'साढे ११ हजार फिट उचाइमा जहाजको इन्जिन फेल भयो ...'

'साढे ११ हजार फिट उचाइमा जहाजको इन्जिन फेल भयो ...'

'आज ठ्याक्कै दुई साता भएछ मेरो एक्सिडेन्ट भएको ।'

भदौ २ गते । मधुरो घाम लागिरहेको क्षण । बौद्धको एक क्याफेमा लेमनेडको चुस्की लिँदै क्याप्टेन साङ्गे लामा त्यो भयानक दुर्घटना सम्झिँदै थिए ।

साउन २० गते उनले उडाइरहेको प्लेन दुर्घटित भएको थियो । उनले तत्कालै कर्णाली नदीमा ल्यान्ड गर्न सकेकाले प्लेनमा रहेका उनी र को–पाइलट दुवै बाँच्न सफल भएका थिए । त्यो दिन उनको चौथो फ्लाइट थियो । बिहानको सात बजेदेखि नै प्लेन उडाइरहेका थिए उनी । तर ४ बजेको त्यो चौथो फ्लाइट दुर्भाग्य बन्न पुग्यो । ११ हजार पाँच सय फिटको उचाइ लिइरहेको बेला उडेको पाँच मिनेटमै इन्जिन फेल हुन पुग्यो ।

त्यो भयावह क्षण सम्झँदै लामाले भने, 'को–पाइलटले उडाइरहेको जहाजमा समस्या देखिएपछि 'माई कन्ट्रोल' भनेर मैले जहाज चलाएँ । १० मिनेटसम्म आकाशमै होल्ड गरेँ । इन्जिन चार पटक स्टार्ट गर्न खोजेँ तर त्यो ब्लास्ट भइसकेको रहेछ । जहाज ग्लाग गर्न थाल्यो (मतलब इन्जिन फेल भएपछि प्लाराग्याइडिङ जस्तो उड्ने) काम गर्छ । पखेटाले ग्लाड गर्ने काम गर्छ । इन्जिन फेल भएपछि सिधै तल खस्छ भन्नु गलत हो ।  मैले सुरक्षित ल्यान्ड गर्नलाइ कति बिकल्प खोजेँ  । एउटा खेतजस्तो देखेको थिएँ । 

नजिक पुग्दा खुड्किलो जस्तो रहेछ । धेरै कोसिस गरे पनि कतै ठाउँ थिएन । एकमात्र विकल्प कर्णाली नदी देखेँ । नेपालको ठूलो र लामो नदीमा फोर्स ल्यान्ड गर्न बाध्य बनेँ । त्यतिबेला कोपाइलटलाई पछाडि पठाए ता कि म मरे पनि ऊ बाँचोस् जस्तो लाग्यो । मैले, प्रत्येक सेकेन्डसेकेन्डमा ठीकै निर्णय गरेछु । रेडियो कल गर्रेँ । टावरलाई खबर गरेँ, ल्यान्ड गर्नुभन्दा एक मिनेट पहिला रेस्क्यु गर्न पठाउनु भनिसकेको थिएँ ।

ल्यान्ड गर्न लाग्दा जहाजको नाक तल परेको देखेँ । यसले धेरै क्षति गर्छ जस्तो लाग्यो र तुरुन्त नाकलाई माथि ताने र पुच्छरलाई तल बनाउने निर्णय गरेँ त्यो पनि ठीकै गरेछु । ल्यान्ड गरिसकेपछि एकछिन सेन्स लेस भएछु । पानीले जहाज बगाउन थालेपछि होस खुल्यो । कोपाइलटलाई पहिला नै ढोका अनलक गरेर, तयारी अवस्थामा बस्नु भनेकोले बाहिर निस्कन सजिलो भयो । ऊ नदीको किनारतिर पुगेछ, मैले चाहिँ पौडिनुपर्‌यो ।'

मृत्युको मुखमा पुगेर जीवन बाँचेको त्यो क्षण उनले भगवान्, परिवार कसैलाई सम्झेनन् रे । सम्झिए, 'किनारमा कोपाइलट र मैले अँगालो हाल्यौं । एकछिन रोयौ पनि । अनि नुहायौं । मैले धर्तीलाई ढोगेँ, नदीको पूजा गरेँ । कताकता मलाई नदीले बचाए जस्तो लाग्यो । मलाई लाग्छ मान्छे प्रकृतिको विरुद्धमा काम गरिरहेको छ । मान्छे उड्न जन्मेको होइन ।'

मान्छे उड्न जन्मेको होइन भन्ने निष्कर्षमा पुगेका यी पाइलटको उड्ने जीवन सुरु हुँदासम्मको कथा भने बडो रोचक छ ।

उड्ने जीवनको सुरुवात

सिन्धुपाल्चोकको हेलम्बुमा २८ वर्ष पहिला जन्मिएका लामाको घर आर्थिक रूपमा खासै बलियो थिएन । पर्यटकीय क्षेत्र भएकाले हेलम्बुमा विदेशीहरूको आवत्जावत हुन्थ्यो । उनका बुवा टुरिस्ट गाइडको काम गर्थे । आमा सामान्य गृहणी । दुई कक्षासम्म गाउँमै पढेपछि काठमाडौं छिरे एकजना विदेशीको सहयोगमा । 'ममा के देख्यो कुन्नि कुइरेले स्पोन्सर गर्छु भन्यो', हाँस्दै सम्झिए उनले ।

स्पोन्सरमा काठमाडौं छिरेका उनले लगभग दस वर्ष होस्टलमा बिताएँ । बौद्धस्थित, दोर्जे हाइस्कुलको मेधावी छात्र बने । स्कुले जीवनमा दोस्रो स्थान नदेखेका उनले छात्रवृत्तिमै स्कुल सके ।

सिन्धुपाल्चोकमा एयरपोर्ट छैन । जहाज देख्ने कुरै भएन । बच्चामा हेलिकप्टर त देखेकै थिए । काठमाडौंले उड्ने सपना देखायो । स्कुल पढ्दा नै पाइलट बन्ने सपना देखे । गणितमा अब्बल थिए तर विज्ञान भनेपछि टाउको दुख्थ्यो । तर फिजिक्स र म्याथ उत्तीर्ण भएपछि पाइलट पढ्न पाइनेरैछ भन्ने थाहा पाएपछि खुसी भए । बुझ्दै गएपछि त विज्ञान पनि रमाइलो लाग्न थालिहाल्यो । आखिरमा पहिलो श्रेणीमा आईएस्सी पास गरे, मैतीदेवीको युनिभर्सल कलेजबाट । त्यो पनि छात्रवृत्तिमै ।

आईएस्सीपछि पाइलट पढ्न चाहन्थे उनी तर, परिवारको आर्थिक स्तरले उनको खुट्टा बाँधेको थियो । दैवले भन्छ रे तिमी आँट म पुर्‌याउँछु । त्यस्तै भयो लामाको जीवनमा पनि । उनका बुवालाई बेलायत जाने मौका मिल्यो । त्यसपछि त उनको परिवार पनि आर्थिक रूपमा बलियो बन्यो । अहिले त उनका बाबा, आमा, भाइबहिनी सबै बेलायतमै छन् । उनीमात्रै नेपालमा ।

आईएस्सी परीक्षामा सफल हुन्छु भन्नेमा विश्वस्त थिए रे । त्यसैले रिजल्ट आउनुपूर्व नै पाइलट तालिम लिने चाँजोपाँचो मिलाए । रिजल्ट आउनासाथ हान्निए फिलिपिन्स । पूरा गरे पन्ध्रमहिने पाइलट कोर्स । पहिलोपल्ट बिना स्कलरसिप पैसा तिरेर । तालिमको क्रममा दुई सय घन्टा आकाशमा बिताए । दक्ष बनेपछि फर्किए नेपाल । सायद सक्षम मानिसलाई सफलताले कुरिरहेको हुन्छ ।

सन् २०१० मा उनी नेपाल फर्केलगत्तै मकालु एयरले विज्ञापन खुलाएछ । आवेदन दिए । ८४ जनामध्येबाट पाँच जना छनोट भए । त्यसमध्ये उनी पनि एक । त्यही वर्षको जुलाईमा पाइलटको लाइसेन्स पनि पाए । त्यो नै उनको जीवनको सबैभन्दा प्रतीक्षाको घडी थियो रे । सम्झिए, 'त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि थियो । जुन क्षण व्यग्र रूपमा कुरिरहेको थिएँ । नेपाल आएको सात महिनामा कमर्सियल्ली प्लेन चलाउन पाउँदाको सुखद अनुभूति साँच्चै नै महत्त्वपूर्ण थियो मेरो लागि ।'

उनको पहिलो कमर्सियल फ्लाइट सिमीकोटको लागि थियो सुर्खेतबाट । विदेशी क्याप्टेन एलजे राइटरसँग उडेका थिए उनी । अहिले उनी कर्णालीका विभिन्न जिल्लामा खाद्यान्न ओसार्छन् । भन्छन्, 'हामीले हुम्ला, जुम्ला, मुगु, डोल्पा, बझाङ, बाजुरालगायतका दुर्गम जिल्लामा दाल, चामल, चिनीलगायतका खाद्यान्न पुर्‌याउँछौ । दिनको पाँच फ्लाइट हुन्छ । दुई पटक प्यासेन्जर । अरू कार्गो नै हुन्छ ।' संयोग त्यो दुर्घटना हुने विमान कार्गो थियो । प्यासेन्जर भएको भए ? लामा कल्पना पनि गर्न चाहन्नन् ।

उस्तै छ आत्मविश्वास

दुर्घटनाको खबर सुनेर लामाको बुवा रुनुभयो रे । भन्नुभयो रे, 'साङ्गेलाई अब त्यही काम गर्न दिनु हुँदैन' परिवार एकदमै चिन्तित छन्, कोही खुसी छैनन् । नहुन् पनि किन ? तर उनले पाइलट जीवन नछोड्ने बताएछन् । बुवालाई भनेछन्– म पाइलट बन्नको लागि जन्मेको हो ।

दुर्घटनापछि आराम गरिरहेका उनी बोर भइसकेका छन् रे प्लेन उडाउन नपाउँदा । बोर भएर उड्डयन विभागलाई सोधेछन्, 'कहिले उडाउने मैले ?'

६ वर्ष कोपाइलटको रूपमा काम गरेपछि पोहोर सालमात्रै क्याप्टेन बनेका लामाले तीन हजार घन्टा आकाशमा बिताइसकेका छन् । अहिले उनलाई आकाश नै घर भइसकेको छ । दुर्घटनापछि आराम गरिरहेका उनी बोर भइसकेका छन् रे प्लेन उडाउन नपाउँदा । बोर भएर उड्डयन विभागलाई सोधेछन्, 'कहिले उडाउने मैले ? ' 'भाइ केही दिन आराम गर पो भन्छन् ! आफूलाई उड्न नपाएर वाक्क लागिसक्यो', लामा गफिए ।

उनको अनुभवमा त्यो डरलाग्दो दुर्घटना थियो । भरपुर प्रयास गरेर आफू बाँचे, कोपाइलटलाई पनि बचाए । तर यो दुर्घटनाले उनको आत्मविश्वासलाई कति पनि असर पारेको छैन ।

भन्छन्, 'अझै उडाउँछु त्यो पनि सिंगल इन्जिन । इन्जिन जतिवटा भए पनि त्यसले फरक पार्दैन मलाई । मेरो विचारमा, सक्षम क्याप्टेनले प्लेनको एउटा किलासमेतको ज्ञान राख्नुपर्छ । तुलनात्मक रूपमा धेरै इन्जिन सुरक्षित हुन्छ तर क्षमतावान् पाइलटले कुनै पनि परिस्थितिलाई ह्यान्डल गर्न सक्नुपर्छ ।'

उनको विचारमा प्राविधिक कमजोरीका कारण त्यो दुर्घटना भएको हो । व्यावसायिक उडानमा यस्तो हुनु दुःखद् घटना हो । दुर्घटनाको कारण पत्ता लगाउन अहिले अनुसन्धान भइरहेको छ । कुनै पनि सूचना बेगर जहाजको इन्जिन फेल हुनु अनौठो घटना हो । अन्यथा एउटा पाइलटले प्रत्येक वर्ष लाइसेन्स रिन्यु गर्नुपर्छ त्यतिबेला इन्जिन फेल गराएर जहाज उडाउनुपर्छ । अनएयरमा इन्जिन काटिन्छ । 'मैले धेरै पटक इन्जिन फेल गराएर उडाएको छु' आत्मविश्वासका साथ भने लामाले ।

दोस्रो मौका नभएको पाइलट जीवन

अन्य क्षेत्रमा गल्ती गरे पनि उसको जीवन ऊसँगै हुन्छ । सधैं सेकेन्ड चान्स हुन्छ । तर पाइलटको जीवनमा दोस्रो मौका असम्भव बराबर हो । त्यसैले पाइलट पढ्ने सन्दर्भलाई मजाकको रूपमा नलिन युवाहरूलाई उनको आग्रह छ । भन्छन्, 'यो जिस्किने फिल्ड होइन । यसमा शारीरिक, मानसिक र आर्थिक रूपमा अब्बल हुनुपर्छ ।'

पाइलट जीवनको आफ्नै दुःख पनि छ । महिनाको १० दिनमात्रै काठमाडौ बस्न पाउने बाध्यता रहेछ उनको । प्यारी श्रीमती छोड्नुपर्ने । उनी कार्यरत कम्पनीको नियम नै त्यस्तै । तैपनि उनी काममा समर्पित छन् । हरेश खाएका छैनन् । कर्णालीका दुर्गम जिल्लाहरूमा पहिलेजस्तै खाद्यान्न पुर्‌याउन लागिपर्ने नै छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.