सरण्यू र सूर्य

सरण्यू र सूर्य

सूर्यपत्नी सरण्यूको उल्लेख ऋग्वेदको मण्डल १०, सूक्त १७ को मन्त्र २ मा मात्र पाइन्छ भने यसै वेदका दसवटा सूक्त यस्ता छन् जसमा सूर्यको मात्र प्रसिद्धि छ। दयानन्द–प्रभावित यस लेखकले वेदको मन्त्र भागलाई मात्र वेद माने पनि अधिकांशतः लोकले ब्राह्मण र उपनिषद्हरूलाई पनि वेद मान्दछ। सूर्योपनिषद्मा सूर्यको स्तुति यसरी गरिएको छ, ‘...सूर्य आत्मा...सर्व छन्दोऽसि’ अर्थात् सूर्यदेव समस्त जड र चेतन जगतका आत्मा हुनुहुन्छ।

सूर्यद्वारा समस्त प्राणीहरूको उत्पत्ति हुन्छ । सूर्यबाट नै यज्ञ, पर्जन्य, अन्न र आत्मा अर्थात् चेतना प्रादुर्भूत हुन्छ ।।३।। हे आदित्यदेव ! हामी तपाईंलाई नमस्कार गर्दछौं। तपाईं नै प्रत्यक्ष कर्मका कर्ता हुनुहुन्छ। तपाईं नै प्रत्यक्ष ब्रह्मा, विष्णु र रुद्ररूप हुनुहुन्छ । तपाईं नै ऋक्, यजुष्, साम र अथर्वस्वरूप हुनुहुन्छ । तपाईं नै समस्त छन्दका प्रत्यक्ष रूप हुनुहुन्छ ।।४।।’

वेदायनको यो कथा स्पष्ट छ । यसलाई विशेष भूमिका वा टिप्पणीको आवश्यकता नै छैन । वैदिकधर्म र पुराकथा अर्थात् पुराणहरूमा सूर्यको महत्व अत्यधिक भएकोले यो कथनिका उनै विश्वम्भर सूर्यलाई समर्पित छ ।
०००
“त्वष्टा दुहित्रे वहतुं कृणोतीतीदं विश्वं भुवनं समेति ।
यमस्य माता पर्युह्यमाना महो जाया विवस्वतो ननाश’

सरण्यूको कथा कहँदा तिनका पिता त्वष्टाको नाम पहिले आउनु स्वाभाविक नै हो । यिनी एक प्रकारले मानवजातिका पुर्खा नै हुन् किनकि यिनकी पुत्री सरण्यू, विवस्वान्–सूर्यकी पत्नीका रूपमा यमज—यम र यमीकी माता हुन् ।

पुराकालमा त्वष्टाको प्रसिद्धि सर्वत्र थियो किनकि तिनी त्यस समयका पार्थिव इन्द्रसँग टक्कर लिने मानिस थिए । तिनले इन्द्रलाई केही समयका लागि भए पनि सोम–वंचित गरेका थिए । तिनी एक कुशल शिल्पी थिए । तिनका हातले सामान्य रचना गरे पनि ति सुन्दर नै हुन्थे । प्राचीन वास्तुशास्त्रका उद्भट आचार्य भएकाले यिनीसँग प्रशिक्षण लिन देव–समाजबाट मानिस आउने गर्थे । त्वष्टाले त्यसै प्रसिद्धि पाएका पनि त होइनन् ।

देवराट् इन्द्रको अमोघ अस्त्र वज्रको निर्माण यिनले नै गरेका थिए र तत्कालीन समाजमा प्रभूत प्रसिद्धि पाउने मानुष शिल्पी ऋभु, बिम्वा र वाज यिनका नै शिष्य थिए । त्यस्ता विश्रुत त्वष्टाका जुम्ल्याहा सन्तान थिए सरण्यू र त्रिशिरा । त्रिशिरा, पछि, विश्वरूपका नामले पहिले देव–पुरोहित र पछि असुर पुरोहित भए । मेधाविनी भएकी हुनाले मातापिता सरण्यूलाई संज्ञा पनि भन्दथे भने तेज दुगुर्नाका कारण लोकले तिनलाई अश्विनी पनि भन्न थाल्यो ।

अन्य मानुषसरह त्वष्टाका सन्तान पनि समय पाएर शिशुबाट किशोर–किशोरी र युवक–युवती भए । कैशोर्य र यौवनको सन्धिकालमा मानुषको स्वर र देहयष्टिमा भएका परिवर्तन स्पष्ट परिलक्षित हुन्छन् । पुरुषको स्वर मोटो हुन थाल्दछ भने नारीको स्वर मृदु हुन जान्छ । पुरुषको शरीर समानुपातिक रूपमा पुष्ट हुन्छ भने नारीका कम्मरको मासु त्यहाँबाट हटेर कुच र नितम्बमा थुप्रिन्छ । फलतः स्त्रीको कम्मर पातलो, पयोधर पीन र नितम्ब स्थूल हुन्छन् । प्रकृतिको शाश्वत नियमअनुसार सरण्यूमा पनि त्यस्तै परिवर्तन भयो । राम्री त तिनी जन्मना थिइन् । झन छातीका दायाँबायाँ भागमा सुन्तलाजत्रा कठोर मासपिण्डको विकास भएपछि, नितम्ब भारी भएपछि तिनको आकर्षणमा झन् वृद्धि भयो ।

युवती सरण्यूमाथि युवकहरूका आँखा गड्न थाले । सरण्यूका आँखा पनि आफ्ना सहचरका खोजीमा यताउता नाच्न थाले । छोरीको त्यस्तो अवस्था देखेर त्वष्टाले पुत्रीलाई अब एक सहचर चाहिएको बुझे । तिनले योग्य जामाताको अनुसन्धान आरम्भ गरे ।सामान्यजनमा वर–वधू खोज्न जति सजिलो हुन्छ त्यस्तो असामान्यजनमा हुँदैन । विश्रुत देवशिल्पीकी पुत्रीसँग विवाह गर्ने योग्य वर पनि त देव वा कमसेकम देवोपम हुनुपर्यो। अनि छोरीको विवाहमा आमाबाबुलाई चिन्ता त हुन्छ नै । कुन्नि कस्तो वर पाउने हो ! विवाहका समय राम्रो देखिए पनि, पछि त्यो वर अर्कैखाले निस्कने हो कि ! सासू–ससुराका अधीनमा परेकी छोरी त्यहाँ सुखी रहन्छे कि रहन्न ! नन्द र देवरको व्यवहार कस्तो रहला !

जे होस्, जोडी त माथिबाट नै बनेर आउँदछन् । बेर–सबेरको कुुरामात्र हो । एक न एक दिन सरण्यूको विवाह हुनु नै थियो, त्वष्टाले पनि चाहेजस्तै जामाताको नाम सुने । तिनको नाम विवस्वान् रहेछ । मरीचिपुत्र कश्यपका पुत्र—काश्यप विवस्वान; दक्षपुत्री अदितिका पुत्र आदित्य विवस्वान् अर्थात् सूर्य–दिवाकर । नाम प्रसिद्ध नै थियो । त्वष्टा पुगे छिटो–छिटो विवस्वान्कहाँ । प्रारम्भिक शिष्टाचार—मधुपर्क र कुशलक्षेमपछि विवस्वान्ले भने— ‘परमादरणीय देवशिल्पीगुरु ! आज यता के कारणले पाल्नुभयो ?’

‘पूरा संसारलाई भास्वर बनाइदिने भगवान् भुवनभास्करका आँखाबाट के लुकेको छ प्रभु ! तैपनि सोध्नुभयो । उत्तर दिनैपर्छ । मेरी पुत्रीको नाम सरण्यू हो । तिनी अतीव सुन्दरी छिन् । हिरण्यकेशराशि, कर्पूरधवल देहयष्टि, उन्नत ललाट, नीरजनेत्र, बंकिमचन्द्र भ्रू, सुन्दर नासिका, किशुक ओष्ठ, हंसग्रीवा, पीनकुचभारअवनत क्षीण कटि, पुष्ट नितम्बा, रम्मोरु...।’

‘अतिथिदेव ! आफ्नी छोरीको गुणानुवाद गर्दै हुनुहुन्छ ! तिनी त्यसभन्दा पनि बढी होलिन् । आशय भन्नुहोस् !’
‘अंशुमाली ! म तपाईंलाई जामाता भनेर गौरवान्वित हुन पाउँछु कि भन्ने आशमा आएको हुँ । झुसेमुसेलाई छोरीले पनि पत्याउँदिनन् ।’
‘ठीकै छ । एकपटक हाम्रो भेटघाट त हुनैपर्छ । तपाईंका वचनउपर विश्वास गरेर मैले तिनीलाई पत्याए पनि, तिनले मलाई पो पत्याउने हुन् कि होइनन्...।’

‘तमिस्रहा–तपन ! तपाईंका कुरा ठीक हुन् । तर, सुजाता सुताले मातापितामाथि विश्वास गर्छन् । जे होस्, हाम्रो समाज भनेको मुक्त समाज नै हो । भावी वर–वधूले एक–अर्कालाई राम्ररी जान्नैपर्छ...।’विवस्वान्ले सरण्यूलाई हेरे । सरण्यूले विवस्वान्लाई आँकिन् । तिनीहरूबीच लामो कुराकानी भयो । सरण्यू सन्तुष्ट भइन् । विवस्वान्ले पनि त्यस्ती स्त्री–रत्नलाई किन छाड्ने । देवऋत्विज् अग्निको साक्ष्यमा दुवैको विवाह धूमधामसँग भयो ।
पतिगेहमा सरण्यूको जीवन बाह्य रूपमा सुखमय नै रह्यो ।

समय आएपछि सरण्यूले एउटा युग्म जन्माइन्— एउटा छोरा र अर्की छोरी । छोरो अग्रज थियो । आमाबाबुले तिनका नाम यम र यमी राखे । कालान्तरमा यिनी यम प्रतिभामा अप्रतिम भए र तिनको न्यायप्रियताका कारण लोकले तिनलाई धर्मराज भन्न थाल्यो ।समय बित्दै गयो । सरण्यू र सूर्यमा प्रेम बढ्दै गयो । तर, सूर्यको दुर्धर्ष तेजका कारण सरण्यू सधैं आहत भइरहिन् । नानीहरू अलि साना हुँदा सरण्यूले अलि त्राण पाएकी थिइन् । तिनीहरू ठूला भएपछि सूर्य पनि अलि बूढा भएका कारण अलि शिथिल हुनुपर्ने हो तर, त्यहाँ त उल्टो हुन थल्यो । उमेरका साथसाथै सूर्यको तेज पनि तिखारिँदै गयो । परिणामतः सरण्यूले सूर्यतेजको पीडा सहिरहनु पर्यो ।

सहनु त सहनु तर कति दिन ? कुनै कामको पनि सीमा हुन्छ । आनन्दलाई पनि एक सीमासम्म भोग गर्न सकिन्छ । त्यसपछि त्यो पनि दुःखमा परिणत हुन्छ । मैथुन गर्दा, रज–वीर्य उत्सर्जनको बेला चरमसुखको अनुभूति हुन्छ । पहिलो पटकपछि अर्को पटक त्यस्तै अनुभूति निकै बेरमा हुन्छ । तर, चरमसुख पाइन्छ भनेर रतिक्रियामा अति गर्न थाले त्यस्तो सुख, दुःखमा परिणत हुन जान्छ । दुर्धर्ष वीर्यवान् पुरुषलाई त धेरै फरक नपर्ला तर, घर्षित–मर्दित हुने जायाले त धेरै पीडा सहनुपर्छ । धेरै गुलियो भयो भने त्यसमा कीरा पर्छ । सरण्यूसँग पनि त्यस्तै हुन थाल्यो । कामाचारजनित पीडा असह्य हुन थालेपछि तिनले देवहरूका सहायताले आफैंजस्ती एउटी राम्री स्त्री ‘सवर्णा’ खोजेर ल्याइन् । तिनलाई आफ्नो घरका कामकाज सम्झाइन् । विवस्वान्का आवश्यकता र आनीबानीबारे बताइन् र आफ्ना जुम्ल्याहा सन्तान यम र यमीको राम्रो हेरचाह हुने प्रबन्ध मिलाएर तिनी त्यहाँबाट ‘घोडी–समान’ भागिन् ।

लोक–कल्याणका लागि दिनभरि हिँडिरहने विवस्वान्ले सरण्यूको ठाउँमा अर्की स्त्री आएकी, त्यति खेर त थाहा नै पाएनन् । तिनी सदाकाझैं आफ्नी सहचरीका साथ गृहस्थधर्ममा लागिरहे । सूर्यको जुन असाध्य तेजका कारण सरण्यूलाई भाग्न विवश गर्यो, त्यस्तो तेज स्थानापन्न स्त्री सवर्णालाई सहन गाह्रो भयो । तर, के गर्ने ! देवताहरूका आदेशले आएकी, अग्रजाद्वारा खटाएकी विवश नारीले जति दुखे पनि सहनुबाहेक अन्य कुनै उपाय नै थिएन ।
कालान्तरमा ती स्थानापन्न नारीले पनि एउटा पुत्र जन्माइन् जसलाई लोकले सावर्णि मनु भनी चिन्यो । यिनी, विवस्वान् अर्थात् सूर्यका पुत्र, मनु वैवस्वत नै मानव जातिका प्रथम पूर्वज भए ।

सरण्यूको स्थान ओगटेकी सवर्णाले आफ्नो क्षमताले भ्याएसम्म अग्रजा–सन्तति यम–यमी र मनुको स्याहार–सुसार, पालन–पोषणमा कुनै फरक गरिनन् । तर, विमाताले जति गरे पनि लोकले स्तुति गर्दैन । त्यस्तै सूर्यसदनमा पनि हुन थाल्यो । लोकबाट जस नपाएकी तिनको व्यवहारमा पनि परिवर्तन आउन थाल्यो । यम–यमी तिनीबाट टाढिन थाले ।

सुस्त–सुस्त घरमा कलहले विकराल रूप लिन थाल्यो । कुनै कुरामा रिसाएर एक दिन यमले विमाता सवर्णालाई लात्तीले हाने । विमाताले पनि निहुँ पाइन् । तिनले यमको खुट्टा भाँचिदिइन् । दिनभरिको हिँडाइ गरेर राति घर फर्किएका श्रान्त–क्लान्त विवस्वान्ले कुरा बुझेर भने, ‘सवर्णा ! रूपरंगमा सरण्यूजस्ती भएर पनि तिमी सरण्यू हुन सक्तिनौ । तिमीले सपत्नीका सन्तान र आफ्नो सन्तानमा फरक नगर्नुपर्ने हो । काखा–पाखाको तिम्रो व्यवहार मैले देखेर पनि नदेखेको जस्तो गरेँ यतिका दिनसम्म । मेरो सोझोपनको गलत अर्थ लगाएर तिमीले मेरा धर्मात्मा र न्यायप्रिय पुत्रको खुुट्टा नै भाँचिदियौ । अति भयो । अब तिमी यहीँ राज गर । म हिँडे आफ्नी प्रेयसी सरण्यूलाई खोज्न...।’

सरण्यूको खोजीमा विवस्वान्, गिरि–कन्दरा, वन–उपवन, नदी–निर्झर, कहाँ–कहाँ पुगेनन् ! उत्तमजनले आरम्भ गरेको काम फच्चे नहोउन्जेल छाड्दैनन् । विवस्वान्ले पनि सरण्यूको अनुसन्धानमा कमी गरेनन् । त्यो पनि एक प्रकारको तप थियो । कुनै वस्तु वा ध्येय प्राप्तिका लागि अनवरत प्रयत्नशील हुनु नै तप हो । ढिलो–चाँडो जहिले भए पनि तपस्या अवश्य फलीभूत हुन्छ । विवस्वान्को तपले पनि फल दियो । चरन वै मधु विन्दति—सक्रिय व्यक्तिलाई नै मधु प्राप्त हुन्छ । सूर्यले आफ्नी परिणीता पत्नी, मधुवर्षिका मायालु सरण्यू उर्फ संज्ञा वा अश्विनीलाई एउटा सुरम्य गिरिप्रदेशमा देखे ।


प्रेयसी–पत्नीलाई देख्नासाथ तिनी अश्वगतिले त्यतातिर दुगुरे। सरण्यूको सान्निध्यमा पुगेर तिनले प्रगाढ आलिंगन गर्दै पत्नीका ओठ चुस्न थाले । त्यसो गर्दा तिनको तेज उत्तेजित भएर भुइँमा झर्यो । अश्विनी नामधारिणी सरण्यूले सूर्यतेजलाई त्यसरी स्खलित भएको देखेर त्यसलाई घोप्टो पारेर सुँघिन् । विवस्वान्–वीर्यको गन्ध तिनको नाकमा परेपछि तिनी पनि काम–विह्वल भइन् । पत्नीलाई त्यसरी कामातुर देखेपछि विवस्वान् तिनीमाथि आरूढ भए । वर्षौंपछि पतिसँग समागम गर्न पाएकी सरण्यू वा अश्विनीले गर्भधारण गरिन् ।

समय आएपछि तिनले जुम्ल्याहा पुत्रहरू उत्पन्न गरिन् । पुत्रोत्पत्तिमा सुँघ्ने नाक पनि एउटा कारक तत्व भएकाले ती शिशुहरूलाई नासत्यौ भनियो भने सरण्यूको अर्को नाम अश्विनी भएकाले तिनीहरू अश्विनीकुमार पनि कहलिए । सरण्यूको कथा त समाप्त भयो तर कथाको आरम्भमा दिइएको वेदमन्त्रको अर्थ के त ? त्यो पनि जानिहालौं । अर्थ यस्तो छ, ‘त्वष्टादेव आफ्नी छोरीको विवाह गर्नेवाला छन् । त्यसकारण सारा जगत् त्यहाँ आयो । जुन बेला विवस्वान्का साथ यमकी माताको विवाह भयो, त्यस समय विवस्वान्की महान् पत्नी अदृश्य भइन् ।’


ऋग्वेदको मण्डल १० को सूक्त १७, मन्त्र १ को यति अर्थले त पूरा कथा कहन्न । अतः मन्त्र २ को पनि अर्थ जानौं—‘अमर सरण्यूलाई देवहरूले मानवका लागि लुकाएर राखे । सरण्यू–सदृश अर्की स्त्रीको निर्माण गरेर देवहरूले विवस्वानलाई दिए । त्यसपछि त्यहाँ उपस्थित सरण्यूले अश्विनीलाई गर्भमा धारण गरिन् र दुई जुम्ल्याहा— यम–यमी र अश्विनी कुमारहरूलाई जन्म दिइन् ।’

‘नासत्यौ’ शब्दले दुईजनाको अलग–अलग नाम त बताउँदैन । अनि अश्विनीकुमारको अर्थ अश्विनी अर्थात् घोडीको पुत्र अथवा अश्विनी नाम्नी कुनै स्त्रीको पुत्रमात्रै हुन्छ । के सरण्यूका जुम्ल्याहा छोराहरू नामहीन थिए त ?कुरा त्यसो होइन । अश्विनीकुमार वा नासत्यौका नाम पक्कै पनि थिए । तिनका नाम जान्नका लागि हामीले शौनककृत ‘बृहद् देवता’ को अवगाहन गर्नुपर्छ । त्यस ग्रन्थको अध्याय ७ को श्लोक संख्या ६ ले बताउँछ।

‘तब त्यस शुक्रबाट, जो त्यसै बखत सुँघिएको थियो, दुईजना कुमारहरू— ‘नासत्य’ र ‘दस्र’ प्रकट भए जसको स्तुति अश्विनहरूका रूपमा गरिन्छ ।’
यसरी महर्षि शौनकले हामीलाई बताए कि विवस्वान् अर्थात् आदित्य सूर्य र त्वष्टापुत्री सरण्यूद्वारा उत्पन्न गरिएका ती शिशुहरूका नाम नासत्य र दस्र थिए । यिनी अश्विनीकुमार वा अश्विद्वय वा नासत्यौ कालान्तरमा देवजातिका वैद्य भए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.