अनुप बरालको मिस्टिका-कनेक्सन
पेसन्ट
बी एन्ड बी अस्पतालमा एक साताअघि एउटा पेसन्ट भर्ना भएको थियो । सडक दुर्घटनामा निजको दाहिने पाखुरा ठनक्क भाँचिएको थियो । र, पेसन्टलाई एडमिट गरिएको थियो रुम नम्बर ५२९ को बेड नम्बर दुईमा ।
पेसन्ट असलमा अफिसियल्ली बायाँवादी मनुवा थियो तर हात चाहिँ फ्याक्चर भएको थियो दायाँको । यो एक पोलिटिकल्ली इनकरेक्ट सिचुवेसन थियो । त्यसो त देश नै पोलिटिकल्ली इनकरेक्ट अवस्थामा चलिरा' बखत एउटा आम पेसन्ट पोलिटिकल्ली करेक्ट पनि कसो गरी हुने होला ? बखत बखतको बैगुनी बात त यस्तै हो, ब्रदर । ह्वाट टु डु ? ह्वाट नट टु डु ?
पेसन्टको नाम थियो – दीपक सापकोटा । म्यारिटल स्टेटस– विवाहित । उमेर– २९ वर्ष । लिङ्ग– पुरुष । वजन– ७५ किलोग्राम । उचाइ– पाँच फिट कुन्नि कति इन्च । राशि– मिथुन । हुलिया– गहुँगोरो । रक्त समूह– बी पोजिटिभ । पेसा– पत्रकारिता ।
पेसन्ट लचकदार बेडमा थान्को लाग्या थियो । वास्तवमा भन्नुपर्दा 'फुर्सद'को को–अर्डिनेटर लिटरल्ली फुर्सदमा थियो । किताब र कुकिज् लिई भेट्न जाँदा निजलाई भन्ने गर्थें:
– अब बल्ल फुर्सदिलो भइयो, होइन त ? आइन्दा अफिसियल कामहरू चटक्कै बिर्सनुस् र फुर्सदको यो गोल्डेन समय मोज गर्नुस् । जाबो हातमात्र भाँच्या हो, जगतै उल्ट्या होइन ।
अफिसियल तथा घरेलु कामहरू बिर्सेला, पुस्तक, पत्रपत्रिकाहरू लगिद्या थें पढ्ला, चिन्तन मनन गर्ला भन्या त बजियाले गत साँझ फोनमा यसो पो भनी पठायो, 'कुमार सर, मेरो मगजमा एउटा आइडिया आयो । 'मिस्टिका' उपन्यासमा तपाईंले अनुप बराललाई किन पात्र बनाउनुभयो भन्नेबारे 'फुर्सद'को लागि एउटा सानो लेख लेख्नुस् न, प्लिज ।'
कुरो बुझी ल्याउँदा उसलाई कुर्न बसेको कुरुवा भाइलाई केही प्रश्न डिक्टेट गरेर अनुप बराललाई इमेल पठाइसक्या रै'छ । मनमनै भनेँ– दिस म्यान इज इम्पोसिबल । आफू लम्पसार ढल्या छ अस्पतालको ओछ्यानमा । मगजमा चाहिँ यस्तो खालको प्लिजिङ सुसेधन्दा चलाउँछ । बातैपिच्छे प्लिजका प्लिज ठोक्छ । बी एन्ड बीका सर्जनहरूले उसको हातको अप्रेसन गरेर सायद भूल गरेछन् । अप्रेसन त उसको मगजको पो गर्नुपर्ने थियो क्यारे !
जे होस् ! पेसन्टको कुरा यस्तै हो । अब म कुरा गर्छु एउटा क्लाइन्टको ।
क्लाइन्ट
कला पारखीहरू उनलाई अनुप बराल भनी चिन्छन् । म भने उनलाई प्रेमिल अन्दाज–ए–बायाँमा यदाकदा क्लाइन्ट भन्ने गर्छू
ह्वेन इट कम्स टु द रिफ्रेन्स अफ माई शर्ट स्टोरी मेटाफिजिक्स । यो कथा रुचाउने मित्रजनहरूलाई म क्लाइन्ट भन्न मन पराउँछु जसको चर्चा मैले 'कथाका ब्याकयार्ड प्रसंग'मा गरेको छु ।
माई डियर क्लाइन्ट मिस्टर अनुप बरालसितको भेटघाट (घाटमा भेटिनुलाई भेटघाट भेट+घाट भन्नुपर्ने हुँदा हो तर यिनीसित मेरो कहिल्यै पनि घाटमा भेट भएको छैन) जमघट, ग्यादरिङ, मिलन, बिछोड, हाईहेलो मलाई सदा प्रेमिल तथा स्वप्नील लाग्ने गर्छ । त्यो भेटघाट चाहे काठमाण्डुका अनेक कफी हाउसमा होस् या थिएटर या स्कुटी या त्यो भेट प्लस घाट पोखराका लेकसाइड डिस्ट्रिक्टका क्याफे एन्ड रेस्टुराँहरूमा नै किन नहोस् । उनीसितको भेटघाट मलाई घाट झैं प्रेमिल लाग्छ । स्पिरिचुअल्ली इन्टेन्स र एक्जोटिक लाग्छ ।
यिनको वरपर एक प्रकारको औरा एवम् अदृश्य ऊर्जा म सधैं महसुस गर्छु । यस्तो ऊर्जा जो कला, पोयट्री, संगीतको अनुपम सौन्दर्यद्वारा कम्पोज गरिएको हुन्छ । शब्दम् शरणम गच्छामी भन्दै यिनीसित शब्दवत् हुँदा शब्दातीत आनन्द आउँछ अनि मौनम् शरणम गच्छामी जप्दै यिनीसित मौनरत हुँदा मौनातीत आनन्द मनमा छाउँछ ।
'मिस्टिका'को कवच (कभर)को निम्ति नगरकोटीको लोगो डिजाइन गरिदिन आग्रह गर्दा– जुन लोगो मेरो आगामी लिट्रेरी आर्टवर्कको किताब 'घाटमान्डु'मा पनि मैले प्रयोग गरेको छु– यिनले मज्जासित न्यापकिन पेपरमा डिजाइन बनाइदिए । यिनको विनयशीलताको म इटरनल ऋणी छु । एज अ कास्टिङ डिरेक्टर यिनले प्रशस्त कलाकारहरूलाई विभिन्न फिल्ममा कास्ट गरे । मैले उनलाई– 'अब म मेरो उपन्यास 'मिस्टिका'मा तपाईंलाई कास्ट गर्छु है त ! अनुमति पाऊँ' भन्दा यिनले दायाँबायाँ केही नसोची 'अनुमति छ' भने । यिनको विनम्रताको म इटरनल ऋणी छु ।
'मिस्टिका'को विमोचनताका मैले यिनलाई फेरि गुहारेँ:
– मिस्टर बराल । मुझे लगता है 'मिस्टिका'की लन्च क्यो न आप की हाथो से किया जाए !
यिनले मेरो आग्रहलाई छिःछि दुर्दुर् गरेनन् । विमोचनमात्र गरेनन् अपितु उपन्यासको कविता 'तुम सो रही थी'को सुन्दर रिसाइटेसन पनि ब्रान्डेड बरालियन अन्दाजका साथ गरे । यिनको कम्प्यासनको इटरनल ऋणी छु ।
पात्रता ठूलो कुरा हो, बरि लै ! हरेक पात्रमा त्यस्तो पात्रता कहाँ पाइन्छ ? जुन मिस्टर बरालमा पाइन्छ । त्यसैले त 'मिस्टिका'मा मैले उनलाई पात्र बनाएँ ।
पात्र
'मिस्टिका'मा मिस्टर बरालको औपन्यासिक चरित्र–चित्रण गर्दा मैले उनको सार्वजनिक व्यक्तित्वलाई नै ध्यानमा राखेको थिएँ । फरक के मात्र भने प्रस्तुतीकरणमा उनलाई केही सर्रियल एलिमेन्टद्वारा स्केच गरेँ । जस्तो कि संवाद । न्यारेटर प्लस मिस्टर बरालबीच उपन्यासमा प्रत्यक्ष वार्ता छैन । 'मे आई कम इन्टु यो माइन्ड' भनी न्यारेटर मिस्टर बरालको मस्तिष्क–प्रवेश गर्छ । र, वार्तालाप मस्तिष्कको मेन्टल स्पेसमा नै हुन्छ । न कि कुनै मटेरियलिस्टिक–स्पेसमा । अर्को प्रसंगमा वार्तालाप टेलिफोनमा नभई टेलिप्याथीमार्फत हुन्छ ।
नायिका मिस्टिका मास्केको सम्पूर्ण कथा मिस्टर बरालले उपन्यासमा यसै गरी, यही टेक्निकमा सुनाएका छन् ।
'मिस्टिका'सित सम्बन्धित समग्र घटना÷प्रसँग उनको दिमागभित्र घटेको छ ।
यो लेखिरहँदा अहिले हाम्लाई लागिरा'छ कि एउटा गुप्त प्रसँग पनि क्यों न लिखा जाए ! उपन्यासकी नायिका मिस्टिकालाई– 'मास्के' बनाउनुको पछाडि मेरो मनोगत कारण चाहिँ दिया मास्केसित जोडिएको छ । उपन्यास लेख्दै गर्दा मलाई के लाग्यो भने यी वास्तविक कपल अर्थात् लभ बर्डस् मिस्टर बराल प्लस मिसेज मास्केको प्रेम मेरो किताबमा अदृश्य रूपमा नै सही चिरायु रहोस् । डजन्ट इट साउन्ड अ काइन्ड अफ म्याडनेस ? लेकिन क्या करें मेरे दोस्त ? मेरो म्याडनेस यस्तै छ । प्रेमपूर्वक यो जोडीलाई म कहिलेकाहीँ अनुप मास्के र दिया बराल पनि भनिदिन्छु ।
'मिस्टिका' लेख्दै गर्दा अनुप बरालसित सम्बन्धित केही औपन्यासिक प्रसंगको मलाई बेला कुबेला याद आइरहन्छ । अहिलेलाई तीनवटा यादहरूको चर्चा गर्नेछु ।
१ जे. कृष्णमूर्तिको टेक्स्ट
उपन्यासमा जब मिस्टर बरालको मस्तिष्क च्याम्बरभित्र या टेलिप्याथीमार्फत न्यारेटरको वार्तालाप आरम्भ हुन्छ त्यस बखत मलाई कताकता लाग्यो मिस्टर बरालले केही न केही टेक्स्ट रिसाइटेसन गरिरहेको हुनुपर्छ । तर के ? कुनै आइडिया थिएन ।
उपन्यास–लेखनको अवधिभरि म नगरकोटको 'द फोर्ट' रिसोर्टमा थिएँ । मजस्तो केयर–फ्री हरफनमौलाको हेरचाह गर्थे होटेलका रेसिडेन्सियल म्यानेजर प्रिय साथी अनिल प्रधान । मिस्टर प्रधानलाई साथी किन भनेको हुँ भने उनले मलाई 'मिस्टिका' लेखनको अवधिभरि साथ दिए । साथ दिनेलाई नै साथी भनिन्छ । मित्र भन्ने शब्द मलाई बडो औपचारिक तथा एरिस्टोक्रेटिक लाग्छ । साथीले दुःख/सुखमा साथ दिन्छ । मित्र त आउँछन्जा/न्छन् ।
प्रेमपूर्वक यो जोडीलाई म कहिलेकाहीँ अनुप मास्के र दिया बराल पनि भनिदिन्छु । उपन्यास लेख्दै गर्दा मलाई के लाग्यो भने यी वास्तविक कपल अर्थात् लभ बर्डस् मिस्टर बराल प्लस मिसेज मास्केको प्रेम मेरो किताबमा अदृश्य रूपमा नै सही चिरायु रहोस् ।
साथी अनिलले मलाई साथ दिए । कहिले मलाई फिल कम्फर्टेबल गर्नका निम्ति ट्राउजर दिन्थे त कहिले अन्धकार नष्ट गर्न टर्च । मलाई दिक्क लागेको खण्डमा हारुकी मुराकामीको किताब दिन्थे त कहिले जंगलतिर घुमाउन लैजान्थे । होटेलको कन्टिनेन्टल खानामा दिल बसेनभन्दा उनी मेरो निम्ति प्रिय नेपाली भोजन तयार पार्न आदेश मात्र दिँदैनथे, मलाई बेसमेन्टको किचनमै लगेर मस्तसित खुवाउँथे ।
एक बिहान कफी पिउँदै गर्दा मिस्टर प्रधानले मलाई एउटा लिफलेट दिए । लिफलेटमा जे. कृष्णमूर्तिको टेक्स्ट थियो– ट्रुथ इज अ पाथलेस ल्यान्ड । उनले भनेः
– कुमार सर ! तपाईंको उपन्यासमा अनुप बरालले जे. कृष्णमूर्तिलाई रिसाइटेसन गर्दा कसो होला ?
– गज्जब होला !– मैले इन्स्टान्ट भनेँ ।
२. एउटा क्याच फ्रेज
अनुप बरालकै व्यक्तित्वलाई सुहाउने एउटा 'क्याच फ्रेज' चाहिएको थियो । यस्तो फ्रेज जसले मिस्टर बरालको कलाप्रतिको प्यासन प्लस पेसन्सलाई डिफाइन गरोस् । एउटा यस्तो एक्स्प्रेसन जसलाई उच्चारण गर्दा मिस्टर बरालको बोली तथा वाणीमा गहन अस्तित्व–प्रेमको भाव झल्कियोस् ।
होटेलमा एकजना वृद्ध फ्रेन्च पर्यटक थिए । उनलाई म अक्सर एक्लै कफी या रेड वाइन पिइरहेको, फायरप्लेसमा वृद्ध काया सेकिरहेको या यताउति एक्लै टहलिरहेको अवस्थामा देख्थेँ । साथी अनिलसित निजबारे जिज्ञासा राख्दा थाहा पाएँ कि ऊ हरेक वर्ष तीन महिनाको लागि फ्रान्सबाट आफ्नो बुढ्यौली खर्च गर्न नगरकोटको डाँडामा आउँदो रहेछ । नामः अल्याँ ल्हुलर । भूतपूर्व सैनिक । उमेर ७१ । नेपोलियन बोनापार्टको समयदेखि नै निजको पुर्खाहरू सेनामा संलग्न ।
एक अपरान्ह बगैंचामा बसी घाम ताप्दै लेखिरहेको थिएँ । हि जस्ट अपियर्ड आउट अफ नोह्वेयर । र, मलाई सोध्योः
– यसरी तनमयका साथ के लेखिरा'छस्, योङ म्यान ?
– एउटा उपन्यास लेखिरा'छु ओल्ड म्यान ।– मैले तत्काल बताएँ ।
कस्तो उपन्यास लेखिरा'छस् योङ म्यान ? सर्रियल उपन्यास, ओल्ड म्यान । किन लेखिरा'छस् योङ म्यान ? आई डोन्ट नो, ओल्ड म्यान । सर्रियल उपन्यास नेपालीहरूले पढ्छन्, योङ म्यान ? आई डोन्ट नो, हु केयर्स ओल्ड म्यान ! उपन्यासको सानो अंश सुनाउन मिल्छ ? मिल्छ । लौ, सुना न त । लौ, सुन न त ।
कुराकानी प्रश्नोत्तर शैलीमा थियो । ओल्डम्यानलाई उपन्यासको कुहिरो प्रसंग सुनाएँ । उसले चाख मानी सुन्यो । भन्यो पनिः
– तेरो कुहिरो त ज्यादै सर्रियल रै'छ । तर तँप्रति मलाई दया जाग्यो ।
– किन ? – सोधें ।
उसको जवाफ यस प्रकार थियोः 'आफ्नो जवानी यस्तो सर्रियल कल्पनामा खेर फालिरा'छस् । मलाई लाग्छ, तँलाई एउटा लामो छुट्टीको खाँचो छ । यस्तो जवानीमा त घुम्नु पो पर्छ ! यात्रा पो गर्नुपर्छ । उपन्यास त म जस्तो बूढो भएपछि मात्र लेख्नुपर्छ । जीवनको आनन्द उठाउनुपर्छ योङ म्यान बिकज लाइफ इज अ लङ होलिडे ।'
ऊ त्यसपछि गइहाल्यो । मैले उसलाई मनमनै धन्यवाद दिएँ किनभने उसले मलाई अनुप बरालको व्यक्तित्वलाई सुहाउने एउटा सुन्दर क्याच–फ्रेज दिएर गएको थियो ।
'मिस्टिका'मा मिस्टर बराल बेलाबेलामा त्यही फ्रेन्च ओल्ड म्यानको क्याच–फ्रेजलाई आफ्नै बरालियन अन्दाजमा भन्छन्– लाइफ इज अ लङ होलिडे, माई फ्रेन्ड ।
३. थ्यांक यु मिस्टर यूपी !
अनुप बरालको निम्ति एउटा कविता सोचिरहेथेँ । म चाहन्थेँ उपन्यासमा उनले एउटा मिस्टिक कविता लेखुन् जसलाई मास्केप्रति समर्पित गर्दै रिसाइटेसन गरुन् ।
एक बिहान प्रातः रमणको बहानामा होटेलबाट निस्केँ र मिस्टिक कविता खोज्न जंगलतिर गएँ । साथमा एउटा ऊनको झोला थियो जहाँ तपाईंले खोतली हेर्दा विभिन्न रङका कलम, नोटबुक, सिग्रेट प्याकेट, लाइटर, पैसाका खुद्रा नोटहरू तथा भारतीय लेखक यूपीउर्फ उदयप्रकाशको उपन्यास 'पिली छतरीवाली लड्की' भेट्न सक्नुहुन्थ्यो । मिस्टर यूपी मलाई मनपर्ने लेखक तर यो उपन्यासले मलाई म्याक्सिमम निराश पारिदिएको थियो । लेखककै शब्दमा– एक अनिर्णीत आख्यान एक टुकडा–लाई म जसोतसो सिध्याएर कुनै चियागृहमा त्यसलाई छाडी हिँड्न चाहन्थें ।
खैर, यूपीको कुरा यस्तै हो । हिँड्नुस अब जंगल जाऔं ।
म जंगलमा हिँडिरहेको थिएँ । केही दिन अघिमात्र यो जंगल ट्रेल मलाई अनिलले देखाइदिएका थिए । म कविताको काव्यगत मुडमा थिएँ । वन पथमा लेडी मिस्टिकाको एउटा धुमिल विम्ब बनाएँ जो ओछ्यानमा निदाएकी छे । र, उसलाई भेट्न आत्मा आएको छ कोठामा । आत्माले पुरानो पोसाक लगाएको छ । आत्माको हातमा एउटा पुरानो गिटार छ र ओंठमा सिग्रेट । आत्मा युवतीलाई भेट (घाट !) गर्न आएको छ तर युवती ! म भने मनमस्तिष्कमा कविताको खाका उतार्दै हिँडिरहेँ त्यो सुनसान अरण्य पथमा ।
एउटा स–सानो चमेनागृहमा छिरेँ । चिया पिउँदै नोटबुकमा कविता लेखेँ । सर्सती । नेपालीमा । शीषर्क राखेँः तिमी निदाइरहेकी थियौ । शीर्र्षक देखेर आफैंलाई दिक्क लाग्यो । दिमाग दिगमिग भयो । कताकता केही नमिल्या नमिल्या जस्तो लाग्यो । शीर्षकलाई काटेर÷बुचरिङ गरेर अर्को शीर्षक जुराएँ– तिमी सुतिरहेकी थियौं । यो झनै बर्बाद भयो । तिमी मुतिरहेकी थियौ जस्तो पो सुनियो । छ्या ! छिःछि !
त्यसलाई पनि काटेर अंग्रेजी शीर्षक ट्राई मारी हेरेँ– सियस्ता ब्लुज । केही बेर गमक्क परी गमेँ । ब्लुज पनि स्टेरियोटाइप लाग्यो । सम्पूर्ण पोयटिक प्रयत्न खेर गयो । कविताको पाना च्यातिदिएँ र चमेनागृहको डस्टबिनमा मिल्काइदिएँ ।
त्यसपछि मिस्टर यूपीको उपन्यासको बाँकी भाग पढेर सिध्याएँ । उपन्यासले एक्स्ट्रा लार्ज बोर पार्यो । एउटा सुन्दर बिहानी आँखैसामु चौपट भयो । न कविता भयो न किताब नै राम्रो पर्यो ।
आफ्नो स्वभावअनुसार उपन्यासमा अन्तिम फिनिसिङ डेट लेखेर एक दनक सिग्नेचर ठोकेँ । किताबलाई टेबलमा छाडी काउन्टरमा बसेकी एउटी बालिकालाई चियाको पैसा तिरीवरी म चमेनागृहबाट निस्केँ । होटेल फर्कंदै गर्दा दिमागमा एउटा कुरा खेल्यो– क्यों न इस कविताको हिन्दीमे लिखिजाए !
खप्परभरि मिस्टर यूपीका हिन्दी शब्दहरू नाच्न थाले । कविता मैले हिन्दीमै लेख्ने अठोट त होइन कामना गरेँ । थ्याङ्क यु मिस्टर यूपी । कटेजको रुममा गई आफूलाई छेस्किनी लगाई बन्द गरेँ । त्यसपछि एउटा सिनित्त परेको लाम्चो सादा पानामा शीर्षक लेखेँ– तुम सो रही थी । अब बल्ल मिल्यामिल्या जस्तो लाग्यो । अनि सर्सर्ती हिन्दीमै लेख्न थालेँ:
'लेकिन
तुम सो रही थी
अपनी ही स्वप्न की सिल्वटो मे विखरी हुई
कुछ सुखे हुए पत्तियो कि तरह'
करिब आधा घन्टामा कविता फुल एन्ड फाइनल भयो । त्यसपछि अनिललाई– हिन्दी कविता सुन्न ब्ल्याक कफी तयार गर्दै गर्नुस्, म आउँदै छु– भनी फोन गरेँ ।
रुमबाट बाहिरिएँ । होटेलको कोर्टयार्डमा टेबल सजाइएको रहेछ । अनिलले केही विस्मित लवजमा भनेः
– कमाल गर्नुहुन्छ कुमार सर तपाईं पनि । उपन्यास लेख्न आ'को मान्छे काँ कविता लेखिरा' ? त्यो पनि हिन्दी कविता ! बडो अजीव गर्नुहुन्छ ।
मैले उनलाई सम्झाउनुपर्यो– कविता पनि उपन्यासको अंश हो । किताबभित्र अनुप बरालले रिसाइटेसन गर्ने । लौ सुन्नुस् ।