‘संशोधन नभए १० महिनामा संविधानको अस्थित्व समाप्त’
भक्तपुरः सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएमा दश महिनामै संविधानको अस्तित्व समाप्त हुने बताएका छन्।
रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा कर्णले ०४७ सालको संविधान दश वर्ष नटिके जस्तै संविधान संशोधन गरी मधेसको माग पुरा नगरे १० महिनामै संबिधानको अस्तित्व सकिने बताएका हुन्।
अंगीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको र यस विषयमा अनर्गल प्रचारप्रसार गरिएको भन्दै कर्णले आफूहरु वैैवाहिक अंगीकृत नागरिकताको पक्षमा रहेको र अंगीकृत नागरिकता प्राप्त महिलाले क्षमता अनुसार राज्यको सबै निकायमा प्रवेश पाउनु पर्ने बताए।
मधेसको माग पुरा नगरिकन तोकिएको समयमा निर्वाचन गर्छौ भन्नु हल्ला मात्र भएको भन्दै कर्णले निर्वाचन गर्छौ भनेर सस्तो लोकप्रियता हासिलमा राजनीतिक दलहरु लागेको आरोप लगाए। कर्णले सीमांकन विवाद समाधान गर्न उत्तर दक्षिण मिलाएर जानुपर्ने र पहिचानसहितको मधेसमा दुई प्रदेश निर्धारण गरिनुपर्ने बताए।
भारतको विरोध गर्दैमा राष्ट्रबादी भइन्छ भन्ने भ्रम एक थरिका बुद्धिजीबिमा र नेताहरुमा रहेको बताउँदै कर्णले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने उनले बताए। उनले भारतको विषयमा बोले राष्ट्रघाती र चीनको समर्थन गरे राष्ट्रबादी होइन्छ भन्ने भ्रम नेपालमा फैलिरहेको बताए।