अभिमन्यु सपना

महाकथा, महाआख्यान वा महाकाव्य जे भने पनि महाभारतमा दिलचस्पी नराख्ने को होला र ! एक जन्मको देउता अर्को जन्ममा अर्कै नाममा जन्माइएको छ । उही पात्र अर्को जुनीमा कसैलाई सिध्याउन वा रिस फेर्न अर्कै पात्रका रूपमा अवतरण भएको छ । एक्काइसौं शताब्दीको भन्दा बढ्ता यौन स्वतन्त्रता छ । बच्चा जन्माइसकेपछि पनि नारी कुमारी नै रहन्छन् । जे होस्, अहिले पनि यसका जादुगरी कथा–उपकथाले दिमाग रन्थन्याउन छाडेको छैन ।
यसो सम्झिल्याउँदा श्लोकमा लेखिएको महाभारत घरमै थियो । पूरा पढिएन अर्थात् छिचोल्न सकिएन, हजारौं पृष्ठको महाभारत । खै कताबाट आयो भन्न सक्दिनँ, आवरण च्यातिइसकेको, गद्यमा लेखिएको, मैलो 'नेपाली संक्षिप्त भारत' भेटेँ । लगभग साढे चार सयको । त्यै किताबका तिलस्मी कथा पढेँ । पछि थाहा भयो त्यो किताब चक्रपाणि चालिसेले लेखेका र साझा प्रकाशनले छापेको रहेछ ।
महाभारत लेखनको प्रसंगै अनौठो छ । पराशर ऋषिका पुत्र व्यासजीलाई एक महाग्रन्थ लेख्ने मनसुवा भयो । उनको कथाफ्रेममा अरू कसैले लेखिदिनुपर्ने । ब्रह्माजीले त्यस्तो पात्र गणेशजीमात्र हुनसक्ने बताएपछि व्यासजीले गणेशको आराधना गरे । गणेश प्रकट भएर सर्त राखे— लेखिदिने तर सुरु गरेपछि रचनाकार (कथावाचक) कतै रोकिन नहुने । व्यासले अर्को सर्त तेस्र्याए— व्यासले भनेको प्रत्येक श्लोकको अर्थ राम्ररी बुझेर मात्र गणेशले कथा उतार्नुपर्ने ।
सायद व्यासजीले सुरु गराएछन्, गोष्ट राइटिङ उतिबेलै । तर व्यासले गणेशलाई पैसाचैं दिएनन् होला । पैसा वा कुनै जिनिस लिएर लेखेको कुरा कतै भेटिएको छैन । आफूलाई समेत सक्रिय पात्रको भूमिकामा उभ्याएर व्यासजीले 'हटकेक' महाआख्यान लेखेछन् । आफ्नै छोराबुहारी, नातिनातिना र पनातिसम्मको कथा । कृष्णद्वैपायन व्यास बूढाको कल्पनाशीलतालाई त मान्नैपर्छ बा !
...अनेक जालझेल र षड्यन्त्रका कथा राम्ररी बुझ्ने र स्मरणमा राख्ने क्षमता कहाँ हुनु ममा ? पहिलोपटक सामान्य पठनमात्र भयो । द्रोण पर्वमा अर्जुनपुत्र अभिमन्यु निकै सक्रिय भएर आए । तर, उनी बालकै थिए । युद्धको तेह्रौं दिन हुनुपर्छ, युधिष्ठिरले अभिमन्युलाई द्रोणको व्यूह तोड्न आदेश दिए । मेरो मन एकतमासको भयो । ओहो ! मेरो प्रिय र विलक्षण बलशाली पात्र अभिमन्युलाई सिध्याउँछन् क्यारे ! प्यारो अभिमन्यु ! शत्रुपक्षलाई सिध्याएर तिमी द्रोणको व्यूहबाट जसरी पनि निस्क है !
युद्धसंहितामा भनिएको थियो— बराबर शक्ति भएकासँग मात्र लड्ने । आत्मसमर्पण गरिसकेको र निःशस्त्रहरूलाई हमला नगर्ने । तिनीहरूलाई युद्धबन्दीको व्यवहार गर्ने । राति झुक्याएर आक्रमण नगर्ने । बालकलाई युद्धमा नपठाउने । पठाएमा ठूला वा शक्तिशालीसँग नलडाउने । इत्यादि ।
अपराधीहरूले युद्धसंहिता उल्लङ्घन गरिहालेछन् । सर्त पालना गरेनछन् । नीतिविपरीत लडाकूहरू मारिएका मारियै थिए । मामा सल्यसमेत पाण्डव पक्षमा भएन । पाण्डव पक्षका अन्तिम आडभरोसा कृष्ण थिए । भीष्म, जयद्रथ, सकुनी, दुःशासन, अश्वत्थामाले कौरवको नुन खाएको हुनाले उतैबाट लडिरहेका थिए । व्यूह रचना गर्न सिपालु र शस्त्रास्त्रका गुरु द्रोण कौरवतर्फ नै थिए । युद्धको दसौं दिनसम्म भीष्म पितामह कौरवपक्षको गणपति भएर लडे । भीष्म वाणले छियाछिया भएपछि वाणशय्यामै सुतेर मृत्यु कुरिरहेका थिए । उनको जो थियो इच्छामरण ।
अभिमन्यु हुंकारका साथ लडे । मेरो मनले अभिमन्युको पक्षमा जोडले हुटिङ गर्यो । तर, हुटिङमा म एक्लै थिएँ । अभिमन्युको वध गर्न कौरव पक्षलाई फलामकै चिउरा चपाएसरह भयो । मेरो मनले भन्यो— वा ! अभिमन्यु वा ! मान्छे सानो भए पनि कति ठूलो रणकौशल !
षड्यन्त्रका तानाबाना बुन्न थालियो । कृष्णलाई अर्जुनबाट जसरी पनि अलग्याउने द्रोणको चाल सफल हुने देखियो । अर्जुन आफ्नो गाण्डिव धनु बोकी कृष्णले हाँकेको रथ चढेर सुशर्मासँग भिड्न गए । सुशर्माले कृष्णलाई आपूm पछि सर्दै धेरै पर पुर्यायो । अर्जुन लखेट्दै गए । कुरुक्षेत्रबाटै अर्जुन टाढा भए । मेरो मन भन्दै थियो— अभिमन्युलाई केही नभइदिए हुन्थ्यो । उनले कौरवपक्षका लडाकूलाई छिन्नभिन्न पारिदिए हुन्थ्यो । यस्तो लागेको थियो— युद्धमा अभिमन्यु हैन, म भिडिरहेको छु ।
दुर्योधन द्रोणसँग रुष्ट भयो । वचन वाणले हान्न लाग्यो, 'गुरु, तपाईंजस्ता वीरलाई युद्धको गणपति बनाउँदा पनि हाम्रो हार भइरहेछ । भीष्म लडिराखेका छन्, वाणशय्यामा । सत्यजित गयो । भगदत्त गयो । चित्रसेन गयो । अब पनि तपाईंले यस्तै हेलचेक्र्याइँ गरिरहनुभयो भने ठीक हुनेछैन । एउटा बालक अभिमन्युलाई वध गर्ने शक्ति छैन तपाईंसँग ? तपाइँंले अर्जुनलाई धनुर्विद्या सिकाउनुभयो । अर्जुनले छोरा अभिमन्युलाई सिकायो । अभिमन्युसँग युद्धकौशलको कति नै ज्ञान होला ? '
कौरवसेना पाण्डवमाथि खनियो । द्रोणको व्यूह तोड्ने र निस्कने दुवै गर्न अर्जुनबाहेक कसैले पनि सक्दैनथ्यो । अर्जुनले अभिमन्युलाई व्यूह तोड्नमात्र सिकाउन भ्याएका थिए । निस्कने विधि सिकाउन पाएका थिएनन् ।
...
मेरो प्रिय योद्धा अभिमन्यु पत्नी उत्तराकोमा गए । उनले आफ्नी प्राणप्यारीसँग प्रेमका कुरा गर्ने भए । मेरो मन कम्ता प्रफुल्ल भएन ! तर डर लागिरह्यो । कामना गरेँ— हे भगवान् ! यो उनीहरूको अन्तिम प्रेमालाप नहोस् । जुगजुग उनीहरू सँगै रहन पाऊन् । साँचो प्रेमको जित होस् ।
उनले युद्धको वास्तविकता सुनाए, 'प्यारी, म गुरु द्रोणको चक्ररूपी व्यूहभित्र पस्दैछु । मैले द्रोणको व्यूह तोडोस् भन्ने चाहना ठूलो बुवाको छ । म व्यूहभित्र पस्नमात्र जान्दछु । बाहिर निस्कने ज्ञान ममा छैन । क्षेत्रीय धर्म हो, म कायर बन्दिनँ ।'
उत्तराले भनिन्, 'प्राणनाथ ! तपाईं नजानुस् । के अरू वीर मरिसके ? तपाईंजस्तो कलिलो मान्छे पाका र छली द्रोणसँग लड्न जाने ! तपाईं लड्न गए म आत्महत्या गरी मर्नेछु । त्यसमाथि म गर्भवती छु । यसको ख्याल तपाईंले गर्नु पर्दैन ? '
अभिमन्युले उत्तरालाई धेरै सम्झाए । अन्त्यमा भने, 'उत्तरा, जित हाम्रै हुनेछ । म युद्ध जितेर तिमीसामु छिट्टै आउनेछु ।' उत्तराले आपूmलाई सम्हालिन् । आँसुका आँखाले बिदा दिइन् । कथा–दृश्यले मेरो मन कटक्क काटियो । मेरो अन्तर्मनले भन्यो— हो, अभिमन्यु ! तिमीले हार्नु हुँदैन । तिमीले आफ्नो विलक्षणता देखाउनैपर्छ । तिमी सामान्य योद्धा होइनौ । सत्य र प्रेमको अवश्य एक दिन जित हुनेछ ।
अभिमन्यु युद्धस्थलमा पुगी धतखण्ड गर्न लागे । मेरो मन उफ्रीउफ्री ताली बजाउन थाल्यो । त्यहाँ अड्ने कुनै कौरव गणपतिको आँट भएन । छिन्नभिन्न पारे असाधारण योद्धा अभिमन्युले । त्यहाँ सात्यकी, चेकितान, धृष्टद्युम्न, कुन्तिभोज, द्रुपद, नकुल, सहदेव, घटोत्कच तथा राजा विराटसमेत थिए । तर व्यूह तोड्ने ज्ञान कसैमा पनि थिएन । अभिमन्युले विधिपूर्वक चक्रव्यूह तोडे । सबैले जयजयकारले आकाश घन्काए । अभिमन्युको वीरताको प्रशंसा गरे । मैले पनि जयजयकार गरेँ ।
युधिष्ठिरले अभिमन्युलाई सेनापतिको पगरी लगाइदिए पनि बालक अभिमन्यु चक्रव्यूहबाट कसरी बाहिर आउँछन् भन्ने चिन्ताले धर्मराजलाई सताइरहेको थियो । उनको निन्याउरो मुख देखेर अभिमन्यु बोले, 'पिताजी, मेरो चिन्ता नगर्नुहोस् । म देवराज इन्द्रसँग पनि पराक्रमसाथ लड्न सक्छु ।' ओहो ! मेरो अभिमन्युको सुर्याइँ ! मैले अभिमन्युलाई सलाम ठोकेँ ।
व्यूहभित्रै भिडन्त सुरु भयो । वृषसेनको सारथि, सत्य श्रवा, राजकुमार रुन्म अभिमन्युसँग टिक्न सकेनन् । यो देखेर शक्तिशाली लडाकुहरू द्रोण, अश्वत्थामा, बृहत्बल, कृपाचार्य, दुर्याेधन, कर्ण, कृतवर्मा, सकुनिको फौज अभिमन्युमाथि खनियो । यसै भिडन्तमा दुर्योधन पुत्र लक्ष्मणले माटो खायो । दुर्योधन पागलझैं अभिमन्यु वधको सिफारिस गर्न लाग्यो । ६ जना महारथीहरू अभिमन्युमाथि बर्सिए तर टिक्न सकेनन् । पछि हटे । जयद्रथ, शल्य तथा सकुनी थिलथिलो भए । यता पाण्डवपक्ष विजयोत्सवको नारा घन्काउँदै थियो । 'वीर अभिमन्यु जिन्दावाद !' मेरो मनले भन्यो, 'महावीर अभिमन्यु जिन्दावाद !'
कौरवपक्ष विह्वल भयो । दुर्योधन फेरि द्रोणलाई दुर्वचन बक्न लाग्यो । द्रोणले सम्झाए, 'बाबु दुर्योधन ! अब अभिमन्युलाई निःशस्त्र पार्नुपर्छ । यसो नगरी उसलाई वध गर्न सकिन्न । अभिमन्यु कीर्तिमानी अर्जुनको भएकाले उसको नशानशामा रगत पनि अर्जुनकै बगेको छ ।'
विडम्बना ! एकैपटक आक्रमण गरी अभिमन्युलाई व्यूहको मध्य भागमा पार्ने आदेश द्रोणले दिए । कर्णले प्रस्तकबाट धनु काटिदियो । सबैका अस्त्र प्रहारबाट अभिमन्यु आहत भए । तरबार झिकेर लडे । रथको पांग्रा उचालेरै भए पनि लड्न छाडेनन् मेरो प्यारो अभिमन्युले । दुःशासनपुत्र सुदर्शन र अभिमन्युको व्यूहभित्रै लडाइँ पर्यो । लड्दालड्दै दुवै थाके । सुदर्शनले झुक्याएर अभिमन्युको शिरमा नै ताक्यो । यो झम्टाइ नै अन्तिम भयो । अभिमन्यु नश्वर शरीर छाडेर गए ।
म व्याधाले हानेर भुइँमा झरेको र प्राण पनि नगइसकेको पक्षीजस्तो भएँ । मेरो मनमा औडाहा छुट्यो । अपराधी सुदर्शन ! तैंले मेरो प्यारो अभिमन्युलाई मारिस् । पख् तँलाई ? युद्धमा अभिमन्यु हैन, म आफैं मरेको छुजस्तो लाग्यो ।
...
'अभिमन्यु युद्धसंहिताविपरीत मारिए !' आकाशवाणी भयो । यो दुखद् समाचारले पाण्डव पक्षको भागदौड मच्चियो । कोही पनि युद्धभूमिमा रहेन सकेनन् । उता सुशर्मालाई हराएर सारथि कृष्ण र योद्धा अर्जुन रथमा यतै आउँदै थिए । केही अपशकुनले झड्का दियो अर्जुनलाई । उनले भने, 'केशव ! मेरो मुटुको धड्कन अचानक बढ्न थालेको छ । पक्कै केही अशुभ भएको छ । गुरु द्रोण व्यूह बुन्न सिपालु थिए । उनले मेरो प्यारो अभिमन्युलाई व्यूहभित्र त पारेनन् ? उसलाई व्यूहभित्र पस्ने विद्यामात्र दिन भ्याएको थिएँ । निस्कने मन्त्र दिन भ्याएको थिइनँ ।' कृष्णले अर्जुनलाई सम्झाउँदै भन्नुभयो, 'भान्जालाई केही भएको छैन ।'
अभिमन्यु हुंकारका साथ लडे । मेरो मनले अभिमन्युको पक्षमा जोडले हुटिङ गर्यो । तर हुटिङमा म एक्लै थिएँ । अभिमन्युको वध गर्न कौरव पक्षलाई फलामकै चिउरा चपाएसरह भयो ।
साँझ पर्यो । सबै शिविरतिर फर्किए । अभिमन्युलाई नदेखेपछि अर्जुन विह्वल हुन लागे ।' अर्जुनले सबैको सातो लिँदै भने, 'किन फर्कंदैन मेरो अभिमन्यु ? किन बोल्दैनौ तिमीहरू ! जयद्रथको दुष्ट्याइँबाट मेरो छोरा मारिएकै हो ? '
युधिष्ठिरले काम्दै यथार्थ बयान गरेपछि अर्जुनको छाती चरक्क चिरियो । 'अभिमन्युलाई अन्यायमा पारियो मारियो ! यसको जिम्मेवारी को लिने ? ' कोही बोलेनन् । अर्जुन फेरि बोले, 'धर्मयुद्धमा अधर्मको यो पराकाष्ठा ! अब उत्तरा र शुभद्रालाई कसरी सम्झाउने ? ' यसो भन्दै अर्जुन विलाप गर्न लागे । बढो खल्लो लाग्यो । अर्जुनको विलापले मलाई समेत रुवायो ।
यो देखेर सबै रोए । कृष्ण पनि चिन्तामग्न देखिए । युयुत्सुअगाडि कृष्णले भने, 'कृतघ्न, छली कौरवहरू हो ! अर्जुनसँग लडेर उनलाई ढालेको भए मेरो अपसोच हुने थिएन । तर बालक अभिमन्युलाई चक्रव्यूहमा फसाएर मारेछौ । धिक्कार छ तिमीहरूलाई !' युयुत्सुले भने, 'प्रभु, मलाई यसको केही ज्ञान छैन । यो थाहा पाएको भए म अधर्मीहरूलाई मिति पुर्याइदिन्थेँ ।' कौरवमध्ये एकमात्र पात्र थियो युयुत्सु, जो धर्मयुद्धको पक्षमा थियो । कृष्णले सम्झाएपछि अर्जुन होशमा आए । समस्त कौरवकुल नष्ट गरेर जयद्रथको रगत पिउने प्रण गरी अर्जुन केही शान्त बने ।
...
मेरो आशाको मधुरो एक झिल्को कतै बाँकी थियो, उत्तराको गर्भमा । तर, त्यसलाई पनि पापी अश्वत्थामाले तारो बनायो । मध्यरातमा झुक्याएर पाञ्चाली (द्रौपदी) का पाँचै भाइलाई मात्र सिध्याएन त्यसले, उत्तराको गर्भको मानवाकार उन्मुख भ्रूणलाई समेत आफ्नो शक्तिशाली मन्त्रद्वारा निष्प्राण बनाएदियो । पाण्डवको वंशै सिध्याइदियो । अब हस्तिनापुरको उत्तराधिकारी को होला ! मेरो झिनो आशाको झिल्को तत्कालै निभ्यो ।
तर, कुन्ती, द्रौपदी, शुभद्रा, उत्तराहरूको आलापविलापले कृष्णको मन पग्लियो । उत्तराको पुत्रमा प्राण भरिदिए । कृष्णले आफ्नै परीक्षा लिए । र, नाम राखिदिए, 'परीक्षित' । मेरो बाल मनले भन्यो, 'धन्य हौ कृष्ण ! श्रीकृष्णको जय !' प्रिय पात्र अभिमन्यु गुमाउनु परे पनि हस्तिनापुरको उत्तराधिकारी खडा भयो । मेरो प्रिय पात्र अभिमन्युको वंश परम्परा कायम हुने भयो । आशाको झिल्को फेरि मधुरोबाट चहकिलो हुँदै आयो । मेरो अभिमन्यु सपना बाँकी नै रह्यो ।
प्रतिक्रिया दिनुहोस !
