ओलम्पिक सपना: फेरि पनि अमेरिकाकै वर्चस्व
‘सिड्नी ओलम्पिक टोलीमा पर्न चाहन्थेँ । एथेन्समा मेरो उद्देश्य राष्ट्रका लागि स्वर्ण पदक जित्नु थियो । बेइजिङमा आएर त्यसअघि कुनै पनि खेलाडीले गर्न नसकेको उपलब्धि हात पार्न चाहन्थेँ । लन्डनमा मेरो उद्देश्य इतिहास बनाउनु थियो । रियो ओलम्पिकमा भने म उद्घाटन समारोहमा हिँड्न चाहन्छु । अमेरिकालाई सबैभन्दा उत्कृष्ट स्तरमा प्रतिनिधित्व गर्न चाहन्छु र मेरो सम्पूर्ण परिवारलाई खुसी बनाउन चाहन्छु । यो कुरा पदक जित्नेभन्दा ठूलो विषय हो ।'
रियो ओलम्पिक सुरु हुनुभन्दा केही दिन अघिमात्र उद्घाटन समारोहमा आफुूलाई राष्ट्रिय टोलीको झन्डा बोक्ने जिम्मेवारी दिइएपछि अमेरिकी पौडीबाज माइकल फेल्प्सले भनेका थिए । ओलम्पिक त्यस्तो मञ्च हो, जहाँ विभिन्न खेलमा विश्वभरका खेलाडीले आफ्नो प्रदर्शन देखाउँछन्, कीर्तिमान बनाउँछन्, इतिहास रच्छन् अनि महान् खेलाडीका रूपमा स्थापित हुन्छन् ।
चार वर्षको अन्तरमा विभिन्न खेलहरू विश्वस्तरीय रूपमा एउटै ठाउँमा आयोजना हुने भएकोले पनि विभिन्न खेलका महान् खेलाडीहरू ओलम्पिकलाई सर्वोत्कृष्ट अवसर मान्ने गर्छन्, एकले अर्कालाई आफ्नो क्षमता देखाउने हिसाबमा । त्यसले पदक तालिकामा पनि अर्थ राख्छ । यही आधारमा भौगोलिक रूपमा साना देशहरू भए पनि विश्व मानचित्रमा परिचित हुने प्रयास गर्दछन् । ओलम्पिक खेल विशेष रूपमा देशले आफूलाई महाशक्ति देखाउने अवसर पनि हो यो । त्यसैले ओलम्पिक सहभागिता र सफलता हरेक खेलाडी र देशको सपना हुने गर्छ ।
खेलाडीका रूपमा फेलप्सले यी सबै सपना पुरा गरे । तर त्योभन्दा पनि बढी, उनका सफलता विश्व खेलकुदको भावी पुस्ताका लागि सपनाको पनि सपना बनेका छन् । यी पौडीबाज ओलम्पिक खेलकुदको एउटै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने, ओलम्पिक खेलकुदमा सर्वाधिक स्वर्ण र पदक जित्ने, एकल स्पर्धामा सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेका छन् ।
उनको यो सफलता पार गर्न अबको पुस्ताले पनि वर्षौं कुर्नुपर्ने निश्चित छ । किनभने, आगामी ओलम्पिकमा सहभागी हुन सक्ने खेलाडीको सूचीमा सबैभन्दा बढी स्वर्ण जितेका खेलाडीलाई आधार मान्ने हो भने फेलप्सले उनीहरूभन्दा करिब डेढ दर्जन बढी स्वर्ण जितेका छन् । र, आगामी ओलम्पिकमा पनि यो सपना देख्ने खेलाडी पौडीकै हुनेछन् भन्नेमा समेत दुईमत छैन ।
एउटै ओलम्पिक खेलकुदमा एउटा खेलाडीले ८/१० इभेन्टमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले पौडीबाटै यो सम्भावना रहनेछ, जुन अवसर अरू खेलमा हुँदैन । अनि, एउटै ओलम्पिकमा सर्वाधिक स्वर्ण जित्ने खेलाडीको सूचीमा शीर्ष चार पौडीकै छन् ।
स्मरणीय छ, फेलप्सले सन् २००८ को ओलम्पिक खेलकुदमा मात्र आफू सहभागी सबै आठ स्पर्धामा स्वर्ण पदक जितेका थिए । जिम्न्यास्टिक, सुटिङ, एथलेटिक्स र फेन्सिङका खेलाडीले पनि एउटै ओलम्पिकमा कम्तीमा पाँच स्वर्ण जितेको इतिहास छ । फेलप्सले रियो ओलम्पिकमा पाँच स्वर्ण र एक रजत जिते ।
रियो ओलम्पिकमै आफू सहभागी सबै तीनवटै स्पर्धामा स्वर्ण जितेका जमैकन धावक उसेन बोल्टको चर्चा पनि फेलप्सभन्दा कम रहेन । खेलहरूको राजा मानिने एथलेटिक्स स्पर्धाका हिसाबले समेत सबैभन्दा ठूलो खेल हो । त्यसमा पनि स्प्रिन्ट (खासगरी एक सय र दुई सय मिटर दौड) अन्य खेललाई समेत ओझेलमा पार्ने स्पर्धा मानिन्छ ।
त्यसैले त बोल्टलाई यो ब्रम्हाण्डकै सबैभन्दा छिटो दौडने मानव भनिन्छ । बोल्टले लगातार तीन ओलम्पिक खेलकुदमा एक सय, दुई सय र चार गुना एक सय मिटर रिले दौडमा स्वर्ण पदक जिते । उनको यो सफलता विश्व एथलेटिक्समा मात्र नभई, समग्रमा ओलम्पिक खेलकुदमै पनि लोभलाग्दो बनेको छ ।
बोल्टले विश्व च्याम्पियनसिपका तीनवटा संस्कणमा पनि यी तीनवटै स्पर्धाका उपाधि जितेका छन् । अर्को एक विश्व च्याम्पियनसिपमा भने उनी एक सय मिटरमा मात्र ‘फल्स स्टार्ट' का कारण स्वर्णबाट चुकेका थिए । बोल्ट र फेलप्स दुवैले अब ओलम्पिक नखेल्ने घोषणा गरेका छन् ।
यो निर्णयले ओलम्पिक खेलकुदमा दुई फरक स्वर्णिम युगको अन्त्य भएको विश्लेषण भइरहेको छ । यी दुईमध्ये ओलम्पिकमा को बढी महान् भन्ने बहस पनि चल्ने गरेको छ । यसलाई बहसमा ल्याइनु हुन्न भन्नेको जमात पनि सानो छैन । उनीहरूको तर्क छ, एउटा मात्र स्पर्धामा सहभागी हुने खेलाडीले लगातार तीनचारवटा ओलम्पिकमा स्वर्ण पदक जितेका छन्, के उनीहरू महान् होइनन् त ? जेहोस्, बोल्ट र फेलप्स दुवै ओलम्पिकका महान् खेलाडी हुन् भन्नेमा दुई मत छैन ।
ओलम्पिक खेल विशेष रूपमा देशले आफूलाई महाशक्ति देखाउने अवसर पनि हो यो । त्यसैले ओलम्पिक सहभागिता र सफलता हरेक खेलाडी र देशको सपना हुने गर्छ ।
यी दुवै खेलाडीको एउटा साझा तथ्य के हो भने, दुवैले पहिलो ओलम्पिक सहभागितामा पदक जित्न सकेका थिएनन् । तर, वर्ष बित्दै जाँदा यी दुवैले आफ्नो प्रदर्शनमा निखार ल्याउँदै गए अनि सोही अनुपातमा विश्व खेल मञ्चमा फुलाई माथि पनि उठाउँदै लगे । ‘तिम्रो अनुपस्थितिमा विश्व एथलेटिक्सको ट्र्याक सधैं अधुरो रहनेछ', सन्न्यासको प्रसंगलाई जोड्दै बोल्टकी आमा जेनिफरले उनीसँग भनेकी थिइन् ।
बोल्ट आफू पनि महान् खेलाडी भएकोमा विश्वलाई पुष्टि गर्न सफल भएको बताउँछन् । विश्व एथलेटिक्स डोपिङमा चुर्लुम्मै डुबेको समयमा पनि बोल्ट रत्तिभर आत्तिएनन् । एकसे एक चर्चित खेलाडीहरू डोपिङमा असफल भइरहँदा पनि उनीमाथि कुनै दाग लागेन ।
फेरि पनि अमेरिकाकै वर्चस्व
ओलम्पिक खेलकुदमा अमेरिकाको उपस्थिति सधैं दबदबापूर्ण रहँदै आएको छ । प्रतियोगिताको ३१ औं संस्करण सकिँदासम्म अमेरिका १७ पटक पदक तालिकाको शीर्ष स्थानमा रह्यो । अमेरिकाले यस पटक दोस्रो स्थानमा रहेको बेलायतलाई स्वर्ण र समग्र पदक संख्यामै करिब शतप्रतिशतले पछाडि छाड्यो ।
पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहेको यो लगातार दोस्रो पटक हो । अमेरिकाले रियो ओलम्पिकमार्फत नै ओलम्पिक खेलकुदमा आफूले जितेको स्वर्ण संख्या एक हजार नघायो । ओलम्पिक खेलकुदको पदक तालिकामा दुई हजार पाँच सयभन्दा बढी पदक जितिसकेको अमेरिका स्वर्णको हकमा सधैं अब्बल रहँदै आएको छ ।
अमेरिका ओलम्पिक खेलकुदको सर्वकालीन पदक तालिकामा स्वर्ण पदकलाई आधार मान्ने हो भने दोस्रो स्थानमा रहेको तत्कालीन सोभियत संघभन्दा करिब तीन गुना र तेस्रो स्थानको बेलायतभन्दा करिब चार गुनाले अगाडि छ । सन् १९९६ यताका ओलम्पिक खेलकुदको पदक तालिकामा अमेरिका एकपटक मात्र दोस्रो भएको छ । अमेरिकाले यस पटक आफ्नो आधाभन्दा बढी स्वर्ण पौडी र एथलेटिक्समा जित्यो । सन् २००८ को ओलम्पिकमा पहिलो भएको चीन त्यसयता क्रमशः एकएक स्थान तल खस्कँदै यस पटक तेस्रो स्थानमा पुग्यो ।
चीन घरेलु भूमिमा आयोजित ओलम्पिकमा भने पहिलो भएको थियो । यसपटक चीनले आफूले जितेका आधाभन्दा बढी स्वर्ण टेबुलटेनिस, डाइभिङ र भारोत्तोलनमा प्राप्त गरेको हो । बेइजिङ ओलम्पिकमा चौथो भएको बेलायतले त्यसयता पदक तालिकामा एकएक स्थान सुधार गरेको छ । बेलायतले यस पटक ट्र्याक साइक्लिङमा सर्वाधिक ६ स्वर्ण जित्यो ।
सन् १९९६ को ओलम्पिकमा दोस्रो भएको रुस त्यसयताका हरेक दुई संस्करणको अन्तरमा एकएक स्थान खस्कँदै यस पटक चौथो भएको छ । राज्य प्रायोजित डोपिङका कारण ब्लाङ्केट प्रतिबन्धअन्तर्गत सहभागी भएको रुसले आफूले जितेकामध्ये आधा स्वर्ण कुस्ती र फेन्सिङमा प्राप्त गरेको छ ।
क्युबा, जमैका, टर्की, इरान, अजरबैजान, केन्या, इथियोपिया, उज्वेकिस्तान, उत्तर कोरिया, थाइल्यान्ड र मलेसियाले आफूले जितेको पदकमध्ये आधाभन्दा बढी एउटै खेलमा प्राप्त गरे । त्यसमा पनि केन्या, जमैका र इथियोपियाले जितेका सबै पदक एथलेटिक्सका हुन् । आर्चरीमा दक्षिण कोरियाले, बास्केटबलमा अमेरिकाले, म्याराथन पौडीमा नेदरल्यान्ड्सले, रिदमिक जिम्न्यास्टिक र सिन्क्रोनाइज्ड पौडीमा रुसले, टेबुलटेनिसमा चीनले स्वर्णको क्लिन स्विप गरे । डाइभिङमा चीनले एक स्वर्णमात्र गुमायो ।
प्रतियोगितामा सहभागी दुई सय सात देशमध्ये ५९ राष्ट्रले कम्तीमा एक स्वर्ण र ८७ राष्ट्रले कम्तीमा एक पदक जिते । १० राष्ट्रले रजत र कांस्यमात्र जिते । कुनै पनि राष्ट्रले कांस्यमात्र जितेनन् । दक्षिण एसियाबाट भारतले मात्र पदक जित्न सक्यो, एक रजत र एक कांस्यका रूपमा । प्रतियोगिताभर आर्चरी, पौडी, भारोत्तोलन, सुटिङ, मोर्डन पेन्टाथलन, ट्रयाक साइक्लिङ र एथलेटिक्स गरी सात खेलमा २७ पटक विश्व कीर्तिमान र विभिन्न खेलमा गरी ३३ पटक ओलम्पिक कीर्तिमान तोडिए । प्रतियोगितामा विभिन्न २८ खेलका तीन सय ६ स्पर्धामा विश्वभरबाट ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
स्कुलिङ र ब्लिजको सान
माइकल फेलप्सलाई हराएर स्वर्ण पदक जितेका सिंगापुरका जोसेफ स्कुलिङ रातारात विश्वमाझ चिनिए । उनको चर्चा स्वर्ण जित्नुमा त छँदै थियो, त्योभन्दा बढी फेलप्सलाई पछि पार्नुमा रह्यो । फेलप्सले अब ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको अवस्थामा स्कुलिङको यो सफलतालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । २१ वर्षीय स्कुलिङ कुनै समय फेलप्सलाई नै आफ्नो आदर्श खेलाडी मान्थे ।
यसैगरी १९ वर्षीया अमेरिकी महिला पौडी खेलाडी केटी लेडेस्की र सोही देशकी जिम्न्यास्टिक खेलाडी सिमोनी ब्लिज पनि चर्चित बने । रियो ओलम्पिकमा १९ वर्षीय ब्लिजले चार स्वर्ण र एक कांस्य जितिन् । लेडेस्कीले चार स्वर्ण र एक रजत हात पारिन् । एउटै ओलम्पिक जिम्न्यास्टिकमा महिला खेलाडीले चार स्वर्ण जितेको यो सन् १९८४ पछि पहिलो पटक हो । विश्व च्याम्पियनसिपमा समेत १० स्वर्ण जितिसकेकी ब्लिजले पदक तालिकामा बलियो उपस्थिति देखाउन सक्ने अनुमान गरिएको छ । सन् २०१२ को ओलम्पिकमा एउटा स्वर्ण जितेकी लेडेस्की विश्व पौडीको चर्चित अनुहारका रूपमा स्थापित भइसकेकी छिन् ।
पदकको खुसी
ओलम्पिक खेलकुदमा सहभागी हुने खेलाडी र देशको एउटा यस्तो संसार पनि छ जो राष्ट्रिय कीर्तिमान सुधार गर्नु, पहिलो चरण पार गर्नु वा कम्तीमा एउटा पदक जित्ने सपना देख्छ । कांस्य वा रजत जितेकाको उद्देश्य भने स्वर्ण जित्नु हुन्छ । स्वतन्त्र खेलाडीसहित १० देशले रियो ओलम्पिकमार्फत पहिलो पटक स्वर्ण पदक जिते । फिजीले रग्बी सेभेन्समा, बहराइनले स्टिपलचेजमा, आइभरिकोस्टले तेक्वान्दोमा, जोर्डनले तेक्वान्दोमा, कोसोभाले महिला जुडोमा, पुएर्टो रिकोले महिला टेनिसमा, सिंगापुरले पौडीमा, ताजिकिस्तानले ह्यामर थ्रोमा र भियतनामले सुटिङमार्फत स्वर्ण पदक जितेको हो ।
स्वर्णका रूपमा पहिलो ओलम्पिक पदक जितेको फिजीले त्यस अवसरमा राष्ट्रिय बिदाकै घोषणा गर्यो । फाइनल खेल भइरहेको समयमा फिजीमा कार्यालय ठप्प भएका थिए । पहिलो पटक ओलम्पिकमा सहभागी भएको कोसोभोले पहिलो पदक नै स्वर्ण जितेर विश्वलाई चकित बनायो । यसअघि कुनै पनि ग्रान्डस्लाममा क्वार्टरफाइनलसम्म समेत पुग्न नसकेकी पुएर्टो रिकोकी मोनिका पुइगले फाइनलमा एन्जेलिक कर्बरलाई हराउँदै स्वर्ण जितेर विश्वलाई अचम्मित बनाइन् ।
स्वतन्त्र खेलाडीका रूपमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेका कुवेती सुटर फेहाइद अल दिहानीले उदाहरण बनाएर देखाए ।
मुस्लिम राष्ट्र इरानकी महिला तेक्वान्दो खेलाडी किमिया अलिजादे जेनुरिन ओलम्पिक खेलकुदमा पदक जित्ने पहिलो इरानी महिला खेलाडी बनिन् । १८ वर्षीया जेनुरिनले ओलम्पिकमा प्राप्त सफलता इरानी महिलाकै खुसी भएको बताएकी छिन् । इजिप्टकी सारा अहमद ओलम्पिकमा पदक जित्ने इजिप्टकी महिला खेलाडी र पहिलो अरबी महिला भारोत्तोलक बनिन् ।
भारतका लागि रजत जितेकी महिला ब्याडमिन्डन खेलाडी पीभी सिन्धु र कांस्य जितेकी महिला कुस्ती खेलाडी साक्षी मल्लिक सम्मानपछि रातारात करोडपति बनेका छन् । शरणार्थी टोलीका रूपमा सहभागी खेलाडीले यस पटक सोचेअनुरूप प्रदर्शन गर्न नसके पनि आगामी ओलम्पिकमा पदक जित्ने लक्ष्य लिने बताएका छन् ।