स्मृति- इन्द्रचोकका सर्राफी

बैंक खुलेकै थिएन । काठमाडौंमा विदेशी मुद्रा सटहीका लागि सर्राफी हुन्थे, असन/इन्द्रचोकका केही नेवार साहू सर्राफी थिए । राणाकालमा जागिरदारलाई तलबको सट्टा मधेसमा जग्गाको कुत उठाउने अधिकार (तिरजा) दिने चलन थियो । जागिरदारले त्यो तिरजा यिनै सर्राफीलाई बेच्ने गर्थे । १९९३ सालमा नेपाल बैंक स्थापना भए पनि विदेशी विनिमय सटहीको काम सर्राफीले गर्ने चलन २००३/२००४ सालसम्म चल्यो । इन्द्रचोकका इन्द्रभक्त श्रेष्ठ पुस्तैनी सर्राफी थिए ।
छोरा रविभक्त श्रेष्ठका अनुसार उनका हजुरबुवा अलि मनमौजी स्वभावका थिए, व्यापारमा मन थिएन । बालक छोरा इन्द्रभक्तलाई पसलमा बस्न लगाउँथे । छोराले व्यापारमा मन नलगाएपछि इन्द्रभक्तकी हजुरआमा नाति सानैदेखि व्यापारमा लागोस् भन्ने चाहन्थिन् । यसैले ७ कक्षामै पढाइ छाडे, बाल्यकालमै पूर्णकालीन व्यापारी भए ।
इन्द्रभक्त जन्मिएको राणाकालीन समय (१९८१ साल) मा पैसा कमाए पनि सोख गर्न डर मान्नुपथ्र्यो । ठूलो घर बनाउँदा, रङरोगन गर्दा, गाडी किन्दा राणासँग बराबरी गर्न खोजेको अर्थ लाग्न सक्थ्यो । श्री ३ ले यस्तो ठाने उठीबास लाग्थ्यो । उनका बुवाले घरमा दरबारको जस्तै बुर्जा लगाउँदा राणासँग बराबरी गर्न खोजेको अर्थ लगाइयो । बक्रदृष्टिमा परिने डरले श्रेष्ठ परिवारले रातारात बुर्जा हटाउन परेको थियो ।
अनुसन्धाता डा. मल्लिका शाक्यका अनुसार राणाकालीन काठमाडौंमा नेवारको सट्टा मारवाडीलाई व्यापारमा प्रोत्साहन दिइएको पाइन्छ । गोरखालीले आफ्नो राज्य कब्जा गरेको भन्ने नेवार समुदायमा थियो, अहिले पनि छ । यसैले नेवार साहू राणाप्रति लोयल देखिए पनि शंका गरिन्थ्यो । परिवारका एउटा छोरालाई सरकारी जागिरमा पठाई अरूलाई व्यापारमा लगाउने चलन थियो । शासकसँग सम्बन्ध सुमधुर बनाउन एउटालाई जागिरमा पठाइन्थ्यो । इन्द्रभक्तकै कान्छो भाइ कूटनीतिक सेवामा गएका थिए ।
त्यति बेला काठमाडौंका थुप्रै नेवार साहू व्यापार गर्न तिब्बत जान्थे । तिब्बतमै कोठी (पसल) खोलेर वर्षौंसम्म घर फर्किंदैनथे । कतिपयले उतै बिहावारी गर्थे । तर, तिब्बत व्यापार गर्ने धेरै शाक्य, तुलाधर थिए । इन्द्रभक्तचाहिँ बम्बई पुगे । अत्यावश्यक वस्तु कपडाको बजारमा डिमान्ड हुने नै भयो । अलि ठूलो व्यापार भनेकै कपडाको हुन्थ्यो । अहिलेका ठूला नेवार, मारवाडी घरानावालाको पुख्र्यौली व्यापार कपडा नै हो ।
सर्राफीबाट व्यापार विस्तारका क्रममा उनी कपडा व्यापारका लागि बम्बई गए । काठमाडौंमा कपडा सप्लाई गर्न उनले त्यहाँ कोठी खोलेका थिए । कपडाको व्यापारले उनलाई काठमाडौंको व्यापारमा स्थापित गरायो, नाति सफल व्यापारी भएको देख्ने हजुरआमाको सपना पनि पूरा भयो । कपडाको ट्रेडिङमा सफल भएपछि उनले कपडा उद्योग पनि सञ्चालन गरे । रविभक्तका अनुसार भारतको केपी जालान समूहको साझेदारीमा विराटनगरमा कटन मिल स्थापना गरियो । केपी जालानको नरहेपछि उद्योग पनि बन्द भयो ।
औपचारिक शिक्षा कम भए पनि आफ्नो बावु निकै ज्ञानी र भिजनरी थिए भन्ने रविभक्तलाई लाग्छ । स्थानीय संस्कृतिका बारे उनले किताबै लेखे । विदेशीसँग अंग्रेजीमै कुरा गर्थे । राष्ट्रिय/अन्तर्राष्ट्रिय घटनाक्रममा अपडेट हुन्थे । छोराछोरीलाई व्यावसायिकताबारे बताइरहन्थे । काम गर्न पहिला स्वस्थ हुनुपर्छ भन्ने मीठो छ भन्दैमा धेरै नखानु, नमीठो हुँदैमा थोरै नखानु भन्थे । हिसाबकिताब एकदम दुरुस्त राख्नु उनको सफलताको अर्को कारण थियो ।
व्यापारमा नयाँनयाँ सम्भावना खोजिरहन्थे । बम्बईबाट कपडा आयात गर्दागर्दै उनी कपडाका लागि दक्षिण कोरिया पुगेका थिए । दक्षिण कोरियाबाट व्यापार सुरु गर्नेमध्येका थिए, उनी । समयअनुसार व्यापारमा विविधीकरण गरिरहन्थे । वित्त क्षेत्र निजी क्षेत्रका लागि खुला भएपछि हिमालयन बैंकमा लगानी गरिहाले, आखिर पुस्तैनी सर्राफी थिए, बाल्यकालमा गरेकै कामको विस्तारित रूप थियो बैंक । बिमाको सम्भावना देखिएपछि युनाइटेड इन्सुरेन्स स्थापनाको नेतृत्व गरे । आर्थिक उदारीकरणको युग सुरु भएपछि बहुराष्ट्रिय कम्पनी नेपालमा लगानी गर्न आए ।
युनिलिभरको नेपाल एकाइमा उनले साझेदारी गरे । युनिलिभरकै ब्रान्डमा छुट्टै उद्योगबाट साबुन उत्पादन गर्ने एकाइ स्थापना गरे । मुलुक उत्पादनभन्दा सेवा क्षेत्रका लागि सम्भाव्य हुँदै गएको पनि बुझेका थिए । डेढ दशकअघि सोल्टीबाट ओबेराय समूह बाहिरिँदा सो समूहको सबै सेयर उनैले किने । उनको परिवार अहिले हस्पिटालिटी बिजनेसमा थप लगानी गर्दैछ । चौधरी समूहसँग मिलेर रविभक्तले समिट होटल किने, जसलाई पाँचतारेमा स्तरोन्नति गर्ने योजना छ । यस्तै पुल्चोकमा बिजनेस होटल खोल्ने योजना छ ।
काठमाडौंका थुप्रै नेवार साहू व्यापार गर्न तिब्बत जान्थे । इन्द्रभक्तचाहिँ बम्बई पुगे ।
इन्द्रभक्त सफल व्यापारीमात्र थिएनन्, चेम्बर अभियानको अभियन्ता पनि थिए । राणाकालमै वाणिक मण्डलमार्फत व्यवसायीलाई संगठित गर्न उनले सुरु गरेका थिए । वाणिक मण्डलबाटै नेपाल चेम्बर अफ कमर्स जन्म भयो । चेम्बर अफ कमर्स गठन गर्न प्रबन्धपत्र÷नियमावली बनाउनुपर्ने भयो, कसरी बनाउने आइडिया थिएन । 'लन्डनको चेम्बर अफ कमर्सको प्रबन्धपत्र/नियमावली झिकाएर नेपालीमा अनुवाद गर्नु परेको थियो', रविभक्त सुनाउँछन् । लामो समय चेम्बरको अफिस इन्द्रचोकको उनकै घरमा थियो । चेम्बर अफ कमर्सले नै नेपाल उद्योग वाणिज्य महासंघ जन्मायो ।
अहिले महासंघको एउटा सदस्य छ, चेम्बर अफ कमर्स । इन्द्रभक्त चेम्बर अफ कमर्सको चारचोटि अध्यक्ष भए, महासंघमा एकचोटि ।
वाणिक मण्डलको टोली लिएर भेट्न जाँदा देशका व्यापारीलाई भेट्न पाएँ भनेर राजा त्रिभुवन भावुक भएका थिए । राणाले लगाएको पर्खालका कारण राजाले व्यापारी भेट्न नपाउने अवस्था थियो । नौ दशक लामो जीवनमा उनले एकदम अवस्था भोगे । उनको मृत्यु हुँदा मुलुक गणतन्त्र भएको पनि सात वर्ष भइसकेको थियो । रविभक्तका अनुसार राणाकालमा नेवार साहूहरूको राणाहरूसँग राम्रो सम्बन्ध हुन्थ्यो, त्यो नभई व्यापार गर्नसक्ने अवस्था पनि थिएन ।
राणा शासन नरहेपछि राजदरबारसँग सम्बन्ध बन्यो । धेरैले त्यसै गरे । रविभक्तको बिहाको निम्ता मान्न राजा वीरेन्द्र घरमै आएका थिए । तैपनि काका कांग्रेस भएका कारण कहिलेकाहीँ उनीहरूलाई शंका पनि गरिन्थ्यो । भौगोलिक, सांस्कृतिक, जातीय विविधताका कारण पनि राजसंस्था आवश्यक छ भन्ने उनको मान्यता अन्तिमसम्म तोडिएन ।
कमाएपछि केही हिस्सा समाजलाई दिनुपर्छ भन्थे । उही बेला इन्द्रभक्त–जवाहर गुठी बनाएर असहायलाई सघाउन थालेका थिए । शिक्षण अस्पतालमा असहाय बालबालिकाको निःशुल्क उपचार गर्न ५० लाख रुपैयाँको अक्षयकोष बनाइदिएका थिए । उनको परिवारले यसपालि अक्षयकोषको रकम दोब्बर बनाइँदिँदै छ । उनको ९२औं जन्मदिन पारेर एक करोड रुपैयाँको अर्को अक्षयकोष घोषणा गरिँदैछ ।
अक्षयकोषको रकम दुईजना जेहेनदार विद्यार्थीलाई एमबीए पढ्न छात्रवृत्ति दिन प्रयोग गरिनेछ । यस्तै त्रिभुवन विश्वविद्यालयबाट एमबीएमा सबैभन्दा बढी नम्बर ल्याउनेलाई गोल्ड मेडल दिइनेछ ।
प्रतिक्रिया दिनुहोस !
