अलमलमा परेका कामरेडहरू
विश्वका उत्पीडित जनता, भाइचारा पार्टीका नेता तथा कार्यकर्ता यतिखेर गम्भीरताका साथ नेपालको माओवादी आन्दोलनलाई हेरिरहेका छन् । सन् २००६ पछि नेपालको माओवादी आन्दोलनले गलत बाटो लियो भन्नेमा विश्वका माओवादी पार्टीहरूको एकैमत छ र यस किसिमको बाटो लिनुमा नेतृत्वपंक्तिको उच्च तहमा रहेका प्रचण्ड-बाबुरामको खराब प्रदर्शन नै प्रमुख कारण हो भन्ने पनि उनीहरूको ठहर छ ।
ठहरकर्ताहरूले कहाँकहाँ के-के भने त्यसको सूची र सन्दर्भ यहाँ सम्भव छैन तापनि घटनाक्रमहरूले यो निष्कर्ष सही साबित भएको पुष्टि गरेका छन् । बाबुराम भट्टराई माक्र्सवाद नै परित्याग गरेर पलायन भइसकेका छन्, प्रचण्डले दस्ताबेजमा मालेमा लेखे पनि उनको पार्टी मालेमाका आधारभूत मूल्यबाट धेरै पर पुगेको छ र यसले संसद्वादको रक्षाको जिम्मा लिएको छ । प्रचण्ड भारतीय विस्तारवादको सच्चा सेवक भएको यथार्थलाई भर्खरै भारत भ्रमणका क्रममा प्रचण्ड र नरेन्द्र मोदीबीच भएको पच्चीसबुँदे सम्झौताले पुष्टि गरेको छ ।
प्रचण्ड-बाबुरामको क्रियाकलापविरुद्ध विद्रोह गर्नु जायज थियो । तपसिलमा अन्य केही कुरा भए पनि विद्रोहको मूल आधार वैचारिक पक्ष नै थियो र विद्रोह सही थियो । मोहन वैद्य 'किरण' को नेतृत्वमा विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी-माओवादी निर्माण गरेपछि विश्वका माओवादी पार्टी तथा संगठनहरूले यसलाई उत्साह र आशाका साथ स्वागत गरेका थिए ।
इतिहासबाट शिक्षा लिएर र अनुभवको संश्लेषण गरेर किरणको नेतृत्वमा पार्टी अघि बढोस् भनेर उनीहरूले कामना पनि गरे । भाकपा (माओवादी) ले चिठी नै लेखेर यसको स्वागत गर्यो र पार्टीको सातौँ महाधिवेशनमा केही भाइचारा पार्टीहरू सहभागी पनि भए । तर महाधिवेशनमा देखिएको परिदृश्य र वैचारिक प्रश्नबारे विस्तारै प्रश्नहरू उठ्न थाले ।
पार्टीले लिएको कार्यदिशा र कतिपय निर्णयप्रति भाइचारा पार्टीहरू त्यति सन्तुष्ट हुन सकेनन् । कतिपयले यसलाई आलोचनात्मक किसिमले समर्थन गरे भने कतिपय अहिल्यै यसलाई आलोचना गरिनहाल्ने र पर्खिने स्थितिमा पुगे । बभ अभाकियनको 'न्यु सिन्थेसिस' लाई स्वीकार नगरेकाले सबैभन्दा आलोचकका रूपमा आरसीपी, अमेरिका देखा पर्यो ।
प्रचण्डसित विद्रोह गरेपछि कमरेड किरणको नेतृत्वमा नयाँ पार्टी गतिका साथ जानेमा सबैको आशा थियो । कार्यदिशा र संगठनात्मक संरचनालाई लिएर एकातिर पार्टी आन्तरिक कलहमा अलमलियो भने अर्कोतिर अन्तर्राष्ट्रिय क्षेत्र, खास गरेर भाइचारा पार्टीहरूसित पनि यसले राम्रो सम्बन्ध बनाउन सकेन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सन्दर्भमा अनुभव र नेतृत्वका दृष्टिले किरणले नेतृत्वमा रहेको पार्टी नै अघि थियो ।
यससित कोरिम र कम्पोसासित सम्बद्ध नेताहरू थिए । तर अन्तर्राष्ट्रिय माओवादी आन्दोलनप्रति यसले भरपर्दो विश्वास जगाउन सकेन । युरो-अमेरिकी तथा चीन-कोरियाली राजदूतावाससितको कफी गफलाई नै यसले अन्तर्राष्ट्रिय सम्बन्ध विकास गरेको ठान्यो ।
भारत, टर्कीलगायत विश्वमा चलिरहेका जनयुद्धको समर्थनको त कुरै छोडौँ, त्यहाँ माओवादी पार्टी र जनतामाथि भएका दमन र राज्यआतंकको विरोध गर्नु पनि नेकपा-माओवादीले आवश्यक ठानेन । विश्वव्यापी स्तरमा भएका यस किसिमका कार्यक्रमप्रति पनि यसले एकदमै उदासीनता देखायो । यसले भाइचारा पार्टीहरूलाई थप आशंकित तुल्याउनु स्वाभाविक थियो ।
पार्टीभित्रको एउटा समूह 'दुई लाइन संघर्ष' बिना नै अप्रत्यासित र रहस्यमय ढंगले कमरेड 'विप्लव' को नेतृत्वमा अलग्गियो । पेरिस कम्युनयताको कम्युनिस्ट आन्दोलन र विचारको इतिहास 'मिति नाघेको' भन्दै र नयाँ जनवादी क्रान्ति र यसका आधारभूत प्रस्थापनाहरू खारेज गर्दै यसले 'एकीकृत क्रान्ति' नामको हावादारी कार्यदिशा र सत्ता साझेदारीको कार्यनीति अघि सार्यो ।
किरणको नेतृत्वमा रहेको पार्टीको लागि संगठनात्मक दृष्टिले विप्लव समूहको बहिर्गमनले निकै ठूलो धक्का थियो र यसबाट शिक्षा लिएर पार्टी अघि बढ्नुपर्ने थियो । परन्तु भाषिक तारतम्य मिलाएर र अनेक परिपञ्च रचेर पार्टीले प्रचण्डसित एकताको लागि वातावरण बनाउने काममै बढीभन्दा बढी समय खर्च गर्न थाल्यो । यो सारतः विसर्जनतर्फको बाटो थियो । त्यहाँ विस्तारै दक्षिणपन्थी प्रवृत्ति हाबी हुँदै गयो र बहुमत र अल्पमतको खेलो चल्न थाल्यो ।
प्रचण्डसित एकताको प्रक्रिया चलिरहेको अवस्थामा दसबर्से जनयुद्धविरुद्ध विगतमा नकारात्मक भूमिका खेलेका र संसदीय राजनीतिमा सुखसुविधा भोगेकालाई एकताका नाममा नेकपा-माओवादीले प्रवेश गरायो । फलस्वरूप नेकपा-माओवादी झन् वैचारिक गन्जागोल र संगठनात्मक अस्तव्यस्ततामा फस्यो । अन्ततः रामबहादुर थापा 'बादल' को नेतृत्वमा रहेको बहुमत सदस्यको गुटले प्रचण्डसामु आत्मसमर्पण गर्यो ।
बादल गुटको बहिर्गमनपछि नेकपा-माओवादीले राष्ट्रिय भेला गरेर नेकपा (क्रान्तिकारी माओवादी) नाम राखेर नयाँ किसिमले जाने भन्दै राष्ट्रिय सम्मेलनको मिति तोकेको छ । यसले नयाँ किसिमले जाने भनेको के हो प्रस्ट छैन । किरणका अन्तर्वार्ता आदिले केही आशा जगाए पनि उत्साहित भइहाल्नुपर्ने स्थिति छैन । प्रचण्डको नेतृत्वमा दक्षिणपन्थीहरूको केन्द्र बनेपछि क्रान्तिकारीहरूको अर्को केन्द्र बन्नु आवश्यक थियो । तर कार्यदिशामा रहेको भिन्नता, मूलतः विप्लव समूहको अवैज्ञानिक सोचाइ र बुझाइका कारण यो प्रयासले सार्थक रूप लिन सकेन ।
कतिबेर कुन पार्टी फुट्यो र कुन नयाँ पार्टी बन्यो, किन फुट्यो र किन अर्को बन्यो, कसको के हो स्थिति र कार्यदिशा भन्नेमा भाइचारा पार्टीहरू एकदमै अन्योलमा छन् । अन्तर्राष्ट्रिय माओवादी क्षेत्रले रिमको विघटन र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखिएको समस्याको मूल जडका रूपमा प्रचण्डको नवसंशोधनवादी विचलन र 'न्यु सिन्थेसिस' मार्फत आरसीपी, अमेरिकाले अघि सारेको विसर्जनवादी चिन्तनलाई लिएको छ ।
अन्तर्राष्ट्रिय माओवादी पार्टीहरूले विप्लवको पार्टीलाई त्यति गम्भीरतापूर्वक लिएको देखिँदैन । आरसीपी, अमेरिकाकाले अघि सारेको 'न्यु सिन्थेसिस' का बारेमा किरणको नेतृत्वमा रहेको माओवादी पार्टीको बुझाइ सही भए पनि यसका अन्य कतिपय बुझाइले भाइचारा पार्टीहरू आश्चर्यमा परेका छन् ।
तीन महिनाभित्र सशस्त्र क्रान्तिको सुरुवात गर्ने होहल्ला गरेर छुट्टिएको विप्लव समूह आत्मगत स्थितिको हवाला लिएर दुई वर्षसम्म गोलचक्करमा रमाइरहेको छ । 'उत्तरसाम्राज्यवादी' धारणा अघि सारेर यसले अर्को 'रमाइलो' गरेको छ । अब आएर यसले महाधिवेशनको मिति तोकेको छ । यो कुन दिशामा जान्छ, यसको लागि महाधिवेशन पर्खिनुपर्ने हुन्छ । खुट्टी हेरेर अड्कल काट्न सकिए पनि अहिल्यै निष्कर्ष निकालिहाल्ने हतारो गर्नुचाहिँ त्यति उपयुक्त हुँदैन ।
क्रान्तिकारी कार्यदिशाको केन्द्रीयतामा क्रान्तिकारी अनुभव र उत्साहको मेल अहिलेको आवश्यकता हो । चुनावी मोर्चाले रहलपहल क्रान्तिकारीपनलाई पनि चुनाववादी धारमा विसर्जन गराउनुसिवाय केही गर्ने छैन । यसले पुर्याउने भनेको प्रचण्डकै ठाउँमा हो, नयाँ जनवादी क्रान्ति होइन ।
अन्तर्राष्ट्रिय क्षेत्रमा किरणको पार्टीलाई तीन किसिमले हेरिएको छ । अझै यो पार्टी प्रचण्ड प्रभावबाट मुक्त हुन नसकेको, मध्यपन्थी अवसरवाद अँगालेको, जनयुद्धको कार्यदिशा छोडेको र वर्गभन्दा 'पहिचानवाद' को राजनीतिलाई जोड दिएको भन्ने भाइचारा पार्टीहरूको प्रतिक्रिया छ । हिजो नारायणकाजीको पार्टीसित एकता गर्दा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र आरसीपी, अमेरिकाले ठूलो वैचारिक त्रुटि भनेर प्रश्न उठाएका थिए ।
समयले यो ठहर सही थियो भनेर पुष्टि गरेको छ । आखिर यो एकता माओवादी पार्टीभित्रको क्रान्तिकारी धारलाई कमजोर बनाउने साधन साबित भयो । अहिले परी थापाहरूसित गरिएको पार्टीएकतालाई पनि भाइचारा पार्टीहरूले सही मानेका छैनन् र सहजरूपमा लिएका छैनन् । पछिल्ला दिनमा किरणको नेतृत्वमा रहेको माओवादी पार्टीप्रति भाइचारा पार्टीहरूले त्यतिसारो चासो नदेखाउनुको पछाडि यस्तैयस्तै कारणहरू कारकतत्त्व बनेका छन् ।
भाइचारा पार्टीहरूले सीपी गजुरेल 'गौरव' को नेतृत्वमा बनेको चुनावी मोर्चालाई लिएर आश्चर्य प्रकट गर्नु स्वाभाविक छ । अझ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र माओवादीमा प्रकाशित गौरवको लेख 'अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन: वर्तमान सन्दर्भमा' ले उनीहरूलाई चिढ्याउने मात्र नभएर आक्रोसित नै तुल्याउनेछ । अन्तर्राष्ट्रिय वस्तुस्थितिबारे गौरवको बुझाइमा यथार्थको अभाव छ ।
नेकपा (क्रान्तिकारी माओवादी) ले पनि फागुनमा राष्ट्रिय सम्मेलन गर्ने भनेको छ । यो पार्टी अब कसरी जाला ? यसले कस्तो कार्यदिशा पारित गर्ला ? भारतीय राजदूतसामु लम्पसार पर्ने आईएनजीओवादी-पहिचानवादीहरूको सञ्जाललाई यसले कसरी तोड्ला ? प्रश्नहरू छन् । भर्खरै बनेको चुनावी मोर्चाले थप अन्योल उत्पन्न गरेको यथार्थलाई आत्मसात गर्नु जरुरी छ । क्रान्तिकारी कार्यदिशाको केन्द्रीयतामा क्रान्तिकारी अनुभव र उत्साहको मेल अहिलेको आवश्यकता हो ।
चुनावी मोर्चाले रहलपहल क्रान्तिकारीपनलाई पनि चुनाववादी धारमा विसर्जन गराउनुसिवाय केही गर्ने छैन । यसले पुर्याउने भनेको प्रचण्डकै ठाउँमा हो, नयाँ जनवादी क्रान्ति होइन ।
टपरटुड्ढयाँ अध्ययन भनेको आधा भाँडो पानी हो, उत्ताउलिन्छ मात्र । उत्साह, आवेग, आक्रोस र गन्तव्यहीन कार्यदिशाबाट क्रान्ति हुने भए, मालेमा भनिरहनु आवश्यक थिएन । किरणहरू पनि अनुभववादी गोलचक्करमै विसर्जित हुनुहुन्छ कि क्रमभंग गर्नुहुन्छ, सम्मेलन नै पर्खिनुपर्ने हुन्छ । अहिलेलाई कमरेडहरू ! तपाईंहरू अलमलिनुभएको छ, सही दिशा लिनुहोस् भनेर कामना मात्र गर्न सकिन्छ र आलोचनात्मक समर्थनको 'लक्ष्मण रेखा' पार गर्न सक्ने स्थिति छैन ।