कोरियाली प्रायद्वीप: २४ हजार नागरिक, ३६ हजार सैनिक

कोरियाली प्रायद्वीप: २४ हजार नागरिक, ३६ हजार सैनिक

दक्षिण कोरियाः वसन्त ऋतुका दिनहरूमा ह्वाचिओनका पहाडी पाखाहरूका रूखबिरुवामा पलाएका हरिया पालुवाको मनमोहक दृश्यले यहाँ पुग्ने जोसुकैलाई लोभ्याउँछ । यो स्थान दुई कोरियालाई छुट्याउने सैनिक निषेधित क्षेत्र (डिएमजेड) भन्दा दक्षिणतर्फ फैलिएको छ ।

त्यो हरियाली दक्षिणका उपत्यका र कलकल गरी बग्ने नदीनालामा पाइन्छ, तर उत्तरतर्फको सैनिक निषेधित इलाका सुक्खा र उजाड छ । उत्तर कोरियाली जमिनमा रूखबिरुवा त बिरलै देख्न सकिन्छ । बरु त्यहाँ उत्तर कोरियाली सैनिकको बाक्लो उपस्थिति छ ।

हिमाली क्षेत्रको यो भिन्न रङ्ग र स्वरूपले भिन्नभिन्न सिद्धान्त र नीतिलाई नै प्रतिबिम्बित गरिरहेको भान पर्दछ यहाँ । यसले एकै पर्यावरणीय क्षेत्रलाई दुई भिन्न स्वरूपमा रहन बाध्य पारेको जोसुकैले सहजै अनुभूति गर्न सक्छन् । ‘सैनिक निषेधित क्षेत्रबाट सीमारेखाको उत्तरतर्फ ज्यादै कममात्र रूखबिरुवा देख्न सकिन्छ । उत्तर कोरियाली सैनिकहरूले दाउराका लागि रुखबिरुवा काट्छन् । यसैले त्यहाँ हरियाली कमै देख्न पाइन्छ । उनीहरू नदीनालामा माछा मार्छन् र खान्छन्’, एक दशकदेखि विश्वकै यो सर्वाधिक संवेदनशील क्षेत्रको तस्बिर खिच्दै आएका चोई ब्युङ–क्वान बताउँछन् । कोरियाली युद्धपछि विभाजित कोरियाको जीवनशैलीमा कति विभाजन आएको छ भन्ने धेरै उदाहरणमध्येको यो एक हो ।

झन्डै ५ सय ९० मिटर अग्लो पहाडको टुप्पामा स्थापित सेभेन स्टार अब्जरभेटरीमा पुग्नेहरूले कुनै पनि सफा दिनमा टेलिस्कोपबाट हेर्दा पहाडका ठाउँठाउँमा उत्तर कोरियाली सैनिक पोस्टहरू देख्न सक्छन् । ती सैनिक पोस्ट देख्नेहरू जोसुकैको मुखबाट एउटै आवाज सुनिन्छ ः ‘म पनि त्यहाँ पुगेको थिएँ र घटनाक्रमलाई नजिकबाट नियालें ।’ तर यहाँ पुग्ने जोसुकैले केही कुरामा सचेत हुनु पर्दछ ।

 दक्षिण कोरियाको राजधानी सहर सोलबाट १ सय १८ किलोमिटर उत्तर–पश्चिममा अवस्थित ह्वाचिओनमा २४ हजार नागरिक र ३६ हजार सैनिक छन् ।

दक्षिण कोरियाली सैनिकले दिउँसो र राति गस्तीका लागि प्रयोग गर्ने साँघुरा पदमार्गमा राखिएको काँडेतारका छेउछाउ जान सबैलाई निषेध गरिएको छ। दुबैतर्फका सैनिक पोस्टहरू ज्यादै नजिक अर्थात् आमनेसामने पनि छन् ।

‘सेभेन स्टार अब्जरभेटरी त एउटा प्रतिनिधि स्थान मात्र हो । यसले दुबै मुलुकबीच जारी द्वन्द्व र विभाजनको पीडालाई दर्शाउँछ । यहाँ सैनिक गतिविधि तीव्र हुने गर्दछ । यसैगरी सैनिक निषेधित क्षेत्रको सुन्दर दृश्य र संरक्षित प्रकृतिले यहाँ पुग्ने मानिसहरूले दुई मुलुकबीचको सैनिक तनाव बिर्सन्छन्’, यो क्षेत्रको सुरक्षामा खटिएका ब्रिगेडियर जनरल सुह जिओङ–योल बताउँछन् । यो सांकेतिक स्थान हो, जहाँ द्वन्द्व र शान्ति, विगत र वर्तमान सम्मीलन भएको छ ।

बाहिरबाट हेर्दा यहाँ शान्ति देखिए पनि दुई कोरिया अद्यापि युद्धरत अवस्थामै छन् किनभने १९५०÷५३ को कोरियाली युद्ध वास्तवमा युद्धविरामका रूपमा समाप्त भएको हो । डिएमजेड हुनुको अर्थ सिद्धान्ततः सैनिकविहीन हुनु हो, तर यही क्षेत्रमा सैनिकसहित घातक हातहतियार तैनाथ छन् र ठूलै संख्यामा बारुदी सुरुङ बिछ्याइएका छन् ।

दक्षिण कोरियाको राजधानी सहर सोेलबाट १ सय १८ किलोमिटर उत्तर–पश्चिममा अवस्थित ह्वाचिओनमा २४ हजार नागरिक र ३६ हजार सैनिक छन् । यहाँका धेरै स्थानमा गैरसनिक व्यक्तिहरूलाई बारुदी सुरुङ बिछ्याइएको सूचनासहित प्रवेश निषेध गरिएको छ र धेरैवटा प्रमुख जाँचस्थलमा ट्यांक तैनाथ छन् ।

यस रणनीतिक महत्वको स्थानमा विगतमा रक्तपातपूर्ण घमासान युद्ध भएका थिए । उस क्षेत्रमा उत्तर कोरियाली ट्यांकहरू सन् १९५० को जुन २५ मा प्रवेश गरी दक्षिण कोरियाली सैनिकमाथि हमला गरेका थिए । त्यसपछि उनीहरू सोलतर्फ अघि बढेका थिए र तीन दिनभित्रै सोल कब्जा गरेका थिए । तर त्यसै वर्षको सेप्टेम्बरमा अमेरिकी नेतृत्वको राष्ट्रसंघीय सेनाले राजधानी सहर सोललाई उत्तर कोरियाली सैनिकबाट मुक्त गराएका थिए । ब्याटल अफ इन्चिओनको नामबाट परिचित यस युद्धको अगुवाइ अमेरिकी जनरल डग्लस म्याकआर्थरले गरेका थिए ।

‘त्यसै कारण अग्रमोर्चाका सैनिकहरू कुनै पनि किसिमको उत्तरी अतिरिञ्जनाविरुद्ध हरबखत तयारी अवस्थामा रहनु पर्दछ । खासगरी उत्तर कोरियाबाट गतवर्ष चारवटा आणविक परीक्षण र क्षेप्यास्त्र परीक्षण गरिएपछि सजगता अझ बढाइएको छ’, एक जर्नेलले बताए ।

अन्तर–कोरियाली सम्बन्धमा तिक्तता आएपनि विभिन्न मुलुकका पर्यटकहरूले दुई मुलुकबीचको भिन्नता अनुभव गर्न यो विशिष्ट स्थानको भ्रमण गरेका छन् । कोरियाली पर्यटन संगठनका अनुसार गत वर्ष मात्र २ सय ४८ किलोमिटर लामो यो सैनिक निषेधित क्षेत्रको भ्रमण गर्ने पर्यटकको संख्या झन्डै ६० लाख थियो । ‘यो सैनिक निषेधित क्षेत्र एकै मुलुकका दाजुभाइ युद्धमा होमिएपछि जन्मिएको हो । विदेशी पर्यटकले द्वन्द्व र विवादको प्रतीकका रूपमा यो स्थान भ्रमण गर्ने चाहना गरे पनि यो धारणालाई परिवर्तन गर्नु जरुरी छ’, भूतपूर्व एकीकरणमन्त्री तथा सिओलस्थित उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका प्राध्यापक ¥यो किल–जाई बताउँछन् ।

‘हामीले शान्ति र सहअस्तित्वलाई किन प्रवर्धन नगर्ने ? यो अत्यन्तै कडा सुरक्षा व्यवस्था रहेको इलाका हो । यहाँ दुबै कोरियाका सैनिकहरू बेलाबखत एकापसमा उल्झन्छन्’, जुङ चाङ–सु भन्छन्, ‘यदि हामीले यो क्षेत्रलाई विश्व पर्यटनको आकर्षकस्थल बनायौं भने यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने र कोरियाली एकीकरणमा बल पु¥याउन सक्छ ।’

अब्जरभेटरीबाट एक घण्टाभन्दा कम समयको मोटरयात्राबाट पुग्न सकिने १ सय २५ मिटर अग्लो र ६ सय मिटर चौडाइको शान्ति बाँधमा पुग्न सकिन्छ । पूर्वराष्ट्रपति चुन दु–ह्वानले उत्तर कोरियाले बनाएको बाँधले दक्षिणमा समस्या निम्त्याउने आँकलन गरी त्यो बाँध बनाएका थिए । त्यसबखत कोरियामा ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्न लागिएको थियो । उत्तर कोरियाली बाँध भत्किए वा बाँधबाट एक्कासि पानी छाडिए दक्षिण कोरियाको राजधानी सहर सोलसमेतमा ठूलो विपत्ति आइपर्ने अनुमान गरिएको थियो ।

तर चुनले विषयलाई अलि बढी नै अतिरञ्जित गरेको अनुमानका आधारमा निर्माण कार्य केही समय रोकियो, तर २००२ मा पुनः निर्माण अगाडि बढाइयो । भूउपग्रहबाट प्राप्त तस्बिरमा उत्तर कोरियाली बाँधमा दरार देखिएका थिए, र ठूलो वर्षा भएमा बाँध भत्कने र बाढीले ठूलो क्षति पु¥याउने खतरा देखा परेका थिए । यो बाँधको निर्माण कार्य २००५ मा पूरा भयो र यसले २ अर्ब ६१ करोड टन पानी सञ्चित गर्न सक्छ । रिजभ्र्वायर र विद्युत् उत्पादन गृह समेत नरहेको यो बाँधका लागि ४२ करोड ९० लाख अमेरिकी डलर खर्च भएको थियो ।

अब, यो बाँधले सोल र प्योङयाङबीच तेर्सिएका व्यापक चुनौतीलाईसामुन्ने ल्याएको छ । सन् २०१४ को सुरुमै राष्ट्रपतिको कार्यभार सम्हालेका पार्क ग्युन–हायले लगातार उत्तर कोरियाली नेता किम जोन–उनलाई आणविक हतियारको परीक्षण रोकेर वार्तामा बस्न आग्रह गर्दै आएकी छन् ।

विगतका वार्तामा तनाव कम गर्नेतर्फ खासै प्रगति नभए पनि विज्ञहरू दुवै कोरियाले नागरिक तहको भेटघाटलाई निरन्तरताका लागि वार्ता गर्न सक्ने सुझाव दिन्छन् । ‘के दक्षिण र उत्तर कोरियाले सरकारीस्तरको वार्ताबाट विश्वास बढाउन सक्लान् ? मलाई त त्यस्तो लाग्दैन’, डिएमजेड अध्ययनसम्बन्धी कोरियाली संघका प्रमुख सोन की–मुन निराशा व्यक्त गर्छन् । ‘एकै भाषा र वेश भएका यी दुई मुलुकबीच हुने व्यापार र मानिसको ओहोरदोहोरले नै मानिसहरूले यथार्थ अनुभव बटुल्न सक्छन् । त्यहीकारण हामीले पर्यटन प्रवर्धन गर्न सक्नुपर्छ र मानिसहरूको ओहोरदोहोरलाई बढावा दिनु पर्दछ । यसबाट एकीकरणको कार्यमा बल पुग्न सक्छ ।’ —योनहाप÷रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.