एमालेमा नवप्रवेशीलाई सांगठनिक जिम्मेवारी दिइने

काठमाडौं: विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेकोहरुलाई पार्टीले उचित साङ्गठनिक जिम्मेवारी दिने निर्णय गरेको छ।
नेकपा (एमाले) पार्टी कार्यालय धुम्बराहीमा नव प्रवेशी कार्यकर्तालाई जिम्मेवारी दिन बनेको ‘कार्यदल’ को बैठकले सो निर्णय गरेको हो।
कार्यदलका संयोजक पार्टी महासचिव ईश्वर पोखरेलले पार्टीमा समाहित भएका र आगामी दिनमा पार्टीमा समाहित हुने राजनीतिक व्यक्तित्वहरुलाई उचित साङ्गठनिक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताए।
पार्टीको भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले एक कार्यदल गठन गरी नवप्रवेशीलाई साङ्गठनिक जिम्मेवारी दिन गृहकार्य गर्ने जिम्मेवारी दिएको थियो।
कार्यदलको बैठकले बलियो राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा (एमाले)लाई स्थापित गर्न विभिन्न राजनीतिक दल, समूह तथा व्यक्तिहरुलाई नेकपा (एमाले)मा एकताबद्ध हुँदै राष्ट्र र जनताको चाहनाअनुरुप ऐतिहासिक भूमिका निर्वाह गर्न अपिल गरेको छ।
साथै, बैठकले यस प्रयोजनका निम्ति विभिन्न राजनीतिक दल, समूह तथा व्यक्ति–व्यक्तित्वसँग संवादको प्रक्रियाअघि बढाउने निर्णयसमेत गरेको छ । स्थानीय कमिटीले जिम्मेवारी दिएपछि कार्यदलको पहिलो बैठक बसेको हो।
कार्यदलमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र राधाकृष्ण मैनाली सदस्य रहेका छन्। रासस
प्रतिक्रिया दिनुहोस !
