'ए फर एप्पल ' भन्ने मलिहाको सपना
मलिहा तीन वर्षकी भइन् । अहिले उनी नर्सरीमा पढ्छिन् । उनी उत्सुक र उत्साही पनि छिन् । ‘ए फर एप्पल, बी फर बल’ उनी यस्तै भनिरहन्छिन् । राति निद्रामा उनले एउटा सपना देखिन् । सपनामा उनी आफ्ना बाबासँग सफारी पार्क घुम्न गएकी थिइन् । त्यहाँ उनले जंगली जनावरहरू देखिन् । तिनीहरूसँग उनलाई खेल्न र नाच्न मन लाग्यो । त्यहाँ उनले हात्ती चढिन् । जंगल घुम्न थालिन् । उनले जेब्रा र घोडालाई पनि त्यतै देखिन् । जेब्राले मलिहालाई हेर्दै भन्यो, ‘नमस्कार नानी ।’ घोडाले पनि बोल्यो । उनी खुसी भइन् र अचम्म पनि मानिन् ।
उसले पनि नमस्कार फर्काउँदै भनिन्, ‘नमस्कार जेब्रा ।’ जेब्राले भन्यो, ‘तिमी कत्ति राम्री हगी, अब म तिमीसँग खेल्छु है ।’ मलिहाले खुसी हुँदै भनिन्, ‘भइहाल्छ नि, म पनि तिमीसँग खेल्न पाए खुसी नै मान्छु ।’
मलिहाले हात्तीलाई भनिन्, ‘हात्ती बा... हात्ती बा..., हामी एकै क्षण यहाँ बसांै न हुन्न ? ’ बालभावना हात्तीले पनि बुझ्यो । मलिहा, हात्ती र जेब्रा त्यहीँ बसे । जेब्राले आफू उफ्रीउफ्री मलिहालाई नाच देखायो । जेब्राले भन्यो, ‘मेरो साथी जिराफ पनि छ, त्यसलाई पनि म यहीँ बोलाउँछु है त ।’ मलिहा अझै खुसी भइन् । उनले भनिन्, ‘हुन्छ, हुन्छ मैले पनि टीभीमा एनिमल प्लानेट हेर्दा जिराफ देखेको छु । मलाई जिराफ छुन मन लागेको छ । मलाई जिराफ मन पनि पर्छ ।’
जेब्राले जिराफलाई बोलायो । जिराफ त्यहीँ आयो । ऊ पनि मलिहालाई देखेर खुसी भयो । सानी नानीले आफूहरूलाई माया गरेको देखेर जंगलका जनावर सबै खुसी भए । जिराफले भन्यो, ‘मलाई पानी तिर्खा लागेको छ, म पानी खाएर आउँछु, अनि हामीसँगै सबैजना खेलौंला ।’
सानी मलिहाको जंगली जनावरप्रतिको मोह हात्तीले बुझ्यो । हात्तीले धेरै खुसी भएर भन्यो, ‘मलिहा तिमी जेब्रा, जिराफसँगै खेल्दै गर । जिराफ भाइलाई पानी तिर्खा लागेको रहेछ, म आफ्नो सँडभरि पानी खोजेर ल्याउँछु र जिराफ भाइलाई खुवाउँछु ।’ हात्तीको कुरा सुनेर जेब्राले पनि भन्यो, ‘तिर्खा त मलाई पनि लागेको छ ।’ हात्तीले फेरि भन्यो, ‘मैले पिउने पानीको मुहान देखेको छु, मलिहा सानी नानी खुसी हुन्छिन् भने यिनीहरूलाई तिमीहरू खेलाउँदै गर, म तिमीहरूको तिर्खा मेटाउँछु । तिमीहरूलाई पानी खुवाउने काम मेरो भो ।’ जेब्रा र जिराफले मलिहासँग कुरा गरिरहे । मलिहाले जिराफ र जेब्रा दुवैलाई माया गरी र उनीहरू रमाउँदै बसे ।
मलिहा सपनाबाट ब्यँझिइन् । उनी रुन थालिन् । छोरी रोएको सुनेर उनको बाबाले सोध्नुभयो, ‘नानी किन रोएको ? ’ उनले बिछ्यौनाबाटै माग गरिन्, ‘मलाई हात्ती चाहियो, मलाई जेब्रा चाहियो, मलाई जिराफ चाहियो ।’
उनको बाबाले उनलाई फुल्याउँदै भन्नुभयो, ‘अहिले राति छ, बाबालाई बाहिर जान डर लाग्छ, अहिले नानी सुत, भोलि म नानीलाई सबै कुरा ल्याइदिन्छु ।’ उनी आँखा माड्दै रोइरहिन् । उनको बाबाले उनलाई काखमा राखेर लोरी गीत गाउँदै भन्न थाल्नुभयो, “हाम्री नानी ज्ञानी छ, झगडा नि गर्दिनन्, नुनु बाबा नुनु, नुनु नानी नुनु ।’