त्यो माधवी र यो माधवी

शिल्पी थिएटरमा मञ्चन भइरहेको 'माधवी' नाटकले बिदा लिएको छ । जाँदाजाँदै यसले दर्शकको मनमा एउटा नमीठो छाप छोडेर गएको छ । हजारौं वर्षअघिको महाभारतमा उल्लिखित मिथकीय पात्र माधवीको जीवन भोगाइले आजको समाजमा पनि कसरी निरन्तरता पाइरहेको छ भन्ने विषयमा गम्भीर बहस पनि सुरु गरेको महसुस भएको छ ।
महर्षि वेदव्यास रचित भनिएको महाभारतको उद्योग पर्वमा अध्याय १०६ देखि १२३ सम्ममा रहेको माधवीसम्बन्धी कथालाई आधार बनाएर मदनमणि दीक्षितले २०३९ सालमा नै 'माधवी' नामको बृहत् उपन्यास लेखिसकेका थिए । उनले उक्त उपन्यासलाई 'उत्तरवैदिककालीन भारतीय समाजको कथा' भनिदिएका थिए । यो उपन्यास जति विशाल र गहन छ त्यति नै यसमा प्रयुक्त क्लिष्ट शब्दहरूको बोधगम्यताका कारण आमपाठकका लागि दुर्बोध्य पनि रहेको छ ।
दुर्बोध्यका बीच पनि मदनमणिको 'माधवी महासागर'मा दुईपटक डुबुल्की लगाइसकेको अनुभव भन्छ— माधवी उपन्यासभित्र केवल ययाति, गालव र माधवीको क्रमशः आडम्बर, स्वार्थ र प्रेमको कथामात्र नभएर एउटा सिंगो समाजशास्त्र अटाएको छ । अहिले चर्चामा आएको 'माधवी' भने भारतीय लेखक भीष्म साहनी रचित 'माधवी नाटक' हो । यसको आधारशिला पनि उही महाभारतको 'माधवी कथा' हो । लेखनको आधार र विषयवस्तु एउटै भए पनि प्रस्तुति फरक छ ।
लेखकीय सोच फरक छ । माधवी नाटकको सुरु मार्मिक ढंगबाट भएको छ भने 'माधवी' उपन्यासको सुरुआत क्रुरतम, त्रासद र अपत्यारिलो ढंगबाट भएको छ । बैंसको सँघारमा टेक्दै गरेकी 'राजपुत्री' माधवीलाई मदिरामा लट्ठ्याएर वरुणबलि समारोहमा उसको हातबाट शिशुबलि दिन लगाइएको मात्र होइन, बेहोश बनेकी माधवीलाई उठाएर वस्त्रहीन गराउँदै राजपुरोहितले आफ्नो महलतिर लिएर गएको छ । उपन्यासको अन्तसम्म नै माधवीलाई धेरैपटक उक्त राजपुरोहितको बलात्कारले ऐंठन गराएको छ तर उपन्यासकारले माधवीलाई गणिका बनाइनुको औचित्य कहीँ कतै पुष्टि गरेका छैनन् ।
'माधवी' नाटक हेरेर फर्केपछि आजको आधुनिक भनिएको उही 'भारतीय समाज'मा रूप बदलेर मञ्चन भइरहेको माधवीको निरन्तरता सम्झन मन लाग्यो । भारतवर्षभरि अझै पनि कैयौं नारीले माधवीको भूमिकाबाट पार पाउन सकेका छैनन् । महाभारतकी माधवीलाई उसको आफ्नै बाबुले घोडा प्राप्त गर्नका लागि दानमा दिएको थियो र दान पाएको गालवले उसको कोखलाई भाडामा लगाउँदै घोडा जम्मा गर्दै गरेर आफ्नो स्वार्थ पूरा गरेको थियो ।
खुल्लमखुला बेचिएको थियो माधवीको कोख तर आज कैयौं आधुनिक गालवहरू पर्दाभित्र कैयौं माधवीको कोखको मोलमोलाई गरिरहेछन् । पुरुष चरित्र उही हो तर रूप फेरिएको छ । आफ्नै लोग्नेले स्वास्नीको कोख भाडामा लगाएर कमाइरहेका छन् । हिजो नाम वा अभिमानका लागि सौदाबाजी हुन्थ्यो भने आज दामका लागि हुन्छ । नफेरिएको त नारीहरूको नियति हो । नारीलाई हेर्ने पुरुष चरित्र हो । यो समाजमा जरो गाडेर रहेको पुरुषवादी मानसिकता हो ।
पुरुषको नजरमा आज पनि नारी केवल 'उपयोग गरिने वस्तु' हो । नपत्याए करिब एक वर्षअघिका पत्रपत्रिकाका समाचारहरू हेरे प्रस्ट हुन्छ । यहाँका केही नाम चलेका अस्पतालमा 'सरोगेसी'का नाममा महिलाको कोखलाई 'कमाई खाने भाँडो' बनाएका खबरहरू छ्याप्छ्याप्ती भएका थिए । तर हामी उबेलाका ययाति र गालवलाई मात्र सरापिरहेछौं र भनिरहेछौं— बिचरी माधवी ! ययातिको दानशीलताको आडम्बरलाई गालवको गुरुदक्षिणाको घमण्डले चुनौती दिन्छ तर यी दुईको 'आडम्बर' र 'घमण्ड'को जाँतोमा पिँधिन विवश हुन्छे एउटी निर्दोष नारी माधवी ।
गुरुदक्षिणानिम्ति अश्वमेधी घोडा माग्न गएको गालवलाई खलीहात पठाएर आफ्नो यश माटोमा मिलाउन नचाहने ययातिले घोडाको सट्टा आफ्नी जवान पुत्रीलाई नै 'घोडा प्राप्तिको साधन'स्वरूप भिक्षाको रूपमा दिन्छ । मदनमणिकी माधवीले बाबुसँग निकै प्रतिवाद गरेपछि अन्ततः गालवको साथ लागेकी छ । तर, साहनीकी माधवीले प्रतिवाद गर्नै पाउँदिनँ, बाबुको हुँकारको सामु उसले यत्ति मात्रै भन्न सक्छे, 'आज मुमाहजुर भएको भए उहाँले पनि यसैगरी मलाई दानमा दिएर पठाउनुहुन्थ्यो ? '
तर ययातिलाई पुत्रीको प्रश्नले छुँदैन । गालवले माधवीलाई लिएर घोडा प्राप्तिको यात्रामा निस्कन्छ । गालवको शीर गौरवले ठडिन्छ । दान गरिएकी माधवी दासत्वको कहरले कुँडिन्छे । केही अघिसम्म माधवी बाबुको सम्पत्ति थिई अब गालवको सम्पत्ति भएकी हुन्छे । गालव सोच्छ, माधवी उसको सम्पत्ति हो र उसको इच्छाअनुसार प्रयोग गरिनेछ ।
यात्रा अवधिभर दुवै एकअर्काप्रति आकर्षित हुन्छन् । माधवीले गालवलाई गुरुऋणबाट मुक्त गरेपछि उसैसँग बाँकी जिन्दगी सुखपूर्वक बिताउने कल्पना गरिरहन्छे । यही कल्पनामा पिङ खेल्दै आफूलाई अलगअलग चार पुरुषको भोगनिम्ति समर्पण गरिदिन्छे र उनीहरूबाट एकएक पुत्र जन्माएर त्यसको सट्टामा गालवको गुरुदक्षिणानिम्ति आवश्यक घोडा उपलब्ध गराइदिन्छे । एउटा अपरिचित युवाको साधनासिद्धिको निम्ति साधन बनेर हिँडेकी माधवीको कर्तव्यको अगाडि पटकपटक उसको ममताको गला रेटिन्छ । फेरि पनि उसको बाँच्ने आधार गालवसँगको प्रेम नै हुन्छ ।
ऊ सोचिरहेकी हुन्छे, गालवले पनि उसलाई प्रेम गर्छ । नाटक हेर्दैगर्दा माधवीको मातृत्वले मुटु हल्लाइदिन्छ । अयोध्यामा पहिलो पुत्रलाई जन्म दिएपछि उसँगको वियोग सहन नसकेकी माधवीको पीडा र छटपटिले दर्शकको हृदयलाई क्षतविक्षत पारिदिन्छ । गालवसँग आफ्नो पीडा पोख्छे माधवीले तर गालवले उसको ममतालाई होइन, घोडालाई महत्त्व दिन्छ । घोडा पाउने खुसीले गद्गद् हुन्छ । गालवले स्वतन्त्रताको महसुस गर्दै जाँदा माधवीले आफूलाई मातृत्वको साङ्लोले बाँधिएको महसुस गर्छे । तर पनि गालवको उद्देश्यपूर्तिका निम्ति त्यो साङ्लो चुँडाएर उसको पछिपछि लागिरहन्छे ।
गालवले माधवीको मातृत्वलाई नारीको कमजोरी ठान्दै भन्छ, 'नारीहरू गहन जिम्मेवारी पूरा गर्न सक्दैनन् । ...नारीहरू साँच्चिकै कमजोर हुन्छन् ।' आफ्नो असम्भव लक्ष्यलाई सम्भव बनाउननिम्ति माधवीले निर्वाह गरेको कर्तव्य र जिम्मेवारी फिटिक्कै सम्झन्न गालव । त्यसो त कुनचाहिँ पुरुषले नारीको महानता, त्याग र समर्पणलाई बुझ्ने कोसिस गर्छ होला ? सत्य हो, नारीको प्रेम समर्पणयुक्त हुन्छ । उसले हृदयदेखि नै प्रेम गर्छे । पूर्ण प्रेम गर्छे । निःस्वार्थ प्रेम गर्छे । पुरुषले उसको हार्दिकता र निःस्वार्थ प्रेमलाई बुझ्न खोज्दैन र केवल सतहमा उसको शरीरलाई प्रेम गरिरहन्छ ।
साहनीले नारीको स्वाभिमान झुक्न दिएका छैनन् तर मदनमणि दीक्षितले नारी स्वाभिमानलाई पराजित गराएका छन् ।
जब उसको सतही प्रेमले शरीरको सौन्दर्य देख्दैन अनि लत्याइदिन्छ त्यो हार्दिकतालाई र त्यागलाई । पुरुषको प्रेम क्षणिक र स्वार्थपूर्ण हुन्छ । स्वार्थ पूरा भएपछि प्रेमको पनि अन्त हुन्छ । गालवले पनि त्यस्तै गरेको छ । माधवीबाट स्वार्थ पूरा नहुँदासम्म उलाई प्रेम गरिरह्यो तर स्वार्थ पूरा भएपछि त्यागिदियो माधवीलाई । पुरुष चरित्रको प्रतिनिधि पात्र लाग्छ गालव । गुरु ऋणबाट मुक्त भइसकेपछि गालवले माधवीलाई वृद्ध र कुरूप देख्छ ।
चार अलगअलग पुरुषबाट भोगिएर चार सन्तानकी आमा बनेकी माधवीमा कुनै आकर्षण देख्दैन र भन्छ, 'माधवी ! तिमी अनुष्ठान गर र आफूलाई फेरि कुमारी यौवना बनाऊ अनि हामी सँगै जीवन बिताऊँला ।' उसलाई त उही चिर यौवना माधवी चाहिन्छ जसको यौवनलाई वस्तुसरह घोडाप्राप्तिको साधनको रूपमा चारचार पुरुषको खोपीमा पुर्याएको थियो । तर माधवी ! उसले आफ्नो जीवनका अमूल्य दिनहरूमा यौवनको चञ्चलताको अनुभव नै गर्न नपाई गालवको उद्देश्यनिम्ति खर्चेकी छ भने किन फेरि उसैका लागि युवती बन्नु ?
आफ्नो स्वार्थपूर्तिका निम्ति गालवले पटकपटक आफ्नो ममताको गला रेटेको त सहन गरी माधवीले तर यति बेला उसले आफ्नो प्रेमको गला रेटेको सहन सकिन । ऊभित्रको नारी स्वाभिमान जागेर उठ्यो र भन्यो, 'तिमीले मेरो यौवनको आहुति दिएर गुरु दक्षिणा जुटायौ, मेरो ममताको बलि दियौ गालव ! तिमी मलाई यो रूपमा स्वीकार्न सक्दैनौ भने तिम्रो अर्धांगिनी बन्न सक्दिनँ । तिमी जाऊ गालव !' मदनमणि दीक्षितको माधवी र भीष्म साहनीको माधवीमा यही फरक छ । यही फरक छ दुवैको सोचमा । मदनमणिले उपन्यासभरि नै माधवीको त्याग, समर्पण र बौद्धिकताको गुणगान गरेर थाकेका छैनन् ।
उनले माधवीलाई गालवभन्दा श्रेष्ठ देखाउन कतै चुकेका छैनन् तर पनि उपन्यासको अन्त्यमा आएर आफ्नै गुरुसमेतले भोगेर थोत्रिएकी माधवीलाई स्वीकार्न नचाहेको गालवले स्वयंवर छोडेर भागेपछि विरक्तिएर वानप्रस्थी बन्दै वैष्णवी बनेकी माधवीलाई पुनः गालवको खोजीमा भौंतारिन लगाएका छन् । उही स्वार्थी र बैगुनी गालवसँगै जीवन बिताएको देखाएर उपन्यासको अन्त्य गरेका छन् ।
उनले उपन्यासमा रहेका सबै नारी पात्रलाई केवल भोग्याको रूपमा मात्र प्रस्तुत गरेका छन् । साहनीको नाटकमा राजा दिवोदासको चारित्रिक अभिव्यक्ति र उशिनरको शारीरिक अवस्थाले पुरुष यौनचरित्रमाथि गतिलो व्यंग्य गरेको छ । 'ऊ जमानाका' व्यासले पनि नारी स्वाभिमानलाई विजयी गराउँदै बरु सन्न्यासिनी बनाएर वन पठाएकी माधवीलाई 'यो जमानाका' मदनमणिले पुनः गालवशरणम् गराएर नारीको त्याग, बलिदान र स्वाभिमानलाई शिखरमा पुर्याएर एकैचोटी गल्र्यामगुर्लम्मै खसालेका छन् र पुरुषको सहाराबिना बाँच्नै नसक्ने गरी पछारेका छन् । भीष्म साहनीले नाटकलाई दुखान्त मोडमा छोडे पनि नारीको महानता बिर्सेका छैनन् । साहनीले नारीको स्वाभिमान झुक्न दिएका छैनन् तर मदनमणि दीक्षितले नारी स्वाभिमानलाई पराजित गराएका छन् ।
प्रतिक्रिया दिनुहोस !
