उस्तै छ समाज

उस्तै छ समाज

मानव–विकासक्रमको थालनीमा झै समाज–परिवारको ढाँचा अहिले पनि मातृसत्तात्मक भइदिएको भए छोरीलाई अनिवार्य उच्च शिक्षा दिइन्थ्यो होला । 'अर्काको भित्तो टाल्ने जात !', 'घरधन्दामा नरत्तिएकीलाई कल्ले लान्छ ? ' जस्ता हेपाहा उखानटुक्का जन्मिने थिएनन् । महिला कर्मचारी कार्यालयको काम सकेर बसमा धक्कमधक्का सहँदै हतारहतार घर फर्केर चुलोमा होमिनु पर्थेन ।

सुविस्तासाथ घर आइपुगेकी स्वास्नीलाई लोग्नेले चियाखाजा ल्याइदिन्थ्यो । स्वास्नी आराम कुर्सीमा सजिलो गरी बस्दै चिया पिउँथी, लोग्ने पकाइतुल्याइमा व्यस्त हुन्थ्यो । कहिलेकाहीँ मिटिङ–भोज सकेर अबेर राति घर आएकी स्वास्नीलाई 'किन यति राति आएकी ? ' भन्दै लौरो उज्याएर पिट्न तम्सिँदैनथ्यो लोग्ने । बरु तर्सेर उठेको शिशुलाई थुम्थुम्याएर सुताउनतिर लाग्थ्यो र स्वास्नीलाई नरम भाकामा सोध्थ्यो होला, 'खाना तताइदिम् ? '

महिला आफन्त तथा साथीहरूले भोगिरहेका तनाव र उत्पीडन सम्झेर कहिलेकाहीँ मन भारी हुन्छ । अनि यस्तैयस्तै कल्पना गर्न थाल्छु । यो परिकल्पना लहडमा गरेकी हैन मैले, न त कुनै वादको पटुकी बाँधेर नै गरेकी हुँ ।

स्टाफ नर्सको रूपमा झन्डै नौ वर्ष प्रसूति कक्षमा काम गरेँ । त्यो अवधिमा अस्पताल आएका निकै महिलाका भोगाइका विविध पाटाहरूसँग नजिकिएँ । तिनै अनुभवका आधारमा भन्न सक्छु, आधा आकाश भनिने नारीको ठूलो हिस्सा पुरुषका कारण उत्पीडन र थिचोमिचो चुपचाप सहन बाध्य छ ।

एउटी महिला तेस्रोपटक बच्चा जन्माउन आएकी थिइन् । गर्भावस्थाभरि अस्पतालबाहिरको अर्कै डाक्टरलाई जँचाएकी रैछिन् । दुई छोरीकी आमा उनको तेस्रो गर्भमा जुम्ल्याहा सन्तान थिए । अल्ट्रासाउन्ड गर्दा गर्भमा एक छोरा र एक छोरी छन् भनिएकाले खुसी थिइन् । तर, सात मिनेटको अन्तरालमा दुइटी छोरी जन्मिएपछि उनको खुसीमा तुषारापात भयो ।

भक्कानिएर रुन थालेकी उनलाई सान्त्वनाका कुनै पनि शब्दले थम्थम्याउन सकेन । छोराका लागि मरिहत्ते गर्ने लोग्ने र परिवारबाट आफू र छोरीहरूले सामना गर्नुपर्ने सम्भावित उपेक्षा कल्पेर आधा मासु भएकी थिइन् । नभन्दै, छोरीहरू जन्मेको खबर पाएलगत्तै उनको परिवार अस्पतालबाट अन्तध्र्यान भयो ।

अपरेसन नगरी प्राकृतिक तवरबाट बच्चा जन्माएका महिलालाई प्रसवपछि उख्खुमै भोक लाग्छ रे ! एउटा शिशु जन्मँदा झन्डै १२ केजी तौल घट्छ आमाको शरीरबाट । एक्कासि ठूलो परिमाणमा शरीरको तौल कम हुँदा पेट पूरै खोक्रिएजस्तो लाग्ने र वजन असन्तुलनको अनौठो अनुभव पनि हुन्छ रे नव–प्रसूतालाई ! तर उनको क्षुधा मेटाउन उनको परिवार त्यहाँ थिएन ।

लेबर–रुमको चिया पकाउन पानी उमाल्ने इलेक्ट्रिक केट्लीको पानीमा वाइवाइ चाउचाउ भिजाएर खुवाएँ उनलाई । उनले बुटवलस्थित माइतमा रुँदै फोन गरिन् । भोलिपल्ट दिउँसो उनकी आमा आइपुगुन्जेल सुत्केरीको खानपिनको बन्दोबस्त हामीले नै गर्‌यौं ।

लगातार छोरी जन्मेपछि लोग्ने र घरपरिवारका सदस्यले नाकमुखै नदेखाउने घटना प्रायः दोहोरिइरहन्थे प्रसूति वार्डमा । असह्य सुत्केरी व्यथा खपेका महिलाहरू तिरस्कार र अपमानको मारले त थिलथिलो नै हुन्थे ।

०००

तिनताका, केही नर्स साथीहरूकै पनि डेलिभरी गरेँ । तीमध्ये दुई अविस्मरणीय बनेर स्मृतिमा रहिरहे । चारवर्षे छोरीकी आमा एउटी साथी दोस्रोपटक आमा बन्दै थिई । उसलाई थाहा थियो- यो पाला पनि छोरी जन्मँदै छ । नवजात शिशुलाई आमाको पेटमाथि राखेर नाभी काट्न थालेँ, साथीले सकीनसकी अलिकति जीउ उठाउँदै बच्चाको खुट्टा उचालेर यसो हेरी र आँखाभरि आँसु पारी । हरे ! अल्ट्रासाउन्डको रिपोर्ट कतै झूठो ठहरिएला कि भन्ने कत्रो आश साँचेकी उसले !

बीएस्सी नर्सिङ गरेकी उसलाई सोधेँ, 'तिमीलाई छोरी छ भन्ने थाहा थियो, फेरि किन यो बेकारको तनाव ? डाक्टर लोग्नेले दुइटी छोरीको बाबु बनेकोमा गुनासो गर्ने कुरै भएन, किन मन अमिलो बनाएकी ? '

'आफ्नो लागि नभएर लोग्ने र परिवारका लागि छोरा जन्मियोस् भन्ने चाहन्थेँ, मेरा निम्ति त मेरा छोरीहरू मेरो मुटुका टुक्रा ! डाक्टर भएर के गर्नु ! एउटा छोरा नभई नहुने संस्कार उसको रगतमै छ । थाहा छैन, उसको छोराको चाहना पूरा गर्न कतिपटक अबोर्सन र कतिचोटि अझै प्रसव पीडा खप्नु छ मैले ।' बोलिसक्दा उसका आँखाबाट आँसुका धारा छुटेका थिए ।
बीएन गरेकी अर्की साथी पहिलोपटक आमा बन्दै थिई । उसले पनि बच्चा जन्मनासाथ हत्त न पत्त हेरेर छोरा कि छोरी भन्ने यकिन गरी जब कि उसलाई पनि छोरी जन्मिन्छे भनेर थाहा थियो । हुनेखाने परिवारको उच्चशिक्षा प्राप्त लोग्नेकी श्रीमती थिई ऊ ।

उसको ताल देखेर छक्क पर्दै भनेँ, 'पहिलो पालि जे जन्मे पनि तिमी खुसी हुनुपर्ने हैन र ? पढेलेखेकी मान्छेले के यस्तो नसुहाउने व्यवहार गरेकी ? '

अनुहारमा घामछाया पार्दै उसले खुई काढी, 'बिहेपछि मेरोमात्र खुसीको महत्त्व नहुँदो रैछ ! उसै त लभ म्यारिज, त्यसमाथि इन्टरकास्ट ! मेरो बूढा हदैसम्मको कन्जर्भेटिभ छ यार ! उसको कम्युनिटीमा जतिसुकै शिक्षित र धनी भए पनि परिवार र समाजको वचन नाघेर बाँच्नै सकिन्न । छोरा नहुनेलाई समाजले हेप्ने विश्वास उनीहरूको समुदायमा व्याप्त छ । त्यसैले पहिलो पालि छोरा जन्मेको भए सारा चिन्ता नै साफ हुन्थ्यो नि !'

०००

अर्की थिईन्, एअरपोर्ट इमिग्रेसनमा जागिरे शिक्षित तथा सुन्दर महिला । दसवर्षे छोराकी आमा उनी छत्तीसौं हप्ताको गर्भावस्थामा उच्च रक्तचापका कारण अस्पताल आएकी थिइन् । व्यथा नलागे पनि गहन निगरानीका लागि लेबर रुमभित्रै राखियो उनलाई । साता दिनको औषधि सेवन, काउन्सिलिङ र आवश्यक हेरचाहपछि सैंतीसौं हप्ता कटेको दिन, सिजरियन सेक्सनद्वारा उनको दोस्रो छोरो जन्मियो । एक हप्तापछि उनी डिस्चार्ज भइन् । सात दिन लेबर रुममा बसुन्जेल त्यहाँका स्टाफसँग उनको राम्रै दोस्ती भइसकेको थियो ।

एघार वर्षअघि प्रेमविवाह गरेकी उनको जीवन, लोग्ने र छोरासहित रमाइलोसँग बितिरहेको थियो । उनको लोग्ने कुनै विदेशी गैरसरकारी संस्थामा हाकिम थिए । दोस्रोपटक गर्भ रहेपछि ती महिलालाई सामान्य बिसन्चो हुन थाल्यो । त्यसमाथि एअरपोर्टको जागिरमा समयको ठेगान थिएन । कहिले बिहान, कहिले बेलुकी र कहिले राति पनि ड्युटीमा खट्नुपर्ने ! उनले आफन्तलाई घरको काममा सघाउने मानिस खोजिदिन आग्रह गरिन् । केही समयपछि दूर गाउँबाट ल्याइएकी पन्ध्र वर्षकी फुच्चीलाई उसकी सानिमाले ती महिलाकहाँ छाडेर गइन् ।

तीन महिनादेखि राजीखुसी बसिरहेकी, झन्डैझन्डै घरका काम सबै सिकिसकेकी सोझी केटीसँग छोरा पनि झ्याम्मिसकेको अवस्थामा, अचानक एक दिउँसो 'म याँ बस्दिनँ आन्टी ! घर जान्छु' भन्दै फुच्ची रुन थालेपछि महिलालाई आपत् परेछ । 'किन नबस्ने ? के कुरामा चित्त बुझेन ? ' भन्दा मरिकाटे बोल्दिन रे ! खालि 'घर जान्छु' भन्दै रोइरहेपछि उसकी सानिमालाई बोलाएर सम्झाउन लगाइछन् ।

फुच्चीले भनेका कुरा सानिमाले सुनाउँदा, ती महिलालाई बीच बजारमा कसैले गालामा झ्याम्म झापड हानेझैं भाउन्न छुटेछ । उनले पत्याउँदै पत्याइनन् रे फुच्चीका कुरा र उल्टै उसलाई नै 'बिनसित्तीको कुरा गर्ने' भनेर हकार्दै पाकेको तलब र केही लुगाफाटासहित केटीलाई बिदा गरिछन् । स्कुलबाट आएको छोरालाई सोधिछन्, 'बाबु ! म घरमा नभएको बेला तिमीले दिदीलाई दिक्क त लाउँथेनौ ? दिदी त घर छाडेर गई नि ? '

छोराले रामकहानी सुनाएछ, 'मैले त लाउँथिनँ मामु ! ड्याडीले चाहिँ उसलाई दिक्क लाइसिन्थ्यो । ड्याडीले हात समाएर तान्दा दिदी रुन्थी । अस्ति राति पनि किचनमा मलाई दूध तताएर दिँदै थिई, दूध पोखिएर उसको हात पोल्यो । अनि ड्याडी आएर उसको औंला मुखमा राखेर चुसिदिस्यो, दिदीले हात फुस्काउन खोजी, मैले पनि दिदीको हात समाएर तानेँ । ड्याडीले मलाई धकेलेर दिदीलाई तान्दै सिटिङ रुममा लगिस्यो, म पनि पछिपछि गएँ ।

अनि ड्याडीले दिदीलाई काखमा बसाउन खोजिस्यो, मुखमा चुप्पा गर्न खोजिस्यो । दिदी बेस्सरी रोई अनि ड्याडीको हातमा टोकिदिई । राति पनि मसँगै सुती, 'आफ्नो कोठामा जान्नँ' भनी । म निदाउँदा पनि दिदी रोइराकी थिई, म उठ्दा नि रोइराकी थिई । म नि रोएँ मामु !'

छोराको कुरा सुनेर उनलाई आकाश धर्ती फनफनी घुमेझैं भएछ । हरेक बिहान घन्टी बजाईबजाई भगवान् भक्ति र पूजाआजामा लीन रहने, साउने सोमबारको व्रत बस्न कहिल्यै नछुटाउने र साउन महिनैभरि माछामासु जाँडरक्सीदेखि टाढै बस्ने स्वामी राजाको कुकृत्य पत्याउन उनलाई मुस्किल परेछ । उनको मनको सिंहासनमा विराजमान पति परमेश्वरको मूर्ति भुइँमा पछारिएछ ।

बल्ल उनले त्यसअघि पनि काम सघाउन घरमा राखेका दुई गाउँले केटीहरू किन दुई महिना नबित्दै बिनाकारण काम छाडेर गए भन्ने बुझिछन् । 'संसारकै समझदार र मायालु मेरो लोग्ने' भन्ने उनको गर्व चकनाचुर भएपछि अन्धो पतिभक्तिको पर्दा हटेछ उनको आँखाबाट । त्यसपछि दुनियाँका हरेक सम्बन्ध नै झूठो लाग्न थालेछ ।

आफ्नो कर्तुत उदांग भइसक्दा पनि पत्नीसँग क्षमायाचना अथवा भूल सुधार्ने प्रतिबद्धता जाहेर गर्नु त कता हो कता उनको लोग्नेले गल्ती नै स्वीकारेनन् रे ! जम्मै दोष निर्दोष केटीहरूमाथि थोपरेर पत्नीलाई पनि लोग्नेको चोखो छवि धमिल्याउने षड्यन्त्र गरेको आरोप लगाएछन् । अनि ती महिलाले लोग्नेसँग पारपाचुके गर्ने निर्णय गरिछन् र छोरासहित माइत गएर बसिछन् ।

तर माइती र आफन्तले छोराको बालापन, गर्भको सन्तान, उनीहरूको भविष्य र लोग्ने छाडेर बसेकी महिलालाई हेर्ने समाजको नकारात्मक दृष्टिकोण आदिआदि सम्झाएर छोडपत्र नगर्न कर गरेछन् । मनले नमाने पनि बालख छोरा र गर्भमा हुर्कंदै गरेको बच्चाका लागि र सांसारिक व्यवहार धान्नकै लागि पनि सम्झौता गर्न बाध्य भइछन् उनी ।

काउन्सिलिङका क्रममा भावुक बन्दै मलाई भनेकी थिइन्, 'हेर्नु सिस्टर ! यो लोग्ने मान्छेको जातलाई दुई खुट्टा टेकेको जो भए पनि हुँदो रहेछ । अफिसमा, घरमा, माइतमा, जताजतै मेरो सुन्दरता र शील स्वभावको प्रशंसा गर्छन् मानिसहरू । तर लोग्नेका लागि मेरो रूप बेकामे भो ।'

०००

लाजिम्पाट बस्ने दाइभाउजूकहाँ कहिलेकाहीँ जाँदा बस्दा, त्यही घरको तल्लो फ्ल्याटमा बस्ने परिवारसँग पनि मेरो हिमचिम बढेको थियो । श्रीमती साक्षर, श्रीमान् राम्रै पढेका सरकारी जागिरे । उनीहरूकी एउटी छोरी थिई तीन वर्षकी । श्रीमान्को बोलीवचन सारै नरम र मिजासिलो, टोलकै भद्र पुरुषमा गनिएका उनको सानो परिवार सुखी देखिन्थ्यो ।

'ह्वाँ बूढाले कल्पना बैनीलाई भनेर राम्ररी सिलाइमाग्नू भनेका छन् । म यत्तिकै घर फिरेँ भने त मार्छन् । बिन्ती ! मलाई टाँका लाइदिनू बैनी, तपाईंलाई धर्म लाग्छ । जति दुखे पनि खप्छु, घाउ निको हुन जति ट्याम लागे नि सहन्छु तर नानीका बाउले अर्की ल्याए भने म मर्छु !' बोल्दाबोल्दै रोइन् उनी ।

एक साँझ सुत्केरी व्यथा लागेकी पत्नीलाई लिएर प्रसूति वार्ड आए उनी । भर्ना गरेको भोलिपल्ट बिहान श्रीमतीले छोरी जन्माइन् । फेरि पनि छोरी जन्मेकीमा कुनै गुनासो नगरेकी उनलाई देख्दा रमाइलो मान्यो मेरो मनले ।

रगत सफा गरेर उनलाई भनेँ, 'लु बधाई ! कतै दाग नलागीकन नर्मल डेलिभरी भयो । अब माथि सर्नु, छोरीलाई दूध खुवाउनुपर्छ ।'

तर अचम्म ! उनी टसमस भइनन् । फेरि भनेँ, 'डेलिभरीको काम सकियो क्या ? माथि सर्नु न !'
बल्ल अप्ठ्यारिँदै उनी बोलिन्, 'मलाई टाँका लाइदिनु सिस्टर !'

ट्वाँ पर्दै भनेँ, 'के कुरा गर्नुभाको ? तपाईंको जस्तो कैंचीले थोरै पनि नकाटीकन डेलिभरी हुनु भनेको त भाग्यको कुरा पो ! बच्चा जन्मिइसकेपछि अब केलाई टाँकासाँका नि ? टाँका त्यत्तिकै लाग्छ भन्ठान्नुभाको ? चिरेर, काटेर र घाउ बनाएर सिलाएपछि मात्र मासु जोडिन्छ । कति दिनसम्म दुखाइ र कष्ट सहनु त छँदैछ ।'

'ह्वाँ बूढाले कल्पना बैनीलाई भनेर राम्ररी सिलाइमाग्नू भनेका छन् । म यत्तिकै घर फिरेँ भने त मार्छन् । बिन्ती ! मलाई टाँका लाइदिनू बैनी, तपाईंलाई धर्म लाग्छ । जति दुखे पनि खप्छु, घाउ निको हुन जति ट्याम लागे नि सहन्छु तर नानीका बाउले अर्की ल्याए भने म मर्छु !' बोल्दाबोल्दै रोइन् उनी ।

'त्यसका बाजे ! स्वास्नीमान्छेको विवशता !' मलाई दिक्दार लाग्यो । उनको लोग्नेको अनुहार सम्झेर चल्नु झोँक चल्यो । मनमनै भनेँ, 'डबल स्ट्यान्डरवाला भलाद्मी ! धिक्कार !'

उनले टाँका लाइदिनू भनेको मतलब राम्ररी बुझेकी थिएँ । असाध्यै माया लाग्यो उनको । लोकल एनेस्थेसिया दिएर, उनको सद्दे अंग चिरेर र तीन पत्र सिलाएर मैले उनको इच्छा पूरा गरिदिएँ । लोग्नेले सौता हाल्ने उनको मनको डर हटाइदिन सकेकीमा थोरै सन्तोक मानेँ । उनले भने लोग्नेको इच्छापूर्तिका लागि भयानक पीडादायी मूल्य चुकाइन् । भोलिपल्टै डिस्चार्ज हुनसक्ने उनले एक सातासम्म अस्पताल बस्न पर्‌यो, त्यो पनि सजिलो गरी कहाँ र ! उठ्दा, बस्दा, हिँड्दा र शौचालय जाँदा मरेतुल्य दुखाइ सहँदै ।

०००

उल्लिखित लोग्नेहरू सचेतनाको हिसाबले अब्बल दर्जामा दरिन्छन् । गर्भस्थ शिशुको लिंग निर्धारणमा आफ्नै शुक्रकीट जिम्मेवार छ भन्ने यिनलाई राम्ररी थाहा छ र यीमध्ये कति त ताल परे लैंगिक समानताबारे भाषणै छाँट्न बेर लाउँदैनन् । यिनले नजानेको नबुझेको सायदै कुनै विषय होला । लैंगिक विभेद र पुरुष हैकमवाद समाजको निधारमा टाँसिएको कलंक हो भन्ने जानेबुझेका यीजस्ता लोग्ने मानिसबाटै हेपिएका र स्वअस्तित्व सङ्कटमा पारिएका स्वास्नी मानिस धेरै छन् ।

अब यस्ता उपबुज्रुकलाई के भनेर सम्झाउनु ? मापसे गरेर सवारी चलाएकालाई भोलिपल्ट ट्राफिक सचेतनाबारे सम्बन्धित निकायले अनिवार्य क्लास लिएजस्तै यिनलाई पनि लैंगिक विभेद र पुरुष प्रभुत्वका कक्षामा बसाउने हो कि ? ओभरहेड प्रोजेक्टरमा स्लाइड सो र पावर प्रजेन्टेसनद्वारा लैंगिक विभेद र पुरुषको मनपरी सहेका महिलाको जीवन कति कष्टकर र निम्छरो छ भन्ने देखाउँदा यिनको चेत फिथ्र्यो कि !

अर्को त कुनै विकल्प छैन यिनको विवेकलाई ठेगानमा ल्याउने किनकि यो नैतिक मूल्य, सदाचार र मानवीयताको मुद्दा पर्‌यो । 'निदाएको मानिसलाई ब्यूँझाउन सकिन्छ तर निदाएको बहाना गरिरहेकालाई सकिँदैन' भन्ने कथन यिनै बुझपचुवा मानसिकतावाला पुरुषप्रति लक्षित छ क्यार !

महामहिम राष्ट्रपतिज्यू, सम्माननीय सभामुख महोदया तथा श्रीमान् प्रधानन्यायाधीशज्यूहरू, महिला हुनु हाम्रा निम्ति गर्वको विषय हो । तर, उहाँहरूसँग तिलस्मी कथामा वर्णित त्यस्तो जादुको छडी छैन जसले रातारात समाजबाट लैंगिक भेदभाव र पुरुष दमनलाई निमिट्यान्न पार्न सकोस् ।

बस् यति कामना गरौं, मुलुकका सर्वोच्च पदमा महिलाहरूको सशक्त उपस्थितिले पुरुष–दलनको तेजोबध होस् र स्वास्नीलाई मान्छे नगन्ने अभिमानी लोग्नेहरूको शिर ढलोस् ! 'नारीपुरुष समान हुन् र दुवैलाई आदर र सद्भावपूर्ण व्यवहार गरिनुपर्छ' भन्ने सद्बुद्धि मनभित्रैबाट नपलाएसम्म दम्भी पुरुषको हृदय परिवर्तन गर्न बडो गाह्रो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.