विदेशी हस्तक्षेपबाट मुक्ति

विदेशी हस्तक्षेपबाट मुक्ति

केही समयअघि भारतीय सञ्चारमाध्यमले त्यहाँको लोकसभामा जम्मु– कश्मीरसम्बन्धी प्रस्ताव पारित गरिएको र उक्त प्रस्तावमा भारतले पाकिस्तान अधीनस्थ काश्मीर सम्बन्धमा प्रश्न उठाउने र राष्ट्रियता एवं राष्ट्रिय सार्वभौमसत्ताविरुद्ध कुनै पनि सम्झौता नहुने उल्लेख गरेका थिए । भारत र पाकिस्तानबीच जम्मु–कश्मीरको विषयलाई लिएर भारत विभाजनको समयदेखि नै व्यापक विवाद रहेको छ ।

यसै विषयलाई लिएर दुवै देशबीच पटकपटक युद्धसमेत हुने गरेको छ । भने यसै सन्दर्भलाई लिएर हाल त्यहाँ व्यापक विवाद र अशान्ति देखा परेको छ । अझ पछिल्लो समय बुरहान बानी नामक कथित आतंकवादीको प्रहरीसँग मुठभेडमा भएको मृत्युपश्चात् कश्मीरमा चरम अशान्ति व्याप्त छ ।

त्यहाँ लामो समय रेलसेवा बन्द हुनुका साथै कश्मीर बन्दसमेत हुने गरेको प्रकाशमा आउने गरेको छ । यसै सिलसिलामा भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर राजधानी दिल्लीलगायतका स्थानमा आतंकी हमला हुने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

विषयको गम्भीरतालाई लिएर भारतीय सरकारको पहलमा सर्वदलीय बैठकसमेत आयोजना गरिएको थियो र सरकारले कश्मिरी विद्रोही एवं सम्बद्ध पक्षसँग वार्ता गर्ने पहल गरिरहेको समेत प्रचारमा ल्याएको थियो । यसरी भारत र पाकिस्तानबीचको सम्बन्धमा लामो समयदेखि तीव्र कटुता रहेको भए पनि यतिबेला स्थिति अझ जटिल बन्न पुगेको छ ।

दुवै देशबीचको सम्बन्धमा कुन हदसम्म जटिलता उत्पन्न हुन पुगेको छ भन्ने प्रमाणको रूपमा केही दिनअघि सार्क मन्त्रीस्तरीय बैठकमा भाग लिन पाकिस्तान पुगेका भारतीय गृहमन्त्री राजनाथ सिंह त्यहाँबाट अपमानित भई फर्किनुपरेको कुरालाई लिन सकिन्छ ।

यसरी भारत र पाकिस्तानबीच लामो समयदेखि कायम कटु सम्बन्ध अन्य दक्षिण एसियाली मुलुकहरूको लागि समेत चिन्ताको विषय बन्ने गरेको छ । दुवै राष्ट्रले आफूहरूबीचको विवादलाई वार्ता र संवादको माध्यमबाट समाधान खोजून् भन्ने चाहना शान्तिप्रेमीहरूको हुनु स्वाभाविक हुन्छ ।

भारत र पाकिस्तानबीचको विवादबारे चर्चा गरिरहँदा र दुवै देशबीचको तनावलाई वार्ता एवं संवादको माध्यमद्वारा हल गर्नुपर्छ भनिरहँदा भारत र नेपालबीच हाल विकसित सम्बन्धका कुरा बिर्सन सकिँदैन । भारत र पाकिस्तानबीचको सम्बन्ध कश्मीर विषयलाई लिएर जति बिग्रिएको छ, नेपाल र भारतबीचको सम्बन्धमा पनि त्यत्तिकै असमझदारीको विकास हुन पुगेको छ ।

फरक के मात्र छ भने पाकिस्तान भारतप्रति खुला र आक्रामक रूपमा प्रस्तुत हुने आँट गर्छ, अनि भारतीय रबैयालाई अन्तर्राष्ट्रियकरणसमेत गर्ने गर्छ । तर नेपाल भने यी दुवै गर्न सक्दैन । बढीमा असन्तुष्टिसम्म व्यक्त गर्ने गर्दछ । यस किसिमको असन्तुष्टि पनि जनस्तरमा बढी र सरकारीस्तरमा निकै कम हुने गरेको छ ।

नेपाल–भारतबीच खुला सिमाना, दुवै देशबीच परम्परागत सम्बन्ध र नेपाल गरिब एवं कमजोर मुलुक भएकाले नेपालको भारतप्रतिको निर्भरता अरू छिमेकी मुलुकहरूको तुलनामा बढी रहेको यथार्थ हो । नेपालको आफूप्रतिको यसै निर्भरताबाट फाइदा लिँदै भारत नेपाललाई हेप्ने र मिच्ने कार्य गरिरहन्छ, जसलाई लिएर नेपालले आँटै गरेर सामान्यरूपमा असन्तुष्टि प्रकट गर्न खोजे भारत उसले पाकिस्तानप्रति गर्ने व्यवहारकै हदसम्म आक्रामकरूपमा प्रस्तुत हुन पुगिहाल्छ ।

हुन त भारतले नेपालप्रति गर्ने हेपाहा व्यवहारको एउटा मात्र स्वरूप र कारण छैन । एक त, भारतीय शासकहरू आफू लामो समयसम्म ब्रिटिस साम्राज्यवादको उपनिवेश रहँदा प्राप्त दीक्षाअनुसार सानो र कमजोरलाई हेप्दा आफूहरू साम्राज्यवादीहरूको सक्षम उत्तराधिकारी भएको अनुभव गर्छन् । दोस्रो, भारत आफूलाई दक्षिण एसियाको क्षेत्र र विश्वको उदीयमान शक्ति भन्ठान्छ र ऊ आफूले आर्जन गरेको शक्तिको प्रदर्शन आफ्ना छिमेकीहरूप्रति दादागिरीको रूपमा गर्नुलाई गर्वको विषय सम्झन्छ ।

तेस्रो, भारत र पाकिस्तानबीच कहिल्यै सौहार्द्रपूर्ण सम्बन्ध रहेन । दुवै राष्ट्रले एकअर्काविरुद्ध असहिष्णु व्यवहार प्रदर्शन गरिरहने गरेकाले भारत नकारात्मक मनोविज्ञानबाट ग्रसित हुन पुगेको छ । जुन उसले पाकिस्तानबाहेकका छिमेकीहरूसँग गर्ने व्यवहारमा समेत प्रकट भइरहन्छ । यस प्रकार भारतको कूटनीतिक अभ्यास नै सौम्य नभई नग्न हुने गरेको छ । चौथो, भारतले नेपालप्रति गर्ने असहिष्णु व्यवहारका लागि भारत मात्रै नभएर नेपाली शासकहरू, राजनीतिक दलका नेताहरूसँगै यहाँको प्रबुद्ध कहलिने जनसमुदाय पनि उत्तिकै जिम्मेवार छ ।

यहाँका शासक एवं दलीय नेतृत्व (केही अपवादबाहेक) मा चरम सत्तालिप्सा त छँदैछ, त्यससँगै उनीहरू सत्ता प्राप्ति एवं त्यसमा टिकिरहन भारतको दलाली गरिरहनुपर्छ भन्ने चिन्तनद्वारा ग्रसित छन् । त्यसैगरी यहाँको कथित प्रबुद्ध वर्ग पनि आफनो मुलुकप्रति प्रतिबद्ध हुनुमा भन्दा विदेशी दलालीमा शान र फाइदा सम्झन्छ । नेपाली शासक, राजनीतिक नेतृत्व एवं कथित प्रबुद्ध वर्गको दलालीपूर्ण कार्यबाट हौसिएको भारत कश्मीर विवादमा आफूले पाकिस्तानप्रति गर्नेभन्दा तल्लो स्तरको व्यवहार नेपालप्रति गर्ने गर्छ ।

भारत नेपालसँगको खुला सिमानाको फाइदा उठाउँदै नेपालको सिमाना मिच्ने, दुवै देशको दशगजा क्षेत्रमा बाँध एवं सडक निर्माण गरेर नेपाली भूभाग डुबाउँदै सीमा क्षेत्रका नेपालीलाई सताउने, एकथरी भारतीयहरूलाई नेपालमा घूसपैठ गराउने, तिनीहरूलाई नागरिकता दिलाउने व्यवस्थासहितका प्रावधान राखेर संविधान निर्माण गर्न दबाब दिने, संविधानमा त्यसखाले व्यवस्थाहरू समावेश गरिएनन् भनेर आफ्ना दलालहरूलाई त्यसविरुद्ध आन्दोलन गर्न उक्साउने, आन्दोलनले जनसमर्थन प्राप्त गर्न नसकेपछि त्यसमा बल पु‍र्‌याउन नेपालविरुद्ध नाकाबन्दी गर्ने, त्यसो गर्दा पनि केही सीप न लागेपछि सरकार परिवर्तन गरी आफ्नो पिछलग्गु सरकार गठन गर्ने र त्यसै सरकारलाई प्रयोग गरेर आफ्ना एजेन्डाहरू लागू गर्नेसम्मको हर्कत गरिरहेको खुला सत्यको रूपमा प्रकट हुन पुगेको छ ।

पहिले–पहिले भारतले आफ्ना आग्रहलाई छद्मरूपमा अघि बढाउने गर्दथ्यो भने पछिल्लो समयमा आएर नग्नरूपमा प्रकट हुने गरेको छ । भारतले नेपालमाथि गर्ने खुला हस्तक्षेपको मात्रा उसका दलालले यहाँ गर्ने गतिविधिमा र भारतीय दलालहरूले यहाँ गर्ने गतिविधिको मात्रा भारतले नेपालप्रति गर्ने हस्तक्षेपमा निर्भर गर्ने गर्छ । यसरी एउटा स्वतन्त्र र सार्वभौम मुलुकले अर्को स्वतन्त्र र सार्वभौम मुलुकको आन्तरिक मामिलामा यो हदसम्मको हस्तक्षेप गर्ने कार्यलाई अन्तर्राष्ट्रिय कानुन, न्याय र नैतिकता कुनै पनि हिसाबबाट उचित ठह‍र र्‌याउन सकिने देखिँदैन ।

नेपाल राष्ट्रको निर्माण कालदेखि हालसम्मको परिवर्तन सम्भव तुल्याउन विदेशीहरूको निर्देशनमा होइन, आफ्नै बलबुतामा स्वाभिमानपूर्वक लड्ने वीर योद्धाहरूले देखाएको निःस्वार्थ त्याग, बलिदान, समर्पण, राष्ट्रप्रेम र राष्ट्रनिर्माणको मार्ग अवलम्बन गर्दै अघि बढ्ने सक्षम नेतृत्त्व र समर्थक पंक्तिको खाँचो छ ।

तर भारतले प्रजातन्त्र र मित्रताको नाममा यस किसिमको निर्लज्ज हर्कत गरिरहेको छ । अनि एकथरी राष्ट्रघाती सत्तास्वार्थको निम्ति भारतको यसै अभियानका सारथि बनेका छन् । भारतपोषित ती दलालहरूले राष्ट्रिय स्वार्थ एवं राष्ट्रहित सत्ता र जातीय एवं क्षेत्रीय स्वार्थभन्दा धेरै महत्त्वपुर्ण कुरा हो र त्यसमा कुनै हालतमा सम्झौता हुन सक्दैन भन्ने बुझिराख्नुपर्छ भने राष्ट्रवादी नेपालीले पनि जसले झीनामसिना स्वार्थनिम्ति राष्ट्रहितप्रति गद्दारी गर्छ, त्यसले आफ्नो जाति र समुदायप्रति पनि धोखाधडी गर्न बाँकी राख्ने छैन भन्नेमा सावधान हुनुपर्छ ।

नेपालमा भारतीय हस्तक्षेपका दुई आयाम छन् । एक, हामीले आजसम्म प्रजातन्त्रको नाममा जति पनि आन्दोलन ग‍र्‌यौं, चाहे त्यो २००७ सालको राणाविरोधी आन्दोलन होस् वा २०४६ सालको पञ्चायतविरोधी आन्दोलन वा २०६३ सालको कथित लोकतान्त्रिक आन्दोलन, ती प्रत्येक आन्दोलन भारतको सहयोग लिएर ग‍र्‌यौं । अन्ततः त्यसको फाइदा दुवै पक्षले लिए । एक, भारतले आफूलाई त्यसको प्रमुख हिस्सेदारको रूपमा प्रस्तुत गर्दै आफ्नो भाग खोज्यो । दोस्रो, परिवर्तनपश्चात् सत्तामा पुग्नेहरूले लिए ।

उनीहरूले सत्ता स्वार्थको लागि आन्दोलनका उपलब्धिप्रतिको भारतीय दाबीलाई सहज स्विकार गरिदिए । यसरी भारतले आन्दोलनमा पु‍र्‌याएको सहयोगबापतको हिस्सेदारी खोज्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सफल हुन पुग्यो भने भ्रष्ट र सत्ता लोलुपहरू जसरी भारतीय सहयोगमा व्यवस्था परिवर्तन सम्भव भयो, त्यसैगरी उसकै सहयोगमा मात्र सत्ता प्राप्ति र त्यसको निरन्तरता सम्भव हुन्छ भन्ने सोचबाट निर्देशित हुन गई खुला र निर्लज्जरूपमा भारतको दलाली गर्न पुगे ।

अन्ततः देशमा प्रजातन्त्र प्राप्तिको नाममा हुने फेरबदलबाट भारत र भारतीय दलालको जित र देश एवं जनताको पराजयको अवस्था सिर्जना हुन पुग्यो । जसले गर्दा पटक–पटक निरंकुशताविरुद्धको आन्दोलनमा त्याग एवं बलिदान गरेका जनता 'तावाबाट फुत्किएको माछा भुंग्रोमा परेजस्तो' अनुभूति गर्न विवश भए । उनीहरू निर्दलियता र त्यसलाई अन्त्य गरेर स्थापित विहारी शैलीको दलीय प्रजातन्त्र, शाही सत्ता र त्यसलाई ढालेर कायम भएको दलीय लुटतन्त्रबीचको फरक खुट्याउन नसकेर अचम्भित, दिग्भ्रमित र आक्रोशित हुन पुगेका छन् ।

यहाँ प्रश्न उठ्छ– त्यसो भए के यस किसिमको अवस्थाको विकल्प सम्भव छ ? छ भने त्यो के हुन सक्छ ? निश्चय पनि, अब देश अहिलेको अवस्थामा रहिरहन सम्भव छैन । त्यसैले यसको विकल्प आवश्यक र सम्भव दुवै छ । तर त्यस्तो विकल्प पञ्चायती निरंकुशतावादी र अहिलेका विदेशी दलाल एवं लुटतन्त्रवादी वा तिनका नयाँ अवतार दुवै हुन सक्दैनन् । त्यसको लागि नेपाल राष्ट्रको निर्माण कालदेखि हालसम्मको परिवर्तन सम्भव तुल्याउन विदेशीहरूको निर्देशनमा होइन, आफ्नै बलबुतामा स्वाभिमानपूर्वक लड्ने वीर योद्धाहरूले देखाएको निःस्वार्थ त्याग, बलिदान, समर्पण, राष्ट्रप्रेम र राष्ट्रनिर्माणको मार्ग अवलम्बन गर्दै अघि बढ्ने सक्षम नेतृत्त्व र समर्थक पंक्तिको खाँचो छ ।

अझै नेपाल आमाको कोख बाँझिएको छैन । त्यस किसिमको नेतृत्व नेपाली जनसमुदायबीचबाटै जन्मनेछ । तर त्यसको लागि स्वाभिमानी, राष्ट्रप्रेमी, परिवर्तनकामी जनताले पनि केही त्याग गर्नुपर्छ । उनीहरूले विदेशीको दलाली गरेर नेपाललाई चमत्कारिक रूपमा परिवर्तन गरिदिन्छौं भन्दै सत्ताको भ‍र्‌याङ चढ्ने र सत्तामा पुगेपछि निर्लज्ज लुट मच्चाउँदै विदेशी हस्तक्षेपलाई सुदृढ तुल्याउने चटके, भ्रष्ट एवं राष्ट्रघातीको भ्रमजालबाट तत्काल मुक्त हुने आँट गर्नुपर्छ । सोचौं, अर्कोले ल्याइदिने तन्त्र, अर्कोले थोपरिदिएको नेतृत्व र अर्कोले गरिदिने विकासले नेपाली जनतालाई धोका र उपेक्षाबाहेक अरू केही मिल्ने छैन ।

त्यसैले नेपालीको पहिलो लडाइँ भ्रमबाट मुक्तिको लागि हुनुपर्छ । हामी लामो समय स्वदेश–विदेशी दलालले छरेको भ्रममा बाँच्यौं । अब भ्रममुक्त भएर बाँच्ने अठोट गरौं । त्यसमाथि साँघुरा स्वार्थहरूमा न अल्झिएर देश विकासको अभियानमा सक्दो योगदान गरौं । हामीले भोगिरहेका सबै व्यवधान र अप्ठेराहरू सल्टिनेछन् । नेपाल र नेपाली जनताको मुहार फेरिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.