त्रिवेणी समूहले चियाको दस करोड तिरेन

त्रिवेणी समूहले चियाको दस करोड तिरेन

बिर्तामोड: नेपाल चिया विकास निगम लिमिटेडका चिया बगान व्यवस्थापनको जिम्मा २०५७ सालमा निजी कम्पनीलाई दिए यताको १० करोड रुपैयाँ बक्यौता व्यवस्थापनको जिम्मा पाएको त्रिवेणी समूहले अहिलेसम्म तिरेको छैन ।

अर्थ मन्त्रालयका अनुसार बारम्बर ताकेता गर्दा समेत उक्त समूहले बक्यौता तिर्न अटेर गरिरहेको छ । त्रिवेणी समूहका सुवास संघाईले भने चियाको व्यापार घाटामा रहेका कारण बक्यौता तिर्न नसकेको बताएका छन् ।

पूर्वी पहाड तथा तराईका नेपाल चिया विकास निगम लिमिटेडअन्तर्गतका बगान सरकारले चलाउन नसक्ने भएपछि निजी क्षेत्रलाई व्यवस्थापन गर्न दिने निर्णय तत्कालीन मन्त्रिपरिषद् बैठकले गरेको थियो । चिया बगानको व्यवस्थापन लिन इच्छुक २१ वटा कम्पनीले त्यो बेला दरखास्त हालेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये भारतीय व्यवसायी केएन पलनास्वामीले टेन्डर पारेका थिए । उनी पछि चिया बगानको व्यवस्थापनमा अनिच्छुक भएपछि त्रिवेणी समूहले व्यवस्थापनको जिम्मा लिएको थियो । उक्त समूहले २६ करोड रुपैयाँमा ५० वर्षका लागि सरकारसँग भाडामा नेपाल चिया विकास निगम लिमिटेडअन्तर्गतका बगान व्यवस्थापनको जिम्मा लिएको हो ।

सरकारले पूर्वी नेपालमा रहेका निगमका चिया बगान निजीकरण गर्ने निर्णय गरेसँगै २०५७ सालमा त्रिवेणी समूहसँग वर्षको एक करोड ५८ लाख रुपैयाँ भाडा लिनेदिने सम्झौता गरेको थियो । त्यो पैसा समेत तिर्न नसक्ने त्रिवेणी समूहले बताएपछि फेरि एक करोड १५ लाख रुपैयाँमा वार्षिक भाडा लिनेदिने सहमति भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । त्यसको केही वर्षसम्म त्रिवेणी समूहले उक्त भाडा नतिरेको मन्त्रालयका उपसचिव वासुदेव शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार उक्त भाडा बक्यौता साँवामात्र १० करोड रुपैयाँ छ ।

शर्माले भने, 'हामीले पटकपटक भनेका छौं, पत्र काटेका छौं तर कम्पनी घाटामा छ भनेर अहिलेसम्म बक्यौता सरकारलाई बुझाउन त्रिवेणी समूहले आलटाल गरिरहेको छ ।' उनले चिया बगानको उत्पादन र चिया निर्यातलाई मूल्यांकन गर्दा चिया बगान घाटामा जानुनपर्ने दाबी गरे ।

२०६३ सालमा फेरि त्रिवेणी समूहसँग पूरक सम्झौता गरेर वार्षिक ४० लाख रुपैयाँ लिनेदिने सम्झौता भएको अर्थ मन्त्रालयको भनाइ छ । तर, त्रिवेणी समूहका संस्थापक सुवास संघाईका अनुसार सम्झौताअनुसार नाफा कमाएर उक्त १० करोड बक्यौता रकम तिर्ने भनिए पनि अहिलेसम्म कम्पनी नाफामा जान नसकेका कारण रकम सरकारलाई बुझाउन नसकिएको हो । संघाईले भने, 'नेपालमा कृषि उद्योग कहाँ फस्टाएको छ र त्यत्रो पैसा तिर्नु ? चियाको हरियो पत्तीको मूल्यदेखि निर्यात गरिन्जेलसम्म समस्या छ ।'

अर्थ मन्त्रालयका अनुसार चिया बगान जिम्मा लिएको दिनदेखि नै सरकारलाई बुझाउनुपर्ने दायित्व बुझाउन त्रिवेणी समूहले आलटाल गरिरहेको छ । पैसाको ताकेता गरेपछि एकपल्ट समूहले चिया कारखानाको चाबी बुझाएको मन्त्रालयको भनाइ छ । बारम्बार ताकेता गरे पनि त्रिवेणी समूहले सरकारलाई तिर्नुपर्ने बक्यौता तिर्न आलटाल गरेका कारण अब जसरी पनि असुल गर्ने परिस्थितिमा मन्त्रालय पुगेको अर्थ मन्त्रालयका उपसचिव वासुदेव शर्मा पौडेलले बताए ।

त्रिवेणी समूहको पनि पैसा नतिर्नुमा आफ्नै तर्क छ । उसले सम्झौताअनुसार सरकारले अहिलेसम्म एकतिहाइ जग्गा उपलब्ध नगराएको समूहका संघाईले बताए । सम्झौताअनुसार एकतिहाइ जग्गा सरकारले अहिलेसम्म उपलब्ध नगराएकाले आफूले पनि कानुनी बाटो रोज्ने त्रिवेणी समूहका संस्थापक संघाईले बताए । उनले भने, 'आफूले लिनुपर्ने पैसाचाहिँ लिने अनि हामीलाई दिनुपर्ने जग्गाचाहिँ नदिने ? कहाँको नियम हो यो ? सरकारले कडाइ गर्छ भने हामी पनि कानुनी बाटो लिन्छौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.