उपलब्धि कि अवमूल्यन
मलिन मुहार लिएर भारत भ्रमण गएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' फर्कंदा हतास देखिनुभयो । यसपटक भारत गएर खासै आकाश पल्टाउनुपर्ने केही थिएन । एउटा सार्वभौम मुलुकको कार्यकारी प्रमुख भएर नियमित सम्बन्धलाई सम्मानजनक निरन्तरता दिनेबाहेक अरू केही बोझ बोक्नुपर्ने अवस्था थिएन, छैन पनि । मित्रताको विकल्प छैन दुवै पक्षलाई ।
यो सत्यसामु कुनै दबाब खेप्नु थियो भने त्यो सामान्य परिघटनाको परिणाम होइन । आधुनिक नेपाली इतिहासको सबैभन्दा जटिल र नोक्सानदायी कालकाण्ड (सशस्त्र युद्ध) का प्रणेताले शान्तिकालमा किन यस्तो मन अशान्ति गर्नुपर्यो ? मित्र भेट्न जाँदा मन किन यति अधीर ? मित्र मित्रै हुन् भने कुरा सामुन्नेमै भन्न सकिन्छ र अप्ठेरो फुकाउन सकिन्छ ।
नयाँ संविधानको पृष्ठभूमिमा बिग्रेको नेपाल-भारत सम्बन्धसँगै नेपाली जनताले असाध्यैको संकट बेहोर्नुपर्यो, नाकाबन्दीका कारण । हिमालदेखि तराईसम्मको नेपाली स्वाभिमानकै जित भएको थियो, त्यो नाकाबन्दीमाथि । त्यसको राजनीतिक जस एउटा पक्षलाई मिल्यो, जसले खासमा योगदानभन्दा चातुर्य प्रयोग गर्यो, जुन राजनीतिमा सामान्य हो । तर त्यसले हाम्रा राजनीतिक खेलाडीबीच अनौठो ईश्र्याको वातावरण बन्यो ।
भूकम्पको घाउ मेट्ने, नाकाबन्दीका खाड्ल पुर्नेभन्दा अब कसरी फेरि सत्ता लडाइँमा जाने भन्ने मेलो सुरु भयो । त्यसको लागि राजनीति र राष्ट्रनीतिका केही विशेष मूल्यहरू तिलाञ्जली दिने काम भए, जुन भएरै हाम्रो मुलुक लामो समयसम्म अविकास र पछौटेपनबाट अभिशप्त हुने खतरा देखिन्छ ।
प्रचण्डलाई फेरि एकपटक प्रधानमन्त्री बन्नैपर्ने बाध्यता आइपरेको थियो । रहर त पहिलोपटक थियो, जतिखेर उहाँले बैंसमा गरिने भूलजसरी चुक्ने काम गर्नुभयो । तर यो बाध्यता कति कटमिरो छ भन्ने उहाँको अनुहारमा पढ्न सकिन्छ, हाउभाउमा देख्न सकिन्छ । जनताको छोराले प्रधानमन्त्री बन्दा कति हौसला प्राप्त गर्छ ? यो किन प्रचण्डमा छैन अहिले ?
अचम्म मान्नुपर्ने छैन, भावुक बनिहाल्ने उहाँका अहिलेका अनुभव केही समयपछि फेरि स्वीकारोक्तिका रूपमा प्रकट होलान् । परन्तु जस्तै बाध्यतामा रहे पनि प्रधानमन्त्रीको कुर्सी त्यति बलियो हुन्छ, जहाँबाट आफूलाई बाँध्ने सबै कडा तार छिनालेर जनतामाझ जाँदा स्विकारिने ठाउँ रहन्छ । राजनीतिको सौन्दर्य नै त्यही हो । शक्तिको सिद्धान्त नै त्यही यो । शक्तिको रूपान्तरण अर्थ बुझ्नेहरू नै सफल हुन्छन् ।
राजनीति त्यस्तो पनि खेल हो, जसमा नसोचेको बखत 'स्कोर' गर्ने मौका मिल्छ । 'फ्ल्युक' का अवसरहरूबाट दुनियाँव्यापी उपाधि जितिन्छन् । तर त्यो 'फ्ल्युक' आइपर्दा पोस्ट् विपक्षीको हो कि आफ्नै हो भन्ने खुट्याउनुपर्छ । प्रचण्डले दोस्रो गोल गर्न पाउँदा पोस्ट् चिनेको हो कि होइन, त्यो केही समयपछि 'रिक्याप' मा हेर्नुपर्ने होला ।
तर गोल प्रचण्डले टोलीलाई जिताउने गरी हान्न सक्थे । एउटा पोस्टबाट सीधै हानेको बल अर्कोमा गएर गोल भएको अनौठो घटना खेल इतिहासतिरै खोज्नुपर्ला ।
प्रचण्ड भारत जानुअघि राजधानीमा एउटा छलफल भएको थियो, विषयविज्ञ, समीक्षक र राजनीतिक व्यक्तित्वहरूबीच । त्यतिखेर एउटा निकै राम्रो निष्कर्ष निकालियो- प्रचण्डजी, धेरै गहुँगो भएर नजानोस्, माग्नुपर्ने केही छैन, समभाव र समदूरीको मित्रताको लागि संवाद गर्नोस् । आखिर आवश्यकता पनि त्यति मात्रै हो । एक राजनीतिकर्मी साथीले 'पानी कहाँनेर धमिलिएको छ', त्यहीं मात्र हेर्नोस् भन्नुभयो ।
एक युवा अर्थशास्त्रीले मित्र मुलुकलाई एउटा विशुद्ध सहयोग परियोजनामा राजी गराएर सम्बन्ध सुधारको नमुना थालनी गर्नोस् भन्नुभयो । वास्तवमा ती अति अर्थपूर्ण सुझाव थिए । वास्तवमा मागेर मात्र, त्योवापत ठाउँ कुठाउँ मसी चुहाएर कहिल्यै मुलुकको भलो हुन सक्दैन ।
यो कुरा प्रचण्डले बुझ्नुभएको छैन भनेर भन्न पनि मिल्दैन । तर मानिस कतिपय अवस्थामा कर्मको चपेटामा पर्छ, अनि चेतना र अभिव्यक्तिबीच बेमेल हुन सक्छ ।
प्रचण्डले सम्बन्ध सुधे्रको भन्दै भ्रमणको सफलता दाबी गर्नुभयो । यथार्थमा नेपाली नेताहरूले भारतजस्तो निकटको छिमेकी मुलुकमा गर्ने भ्रमणलाई सगरमाथा आरोहणसरह ठानेर सफलता, असफलता भनिरहनुपर्ने जरुरी नै छैन । एउटै साँधमा रहेर केलाई सफल भन्ने, के भए असफल भन्ने ? भ्रमण असफल भएर भारत सफल हुने हो र ? भारतमै पनि लामो समयदेखि आफ्नो विदेश नीति समीक्षा हुनुपर्ने भनेर गम्भीर छलफल हुँदै आएको छ ।
राजनीति र प्रशासनमा रहेका कतिपय गढित धारणाका विषयमा एउटा ठूलो समूहले असहमति राख्छ । भारत संसारकै सबैभन्दा ठूलो प्रजातन्त्र हो । भारतले विश्वमन्चमा आफ्नो छवि राख्न आफ्ना कमजोरी सुधार गर्नैपर्छ भनेर महसुस गरेको पनि पाइन्छ ।
दोस्रोपटकको नेपालमाथिको नाकाबन्दीपछि सम्बन्ध सुधारका अनेक उपायमा भारतले नै बढी मेहनत गरेको हो । यो अवस्था नेपालको लागि एउटा अवसर थियो । द्विपक्षीय सम्बन्धहरूमा संकटपछि उत्पन्न हुने तटस्थीकरण (न्युट्रलाइजेसन) को ठूलो महत्त्व हुन्छ ।
समकालीन नेपाली राजनीतिमा यो अवसरको महत्त्व नबुझिएको हो कि भन्ने भान हुँदैछ । जसले गर्दा जनतामा फेरि एकपटक निराशाको वातावरण बन्ने देखिन्छ । सँगसँगै, नेपाली भूमि भूराजनीतिका जटिल खेलमा फेरि रुमलिने खतरा देखिँदैछ ।
आफ्नो निहित स्वार्थको लागि नेपाल-भारत सम्बन्धलाई कहिल्यै राम्रो बन्न नदिनेहरू, बरु मुलुकको हितलाई दाउमा राख्न पछि नपर्नेहरू प्रचण्डलाई राम्रैसँग प्रयोग गर्ने काममा सफल भएका छन् । ती पक्ष सीमाका दुवैतर्फ छन् ।
प्रचण्डले भारतसँगको सम्बन्ध मिलाउने मामिलामा केही गर्न सकेनन् भनेर भन्नुभन्दा पनि गर्नै नहुने केही गरे कि भन्नेसमेत चर्चा भइरहेको छ । १९५० को सन्धिलाई समयानुकुल बनाउने, सीमा नियमनका ठोस बुँदामा जाने, अड्किरहेका परियोजनालाई ठीक समयसीमामा प्रतिबद्ध गराउने विषय मात्रै प्रचण्डको एजेन्डा बन्नुपर्ने थियो ।
नेपालको आन्तरिक राजनीतिबारे प्रसंग उठ्दा प्रसन्न चित्तमा आत्मविश्वासपूर्वक 'हाम्रो मामिला हामी नै मिलाइहाल्छौं नि' भन्नु सक्नुपर्ने हो, हरेक नेताले । ज्ञातै छ, हामीकहाँ मुलुक सम्झेर अडान लिने नेता सामान्यतः कमै छन् । त्यसविपरीत आफ्नो ओहोदा बिर्सेर, देशको गरिमा बिर्सेर ठूला सहरमा पुग्दा भताभुंग महसुस गर्ने मानसिकताको कुनै दबाइ छैन ।
सम्बन्धमा सम्मान मात्रै दीर्घजीवी हुन्छ । सम्मान त्यो चिज हो, जसको संरक्षण आफ्ना लागि आफैंले गर्ने हो । प्रचण्डले सरकारमा गएर आफ्नो लागि अर्को भास बनाउँदैछन् कि भनेर ठान्न मिल्ने अवस्था विस्तारै प्रस्ट हुँदैछ । जे होस् एकचोटि प्रधानमन्त्री बनिछोड्छु भन्ने एउटा पक्ष हुन सक्छ, उहाँको मानसिकताभित्र । किनकि नेपाली राजनीतिमा सत्तामा बसेर मात्र साख बचाउन सकिन्छ भन्ने मति प्रभावशाली छ ।
राज्यसंयन्त्रमा गइसकेपछि त्यसलाई सर्वपक्षीय मिलोमतोमा पार्टी र व्यक्तिविशेषका लागि दोहन गर्ने परिपाटी हामीकहाँ उसै हट्नेवाला देखिँदैन । अर्को कुरा, अबचाहिँ राम्रो काम गर्छु भनेर सोच्या होला भन्ने खाले 'शंकाका सुविधा' दिनेहरू पनि छन् । त्यो सत्य भइदिएको भए हुन्थ्यो । सुध्रन सबैले पाउँछन् ।
राजनीति र शरीरको पद्धति धेरैजसो मिल्छ । लक्षण देखिइहाल्छ, रोग लुकाउन सकिँदैन । प्रचण्डले यतिबेला संयुक्त वक्तव्यका बुँदालाई लिएर आफ्नो बचाउ गर्नुपर्दा बहुतै टिठलाग्दो स्थितिबाट गुज्रनुपरेको छ । यसलाई नकारात्मक नठान्नोस् भनेर मात्रै आत्मरक्षा गर्नुपर्ने स्थिति कुनै बेला हरेक मामिलामा बाघ झैं गर्जने व्यक्तिको लागि कति सुहाउँदिलो हो भनेर सहजै बुझ्न सकिन्छ ।
वास्तवमा सार्वभौम मुलुकको प्रधानमन्त्री यति क्लान्त देखिनु, आफैंले हस्ताक्षर गरेका शब्दको इज्जत राख्न यति याचनाशील हुनु ठीक होइन । प्रधानमन्त्री भइसकेपछि म जनताको शक्तिको सर्वोच्च प्रतिनिधि हुँ भन्ने कुरा बिर्सनु नै सबैभन्दा ठूलो योग्यता ह्रास हो । प्रचण्डले कत्तिको गृहकार्य गर्नुभएको थियो, के गर्ने-नगर्ने भनेर ? उहाँका टोलीले केकति यथोचित परामर्श दिए, त्यसमा बहस गरेर कुनै लाभ छैन ।
नेपाली कूटनीतिक टोली जेनतेन अंग्रेजी बोल्नेबाहेक अन्य विवेक र क्षमता प्रयोग गर्ने सवालमा सायदै खरो उत्रेको छ । यसमा बढी विवेचना गर्ने सन्दर्भपछि आउला ।
जम्माजम्मी केचाहिँ प्रस्ट देखिन्छ भने आफ्नो निहित स्वार्थको लागि नेपाल-भारत सम्बन्धलाई कहिल्यै राम्रो बन्न नदिनेहरू, बरु मुलुकको हितलाई दाउमा राख्न पछि नपर्नेहरू प्रचण्डलाई राम्रैसँग प्रयोग गर्ने काममा सफल भएका छन् । ती पक्ष सीमाका दुवैतर्फ छन् । जनस्तरका सम्बन्ध, धर्म-संस्कृति र इतिहास हेर्दा यी दुवै भूमिमा यी प्रवृत्तिले ठाउँ पाउनु हितकर होइन ।
तर फेरि पनि त्यही प्रवृत्ति विजयी भएको छ । यसले नेपाल-भारत सम्बन्धको विहंगमता र गरिमालाई अवमूल्यन गरेको छ । यसले गर्दा नेपाल र भारतबीच एक वर्ष लामो कठिन स्थितिको सम्बन्धबाट निर्मित तटस्थीकरणको अवस्था फेरि गुमेजस्तो देखिन्छ । यसको मूल्य समयसँगै लेखाजोखा होला ।