११ चलचित्र घरले मनोरञ्जन कर नतिर्दा २५ लाख बक्यौता
काठमाडौँः काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालन हुँदै आएका ११ वटा चलचित्र घरले मनोरञ्जन कर नतिर्दा रु २५ लाख बक्यौता बाँकी छ ।
हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत रही सञ्चालन भएका चलचित्र घर ११ वटा छन् । तीमध्ये छ वटाको आफ्नै भवन रहेको छ भने पाँच वटा भाडाका रहेका छन् ।
सञ्चालित सबै चलचित्र घरले मनोरञ्जन कर नतिर्दा यतिधेरै बक्यौता बाँकी रहेको काठमाडौँ महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रवकुमार काफ्लेले जानकारी दिए ।
‘चलचित्र घरले हालसम्म कर तिरेका छैनन्,’ उनले भने । अब केही दिनभित्रमा कर नतिरे कानुनी प्रक्रिया अघि बढाउने राजस्व महाशाखाले तयारी गरेको छ । कर नतिर्ने चलचित्र घरको सुविधा कटौती गर्दै लगिने, मालपोत रोक्ने, बैंक खाता रोक्का गर्ने जस्ता कारबाही गरिने छ ।
चलचित्र घरमा टिकट बिक्री हुने बित्तिकै प्रति टिकट मूल्यको दुई प्रतिशतका दरले मनोरञ्जन कर तिर्नुपर्ने प्रावधान छ ।
महानगरपालिकाले २०५६ सालदेखि चलचित्र घरको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको हो ।
मूल्य अभिवृद्धि कर लागू भएपछि मनोरञ्जन कर हटेको भन्दै चलचित्र घरले सो कर तिर्न आनाकानी गरेको काफ्ले बताउछन् । तर स्थानीय स्वायत्त शासन कर नियमावली अनुसार मनोरञ्जन कर लिने व्यवस्था रहेकाले उक्त शीर्षकको कर कुनै पनि हालतमा तिर्नुपर्ने उनको भनाइ छ । रासस