अब माओवादी विद्यार्थी संगठनको नाम अनेरास्ववियु (क्रान्तिकारी)
काठमाडौँ: विभिन्न १० माओवादीको एकतापछि बनेको नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठनको नाम अनेरास्ववियु (क्रान्तिकारी) हुने भएको छ ।
विभिन्न १० माओवादी निकट क्रान्तिकारी विद्यार्थी संगठनबीचको एकतापछि नाम परिवर्तन हुने भएको हो । बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर क्रान्तिकारी विद्यार्थीले साउन १३ को राष्ट्रिय भेलाका महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रको विद्यार्थी संगठनले नरेन्द्र न्यौपानेको नेतृत्वमा ९९ सदस्यीय पदाधिकारी चयन गरेको छ । संगठनको सचिवालय तीन सय ३३ सदस्यीय हुने छ भने नौ सय ९९ केन्द्रीय समिति निर्माण हुनेछ । संगठनले न्यौपानेकै नेतृत्वको समितिले पुस २३ देखि २७ गतेसम्म २१ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।
संगठनले एकता अभियानलाई सक्रिय बनाउन भदौ १० गतेभित्र प्रदेश एकता भेला, भदौ अन्तिम सम्ममा जिल्ला एकता भेला र असोज १५ गतेभित्र एकाइ एकता भेला गर्ने निर्णय समेत गरेको छ ।