एमाले लिस्नो चढेर आएको पार्टी होइनः ओली
काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कसैले राखेको लिस्नु चढेर आएको पार्टी नभएको दाबी गरेका छन् । बुधबार प्रेस चौतारीले एमाले मुख्यालय धुम्बाराहीमा गरेको अन्तरसंवादमा बोल्दै ओलीले भने, ‘एमाले कसैले लगाएको लिस्नो चढेर आएको पार्टी होइन । सबैलाई हेक्का होस् । देशलाई दूरगामी असर पर्ने काम गर्न एमालेले कुनै हालतमा दिने छैन ।’
पूर्वप्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार फेरिनु पर्ने कुनै कारण नभएको दाबी गरेका छन् । ओलीले आफू नेतृत्वको सरकार परिवर्तन नेपाल र एमालेविरुद्धको षडयन्त्र भएको बताए । उनले कांग्रेस–माओवादी नेपालविरुद्धको षडयन्त्रमा लागेको समेत आरोप लगाए । ‘अहिले केपी ओलीलाई कमजोर बनायो भने एमाले कमजोर हुन्छ, एमाले कमजोर भयो भने मुलुक कमजोर हुन्छ भन्ने ध्याउन्नमा केही साथीहरु लागेका छन्’ उनले भने ।
उनले एमालेलाई कमजोर बनायो भने महाभारतमा भिष्मलाई शैया चढाएर लड्दा सजिलो भए जस्तो सोचेको भए एमाले कुनै शैया नचढने पार्टी भएको दाबी गरे । ओलीले आफूले सरकारको नेतृत्व लिदा देशमा असाधारण र नाकाबन्दीको अवस्था रहेको सम्झना गरे । उनले आफू नेतृत्वको सरकारले एक देशमा निर्भर हुने कुराको अन्त्य गरेको र समानताका आधारमा देशलाई सार्वभौमसत्ता स्वाधिनराष्ट्रका रुपमा स्थापित गरेको बताए। उनले देश भित्र आत्मनिर्भरता कायम राख्ने हो भने नाकाबन्दीले केही फरक नपर्ने दाबी समेत गरे।
ओलीले नेपाली कांग्रेस र माओवादीबीचको गठबन्धन ‘रिमोट कन्ट्रोल’बाट चलेको भन्दै उनीहरुको हक्पी–दप्कीबाट एमाले नहच्किने नदच्किने दाबी गरे । उनले भने ‘मलाई रिमोट नै कहाँंबाट कसरी चलेको भन्ने थाहा छ, त्यसैले च्यानल परिवर्तन हुदा छक्क मान्नु पदैन ।’
पूर्वप्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले विभिन्न देशमा सिफारिस गरेका राजदूत नियुक्तिको निर्णयलाई उल्ट्याउने काम गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले संवैधानिक कानुन विपरित काम गरेको आरोप लगाए । ‘राजदूतले बेठिक काम गरे भने फिर्ता बोलाउन सकिन्छ । मन परेन भने बेठिक काम गरे भन्ने आरोप पनि लगाउन सकिन्छ,’ उनले भने, ‘तर, सुनुवाइकै क्रममा रहेका राजदूतलाई मन्त्रिपरिषद्ले जुन ढंगको निर्णय गरेको छ । यो अराजनीतिक, प्रतिशोधपूर्ण र बेठिक छ ।’
ओलीले राजदूतका सन्दर्भमा माओवादी नेतृत्वको सरकारले गरेको निर्णयलाई च्यानल चेन्ज गरेको संज्ञा दिए । ओलीले व्याग्य गर्दै भने, ‘एक माघले जाडो जाँदैन ।’