मिनी क्यासिनोःआर्थिक विधेयकअनुसार सञ्चालन गराउन निर्देशन
काठमाडौंः सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटले व्यवस्था गरेअनुसार क्यासिनो सञ्चालन गराउन निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागलाई सरकारले आर्थिक विधेयकअनुसार क्यासिनो तथा मिनी क्यासिनो सञ्चालन गराउन निर्देशन दिएको विभागका महानिर्देशक सुदर्शन ढकालले बताए ।
ढकालका अनुसार सीमा क्षेत्रमा सञ्चालन भइरहेका नौवटा मिनी क्यासिनो बन्द गर्नुपर्ने आर्थिक विनियममा उल्लेख छ । केपी ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक विधेयकको केही अंश स्वीकृत नभएकाले कार्यान्वयन कसरी गर्ने भन्ने अन्योल भएको अवस्थामा सरकारले निर्देशन दिइसकेपछि अब विधेयकको व्यवस्थाअनुसार नै अघि बढ्नुपर्ने विभागले जनाएको छ ।
सरकारले गत जेठ १५ गते जारी गरेको आर्थिक विधेयकमा आधुनिक मेसिन तथा उपकरणको माध्ययबाट खेलाइने खेल (मिनी क्यासिनो) एउटा इजाजतले एक स्थानमा मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ । हाल एउटा इजाजतपत्र लिएर व्यवसायीले चारवटासम्म मिनी क्यासिनो सञ्चालन गरिरहेका छन् ।
आर्थिक विधेयकमा आधुनिक मेसिन तथा उपकरणको माध्ययबाट खेलाइने खेल (मिनी क्यासिनो) एउटा इजाजतले एक स्थानमा मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ । हाल एउटा इजाजतपत्र लिएर व्यवसायीले चारवटासम्म मिनी क्यासिनो सञ्चालन गरिरहेका छन् ।
यसअघि एउटा मिनी क्यासिनोले दुई करोड रुपैयाँ वार्षिक रोयल्टी तिरेर चार स्थानमा सञ्चनलन गर्न पाउने व्यवस्था थियो । सोही व्यवस्थाअनुसार सेन्ट्रल मिडिया, रक इन्टरनेसनल र ह्याप्पी आवरले चारवटाका दरले १२ स्थानमा मिनी क्यासिनो खोलेका छन् । साउन १ गतेदेखि अनिवार्य रूपमा संख्या घटाउनुपर्ने व्यवस्था बजेटमा भए पनि अहिलेसम्म कार्यान्वयन भने हुन सकेको छैन ।
क्यासिनो इम्पेरियलद्वारा अनुमति माग
अन्नपूर्ण होटलमा क्यासिनो सञ्चालन गर्न भारतीय लगानीकर्ताले क्यासिनो इम्पेरियलमार्फत अनुमति माग गरेका छन् । इम्पेरियले अन्नपूर्णमा क्यासिनो सञ्चालन गर्न पूर्वस्वीकृति मागेको पर्यटन विभागका महानिर्देशक ढकालले बताए । उनका अनुसार इम्पेरियलले अनुमति माग गरेको भए पनि आवश्यक प्रक्रिया पुगेनपुगेको बारेमा फाइल अध्ययन भइरहेकाले एकदुई दिनपछि मात्रै टुंगो लाग्छ ।
उनले सम्बन्धित होटलको अनुमति लिएर सरकारले तोकेको मापदण्ड पूरा गरेको अवस्थामा सञ्चालन अनुमति दिन कुनै समस्या नहुने बताए । सरकारले क्यासिनो नियमावली २०७० लागू गर्नुपहिले नेपालका १० वटै पाँचतारे होटलमा क्यासिनो थिए । यो नियमावली पालना गर्न नसकेर बन्द भएका क्यासिनो बिस्तारै एकपछि अर्को गर्दै सञ्चालनमा आउन थालेका छन् ।
हाल सोल्टीको क्यासिनो माजोङ, हायातको क्यासिनो प्राइड र सांग्रिलाको क्यासिनो मिलेनियर्स क्लब सरकारी प्रावधान पूरा गरेर सञ्चालनमा छन् । र्याडिसनको र्याड, मल्लको भेनस र याक एन्ड यतीको रोयल अदालतको अन्तरिम आदेशले सञ्चालन भएका छन् ।