दोषीलाई कारबाही गर्ने विधेयकमा ओबामाद्वारा भिटो
वासिङटनः संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले सेप्टेम्बर हमलाका पीडितका आफन्तले साउदी अरेबियाविरुद्ध मुद्दा दायर गर्ने विधेयक रोक्न भिटो पावर (निषेधाधिकार) लगाएका छन् । राष्ट्रपति ओबामाले यस कामबाट अमेरिकाको राष्ट्रिय हितमा गम्भीर प्रभाव पर्न सक्ने भन्दै भिटो लगाएका हुन् ।
अमेरिकी हितका विरुद्ध भएकाले ‘आतंकवादका प्रायोजक विरुद्ध न्याय’ (जेएएसटिए)विरुद्ध आफूले भिटो लगाएको उनले स्वीकार गरे । ओबामाले भने, ‘आतंकवादका प्रायोजकविरुद्ध कानुनी रूपमा रिपब्लिकन पार्टीको बहुमत रहेको कंग्रेसको दुवै बैठकले पारित गरेको थियो । यो विधेयक पारित भएको भए सम्प्रभुतासम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तको चुनौती हुने र यसबाट अमेरिकी हित र विदेशमा रहेका अमेरिकी नागरिकमाथि नराम्रो हुन सक्थ्यो ।’
ओबामाले उक्त विधेयक अमेरिकी ‘फरेन सोभरन इम्युनिटिज एक्ट’ को प्रावधान र अन्तर्राष्ट्रिय मान्यताअनुसारको नभएको दाबी गरे । अमेरिकी राष्ट्रपतिले यस विधेयक पारितपछि आउन सक्ने परिणामप्रति चिन्ता प्रकट गरे । जेएएसटिएबाट सम्प्रभुता सम्बन्धी विषयमा अप्ठेरो पर्ने बताए ।
यस्तै नियम अन्तर्राष्ट्रियस्तरमा लागू हुन सक्ने र यसबाट अमेरिका पनि प्रभावित हुने ओबामाको भनाइ थियो । उनले साउदी अरेयिबा अमेरिकाको निकटतम साझेदार भएको र यसबाट सम्बन्ध बिग्रने चेतावनी दिए । जेएएसटिए विधेयक लागू भए अमेरिकी अदालतले अमेरिकी सहयोगी र साझेदारका विरुद्ध लगाइएका सामान्य मुद्दामा पनि आकर्षित हुने बताए ।
ह्वाइट हाउसका प्रेस सचिव जोसे अर्नेस्टले अमेरिकी राष्ट्रपतिको निर्णय उचित भएको स्पष्ट पारे । कंग्रेसका सदस्यसँग कुराकानीपछि अमेरिकी राष्ट्रिय सुरक्षालाई दीर्घकालीन प्रभाव पर्ने हुनाले ओबामाले यस्तो निर्णय लिएको बताए । राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले यसको कडा आलोचना गरेका छन् । उनले भने, ‘आतंकवादका प्रायोजकका विरुद्ध ल्याइएको न्याय विधेयकमा ओबामाले भिटो लगाउनु लज्जाजनक भएको र यो निकै घटिया काम हो ।’