संस्कृति जोगाऔँ, विकृति तिरस्कार गरौँ

संस्कृति जोगाऔँ, विकृति तिरस्कार गरौँ

हिन्दु धर्म-संस्कृतिको नाममा केही यस्ता विकृति समाजमा व्याप्त छन् जसलाई समयमै परिशोधन, परिमार्जन गरिएन भने हिन्दु धर्मको महानता नै धुमिल गराउने कारकतत्त्व सावित हुन पुग्छ । 'पशुबलि' तिनीहरूमध्येको एउटा यस्तो विकृति हो जुन नेपाली समाजमा अझै पकड लिएर फैलिरहेको छ । हिन्दु धर्म-संस्कृति मान्ने जनसमुदाय विश्वका विभिन्न मुलुकमा छन् । भारत, बर्मा, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, इन्डोनेसिया, अमेरिका, बेलायत आदि देशहरूमा रहेका हिन्दु धर्मावलम्बी समुदायमा यस्तो परम्परा उहिल्यै हटिसके ।

नेपालमा यो परम्परा रहनुमा मुख्यतः अज्ञानता, सामन्तवादी संस्कार, सोच, झुकाव एवं कर्मभन्दा भाग्यमा विश्वास गर्ने मनोवृत्तिले पनि बढाउन मद्दत गरेको छ । धर्मको मूल अर्थ सुकर्म बिर्सेर वा कर्मकाण्डीय पक्षलाई मात्र शताब्दीयौँदेखि महत्त्व प्रदान गरिएको कारणले पनि धर्म भनेको सत्य, इमानदारी, अनुशासन, दया, माया, करुणा, अहिंसा, परसेवा भन्ने कुरा चटक्कै बिर्सिदिएकाले पनि हुन सक्छ, साँचो धर्मको रूपभन्दा भिन्न स्वरूपलाई धर्मको नाम दिन थाल्यौँ । यसैको कारण हो कि आज धर्म भन्नासाथ कर्मकाण्ड र विधिविधानका पक्षमात्र अघि आउन थाले ज्ञान, भक्ति र साँचो उपासना पक्ष विस्मृत बन्दै गयो ।

निष्पक्ष भएर भन्ने हो भने 'धर्म' को महत्त्व, गौरव र शालीनतालाई नै पशुबलि परम्पराले कस्तो मोडमा धकेलिदिएको छ भने धर्मप्रति मानिसलाई वितृष्णा उत्पन्न गराउन बाध्य पारेकोतर्फ समयमै विचार पुर्‌याउनु जरुरी छ ।

नेपालमा विभिन्न धर्म, संस्कृति एवं भाषाभाषीमाझ अनेकौँ किसिमका आआफ्नै प्रकारका रीति-स्थिति एवं परम्परा छन् । हरेक दिन, तिथि, महिना एक किसिमले चाडबाड र पर्वकै रूपमा विभिन्न सन्देश लिएर आइरहेका हुन्छन् । पितृपक्षको समाप्तिलगत्तै नेपालीहरूले धुमधामसँग मनाउने दसैं र त्यसको झन्डै दुई हप्तापछि तिहार र त्यसपछि छठ पर्व आउँदैछ । देश-विदेश गएका नेपालीसमेत दसैंतिहार र छठमा घर फर्कने प्रतीक्षामा बसिरहेका हुन्छन् । आफन्त, कुलकुटुम्बहरूसँग भेटघाट गर्ने, आशीर्वाद थाप्ने, मनोरञ्जन गर्ने पर्वको रूपमा दसैंतिहार नेपालीहरूबीच प्रसिद्ध छ । वर्षभरि जेजति जोहो गरिन्छ त्यो दसैंतिहार, म्हपूजा र छठकै लागि भनी साँच्ने चलनले पनि दसैंतिहारको महत्त्व झल्किन्छ ।

विजयादशमीको धार्मिक, सांस्कृतिक एवं दार्शनिक महत्त्व अति नै छ । नवरात्रिभरि शक्तिस्वरूपा देवी दुर्गाको विविध स्वरूपहरूको आराधना गरी आफूमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता दुर्गुणहरूलाई त्याग्न सक्ने शक्ति अर्थात् सबैभन्दा पहिले आफूमाथि नै विजयप्राप्त गर्न सक्ने शक्ति जगज्जननी महादुर्गा, महालक्ष्मी र महासरस्वतीबाट प्राप्त होस् भनी प्रार्थना गरी ती अवगुणहरूमाथि विजय प्राप्त गर्ने साधनाको रूपमा बडादसैंलाई लिइने भए पनि कालान्तरमा यो 'पशुबलि' गर्ने मुख्य पर्वजस्तो बन्न गएको कसैबाट छिपेको छैन ।

जसको कारण विजयादशमीभित्र अन्तर्निहित महान् अर्थहरू बिर्संदै र भुल्दै गई अहिले 'खसी-बोकापर्व' को रूपमा विकास हुँदै जानु दुःखद् छ । 'धर्म' को महत्त्व, गौरव र शालीनतालाई पशुबलि परम्पराले कस्तो मोडमा धकेलिदिएको छ भने धर्मप्रति मानिसलाई वितृष्णा उत्पन्न गराउन बाध्य पुर्‌याएकोतर्फ समयमा सचेत हुन जरुरी छ ।

नेपालका कतिपय सरकारी निकायहरू दसैं-तिहारताका भेडाच्यांग्रा भित्त्याउने वा कोत, मौलोहरू तथा देवीपीठहरूमा बोका, राँगाहरूको बन्दोबस्तमा आफ्नो शक्ति, ऊर्जा र बजेटलाई अपव्यय गरिरहेको लाजमर्दो स्थिति छ । यस स्थितिमा के नयाँ नेपालको परिकल्पना सम्भव होला ? नयाँ नेपाल गलत परम्पराको निरन्तरताले होइन, असल विचार, असल दृष्टिकोण र तिनको सफल र जिम्मेवारपूर्ण कार्यान्वयनबाट मात्र सम्भव छ भन्ने कुरा बिर्सन हुने बेला छैन ।

कोतपूजा, निशानपूजा, झन्डापूजा आदि नाम दिई पशुबलिमा प्रत्येक वर्ष सरकारी बजेट खर्च गरी पुजारी, रैरकमी, हाकिम-कर्मचारीमा बाँडचुँड गरी लिने-खाने गलत प्रचलनको परिप्रेक्ष्यमा अबका दिनमा निश्चित रूपले पशुबलिको साटो मठमन्दिर, गुम्बा-विहार आदि धार्मिक-सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवद्र्धन एवं अन्य रचनात्मक कार्यतर्फ त्यस्तो बजेटलाई लगाउनेतर्फ सोच्नु जरुरी देखिन्छ ।

दसैं पूजाको नाममा प्रत्येक कार्यालयमा भएका मोटर, मोटरसाइकल, इन्जिन आदिमा 'पशुबलि' जस्तो पाशविक कार्य गर्न बजेट छुट्ट्याउने संसारमा कतै नभएको चलन नेपालमा विद्यमान रहिरहे हामी अज्ञानान्धाकारमा नै हुनेछौँ भन्नेमा शंका छैन । हवाईजहाज, मोटर, मोटरसाइकलहरू बन्छन् विदेशमा, त्यसलाई पेट्रोल, मोबिल चाहिन्छ भन्ने त संसारका सबैलाई अवगत छ तर त्यसले राँगो, बोका, हाँस, कुखुरा आदि पशुपक्षीको रगत खान्छ भनेर हाम्रै केही बुझक्कड धर्मशास्त्रज्ञ र संस्कृतका महापण्डित सम्झने केही कर्मकाण्डीय नामधारी पण्डितहरूलाई मात्र थाहा छ, जसको कारण यो हिंसा, हत्यालाई प्रोत्साहित तुल्याउने, अमानवीय परम्परा तथाकथित परम्परा र संस्कृतिको रूपमा समाजमा विद्यमान छ ।

हाम्रो देशमा बलिको नाममा निरपराध पशुपक्षीहरूको हत्या गरेर धर्म कमाउन खोज्ने विकृत परम्परा बढ्दै गइरहेको देखिनु धार्मिक, आध्यात्मिकका साथै मानवीय, स्वास्थ्य एवं संवेदनाको दृष्टिकोणले पनि उपयुक्त छ भन्न मिल्दैन । दसैं, तिहारलगायत विभिन्न तिथि-पर्वहरूमा देवी-देवताका नाममा उनैका निरपराध, लाटा-सोझा सन्तानस्वरूप पशुपक्षीहरूलाई बलि दिने चलनले हाम्रा पवित्र मन्दिर एवं तीर्थस्थलहरू अपवित्र बन्दै गइरहेकोतर्फ वास्तविक धर्ममा आस्था राख्ने, मठमन्दिर, पूजास्थल एवं तीर्थस्थलहरू शान्तिदायक, पवित्र र सद्भावको अनुपम स्थल हुनुपर्छ भनी विश्वास राख्ने बहुसंख्यक आस्थावान्हरूका लागि पीडादायक भइरहेको तर्फ कसले, कहिले ध्यान दिने ? यसतर्फ विचार पुर्‌याउनु समीचीन हुनेछ ।

पशुबलिका कारण मन्दिरमा हुने दुर्गन्धित अवस्था र 'सत्, चित् र आनन्द' को अनुभूति त्यहाँ उपलब्ध हुन नसक्ने कारणले कतिपय मन्दिरहरू वास्तविक भक्तजन, तीर्थयात्री, दर्शनार्थीहरूबाट ओझेल पर्दै गएको यस सन्दर्भमा अझ मननीय छ । पशुको होइन, आफैंभित्र लुकेर रहेका पशुताको बलि आवश्यक छ भनेर कहिले बुझ्ने ?

असल संस्कृति, जसले व्यक्ति, परिवार, समाज र राष्ट्रको महिमालाई बढाउँछ, व्यक्तिको आत्मिक विकास गर्छ त्यस्तो संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन हरहालतले गर्नु सबैको कर्तव्य हो

पशुबलिलाई प्रोत्साहित तुल्याउने काम एकातिर राष्ट्रका विभिन्न अंगले अर्कोतर्फ देववाणी संस्कृतका केही विद्वान् सम्झनेहरू पशुपक्षीको जन्म नै वलिको लागि भएको तथा बलिले पशुपक्षीको मुक्ति हुने गलत धारणा बाँड्नमा उहाँहरू व्यस्त देखिनुहुन्छ । निरपराध, निरीह र अबोध पशुपक्षीलाई मार्नु, काट्नु, हत्या गर्नु कसरी 'मुक्ति' हुन सक्छ ? दिग्भ्रमित तुल्याउने यस्तो गलत विचार बेलाबेलामा सुनिनु लाजमर्दो कुरा हो ।

हिन्दु धर्मका मानिने कुनै पनि ग्रन्थ चाहे त्यो आगम होस् चाहे निगम जहाँ पशुबलिको कुरा आउँछ त्यहाँ 'बलि' शब्द विम्ब एवं प्रतीकात्मक रूपमा आएका छन् । समग्रमा यसलाई बढाउने होइन कसरी हटाउने भन्ने सन्दर्भमा मात्र प्रसंगवश चर्चा आएका छन् । पशुपक्षी आदि कुनै पनि प्राणीको हिंसालाई पापकर्मको रूपमा त्यहाँ बताइएको छ । अहिंसा नै परम धर्म हो, जहाँ यो धर्म छ त्यहाँ नै जय, कल्याण छ, 'अहिंसा परमो धर्मः यतो धर्मस्ततो जय' (महा शान्तिपर्व २७२।२), अहिंसा नै धर्मको लक्षण हो भनी वेदले प्रमाण दिन्छन्, 'अहिंसा लक्षणं धर्म वेद प्रामाण्य दर्शनात्' (महा अनु ११), मासु खाने धर्म विशिष्ट होइन, 'मांसस्या भक्षणो धर्मो विशिष्ट इतिः न श्रुति' (महाभारत) जस्ता एकदुई होइन हजारौँ वचनहरू पशुबलिलगायत हिंसाको विपक्षमा रहेको उल्लेख गर्न सकिन्छ ।

वाराहपुराणमा भनिएको छ, 'अहिंसा परमश्चैव सर्वभूत दयापरः' अर्थात् अहिंसा नै श्रेष्ठ धर्म हो, जो सबै प्राणीहरूमा दया राख्छ त्यही मनुष्य परम धर्मात्मा हो । अझ शास्त्रहरूले -'त्यजेद्धर्म दयांहिनं' भनी प्राणी मात्रहरूप्रति दयाहीन देखिने धर्मलाई त्यागे पनि आपत्ति नहुनेसम्मका कुरा गरेका पाइन्छन् । यसको अर्थ हुन्छ दया नै धर्म हो अर्को अर्थमा भन्ने हुन्छ ।

धर्म-संस्कृतिको संरक्षण, संवर्धनका लागि २०२१ सालमा गठन भएको गुठी संस्थानले परम्पराअनुसार गर्नुपर्ने धेरै काम छन् । तिनीहरूमा राजगुठी या अमानत गुठीअन्तर्गतको मठमन्दिर, ढुंगेधारा, सत्तल, धर्मशाला, यात्रा-पर्वहरूको संवर्धन गर्नु पनि हो । यहाँ बताइरहनु परोइन कि तिनीहरूको अवस्था केकस्तो छ ! तर वर्षको करिब डेढ-दुई करोड रुपैयाँ पशुबलिमा खर्च भइरहेको आँकडा गएको साल एउटा सरकारी दैनिकमा प्रकाशित भएको थियो ।

मठमन्दिर, गुम्बा-विहार जस्ता सम्पदाहरू भत्किएर, बिग्रिएर नास भइरहनु अनि हिंसाभावलाई बढाइचढाइ गर्न मद्दत पुर्‌याउने पशुबलिले निरन्तरता पाइरहनु कहाँसम्म उचित होला ? के यसलाई हाम्रा मूर्त/अमूर्त धार्मिक-सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवद्र्धनमा लगाउनुपर्ने बेला भएन ? यसबाहेक माथि उल्लेख गरेजस्तो निसानपूजा, कोतपूजा, मोटरपूजा आदिमा हुने खर्चको कुरा गर्ने हो भने अरू करोडौँको खर्च वर्षभरि भइरहेको छ ।

शान्तिका अग्रदूत, अहिंसाका पूजारी भगवान् गौतमबुद्ध जन्मेको एवं अनेक मन्त्रद्रष्ट्रा ऋषि-महर्षिहरूको जन्मभूमि, कर्मभूमि र धर्मभूमिमा धर्मान्धता, रुढीबूढी र अन्धविश्वासलाई बढावा मिल्ने पशुबलिलाई निरन्तरता दिने विचार, धारणा र कार्य कतिसम्म जायज होला स्वयं आफ्नो बुद्धिविवेकको प्रयोग गरी मनन गरौं ।

विश्वको सर्वोत्कृष्ट तथा बुद्धि, विवेक र धर्मले ओतप्रोत भएको सम्झिने मानिसबाट धर्म, संस्कृति, परम्परा आदिको नाममा निरपराध पशुपक्षीहरूको बलि दिने गलत प्रचलनले मानवता कता गइरहेको छ ? मानिसको बुद्धिविवेक किन सुषुप्त अवस्थामा छ ? चेतनाको स्तर जागृत गर्नुपर्ने बेला भएन र ?

'बलि' यो संस्कृत शब्द हो । यसको अर्थ हुन्छ त्याग अर्थात् अर्पण गर्नु । स्वाभाविक रूपले प्रश्न उठ्छ- केको त्याग ? शास्त्रको स्पष्ट उद्घोष छ-'कामक्रोधलोभदयः पशव' अर्थात् मानिसमा दुर्गगुणको रूपमा रहेका काम, क्रोध, लोभ, मोह आदि पशु हुन् तिनलाई अर्पण गरिदिनुपर्छ ।

हरेक मानिसको लक्ष परमतत्त्वको प्राप्ति हो, भगवद् साक्षात्कार, ईश्वर साक्षात्कार गर्न वाधा बनेर रहेका काम, क्रोधादि अवगुणहरूलाई हटाउनु 'बलि' को रहस्य हो । तर ती सारा दुर्गुण जस्ताको तस्तै रहने, तिनलाई हटाउने न कुनै प्रयत्न न कुनै प्रयास, मात्र निरीह, अबोध प्राणीहरूको हिंसा गर्ने जुन परम्परा रहेको छ त्यो मात्र जीब्रोको स्वाद र पेटभरणको लागि अझ स्पष्ट भनौँ मांसभक्षणको लागि देवीदेवतालाई साक्षी बकाउने काम भइरहेको छ ।

बुद्धि र विवेकको कारण सर्वोत्कृष्टताको श्रेणीमा परेको मानिसले पशुजगत्माथि गरेको अन्याय, अत्याचारमाथि कुनै न कुनै रूपले अंकुश लगाउँदै नजाने हो भने हत्या, हिंसा र पाशविक कृत्यहरू अरू बर्बर र जर्जर बन्दै जाने कुरामा शंका छैन । मठमन्दिर एवं देवीदेवताको नाममा पशुबलि दिने परम्पराको अन्त्य गरी पशु अधिकारको सुरक्षाका साथै मठमन्दिरहरूलाई साँच्चैको शान्ति, सद्भाव र आनन्दको स्थल बनाउन सके ब्रह्माण्डीय उष्णता कम गर्ने दिशामा समेत नेपालले ठूलो योगदान गरेको ठहर्छ । यसको लागि चेतना जगाउने काममा सरकारको स्पष्ट नीतिका साथै सरकारी संयन्त्रहरूको समान भागिदारी रहनु जरुरी छ ।

यजुर्वेदमा कतिसम्म स्पष्ट पारिएको छ, 'पशून् पाहि मा हिंस्यात् सर्वाणि भूतानि' अर्थात् पशुहरूको रक्षा गर कुनै पनि प्राणीलाई नमार । तन्त्रसाहित्यको महान् ग्रन्थ मानिने महानिर्वाणतन्त्रमा भनिएको छ- दकामक्रोधौ विघ्नकृतौ बलि दत्ता जपं चरेत' अर्थात् काम, क्रोध यी दुवै पशुहरू ठूला विघ्नकारी छन्, ती पशुहरूलाई विनाश गर्न काम, क्रोधलाई नै बलिदान गरिदिनुपर्छ । साँच्चै भन्ने हो भने काम, क्रोध, लोभ, मोह, मद्, मात्सर्य नै पशु हुन्, जसले मानिसलाई अज्ञान र अन्धकारमा धकेल्छ र ज्ञान प्राप्तिबाट विमुख गराउँछ ।

यसरी बलि दुर्गुणहरूको हुनुपर्नेमा निरिह पशुपक्षीको हुनु कति दुःखलाग्दो छ । 'या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः' भनी देवीलाई सम्पूर्ण प्राणीहरूकी आमा मान्ने शास्त्रीय वचनविपरीत उनैको अघिल्तिर उनैका सन्तानहरूको हत्या, हिंसा गरिदिनु कहाँको धर्म हो ? यस्तो कृत्यले संसारमा दया, माया, सहानुभूति, करुणा, आत्मीयता, प्रेम भन्ने कुरा साँचो रूपमा देख्न पाइएला ? त्यो कदापि सम्भव छैन । अर्को कुरा कसैलाई मार्नु धर्म बनिदियो भने अधर्म भन्ने कुरा संसारमा के नै पो बाँकी रहला ! विचारपूर्वक सोचौँ, यसमा चिन्तन गरौँ ।

हिन्दुशास्त्रहरूमा 'निग्रह' तथा वैकल्पिक बलिहरूको चर्चा प्रशस्त पाइन्छ । यदि कसैलाई देवीदेवतालाई केही अर्पण गर्न इच्छा लाग्यो भने आफूमा भएका अवगुणहरू-काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यलाई अर्पण गरिदिनसक्नु पुरुषार्थ हो । होइन राजसी भावले केही वस्तु अर्पण गर्ने इच्छा लागे लौका, नरिवल, मूला आदि अर्पण गर्नु उपयुक्त मानिएको पाइन्छ । दिनानुदिन यसले प्रोत्साहन पाउँदै गएको त छ तर यसको प्रचार-प्रसार जति हुनुपथ्र्यो त्यति हुन सकिरहेको छैन । विभिन्न देवदेवीका मन्दिरहरूबाहिर आजकाल नरिवल बिक्री गर्नेको संख्या बढ्दै जानु तथा सात्विक पूजा-परम्पराले केही न केही महत्त्व पाउनु निश्चय पनि सुखद् छ । किनभने एउटा नरिवल चढाउनु भनेको प्रत्यक्ष्यतः एउटा पशु वा पक्षीले जीवन दान पाउनु हो ।

सारांशमा भन्नुपर्दा असल संस्कृति, जसले व्यक्ति, परिवार, समाज र राष्ट्रको महिमालाई बढाउँछ, व्यक्तिको आत्मिक विकास गर्छ त्यस्तो संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन हरहालतले गर्नु सबैको कर्तव्य हो तर विकृतिलाई संस्कृति हो भनेर बढाउने र निरन्तरता दिने सोच बनाए व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वमै गलत सन्देश दिने हुन्छ जुन अन्ततोगत्वा कसैको लागि पनि हितकारी र कल्याणकारी हुँदैन । कुनै वेला सतीप्रथालाई धर्मको अभिन्न अंग मानेर सैयौं वर्षदेखि लाखौंलाख मातृशक्तिलाई जिउँदै चित्तामा जलायौँ, कुनै बेला दासप्रथालाई त्यसैगरी धर्मसंस्कृतिसँग जोड्यौं र कतिले दुःख पाए हुनन् अहिले सम्झँदा पनि आङ् जिरिंग हुन्छ । यसैले समयको कालखण्ड चिनेर विकृति हटाउनाले नै सबैको भलो र कल्याण हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.