विनोद चौधरी ‘एसियन म्यान अफ द इयर’ बाट सम्मानित
काठमाडौंः चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी यस वर्षको ‘एसियन म्यान अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् । नेपालमा गत वर्षको विनाशकारी भूकम्पपछि चौधरीको नेतृत्वमा सञ्चालित मानवीय र परोपकारी कार्यको सम्मानस्वरूप अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले उक्त अवार्डबाट चौधरीलाई सम्मान गरेको हो ।
‘वी केयर फर ह्युम्यानिटी’ ले आप्mनो तेस्रो शिखर सम्मेलन तथा चौथो ‘ग्लोबल अफिसियल्स अफ डिग्निटी अवार्ड’ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा चौधरीलाई उक्त सम्मान प्रदान गरेको हो । उक्त कार्यक्रममा चौधरीसँगै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, भारत तमिलनाडुका मुख्यमन्त्री जयललिता, युगोस्लाभियाका चौधौं राष्ट्रपति स्टेपन मेसिक, केन्याका दसौं उपराष्ट्रपति स्टेफन कालोन्जो मुस्योका र इक्वेडरका पूर्वराष्ट्रपति रोजालिया आर्टिगा पनि विभिन्न विधामा सम्मानित भएका छन् ।
चौधरी फाउन्डेसनले २०७२ को विनाशकारी भूकम्पपश्चात् पहिलो चरणमा तत्काल राहतका कार्यक्रम सम्पन्न गरी पीडितका लागि ट्रान्जिसनल सेल्टर निर्माण गरेको थियो । फाउन्डेसनले भूकम्प प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माणलगायत कार्य सञ्चालन गरिरहेको छ ।
हाल फाउन्डेसनको आर्थिक स्वावलम्बन, महिलाको सामाजिक स्तरोन्नति तथा आत्मनिर्भरता र युवाको सीप विकासका लागि भूकम्प प्रभावित क्षेत्रमा ‘सीजी सीप शिक्षा’ र ‘सीजी उन्नति’ परियोजना सञ्चालनमा रहेको फाउन्डेसनले जनाएको छ ।
यसका अतिरिक्त ग्रामीण क्षेत्रमा स्थानीय सीप र ज्ञानको उपयोगका साथ उद्यमशीलता तथा व्यावसायिकता प्रवद्र्धनका लागि ‘नेपाल सोसल बिजनेस’ का कार्यक्रम पनि चौधरी फाउन्डेसनमार्फत सञ्चालनमा छन् ।