इन्धन आपूर्ति सहज पारः प्रधानमन्त्री
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकामा देखिएको इन्धन अभावबारे सोमबार चासो व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले आपूर्तिमन्त्री दीपक बोहरालाई टेलिफोनमार्फत उपत्यकामा केही दिन यतादेखि देखिएको इन्धन अभावको विषयमा जानकारी लिएका थिए । ‘उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना प्राप्त भएको छ ।
पेट्रोल पम्पमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? तत्काल समाधानका लागि आवश्यक पहल गर्नुस्’ भन्दै प्रधानमन्त्री दाहालले आपूर्ति मन्त्री बोहोरालाई निर्देशन दिएको स्रोतले बतायो ।
प्रधानमन्त्री दाहालले बजारको नियमित अनुगमन गर्न, पेट्रोलियम पदार्थसहितका जनतासँग प्रत्यक्षरूपमा गाँसिएका दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिलाई ध्यानमा राखेर कार्यसम्पादन गर्न मन्त्री बोहोरालाई निर्देशन दिएका छन् ।
आपूर्तिमन्त्री बोहराले तीन दिन लामो बिदाका कारण उपत्यकामा इन्धन आपूर्तिमा केही समस्या देखिएको जानकारी गराउँदै मन्त्रालयले तत्कालै आवश्यक कदम चालेर इन्धनको आपूर्ति व्यवस्था सहज बनाउने बताएका थिए ।
यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले उपत्यका देखिएको इन्धन अभावको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति जारी गर्दै बिदाको समयमा इन्धन बिक्रीका लागि निगम, इन्धन डिपो र पम्प सञ्चालकले ध्यान नदिएका कारण बजारमा इन्धनको चर्को अभाव देखिएको बताएकी छन् ।