संस्कृति मान्दा जनताले प्रशंसा नै गर्छन् । बरु ठूलै होइन्छ, व्यक्तित्व पनि ठूलै देखिन्छ ।

वाम जातिकाले लाउनु हुँदैन राष्ट्रिय पोसाक भन्ने हो भने यसअघिका प्रधानमन्त्री केपी ओली पनि कट्टर वाम परिवारकै हुन् । उनले प्रधानमन्त्री हुन्जेल नौ महिना कहिल्यै राष्ट्रिय पोसाक छोडेनन् । उनलाई सुहाउँथ्यो पनि दौरा सुरुवाल ! प्रचण्डजीलाई त अलि मोटो भएकाले दौरा सुरुवाल खुब सुहाउँछ ! एकपटक लाएर हेर्ने कि प्रधानमन्त्रीज्यू ? कि अचेलको प्रजातन्त्रमा घरीघरी सरकार फेर्नुपर्ने भएर हो कि दक्षिण एसियामा सबैभन्दा बढी सरकार फेरिने पनि नेपाल र राष्ट्रियता नमानी अनुशासन र नैतिकता नमान्ने पनि नेपाली भएको रेकर्ड राख्न त हैन ? राजाहरूको पोसाक हो भनेर नलगाउने प्रण गरेकाले हो भने के टुंगो -भोलि ‘बेबी किङ नै भए पनि कुनै छिमेकीले स्थापना गरिदियो भने पनि दौरा-सुरुवाल नलगाउने हो ?

दौरा-सुरुवालको प्रसंग उठ्दा मलाई सुरुमा नेपाल टेलिभिजनको समाचार महाशाखाको निर्देशक छँदाको समयको सम्झना आइरहेको छ । नेपालमा भर्खरै टेलिभिजन स्थापना भएकाले ‘टेलिभिजन' भन्ने अंग्रेजी शब्द झिकेर कुनै उपयुक्त नेपाली शब्द पो राख्ने हो कि ! भनेर हामीले काठमाडौँका केही प्रसिद्ध साहित्यकार र विद्वान्हरूसित राय माग्यौँ उहाँहरूले यसको सोझो अनुवाद गर्ने हो भने ‘नेपाल दूरदर्शन' हुन्छ ।

भारतको दूरदर्शनको नक्कल गर्नुभन्दा नेपाल टेलिभिजन नै राख्नु राम्रो हुने सुझाव आएकाले हामीले नेपाल टेलिभिजन नै राम्रो लागेर राख्यौँ । अहिले ३५ वर्षसम्म त्यसको नाउँ फेर्ने कुरा उठेको छैन । अहिले नेपाली नाम भएका स्कुल, कलेज नेपालमा देखिँदैनन् ।

समाचार वाचकलाई दौरा-सुरुवाल लगाएर पढ्न लाउनुपर्छ भन्ने र टाइसुटमा प्रस्तुत गर्नुपर्छ भन्ने बहसले पनि निकै तन्कायो, तर राष्ट्रिय पोसाक नै मिल्छ भन्ने तर्कको पक्षमा भारी भएकाले सुरुदेखि नेपाल टेलिभिजनका समाचार-वाचकले दौरा-सुरुवाल, कोट र टोपी लाएर धेरै वर्ष राष्ट्रिय समाचार वाचन गरे । यसरी वाचन गर्नेमा पंक्तिकार पनि थियो ।

तर गणतन्त्रको प्रार्दुभाव भएपछि दौरा-सुरुवाल लगाएर समाचार पढ्नु पुरातन संस्कृति हो भन्नेहरूको जमात सिंहदरबारमा धेरै भएपछि, दौरा-सुरुवालमै जमेर पढ्नुपर्छ भन्ने हामी थोरैको केही लागेन । अचेल अन्तर्राष्ट्रिय स्तरको पोसाकमा रम्ने धेरै र दौरा-सुरुवालमा देखिने थोरै छन् । टाइ र सुट लगाए पनि नेपाली शुद्ध पढिदिए त हुन्थ्यो नि !

अब त सायद प्रधानमन्त्री र मन्त्रीहरू नै टाइ-सुटमा आएपछि नेपाल टेलिभिजनमा जागिर खाने तिनै दलका कर्मचारीले के लगाउँथे दौरा-सुरुवाल ? अचेल त सरकारले नै कर्मचारीलाई नीलो रङको सुटमा आउने उर्दी गरेर पोसाक भत्ता दिन्छ । पहिले दौरा-सुरुवालमा चिटिक्क पर्ने कर्मचारी अहिले कुनै कारखानाका कामदार जस्ता लाग्छन् । तपाईंलाई लाग्दैन ? खयर, हाम्रा नेतालाई यही ठीक लाग्छ भने हाम्रो के लाग्छ र ? जनताका कुरा सुन्ने नैतिकवान् र राष्ट्रवादी सरकार कुनै दिन आयो भने परिवर्तन होला नत्र ठीकै छ । हामी प्रतीक्षा नै गर्छौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.