डा. गोविन्द केसी नवौं पटक अनसनमा
काठमाडौंः त्रिवि शिक्षण अस्पतालका प्रा.डा गोविन्द केसीले नवौं पटक अनसन सुरु गरेका छन्। सरकारलाई दिएको अल्टिमेटममा पनि आफ्ना माग पूरा हुन नसकेको भन्दै केसीले सोमबार दिउँसो ४ बजेदेखि नवौं अनसन सुरु गरेका हुन्।
केसीले सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी अनसन सुरु गरेको घोषणा गरे। डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै यसअघि पटक–पटक अनसन बस्दै आएका थिए।
डा. केसीले चार बुँदे माग अघि सार्दै अनसन सुरु गरेका हुन्। केसीले आफूहरुले पेश गरेका सुझाव अनुरुप संशोधन गरी चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नु पर्ने माग पहिलो बुँदामा राखेका छन्।
यसैगरी केसीले अख्तियार दुरुपयोग अनुसनधान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोग लगाउनु पर्ने माग समेत अघि सारेका छन्।
उनले माथेमा आयोगको सिफारिस बमोजिम मेडिकल शिक्षा शुल्क लागू गर्न र निजी मेडिकल कलेजका प्रतिनिधिसमेत सम्मिलित समिति खारेज गर्नु पर्ने माग पनि सरकारसँग गरेका छन्।