कूटनीतिमा परिवर्तन र गुणात्मक सुधारको अत्यावश्यकता

कूटनीतिको साधारण अर्थ र महत्व नजान्दा–नजान्दै पनि हामी सजिलैसित कूटनीतिका बारेमा लामा–लामा कुरा गर्दछौं । अर्को विचित्र के छ भने कुनै देशको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक बनोट र अवस्थाको अध्ययनै नगरी त्यो देशको बारेमा बोल्दा उनीहरूले हाम्रो मूल्यांकन कसरी गरिरहेका छन् भन्नेबारेमा पनि केही नसोची बोल्छौं ।
यो हाम्रो मात्रै बानी नभएर संसारभरकै मानिसको चलन भइसकेको छ । सबै विषयमा केही ज्ञान राख्ने तर विज्ञता र विशेषज्ञता कुनै कुरामा नराख्ने बानी अहिले नेपालमा पनि धेरैमा देखिएको छ । यसलाई राम्रो पनि मान्न सकिन्छ र नराम्रो पनि मान्न सकिन्छ । कूटनीति कहिलेबाट सुरु भयो भन्ने आधिकारिक तथ्यांक र आधार भन्न गाह्रो छ । यसको विकास महाभारतकालमा भएको भन्ने भनाइ पनि छ । महाभारतकालमा भएका एकदुइटा उदाहरणलाई यहाँ कूटनीतिको सुरुआती समयको रूपमा लिन सकिन्छ ।
भाइ पाण्डव राजा रहेकै अवस्थामा मरेपछि उनका अन्धा जेठा दाजु धृतराष्ट्रमा राजा हुने आकांक्षा जागेर आयो । उनको यो आकांक्षा बढाउनमा उनको जेठा छोरा दुर्योधनको ठूलो कूटनीति रह्यो । सुरुसुरुमा राजा युधिष्ठिर भतिजाहरू, अर्थात् पाँच पाण्वलाई अति नै स्नेह र माया गर्ने गर्थे र आफू राजा नभई भतिजा युधिष्ठिरलाई नै राजा बनाउन चाहन्थे ।
जेठा छोरा दुर्योधनको जिद्धिले उनी राजा बने । त्यति मात्रै नभएर उनले पाँच पाण्डवलाई निकै सताउने काम पनि गर्न थाले । पाण्डव पुत्रहरूप्रतिको अत्याचारले सीमा नै नाघ्यो । यसले अन्त्यमा महाभारत युद्ध हुन पुग्यो । कूटनीतिको विकृति यहीँबाट सुरु भएको मान्नेहरू अहिले पनि धेरै छन् ।
कूटनीतिभित्र धेरै स्वार्थ र रहस्य लुकेको हुन्छ ।
यस्ता स्वार्थहरूमा मुख्यतः राजनीतिक सम्बन्धको मजबुती, सुरक्षाको मजबुती, विभिन्न देशलाई राजनीति र विकास तथा क्षेत्रको आधारमा संगठित गर्ने, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धको स्थापना, धार्मिक प्रचार र प्रभावमार्फत अरू देशको शासन प्रक्रियामा हस्तक्षेप गर्न सहजता, आफ्नो उत्पादनको बजारको व्यवस्था, आफ्ना मान्छेलाई विज्ञताको नाउँमा रोजगारको व्यवस्था, वन, जंगल, पेट्रोल, युरोनियम, ढुंगा, माटो, पानी, जडीबुटीजस्ता प्राकृतिक वस्तुको दोहन, तेस्रो विश्वबाट आफ्ना उद्योग, कलकारखाना चलाउन सस्तो श्रमशक्तिको आपूर्ति आदि छन् ।
यति भन्दाभन्दै पनि विश्व कूटनीतिले वैदेशिक सहायतामार्फत गरिब र पिछडिएका देशमा धेरै राम्रा र सराहनीय काम पनि गरेको पाइन्छ । कूटनीतिलाई सधैँ नकारात्मक आँखाले मात्रै हेरिनु हुँदैन । सकारात्मक आँखाले पनि हेर्न सक्नुपर्छ ।
कूटनीतिमा विश्वास र अविश्वास दुवै हुन्छ । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले पनि राष्ट्र एकीकरणको बेला अनेक उद्देश्य राखी तत्कालीन बाईसी/चौबिसी राजासित कूटनीतिक सम्बन्ध स्थापित गरेका थिए र आफ्नो लक्ष पूरा भएपछि दोस्रोलाई धोका दिएका थुप्रै उदाहरण छन् ।
दौत्य सम्बन्ध भएको देशलाई ठूला र शक्तिशाली देशले अप्ठेरो पर्दा सहयोग मात्रै गर्दैनन्, मौका मिल्नासाथ युद्ध वा हमला नै गरेर सिध्याउने पनि गर्छन् । यस्ता उदाहरण संसारमा अरू पनि धेरै छन् । इराक र लिबियासित सम्बन्ध सुधार्दै गएर पश्चिमी देशहरूले सद्दाम हुसेन र कर्णेल गद्दाफीलाई मात्र सिध्याएनन्, ती देशमा सदाका लागि अशान्ति, अराजकता र लडाइँ भिœयाएका छन् ।
यसले गर्दा लाखौं मान्छेले अकारण मृत्युवरण गर्नु परिरहेको छ र यो क्रम कहिले टुंगिने हो भन्ने निश्चित पनि छैन । अर्कोतिर लाखौं मानिस दिनहुँ शरण खोज्दै विभिन्न देश जानुपर्ने स्थिति छ । अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरूले गरेको यस्तो अमानवीय काम कूटनीतिक हिसाबले ठीक मान्न सकिँदैन ।
इराकले खासगरी सद्दाम हुसेनको शासनकालमा रासायनिक हातहतियार प्रयोग गरेको छानबिन रिपोर्ट बनाई अमेरिकी राष्ट्रपति जर्ज बुस, जुनियर र बेलायती प्रधानमन्त्री टोनी ब्लेयरको नेतृत्वमा गरेको आक्रमणको उनीहरूले अहिले पनि निकै खप्की र आलोचना व्यहोर्न परिरहेको छ । यो हेर्दा अमेरिका र बेलायतको कूटनीति पनि असफल भएको स्पष्टै देखिन्छ ।
यो पनि उनीहरूको असफल कूटनीतिको उदाहरण हो । कूटनीतिक हिसाबले कतिपय अवस्थामा वर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि सफल भएको मानिँदैन ।
अहिले रसियाले युक्रेन, जर्जिया र सिरियामा त्यसरी नै आक्रमण र हस्तक्षेप गरिरहेको छ र यसबाट युक्रेन र जर्जियालाई आफ्नो सार्वभौमिकता जोगाउन निकै धौ-धौ परिरहेको छ । ठूला र शक्तिशाली देशहरूले साना र गरिब देशहरूलाई कूटनीतिको नाउँमा कुट्ने र तर्साउने नीति अवलम्बन गरिरहेको अनुभूति साना र गरिब देशको छ । भूकम्पले थिलथिला परेको नेपालमा गत वर्ष नौ महिनासम्म भारतले अघोषित आर्थिक नाकाबन्दी लगाउनु पनि उसको कूटनीतिक असफलता नै हो भन्न सकिन्छ ।
भारतसित नेपालका धेरे विषयमा सहमति छन् र धेरै विषयमा असहमति पनि छन् । असहमति भएका विषयलाई वार्ता र छलफलद्वारा घटाउँदै लैजान दुवै देश तयार हुन जरुरी छ । देशको आकारले भन्दा आपसी सम्मान र राम्रो व्यवहार देखाउन सके छिमेकीको विश्वास जित्न सकिन्छ भन्ने नीति अहिले विकास भएको पनि पाइन्छ । सूचना तथा सञ्चार र प्रविधिको विकासले अहिले मुलुकमा कुनै पनि बहानामा एक देशले अर्को देशलाई पेलेर र हेपेर जान सक्ने अवस्था छैन ।
अर्कोतिर कूटनीति गजबको देखिन्छ । उदाहरणको लागि भारत र पाकिस्तान सधैँ झगडा र विवाद गर्छन् र वार्ता पनि गर्छन् । छिमेकी देशहरूका बीचमा कुनैै विषयमा विवाद र झगडा हुनु सामान्य हो । यही निहुँमा वार्ताको ढोका नै बन्द गर्नु राम्रो होइन ।
अहिले चीन र भारत कार्ड प्रयोग गरेर हिँड्ने जमाना छैन । दुवैसित समदूरी र तटस्थताको सम्बन्ध राखी अगाडि बढ्दा नै नेपाललाई बढी फाइदा हुने देखिन्छ ।
छिमेकतिर भ्रमण नगरी पूर्वराजा ज्ञानेन्द्र शाह राजा भएपछि दौत्य सम्बन्ध गाँस्न भन्दै तीन हप्ता अफ्रिकी मुलुकको भ्रमणमा हिँडेजस्तो प्रत्युत्पादक खालको कूटनीति अपनाउनु पनि हुँदैन । दुःखमा अफ्रिकी राष्ट्रभन्दा भारत र चीन नै नेपाललाई बढी काम लाग्छन् भन्ने पनि उत्तिकै मननीय छ ।
चीन पनि सिल्करोड बनाउने र आर्थिक सहयोग गर्ने भन्दै तेस्रो विश्वलाई गोलबन्द गर्दै हिँडेको देखेर अमेरिका पनि सिल्कराड निर्माणकै फर्मुला अपनाएर गरिब र साना देशसित आर्थिक र दौत्य सम्बन्ध कायम गर्न र सुदृढ गर्न लागेको छ । अहिले विश्व कूटनीतिमा पनि ठूलै प्रतिस्पर्धा देखिएको छ । यो अवस्थामा नेपालजस्ता गरिब र पिछडिएका देशले बढीभन्दा बढी राष्ट्रिय हित र उन्नति हुने गरी कूटनीति अगाडि बढाउन जरुरी छ ।
शान्तिको वातावरण छाइरहेको विश्वमा एक दसकयता अविश्वास, त्रास, युद्ध, लडाइँ र आतंकवादको अवस्था सिर्जना भइरहेको छ । आतंकवादले विश्वको आकर्षक देश मानिएका अमेरिका र सारा युरोपलाई अहिले तर्साइराखेको छ र यसमा शक्तिशाली राष्ट्रलगायत सबैले बुद्धि र होस नपुराए विश्व कुनै पनि बेला ठूलो संकटमा पर्ने अवस्था आउन सक्तछ ।
नेपालमा वास्तवमा राष्ट्रिय नीति नै छैन । कूटनीति कसरी सुदृढ हुन्छ ? नेपालको कूटनीतिलाई भोजभतेरको कूटनीति पनि भन्ने गरिन्छ । खानु र पिउनुबाहेक यसले विश्व कूटनीतिमा कुनै भूमिका खेलेको देखिँदैन । अर्कोतिर, राष्ट्रिय र अन्र्तराष्ट्रिय नीति बनाउँदा, राजनीतिक दलहरूका बीचमा एकमत नहुनु सबैभन्दा दुःखलाग्दो कुरा हो । यो अवस्थामा नेपाल र नेपालीलाई विदेशीले हेप्न र पेल्न सजिलो हुन्छ । हामी यो कमजोरी सच्याउनेतिर लागेका छैनौं ।
अहिलको जमाना वास्तवमा आर्थिक कूटनीतिको हो ।
त्यसलाई पनि नेपालले प्रभावकारी रूपमा अगाडि बढाई देशको आर्थिक र सामाजिक प्रगति गर्न सकिरहेको छैन । नेपालले धेरै देशमा कूटनीतिक नियोग खोलेर मात्रै हुँदैन, नियोगलाई नपालको हितमा प्रयोग गर्न पनि सक्नुपर्छ । खाडी मुलुकमा दिनहुँ नेपाली कामदार मरिरहेका छन्, तिनको अवस्था र व्यथाका बारेमा हाम्रा कूटनीतिक नियोगहरू बेखबर हुन्छन् ।
अफगानिस्तानमा एकैचोटि १३ जनाले अकारण ज्यान गुमाउनुपर्यो । नेपालको नियोगले आफ्ना कामदार कहाँ कसरी काम गरिरहेका छन् र तिनको अवस्था र सुविधा के-कस्तो छ भन्ने सम्बन्धमा सामान्य जानकारी पनि नराख्नुबाटै हाम्रो कूटनीतिको अवस्था छर्लंगै हुन्छ । नेपालको कूटनीतिमा पनि परिवर्तन र रूपान्तरण हुन जरुरी छ ।
विकसित र समृद्ध देशहरूले शान्त कूटनीतिको सिद्धान्त अवलम्बन गरिरहेका हुन्छन् भने नेपाललगायतका साना र गरिब देशहरूले हल्लाको कूटनीति अपनाइरहेका छन् र बोल्न नहुने कुरामा पनि निकै चर्को स्वर गरी बोलिरहेका छन् ।
वास्तवमा हल्लाको कूटनीतिभन्दा शान्त कूटनीति नै बढी हितकर हुन्छ । चीन र भारतजस्ता दुई ठूला र उदयीमान अर्थतन्त्रको रूपमा स्थापित देशहरूको बीचमा रहेको नेपालले त शान्त र तटस्थताको कूटनीति अपनाउनु नै बढी श्रेयस्कर हुन्छ र यी दुवै देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र पूर्वाधार विकासबाट नेपालले बढीभन्दा बढी ज्ञान र लाभ लिन जरुरी छ । जतिसुकै झगडा र विरोध गरे पनि वास्तवमा यिनै छिमेकी देश नेपाललाई अप्ठेरो पर्दा काम लाग्छन् । त्यसैले यिनीहरूसित सम्बन्ध सुधार्नतिरै नेपाल लाग्नु उपयुक्त देखिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री हुनासाथ दुई उपप्रधानमन्त्रीहरूलाई सम्बन्ध सुधार र सुदृढीकरणको लागि भारत र चीन पठाउनुभएको छ र दुवै देशले नेपालको स्थिरता, मेलमिलाप र समृद्धिको अपेक्षा राखेको पाइन्छ । नेपाललाई सबै क्षेत्रको विकासमा आवश्यक सहयोग गर्न दुवै देशले प्रतिबद्धता पनि जनाएका छन् । यी भ्रमणले दुई देशीय सम्बन्धलाई सामान्यीकरण गर्न सहजीकरण गर्ने देखिन्छ र यो कदम नेपालको लागि पनि हितकारी हुने नै देखिन्छ । कतिपय मुद्दामा भारत र चीन हातेमालो गरेर हिँडिरहेको अवस्था छ ।
त्यसैले अहिले चीन र भारत कार्ड प्रयोग गरेर हिँड्ने जमाना छैन । दुवैसित समदूरी र तटस्थताको सम्बन्ध राखी अगाडि बढ्दा नै नेपाललाई बढी फाइदा हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस !
