बुसान मेलामा नेपाल सहभागी
सोल: दक्षिण कोरियाको बुसानमा सञ्चालित १९औं अन्तर्राष्ट्रिय ट्राभल मेलामा नेपाल पनि सहभागी भएको छ । नेपालका तर्फबाट त्यहाँस्थित नेपाली दूतावास सहभागी भएको हो । ट्राभल मेला कोरियाको दक्षिणी भेगमा अवस्थित दोस्रो ठूलो सहर बुसानमा ८ सेप्टेम्बरमा सुरु भएको हो ।
विश्वका ४४ मुलुकबाट पर्यटन क्षेत्रसँग सम्बन्धित दुई सय ४४ कम्पनी सहभागी रहेको मेला सोमबारसम्म जारी रहने आयोजक सरकारी निकाय कोरिया ट्रेड एसोसिएसनले जनाएको छ ।
कार्यक्रमको पहिलो र द्रोस्रो दिन कोरियामा रहेका पर्यटन व्यवसायीसहित हजारौं कोरियालीले मेला अवलोकन गरेका थिए । मेला कुल एक लाखभन्दा बढी कोरियालीले अवलोकन गर्ने विश्वास आयोजकको छ ।
नेपालमा गएको महाभूकम्पपछि कोरियाबाट नेपाल भ्रमणमा जाने पर्यटकको संख्यामा कमी भएको सन्दर्भमा नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचारप्रसार गर्नु र पुनः नेपाल जाने कोरियालीको संख्यामा क्रमशः वृद्धि गर्दै लानु मेलामा सहभागिताको मुख्य उद्देश्य रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतालाई चिनाउँदै नेचर र एडभेन्चर मन पराउने कोरियालीलाई नेपालको पर्वतारोहण, ट्रेकिङ लगायत लुम्बिनीको समेत प्रचारप्रसारमार्फत धार्मिक पर्यटन पनि प्रवद्र्धन गर्नु नेपालको यसपटकको सहभागिताको लक्ष्य रहेको सोलस्थित कार्यवाहक राजदूत किरण शाक्यले बताए । बुसान मेलामा नेपाली दूतावासले विगत केही वर्षदेखि सहभागिता जनाउँदै आइरहेको छ ।
पर्याप्त प्रचारप्रसारको अभावमा नेपाल जाने कोरियालीको संख्या बढ्न नसकेको अवस्थालाई परिवर्तन गर्न पनि यस्ता मेलामा नियमित सहभागिताले सहयोग पुर्याउने दूतावासको विश्वास छ ।