‘फेसन सस्तो बजार’ दशैअघि सञ्चालनमा आउने
काठमाडौंः नेपालमा पहिलोपटक ब्राण्डेड फेसन सामानहरु बिक्री/वितरण गर्ने सस्तो बजार खुल्ने भएको छ। सुन्धारास्थित थाहा टोलमा दुई रोपनी जग्गामा ‘सस्तो फेसन बजार’ खोल्न लागिएको हो।
असोज पहिलो सातासम्ममा अर्थात दशैंअघि फेसन बजार सञ्चालनमा ल्याउने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए। लामिछानेका अनुसार ग्राहकलाई एउटै छानामुनी सस्तो मुल्यमा फेसनका सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजारको अवधारणा ल्याइएको हो।
‘अहिलेसम्म नेपालमा यस्ता किसिमका बजारहरु खुलेका छैनन्,’ सञ्चालक लामिछानेले भने– ‘सुन्धारातिर एउटा सानो सटरको ३०÷४० हजार रुपैयाँ पर्छ, तर हामीले मिडियम साइजको सटर १२ देखि १६ हजार रुपैयाँमै उपलब्ध गराउँछौं ।’
‘धेरै बेच्ने, सस्तोमा बेच्ने र ब्राण्डेड सामानमात्रै बेच्ने’ आफूहरुको उद्देश्य रहेको उनले बताए । बाहिरको मुल्यभन्दा आइटम हेरी ३० देखि ४० प्रतिसतसम्ममा ब्राण्डेड सामान बिक्री÷वितरण गर्ने लामिछानेले दाबी गरे।
लामिछानेको अनुसार बजार निर्माणका लागि ५ करोड रुपैयाँको खर्च भएको छ। बजारको भौतिक निर्माण कार्य सकिएको छ, केहीदिनभित्रै सटरहरु भाडामा लगाइने छ। बजारमा स्वदेशी तथा विदेशी ब्राण्डेड सामानहरु पनि उपलब्ध हुनेछन्।
बजारभित्र चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसल रहनेछन् भने एउटा स्तरीय शैलुन रहने लामिछानेले बताए।