गृहयुद्धबाट तंग्रिदै गरेको श्रीलंकाबाट सिक्नुपर्छ

समुद्रको बीचमा बसेको श्रीलंका । लामो गृहयुद्धबाट भर्खरै तंग्रिदै गरेको । शैक्षिक भ्रमणमा गइरहँदा मनमा लागेको थियो— नेपालजस्तै त होला । तर, एक हप्ता लामो भ्रमणले पद्धति राम्रो भए सरकारी विद्यालयले गुणस्तर निर्धारण गर्न सक्छन् भन्ने पाठ सिकाएको छ । ९९ प्रतिशत साक्षरता दर रहेको श्रीलंकामा नेपालमा जस्तो निजी विद्यालयको हालीमुहाली छैन ।
नेपालमा भन्दा ठीक उल्टो सरकारी विद्यालय सबै उत्कृष्ट छन् । निजी विद्यालय भए पनि नाम मात्रका छन् । स्नातकोत्तर तहसम्म पूर्ण निःशुल्क शिक्षा रहेछ । रोचक त के रहेछ भने त्यहाँको शिक्षा मन्त्रालयको निर्देशक र सरकारी विद्यालयको प्रधानाध्यापक ‘एक्सचेन्ज’ हुनसक्ने प्रावधान रहेछ । जुनसुकै विद्यालयको प्रधानाध्यापकले जति बेला पनि शिक्षा मन्त्रालयको निर्देशक बन्ने हैसियत राख्ने रहेछ ।
हामीलाई कोलम्बोको ‘ श्रीमाबो बन्दरानाइके’ विद्यालयको भ्रमण गराइएको थियो । यो महिला विद्यालय हो । आरएमआर हेरात यसको प्रधानाध्यापक । श्रीलंकामा महिला शिक्षामा विशेष जोड दिएकाले साक्षरता दर ९९ प्रतिशत पुगेको हेरातको बुझाइ छ । ‘शिक्षामा यहाँका महिला अत्यन्त लगनशील भएर लाग्छन् । शिक्षाप्रति महिला जति आकर्षित छन् त्यत्तिकै लगनशील पनि छन्’, हेरातले भनिन् । उनले लामो समयदेखि महिला शिक्षामा जोड दिइएको बताइन् ।
नेपालमा भन्दा त्यहाँ केहीकेही पद्धति फरक रहेछन् । बिहान ७ बजेबाट सुरु भएको स्कुल चार-पाँच बजेमात्र छुट्टी हुने रहेछ । यो प्रक्रियालाई ‘डे बोर्डस’ भन्दा रहेछन् । प्रत्येक विद्यालयमा सीप विकास विभाग खडा गरेरै सञ्चालनमा ल्याइएको रहेछ । नेपालमा यस्तो अभ्यास हुनै बाँकी छ ।
नेपालमा अभ्यास नभएको पुरुषले मात्र पढ्ने कलेजसमेत श्रीलंकामा रहेछन् । कोलम्बो–७ मा रहेको रोयल कलेजमा पुरुषले मात्र पढ्न पाउँछन् । रोयलका प्रिन्सिपल बीए अभयरत्नले कलेजले प्राविधिक शिक्षामा विशेष जोड दिँदै आएको बताए । कलेजको पढाइलाई विश्वव्यापी बनाउने प्रयासमा श्रीलंका अघि बढेकोसमेत अभयरत्नले सुनाए । हेरातसँगको भेटघाटले विद्यालय सञ्चालनको शैली सिक्ने मौका मिल्यो ।
नेपालमा भन्दा ठीक उल्टो सरकारी विद्यालय सबै उत्कृष्ट छन् । निजी विद्यालय भए पनि नाम मात्रका छन् ।
श्रीलंकामा नेपालमा जस्तो छ्याप्छ्याप्ती निजी विद्यालय छैनन्, भए पनि थोरैमात्र छन् । शैक्षिक भ्रमणका क्रममा हामी कोलम्बोबाट १६ किलोमिटर यात्रापछि गठातुवा, न्यु टाउनमा रहेको निजी स्कुल एसियन ग्रामरमा पुग्यौं । स्कुलकी म्यानेजिङ डाइरेक्टर थुसारी कोरलागेले निजी स्कुल सञ्चालन गर्नुको फरक प्रसंग सुनाइन् । ‘संसारमा एउटा तहका मान्छे हुन्छन् जो सरकारी शिक्षा लिन चाहँदैनन्’, कोरलागेले भनिन्, ‘निजी स्कुल सञ्चालन गर्न कठिन छ तर मानिसको चाहना पूरा गर्न हामी कठिनाइ सामना गरिराखेका छौं ।’
भ्रमणपछि देखियो, त्यहाँका निजीभन्दा सरकारी स्कुल र कलेजका ठूलो कम्पाउन्ड छन् । नेपालमा जस्तो साँघुरो गरी कुनै स्कुल र कलेज छैनन् । सफा र फराकिला सडक हुँदै युनिभर्सिटी अझ केलानिया पुग्दा त्यहाँका भाइस चान्सलर सुनन्द मधुम्म बन्दराको न्यायो स्वागत पायौं । उनले त्यहाँका डिनसँग अन्तरक्रिया गराए ।
अन्तरक्रियाबाट श्रीलंकाको शैक्षिक गुणस्तरतालाई नजिकबाट अध्ययन गर्ने मौका मिल्यो । युनिभर्सिटी अफ कोलम्बोकी प्रमुख कालहरिगंगा पेरेनासँगको भेटले श्रीलंकाको शिक्षाबारे थप बुझ्ने मौका मिल्यो । प्रत्येक कलेज वा स्कुल पुग्दा नयाँनयाँ सिकाइ भयो । त्यहाँ विद्यार्थीले चाहेको खण्डमा स्कुलले जुनसुकै समयमा पनि शिक्षक उपलब्ध गराउने रहेछ । शिक्षक विद्यार्थीप्रति अति नै समर्पित देखिए । भ्रमणकै क्रममा काठमाडांका विशाल श्रेष्ठ र काभ्रेका दीपेन्द्र चौलागाईं भेटिए । विशाल युनिभर्सिटी अफ कोलम्बोमा बायोकेमेस्ट्री पढ्दा रहेछन् भने दीपेन्द्र युनिभर्सिटी अफ पेरेदेनियामा फार्मेसी पढ्दा रहेछन् । विशाल श्रीलंका गएको दुई वर्ष भएछ भने दीपेन्द्रको एक वर्ष । श्रीलंकाली शिक्षाप्रति दुवै खुसी र सन्तुष्ट देखिए ।
यात्राकै क्रममा कोलम्बोदेखि दुई सय किलोमिटर टाढा रहेको नेपालका लागि श्रीलंकन पूर्वराजदूत डब्ल्यूडब्ल्यू एम केनेभी रत्नको घरसम्म पुग्यौं । सामान्यमात्र नेपाली बोल्ने पूर्वराजदूतको अति सामान्य बसाइले आफैँ चकित भएँ । उनी गाउँमै सानो घरमा बसेका छन् । राजदूत भएको कुनै घमण्ड छैन । रिटायर जीवन गाउँमै बिताउने चाहना पूर्वराजदूतले सुनाए ।
पूर्वराजदूत केनेभिरत्नको पहल, सौर्य इन्टरनेसनल कलेजको योजना र मेरो संयोजकत्वमा हामी विभिन्न जिल्लाका २४ जना शिक्षकको टोली श्रीलंका पुगेको थियो । ६ दिनको श्रीलंका बसाइका क्रममा त्यहाँबाट थुप्रै कुरा सिक्ने मौका पायौं भने नेपालको शिक्षा प्रणालीबारे समेत जानकारी गरायौं । दोलखाको हनुमन्तेश्वर उमाविका प्रिन्सिपल गोपालध्वज श्रेष्ठले नेपालका सरकारी स्कुलसमेत निजी स्कुलसँग प्रतिस्पर्धा गर्न सक्षम भएको उदाहरण सुनाए । हनुमन्तेश्वर उमावि नेपालकै सरकारी स्कुलमध्येको एक नमुना उत्कृष्ट स्कुल हो । कालिका उमावि बुटवलका प्रिन्सिपल घनश्याम पाठकले आफ्नो स्कुल देशभरिकै नमुना भएको र विदेशी विद्यार्थीको समेत आकर्षण रहेको अनुभव सुनाए ।
पूर्वराजदूतकै पहलमा त्यहाँको शिक्षा मन्त्रालयका निर्देशकसँग छलफल भयो । नेपालमा विरलैमात्र देखिने दृश्य शिक्षा मन्त्रालयमा देखियो, जहाँ मन्त्रालयका आठ निर्देशकमध्ये ६ जना महिला थिए । मञ्चमा सबै महिलैमहिला देख्दा फरक अनुभव सँगाल्ने मौका मिलेको अनुभूति गरेँ । त्यहाँको साक्षरता दर ९९ प्रतिशत भए पनि उनीहरू आफैंचाहिँ ९२ प्रतिशतमात्र पुगेको दाबी गर्छन् । निजी कलेज र स्कुल फाट्टफुट्ट भए पनि श्रीलंकामा निजी मेडिकल कलेज छँदैछैनन् ।
सिक्नुपर्ने पाठ
सबैभन्दा पहिले सिक्नुपर्ने पाठ अनुशासन हो । सबै नागरिकले सभ्य व्यवहार प्रदर्शन गर्छन् । सबै मानिस एकदम सहृदयी भेटिए । निजीभन्दा पनि सार्वजनिक सवारीसाधन व्यवस्थित देखिए । त्यहाँको साक्षरताले ल्याएको परिवर्तन सरसफाइ नै हो । सडकमा एउटा कागजको टुक्रासमेत देख्न पाइएन । व्यावहारिक शिक्षालाई अनिवार्य बनाइएकाले त्यहाँका युवा उच्चशिक्षा हासिल गरेपछि बेरोजगार बन्नु पर्दैन । सबैलाई सम्मान गर्नुपर्छ भन्ने पाठ श्रीलंकाको राज्यतहबाटै नागरिकलाई सिकाइएको रहेछ ।
श्रीलंकामा घुम्नका लागि थुप्रै आकर्षण भए पनि सबैतिर पुग्ने अवसर मिलेन । एसियाकै दोस्रो ठूलो बोटानिकल गार्डेन श्रीलंकामै रहेछ । वनस्पतिको धनी देश नेपालले यसबाट धेरै सिक्नसक्छ । बुद्धको दाँत भएको क्यान्डीको मन्दिरको छुट्टै महत्व रहेछ ।(लुइटेल दिनेशसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस !
