भारत: एसियाको कमजोर कडी

भारत: एसियाको कमजोर कडी

पूर्व सोभियत संघ र अफगानिस्तान, इरान र इराक, भारत र पाकिस्तानको भिडन्त गराएर एसियाको शक्ति ऐंठन र दोहन गर्दै आएको पश्चिमा धुरीको पछिल्लो कार्यसूचीमा परेको छ- पुटिन र चीनविरुद्ध विभीषण प्रवृत्तिको खोजी र उपयोग । नभन्दै नाटोले रूसविरुद्ध युक्रेन पाएको छ भने चीनविरुद्धका 'रणनीतिक दास' का रूपमा भारत र जापानलाई भेट्टाएको छ ।

गत अप्रिलमा अमेरिका र भारतबीच एकअर्काका जल, स्थल र वायु सैन्य अखडा एकअर्काले प्रयोग गर्न सक्ने सम्झौता भएपछि चीन र भारतलाई भैँसीको मासु सिङको अचानो गरेर सिध्याउने र एसियाको गति र समृद्धि रोक्ने अमेरिकी अभीष्टलाई राहत पुगेको छ । अमेरिकी महादेशमा तत्काल तनाव नरहेकाले यस सम्झौतामा टेकेर भारतले अमेरिकी सैन्य अखडा प्रयोग गर्ने त के, छुने अवसर पनि पाउने छैन ।

हुने भनेको हिमालयदेखि हिन्द महासागरसम्म अमेरिकी हस्तक्षेपको ढोका खुल्ने हो । पश्चिमा शक्तिका अगाडि मोदी प्रशासनको यो भावभक्तिले के देखाउँछ भने अघिल्ला शदीमा जस्तै यो शदीमा पनि भारतेली शासक वर्ग नै एसियाको कमजोर कडी हो ।

एसियामाथि पश्चिमा ऐंठन र दोहनको सुरुवात ईसाको पन्ध्रौं शताब्दीबाट भयो । पोर्चुगलका नाबिक भास्को डिगामाले १७ मे १४९८ मा भारतको कालिकट उत्तरको तटमा पहिलो युरोपेली जहाज उतार्नु र सन् १५१० मा पोर्तुगली योद्धा अल्बुकर्कले दोवा बन्दरगाहमाथि आधिपत्य जमाउनुसँगै एसियाको आँगनमा औंसीको अवतरण भयो ।

पोर्चुगलले सुरु गरेको एसियामा युरोपेली हैकम फ्रान्स र बेलायतले मजबुत पारे भने हाल अमेरिका नयाँ विश्व व्यवस्थाको नाममा नवीकृत गर्दैछ । इतिहासको ऐना हेर्दा थाहा हुन्छ, पश्चिमाहरू एसियाली उदीयमान शक्तिविरुद्ध कसरी राजनीति, कूटनीति र युद्धनीति केन्द्रीकृत ढंगले सञ्चालन गर्छन् ।

अमेरिकाले युद्ध हुनुपूर्व नै शत्रु पक्षलाई कसरी एक्ल्याउने र उसका गोप्यता कसरी फुत्काउने कला उपनिवेशकालीन बेलायतबाट विरासतको रूपमा पायो । उसलाई के थाहा छ भने अंग्रेजले एसियामाथि पकड जमाउँदा एक्लै नभई स्वदेशी राज्यको आन्तरिक छिद्र र छिमेकी राज्यको विद्वेष र स्वार्थलाई भरपूर उपयोग गरेको थियो । विन लादेन, सद्दाम हुसेन, परवेज मुसर्रफलाई पालैपालो प्रयोग गर्न र मिल्काउन अभ्यस्त अमेरिकाको चंगुलमा मोदी प्रशासन फस्नु चीनको लागि मात्र नभई भारतको लागि पनि हितकर छैन ।

प्रान्तीय राजनीतिबाट एकाएक केन्द्रमा पुगेका पूर्व रूसी राष्ट्रपति बोरिस यल्तसिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच धेरै समानता पाइन्छ । विशेषगरी आगमनकालको उत्साहजनक जनलहर तथा उधारो समर्थन, शासनकालको निरसता र कमजोर स्वाभिमानमा समानता छ ।

यल्तसिनले प्रान्तीय राजनीतिबाट एकाएक रूसको सर्वेसर्वा भएपछि अमेरिकालाई रूसका आन्द्राभुँडी सुम्पिएका थिए भने गुजराती राजनीतिका रोल मोडेल हुँदै एकाएक भारतको केन्द्रीय राजनीतिमा एकछत्र पकड जमाउन सफल मोदीमा पनि अमेरिकालाई भारतका आन्द्राभँडी सुम्पिने हतारो देखिएको छ । रूसको मान, शान, स्वाभिमान, समृद्धि र श्रीवृद्धि कुल्चिएर जोरीपारी हँसाउनमा यल्तसिनका गुरु सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल सेर्गेइ गोर्वाचोभ थिए ।

इतिहासबाट पाठ सिक्ने चेत भारतेली शासक वर्गमा छैन । असल छिमेकीविरुद्ध फलाम हुनु र पश्चिमालाई सलाम दिनु दिल्लीको नित्य कर्म हो । देश र महादेशका जनताको मन जित्नेभन्दा पनि पश्चिमाको प्रिय बन्ने मोदी मोह हेर्दा सम्भवतः नोबेल शान्ति पुरस्कारले भारत पुग्नुपर्ने कष्ट उठाउनुपर्नेछ । किनकि सोभियत संघसँगै भीरबाट खसाउनुपूर्व गोर्वाचोभलाई पनि नोबेल शान्ति पुरस्कार थमाइदिएर आँखा चिम्लिन लगाइएको थियो ।

शक्ति दिगो र दरिलो हुनलाई दूरदर्शी, स्वाभिमानी, निर्लोभी र सहिष्णु महानायकको पोषण चाहिन्छ । अमेरिकाले स्थापनाकालदेखि नै यस प्रकारको पोषण पाएको छ भने एसिया विशेषगरी दक्षिण एसिया कुशल राजनेताको पोषण पाउनबाट वञ्चित छ । अमेरिकाले हरेक जटिलता सुल्झाउन सक्ने योग्य नेता पाएको छ तर दक्षिण एसियाको अधोगतिका जरा कमजोर र अदूरदर्शी नेतृत्वमा गएर रोपिने गरेको छ । अमेरिका त्यसै महाशक्ति बनेको छैन ।

जर्ज वासिंटन, जेम्स मुनरो, अब्राहम लिंकन, विड्रो विल्सन र फ्रेंकलिन रुजबेल्टले अमेरिकालाई संकटबाट पार लगाएर भित्रैदेखि बलियो बनाएका थिए । स्वतन्त्रतालगत्तै अमेरिकी जनताले स्वतन्त्रताका महानायक वासिंटनलाई राजाका रूपमा हेरेका थिए तर वासिंटन आत्मकेन्द्रित थिएनन् । उनले त्याग र दूरदर्शिता देखाए । उनले देशलाई छलकपटले भरिएको कमजोर सामन्ती राजतन्त्रको जगमा नभई आम जनताको सहभागिता र नियन्त्रण रहने लोकतन्त्रको बलियो जगमा उभ्याए ।

अमेरिकाका पाँचौं राष्ट्रपति जेम्स मुनरोले अमेरिकी महादेशलाई युरोपिली हस्तक्षेपबाट मुक्त पारे । सन् १८२३ मा उनले एक ऐतिहासिक घोषणा गरे, 'अमेरिकी गोलाद्र्धमा कुनै पनि देशद्वारा हस्तक्षेप गर्ने प्रयास संयुक्त राज्य अमेरिकाप्रति शत्रुतापूर्ण कारबाही मानिनेछ ।' यही घोषणालाई मुनरो सिद्धान्त भनिन्छ । सोह्रौं राष्ट्रपति लिंकनले देशलाई भयानक गृहयुद्ध (१८६१-६५) र विभाजनबाट जोगाए ।

राष्ट्रपति स्थर फोर्ड हामेसले समान अधिकारको बहाली, रेललाइनको विस्तार, आर्थिक वृद्धिमार्फत अमेरिकाको लागि प्रगति र शक्तिको आधारशिला खडा गरे । २८औं राष्ट्रपति विड्रो विल्सनले कूटनीति प्रयोग गरी अमेरिकालाई प्रथम विश्वयुद्धबाट तटस्थ राखे र युद्ध अवधिभरि युद्ध सामग्री उत्पादन गरी अन्य देशलाई मनलागी दाममा बेचेर देशलाई धनकुबेर बनाए । वामपन्थी झुकाव राख्ने राष्ट्रपति रुजबेल्टले न्यु डिलको परिकल्पनाबाट पहिलो विश्वयुद्धपछिको मन्दीको संकट हटाए ।

कर्मचारीतन्त्र हाबी र केन्द्रीय राजनीतिमा अनुभवहीन खेलाडी भएको मौका छोपी अमेरिकाले मतलब फुत्काएको सत्य भ्लादिमिर पुटिनले जस्तै जब भारतीय मोदीका उत्तराधिकारी भविष्यमा जब गुलाब सिंह प्रवृत्तिबारे चाल पाउनेछन् । त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ ।

बैंकको अनुगमन, ढुकुटीको सुन सस्तो दरमा बिक्री, कृषिमा वित्तीय सहायता, सेयर बजार नियन्त्रण, बेरोजगार अन्त्य, बेकारी, वृद्धअवस्था, बिमारी र विकलांगलाई राहत र पुनस्र्थापनालगायतका समाज कल्याणका कार्य, श्रमिकको हित प्रर्वद्धन, झोपडी सफाइ, कम लागतमा गृह निर्माण, कालिगढ तथा साना कामदारलाई आर्थिक सहायता जस्ता जनसुधारका कार्यक्रम ल्याएर रुजबेल्टले एकातिर पुँजीवादले ल्याएको संकटलाई समाजवादी कार्यक्रम लागू गरेर टारे भने अर्कोतर्फ दोस्रो विश्वयुद्धमा प्रथम विश्वयुद्धमा राष्ट्रपति विल्सनले जस्तै सफल ढंगले महानायकीय भूमिका निर्वाह गरी महायुद्ध जस्तो भयानक बर्बादीको बीचमा पनि अमेरिकाको पोल्टामा लाभ, विजय र विश्वासको सौभाग्य थमाए ।

अमेरिकालाई प्रारब्ध र पुरुषार्थ दुवैले साथ दियो भने दक्षिण एसिया प्रारब्ध मात्र नभई पुरुषार्थबाट पनि ठगिँदै आएको छ । भारतीय उपमहाद्वीपमा नायकहरू सफलताको प्रवेश द्वारसम्म पुगेर पनि चिप्लिने गरेको लामो शृंखला छ । महादजी सिन्धिया, नाना फडनबीस, हैदर अली, टिपु सुल्तान, सिराजु दौला, भीमसेन थापा र रणजित सिंह छिमेकी राज्यको असहयोगका कारणले अंग्रेजमाथि विजयको सन्निकट पुगेर पनि पराजय र पतनका भागिदार बनेका थिए ।

सन् १७५७ मा भएको प्लासी युद्धमा बंगालका नवाब सिराजु दौलाविरुद्ध सेनापति मिर्जाफर प्रयोग गरेर अंग्रेजले हारेको युद्धको परिणाम उल्टाएको थियो । हैदर अली नेतृत्वको मैसुरले सन् १७६७-६९ को युद्धमा अंग्रेजलाई घँडा टेकाएर मद्रास सन्धि लाद्न सफल भएको एक वर्ष नबित्दै महादजी सिन्धिया नेतृत्वको मराठा शक्तिले सन् १७७० मा मैसुरमाथि आक्रमण गर्‌यो । सन् १७७८-८२ सम्म चलेको प्रथम अंग्रेज मराठा युद्धमा महादजी सिन्धियाले सालबाई गर्दा हारेको अंग्रेजलाई लाभ पुग्ने गरी उदारता देखाए । सन् १७९९ मा मैसुरको पतन हुँदा मराठा र पन्जाबले शक्ति भएर पनि मैसुरलाई साथ दिएनन् ।

योग्य शासकको मृत्यु कुरेर गोलमाल अवस्थामा खेल्नु अंग्रेजको अर्को चालबाजी थियो । महादजी सिन्धियाको मृत्यु कुरेर बसेको अंग्रेजले सन् १८०३ मा फ्रान्सेली सेनापति पेरोलाई किनेर मराठा शक्तिलाई तहसनहस पार्दा रणजित सिंह नेतृत्वको सिख शक्तिले अफगानिस्तानका राजा जमा शाह र अंग्रेजको छिमेकी राज्यमाथिको लुट र हडपलाई सघाइरह्यो । नेपाल अंग्रेज युद्ध सन् १८१४ मा नेपालले सहयोग माग्दा पन्जाबले मौनता साँध्यो । रणजित सिंह जीवित छँदासम्म अंग्रेजले पन्जाब माथि बक्रदृष्टि राखेन ।

जब सन् १८३९ मा रणजित सिंहको मृत्यु भयो तब अंगे्रजको षड्यन्त्रका कारण पन्जाब अस्तव्यस्त भयो । सन् १८४५-४६ को सिख अंग्रेज युद्धमा मन्त्री लाल सिंह र सेनापतिहरू तेज सिंह र गुलाव सिंहले आफ्नै सेनामाथि गद्दारी गरे । सतलज नदी किनारको सुवराव मैदानमा सिख सेना युद्ध जित्न थालेपछि लाल सिंह र तेज सिंह सेनालाई छोडेर भागे । उनीहरूले सतलज नदीको पुल काटिदिए । नेताविहीन सेनालाई हराएपछि अंग्रेजले गुलाव सिंहलाई सिन्ध र व्यास नदीबीचको पहाडी क्षेत्र दिएर गुलाम बनायो ।

भ्लादिमिर लेनिन र जोसेफ स्टालिनले बलियो जगमा उठाएको रूसको शान गोर्वाचोभ र यल्तसिनले धुमिल पारेका थिए । महात्मा गान्धी, जवाहरलाल नेहरू, इन्दिरा गान्धी, पीभी नरसिंह राव, अटलविहारी वाजपेयी, इन्दरकुमार गुजरालले बडो मेहनतले भारतको विश्वास र साख बढाएका थिए । कर्मचारीतन्त्र हाबी र केन्द्रीय राजनीतिमा अनुभवहीन खेलाडी भएको मौका छोपी अमेरिकाले मतलब फुत्काएको सत्य भ्लादिमिर पुटिनले जस्तै जब मोदीका उत्तराधिकारी भविष्यमा जब गुलाब सिंह प्रवृत्तिबारे चाल पाउनेछन् । त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.